आलेख

कृत्रिम बौद्धिकताका लागि काम गर्ने भारतीय कामदारको कथा

बीसौं शताब्दीको अन्त्यमा भारतीय अर्थतन्त्रमा कल सेन्टर र गार्मेन्ट कारखानाले उत्पादकत्वको इन्जिनका रूपमा काम गरेका थिए, एक्काइसौं शताब्दीमा डाटा वर्कले चुपचाप त्यही काम गरिरहेको छ।

कृत्रिम बौद्धिकताका लागि काम गर्ने भारतीय कामदारको कथा

नरिवल–ताडी बोटको छायाँमा घामको चर्को किरणबाट बच्न चन्द्रिका आफ्नो स्मार्टफोन त्यसतिर ढल्काउँछिन् । भारतको दक्षिणी राज्य कर्नाटकको अल्लाही गाउँमा अहिले बिहानै छ तर, गर्मी र आद्रता चर्को हुँदैछ। चन्द्रिका अब आफ्नो स्मार्टफोन स्क्रोल गर्छिन् । उनले भर्खरै प्रयोग गर्न थालेको एप्सले सरलता प्रदर्शन गर्दछ । क्रमशः विभिन्न भिडियो क्लिप्स क्लिक गर्छिन्। प्रत्येक पटक ट्याप गर्दा उनको फोनबाट उनकै आवाज उनको मातृभाषामा आवाज आउँछ।

चन्द्रिका ३० वर्षकी छिन् । यो एप्स प्रयोग गर्नुअघि उनको बैंक खातामा जम्माजम्मी १८४ रुपैयाँ थियो । अप्रिलको अन्तिम महिनामा उनले ६ घन्टासम्म काम गरिन्। त्यस वापत २५७० रुपैयाँ प्राप्त गरिन्। एक टाढाको विद्यालयमा एक महिना काम गरे वापत उनले कमाउन सक्ने भनेको त्यति नै हो । उनले ३ वटा बस फेरेर स्कुल आउजाउ गर्नुपर्थ्यो।

यो एप्स आएपछि उनले आफ्नो कामको भुक्तानी पाउन महिना दिन कुर्नुपर्ने बाध्यता रहेन । उनको बैंक खातामा केही घन्टामै पैसा जम्मा हुन्छ। दक्षिण भारतमा करिब ६ करोड मानिसले कन्नड बोल्छन्। उनले कन्नड भाषा एप्समा अलिक चर्को स्वरमा बोल्नपर्छ। यसवापत प्रतिघन्टा ५ डलर उनको बैंक खातामा आउँछ। यो भारतको न्यूनतम् ज्यालाभन्दा लगभग २० गुणा धेरै हो । र थप ५० प्रतिशत बोनस रकम केही दिनभित्र आउँछ । यो भ्वाइस रेकर्डहरू ठीकठाक भएको प्रमाणित भएपछि आउँछ।

चन्द्रिकाको आवाजले यति धेरै पैसा कमाउन सक्नुको कारण कृत्रिम बौद्धिकताको बजारमा तेजी आउनु हो । अहिले केही उत्कृष्ट एआईहरू जस्तै च्याटजेपिटीलगायतले ठूला भाषा मोडेलमा अंग्रेजी भाषामा जस्तै उत्कृष्ट काम गर्न थालेका छन्। जहाँ विभिन्न विषय–वस्तु र श्रव्य–दृष्य डेटाहरू अनलाइनमा प्रशस्त उपलब्ध छन्।

कन्नडजस्ता लाखौं मानिसले बोल्ने भाषा इन्टरनेट दुर्लभ छ। अंग्रेजीको तुलनामा यी भाषाको इन्टरनेट पहुँच, प्रयोग र प्रभावकारिता कम छ । उदाहरणका लागि विकिपेडियामा अंग्रेजीमा ६० लाख आलेखहरू छन्। तर, कन्नडमा जम्मा ३० हजार मात्र। यस्ता निम्न पहुँच भएका भाषामा एआई निष्पक्ष हुँदैन। जस्तो कि, तिनले डाक्टर भनेका पुरुष र नर्स भनेका महिला हुन् भन्दिन्छ । एआईमा स्थानीय बोलीहरू बुझ्न धेरै अप्ठ्यारो हुन्छ।

अंग्रेजीमा प्रभावकारी ढंगले बोल्ने एआई सिर्जना गर्न संकलन तथा सञ्चिति भइसकेको डाटा पर्याप्त छ । तर, कन्नडजस्ता भाषाहरूको लागि बाहिर गएर थप खोजी गर्नै पर्छ । विश्वका केही गरिब मानिसले बोल्ने भाषाहरूमा डाटा सेटहरूका लागि विषय–वस्तु र आवाजको अहिले ठूलो माग सिर्जना भएको छ । प्राविधिक कम्पनीहरूले आफ्नो एआई उपकरण निर्माण गर्न यस्ता मागको अंश सिर्जना गरेका छन्।

मागको अर्को ठूलो हिस्सा शैक्षिक तथा प्राज्ञिक संस्था र सरकारबाट आउँछ । विशेषतः भारतमा जहाँ करिब १ अर्ब ४० करोड जनसंख्याका लागि २२ आधिकारिक र कम्तीमा ७८० बढी स्वदेशी भाषा छन् । यहाँ हिन्दी र अंग्रेजीले लामो समयदेखि प्राथमिकता राखेका छन्। यो बढ्दो मागको अर्थ हो कि करोडौं भारतीय अचानक एउटा दुर्लभ र मूल्यवान् नयाँ सम्पत्तिको स्रोतमा नियन्त्रण बनाउँदैछन्– त्यो हो मातृभाषा ।

डाटा वर्कले कृत्रिम बौद्धिकताको मुटुमा रहेको कच्चा पदार्थलाई परिष्कृत गर्नु भारतका लागि कुनै नयाँ कुरा हैन । बीसौं शताब्दीको अन्त्यमा भारतीय अर्थतन्त्रमा कल सेन्टर र गार्मेन्ट कारखानाले उत्पादकत्वको इन्जिनका रूपमा काम गरेका थिए, एक्काइसौं शताब्दीमा डाटा वर्कले चुपचाप त्यही काम गरिरहेको छ। र पूर्ववर्ती उद्योगहरूमा जस्तै यसमा पनि फेरि एकपटक श्रम मध्यस्थता कम्पनीको प्रभुत्व छ, जसले विदेशी ग्राहकलाई राम्रो मुनाफामा डाटा बेच्दा पनि कामदारलाई न्यूनतम् कानुनी ज्यालाको नजिक पारिश्रमिक दिन्छन्।

सन् २०२२ मा २ अर्ब डलरभन्दा बढी रहेको एआई डाटा सेन्टरको मूल्य सन् २०३० सम्ममा १७ अर्ब डलर पुग्ने पूर्वानुमान गरिएको छ। यसमध्ये भारत, केन्या र फिलिपिन्सका श्रमिकबीच थोरै मात्र मूल्यको प्रवाह छ । यो अवस्थाले व्यक्तिगत कामदारको जीवनमा हानी पुर्‍याउन सक्दछ।

अक्सफोर्ड विश्वविद्यालय इन्टरनेट इन्स्टिच्युट डिजिटल वर्क प्लेटफर्मका विज्ञ जोनस भ्यालेन्टे भन्छन्–‘हामी हाम्रो सम्पूर्ण समाजलाई प्रभावित गर्ने प्रणालीबारे छलफल गर्दैछौं । यी प्रणाली श्रमिकका लागि थप भरपर्दो र कम पक्षपातपूर्ण बनाइनेछ । मेरो विश्वासमा आधारभूत अधिकार प्राप्त कामदार अझ बढी सशक्त हुन्छन् र परिणामस्वरूप प्राविधिक प्रणालीहरूको गुणस्तर झनै राम्रो हुन्छ।’

कर्नाटकका छिमेकी गाउँहरू अल्लाही र चिलुकावाडीमा एक भारतीय स्टार्ट–अपले नयाँ प्रारूपको परीक्षण गरिरहेको छ । चन्द्रिका ‘कार्य’ नामक एक गैरमुनाफामुलक कम्पनीका लागि काम गर्दछिन्। यो संस्था सन् २०२१ मा बैंग्लुरुबाट सुरु भएको थियो । यो संस्थाको दाबी छ यो–‘विश्वको पहिलो नैतिकवान् डाटा कम्पनी हो ।’ यसका प्रतिस्पर्धीले जस्तै यसले ठूलो प्राविधिक कम्पनी र अन्य ग्राहकलाई बजार मूल्यमा डाटा बेच्दछ । यो संस्थाले आफ्नो लागत उठाएपछि बाँकी रहेको नाफाको ठूलो हिस्सा भारतका ग्रामीण गरिबतिर खन्न्याउँछ । कार्यले स्थानीय गैरसरकारी संस्थाहरूसँग मिलेर सबैभन्दा गरिब र ऐतिहासिक रूपले सीमान्तकृत समुदायमा काम गर्दछ।

‘कार्य’ले प्रतिघण्टा पाँच डलरका अतिरिक्त कामदारले सिर्जना गरेका डाटाको स्वामित्व पनि दिन्छ । त्यसको उनीहरूको पुन:बिक्री गर्न सक्दछन् । त्यसबाट उनीहरूले प्रारम्भिक न्यूनतम् मूल्यभन्दा बढी आय पनि गर्न सक्दछन्। यो मोडेल यो उद्योगमा अन्यत्र कतै छैन। ‘कार्य’का २७ वर्षीय कार्यकारी अधिकृत मनु चोपडा भन्छन्–‘ अहिलेको ज्याला अवस्था बजार असफलता हो । हामीले गैरनाफामूलक हुने निर्णय यसकारणले गर्‍यौं कि बजार असफलतालाई आधारभूतरूपमा बजारबाटै समाधान गर्न सकिँदैन।’

‘कार्य’ले गरिरहेको कामको अर्थ यो पनि हो कि, लाखौं मानिस जसका भाषा एआईलगायत अनलाइनमा सीमान्तकृत छन्, प्राविधिक पहुँचमा अझ राम्रो सुविधा प्राप्त गर्न खडा हुन सक्नेछन्। आफ्ना अभिभावकमाथिको आर्थिक निर्भरता कम गर्न कार्यसँग मिलेर काम गरिरहेकी २३ वर्षीया विद्यार्थी विनुथा भन्छिन्–‘गाउँमा धेरैजसो मानिस अंग्रेजी जाँदैनन्। यदि, कम्प्युटरले कन्नड बुझ्न थाल्यो भने त्यो धेरैका लागि उपयोगी हुन्छ ।’

कार्यले दिइरहेको काम पूरक मात्र हो । कार्यले आफ्ना कामदारलाई पहिलो कुरा यो भन्छ कि, यो कुनै स्थायी जागिर हैन । तर, यसले तपाईंको आम्दानी छिटो बढाउन मद्दत गर्दछ र जसले अगाडि बढ्न र अन्य काम गर्न अनुमति दिन्छ। यो एपमार्फत् कामदारले कमाउन सक्ने अधिकतम् १५०० डलर हो । लगभग भारतको वार्षिक औसत आय बराबर । त्यसपछि उनीहरूले अरु कसैका लागि बाटो बनाइदिनुपर्दछ। कार्य भन्छ कि उसले ३० हजार बढी ग्रामीण भारतीयका लागि वार्षिक ६ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्दछ । चोपडा भन्छन् उनीहरू सन् २०३० सम्म १० करोड मानिसमा पुग्न चाहन्छन्। उनी भन्दछन्–‘लाखौं मानिसलाई गरिबीबाट निकालेर अन्य बाटो खोज्न सक्ने बनाउने यो सबैभन्दा छिटो तरिका हो ।’

चोपडा आफैँ एक गरिब परिवारमा जन्मिएका थिए । उनले स्टानफोर्ड छात्रवृत्ति जितेका थिए । त्यसले उनको जीवनमा नयाँ मोडल ल्यायो । उनी अरु मान्छेको जीवनमा पनि यस्तै मोड आओस् भन्ने चाहन्छन् । भन्छन्–‘यो बिल्कुलै एक सामाजिक परियोजना हो । धन भनेको शक्ति हो । हामी यो कार्यमार्फत पछाडि पारिएका समुदायमा सम्पत्तिको पुनर्वितरण गर्न चाहन्छौं।’

चोपडा विश्वका गरिबलाई फाइदा पुर्‍याउने गरी एआई डाटा सम्भाव्यताको लय पक्रिने पहिलो प्राविधिक संस्थाको संस्थापक भने हैनन् । सामा त्यस्तै एउट अर्को आउटसोर्सिङ कम्पनी हो, जसले च्याटजीपीटी र फेसबुक सञ्चालक कम्पनी मेटासँग सम्झौता नै गरेको छ, जसले मानिसलाई गरिबीको वैश्विक मानकबाट बाहिर निकाल्न डाटाको ‘नैतिक बजारीकरण’ को काम गर्दछ ।

जनवरीमा मैले केन्याका यस्तै कामदारसँग कुराकानी गरेको थिएँ । उनीहरूको कमाइ प्रतिघन्टा २ डलरभन्दा पनि कम थियो । उनीहरूले प्रशिक्षणका लागि मात्र डाटा वर्क सम्पर्कमा आएको आम्दानीको हिसाबले यो काम आघात पुर्‍याउने खालको भएको गुनासो गरेका थिए । अन्य राम्रो कामको अवसर आउनेबित्तिकै उनीहरू यो काम छोड्न चाहन्थे ।

कामदारको न्यून आयबारे बीबीसीले प्रश्न सोध्दा सामाको संस्थापकले भनेका थिए कि, धेरै बढी पारिश्रमिक दिँदा स्थानीय अर्थतन्त्रमा बाधा पुग्न सक्दछ । फाइदाभन्दा बढी नोक्सानी हुन्छ । मैले यो क्षेत्रको रिपोर्टिङ गर्न थालेको १८ महिना भयो । धेरै कामदारले मलाई भने कि, यो एकदमै नराम्रो तर्क हो । यो कामदारहरूको श्रमबाट धनी हुन चाहने कम्पनी र तिनका मालिकको सुविधामा बनाइएको कथा मात्रै हो ।

(टाइमबाट अनुदित)

तस्वीरहरु : सुपर्नभ दास (टाइम) 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved