अबिच्युअरी

मिलान कुन्देरा : ‘साम्यवादको स्वर्ग’देखि ‘पेरिसको बुढ्यौली’सम्म

सन् १९१७ देखि १९९१ सम्म संसारमा करिब ५० देशमा साम्यवादी शासन थियो । त्यसलाई ‘सर्वहारा वर्गको स्वर्ग’ भन्ने गरिन्थ्यो । त्यो स्वर्ग थियो वा नर्क वा बीचमा अरु नै केही ? यो प्रश्नलाई उत्तरित गर्ने एक जिउँदा लेखक थिए कुन्देरा, जो अब यो धर्तीमा रहेनन् ।

नेपालभ्युज

मिलान कुन्देरा : ‘साम्यवादको स्वर्ग’देखि ‘पेरिसको बुढ्यौली’सम्म

चेकोस्लोभाकियाली साहित्यकार तथा एक असन्तुष्ट कम्युनिस्ट मिलान कुन्देरा मंगलबार फ्रान्सको राजधानी पेरिसमा ९४ वर्षको उमेरमा बिते । उनी साम्यवादी चेकोस्लोभाकियाका एक जिउँदा इतिहास थिए ।

चेकोस्लोभाकिया एक संघ थियो, दुई राष्ट्रहरूको, चेक र स्लोभाक । पहिलो विश्वयुद्ध अघि यी दुवै राष्ट्र आष्ट्रो–हंगेरियन साम्राज्यका उपविनेशजस्ता थिए । पहिलो विश्वयुद्धमा ‘धुरी–राष्ट्र’ हरूको पराजयले आष्ट्रो–हंगेरियन साम्राज्यलाई नै विघठित गरिदियो । पूर्वी तथा मध्य युरोपमा कयौं नयाँ राष्ट्रको जन्म भयो ।

यही क्रममा चेकोस्लोभाकिया एक नयाँ राष्ट्रका रूपमा अघि आयो। सन् १९१८ को मे ३१ मा अमेरिकी राज्य पेन्सिलभेनियाको पिट्रसबर्ग शहरमा चेक र स्लोभाक प्रतिनिधिले एक सम्झौतामा हस्ताक्षर गरी चेकोस्लोभाकिया बनाए । यो देश सन् १९१८ मे ३१ देखि सन् १९९२ डिसेम्बर ३१ सम्म करिब ७४ वर्ष विश्वमान चित्रमा रह्यो । त्यसपछि पुनश्च: चेक गणतन्त्र र स्लोभाकिया दुई देशमा विभाजित बन्न पुग्यो ।

सोभियत संघ र युगोस्लाभियाजस्तै चेकोस्लोभियाको गठन, कम्युनिस्ट शासनको उत्थान र पतन तथा संघको विघटनका ७४ वर्षलाई ‘साम्यवादको स्वर्ग’ मा भएका रोचक दृष्टान्तको थप एक अध्याय मानिन्छ । यही साम्यवादको स्वर्गमा जन्मेका थिए, मिलान कुन्देरा । उनको जन्म सन् १९२९ अप्रिल १ मा चेक गणराज्यमा भएको थियो । उनका पिता लुडविक कुन्देरा ख्यातिनाम संगीतकार थिए । उनको परिवार मध्यम वर्गीय थियो । सन् १९४७ मा उनी १८ वर्षको उमेरमा चेकोस्लोभाकियाली कम्युनिस्ट पार्टीको सदस्य बने ।

त्यो समय दुई ठूला विश्व युद्धले संसारलाई हल्लाएको थियो । दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको हार र सोभियत संघको विजयले साम्यवादको विचारलाई झनै कठोर र बलियो बनाएको थियो । कुन्देराले सन् १९४८ को ‘प्राग विद्रोह’ लाई युवा कम्युनिस्टका रूपमा उत्साहजनक समर्थन गरे ।

चेकोस्लोभाकियामा ‘कम्युनिस्ट क्रान्ति’ को आफ्नै कथा छ । चेकोस्लोभाकियाली कम्युनिस्ट पार्टी (केएससी ) को गठन सन् १९२१ मा भएको थियो । ‘प्राग विद्रोह’ अघि यो एक संसदीय लोकतन्त्रवादी पार्टी थियो । शान्तिपूर्ण र संसदीय निर्वाचनमा यसको सधैं महत्त्वपूर्ण स्थान रह्यो ।

सन् १९४६ को आम निर्वाचनमा केएससी ३०० मध्ये १११ सिट र ३८ प्रतिशत भोट प्राप्त गरी संसदको सबैभन्दा ठूलो पार्टी भयो । सबैभन्दा ठूलो दलको नेताको हैसियतमा यसका नेता क्लेमेन्ट गटवाल्ड गठबन्धन सरकारको प्रधानमन्त्री भए । रमाइलो कुरा के भयो भने सोभियत संघको ब्याकिङ र स्टालिनको सल्लाहमा त्यसपछि केएसीले सत्ता नै छोडेन । बरु बहुदलीय संविधान परिवर्तन गरी सोभियत संघको जस्तै एकदलीय कम्युनिस्ट प्रणाली स्थापना गरिदियो । यही घटनाक्रमलाई ‘प्राग विद्रोह’ भनिन्छ ।

उनको लेखनमा जुन धार र वैचारिकी थियो, त्यो कम्युनिस्ट विचार र पार्टी अनुकुल आकारित हुन सकेन । तसर्थ सन् १९५० मा पार्टीले उनलाई निष्कासन गर्यो । उनी राजनीतिक जीवनको मोह छोडेर लेखन र अध्यापनतिर लागे ।

मिलान कुन्देरा कम्युनिस्ट बन्दा पार्टी सरकारमा मात्र थिएन, त्यसले ‘प्राग विद्रोह’ मार्फत् सम्पूर्ण सत्ता कब्जा गरेको थियो। सन् १९४७ बाट कुन्देराले साहित्य लेख्न थाले । उनको पहिलो कविता आफ्नै शिक्षक ‘पावेल हसको संझनामा’ थियो, जो नाजी क्याम्पमा मारिएका थिए । तर, उनको लेखनमा जुन धार र वैचारिकी थियो, त्यो कम्युनिस्ट विचार र पार्टी अनुकुल आकारित हुन सकेन । तसर्थ सन् १९५० मा पार्टीले उनलाई निष्कासन गर्यो । उनी राजनीतिक जीवनको मोह छोडेर लेखन र अध्यापनतिर लागे ।

सन् १९६८ मा चेकोस्लोभाक राजनीतिमा अर्को मोड आयो । सुधारवादी धारका नेता अलेक्जेन्डर दुब्चेक पार्टी महासचिव बन्न पुगे । देशभरि लोकतान्त्रिक सुधारको माग गर्दै आम प्रदर्शन भए । दुब्चेक जनताको कुरा सुन्ने र एकदलीय कम्युनिस्ट शासनमा केही सुधार गर्ने पक्षमा थिए । तर, सोभियत संघ र बार्सा प्याक्ट देशहरू चेकोस्लोभाकियाको एकदलीय कम्युनिस्ट शासन कायम राख्नुपर्ने पक्षमा थिए । त्यहाँ लोकतान्त्रिक सुधार भए त्यस्तै माग अन्य कम्युनिस्ट मुलुकमा हुने डर उनीहरूलाई थियो ।

तसर्थ, सोभियत सेनाले चेकोस्लोभाकियामाथि हस्तक्षेप गर्‍यो । सोभियत शासक लियोनिद ब्रेझनेभले करिब ६ लाख ५० हजार सोभियत सेना चेकोस्लोभाकिया पठाए । दुब्चेक अपदस्थ भए । जनप्रदर्शनहरू निर्ममतापूर्वक दबाइयो । सोभियत पिछलग्गुका रूपमा गुस्ताफ हुसाक नयाँ पार्टी महासचिव र राष्ट्रपति भए । यसलाई चेकोस्लाभ इतिहासमा ‘अगस्ट विद्रोह’ भनिन्छ।

यी घटना क्रमले मिलान कुन्देराको विचार र लेखनमा गहिरो प्रभाव पार्‍यो । सन् १९४८ को ‘कम्युनिस्ट कु’ लाई समर्थन गरेका कुन्देरा सन् १९६८ मा जनविद्रोहको पक्ष र सोभियत हस्तक्षेपको विरुद्धमा उत्रे ।

उनको पहिलो उपन्यास सन् १९६७ मा छापिएको ‘द जोक’ थियो । यसमा उनले परम्परागत चेक मिथ, कथा र चुटकिलाहरूको सहायता लिएर कम्युनिस्ट शासनको मजाक उडाएका थिए । कम्युनिस्ट शासनले उनको यो उपन्यासमाथि प्रतिबन्ध लगाएको थियो ।

अगस्ट विद्रोहपछि पनि उनको कम्युनिस्ट पार्टीप्रतिको मोह मरेको थिएन । उनी कम्युनिस्ट पार्टीमै लोकतान्त्रिक सुधार गर्नु पर्छ भन्ने संशोधनवादी विचार राख्थे । तर, विस्तारै उनले बुझे कि त्यो असम्भव कुरा हो । उनको बुताले न कम्युनिस्ट पार्टीको सुधार सम्भव थियो न चेकोस्लोभाकियाको शासकीय सुधार । बरु सत्ता उनीसँग झन्-झन् चिढिँदै गएको थियो ।

त्यसको जोखिमलाई महशुस गरी उनी सन् १९७५ मा देश छोडेर फ्रान्स निर्वासित भए । सन् १९८१ मा फ्रान्सकै नागरिकता लिए । सन् १९९२ मा चेकोस्लोभाकिया टुक्रियो । सन् २०१९ मा चेक गणतन्त्रले उनको नागरिकता पुनर्स्थापित गर्ने निर्णय गरेको थियो ।

कुन्दराको लेखनको अर्काे विशेषता यौन र प्रेम बीचका विसंगतिलाई उतार्नु थियो । उनी आफ्ना पात्रलाई अश्लिलताको तहसम्म यौनलिप्त चित्रण गर्थे । कम्युनिस्ट पार्टीलाई मन नपर्ने एउटा मुख्य कुरा उनको यस्तो लेखन पनि थियो । उनलाई कम्युनिस्टहरूले ‘अश्लिल यौन लेखक’ का रूपमा आलोचना गर्थे ।

कुन्देराले आधा दर्जन भन्दा बढी दार्शनिक तथा साहित्यिक किताब लेखे । ती मध्ये सन् १९८४ मा प्रकाशित ‘द अनवियलेवर लाइटनेश अफ विइङ’ निक्कै चर्चित र प्रशंसित भयो । यस उपन्यासमा उनले सन् १९६८ को जनविद्रोह र सोभियत हस्तक्षेपछिको चेकोस्लोभाकियाली जीवनमा पीडा, दूर्दशा, हतासा र आशालाई उतारेका थिए । उनको यो उपन्यास संसारका दुई दर्जन भन्दा बढी भाषामा अनुदित छ ।

कुन्दराको लेखनको अर्काे विशेषता यौन र प्रेम बीचका विसंगतिलाई उतार्नु थियो । उनी आफ्ना पात्रलाई अश्लिलताको तहसम्म यौनलिप्त चित्रण गर्थे । कम्युनिस्ट पार्टीलाई मन नपर्ने एउटा मुख्य कुरा उनको यस्तो लेखन पनि थियो । उनलाई अधिकांश कम्युनिस्टहरूले ‘अश्लिल यौन लेखक’ का रूपमा आलोचना गर्थे । उनीमाथि व्यक्तिवादी र समाजवाद विरोधीको आरोप पनि बाक्लै लाग्ने गर्दथ्यो ।

सन् २०१५ मा उनले आफ्नो अन्तिम उपन्यास ‘द फेस्टिबल अफ इनसिग्निफिकेन्स’ ८६ वर्षको उमेरमा पूरा गरेका थिए । कुन्देराले चेक भाषा र संस्कृतिको पक्षमा सक्रिय पैरवीसमेत गरेका थिए । उनको आरोप थियो कि साम्यवाद र स्टालिनवादले चेक भाषा र संस्कृतिलाई खायो । यसलाई मर्न दिनुहुँदैन । राजनीतिक हिसाबले कम्युनिस्ट पार्टीको नजिक भए पनि उनको विचारमा नित्से र काफ्फाको गहिरो प्रभाव थियो भन्ने समालोचकहरूको ठहर छ ।

सन् १९८९ को ‘भेल्भेट क्रान्ति’ पछि मात्र उनका अधिकांश किताब उनको मातृभूमि पुगेका थिए । उनले साहित्य क्षेत्रमा थुप्रै विश्व प्रसिद्ध पुस्कार पाएका थिए । यदाकदा नोवल साहित्य पुरस्कारका लागि समेत उनको चर्चा हुन्थ्यो तर त्यो पुरस्कार उनले पाएनन् । पेरिसमा उनको जीवन सामान्य थियो । उनी पढाउने, लेख्ने र घुम्ने गर्थे । मंगलबार बित्नुअघि उनी लामो समयदेखि बिरामी भएका थिए ।

कुन्देरालाई ‘अर्को अल्वेयर काम्यु’ को संज्ञा दिनेको पनि कमी थिएन, जसले साँच्चै विसंगतिपूर्ण, एकांकी र लामो बाँचेर पनि मातृभूमिसँग टुटेको अधुरोजस्तो जिन्दगी बाँच्न परेको थियो । पेरिसमा बसेर लेखे पनि उनको लेखनको पृष्ठभूमि भने सधैं चेकोस्लोभाकीय त्यसमा पनि चेक भाषा, संस्कृति र पात्रहरूको वरिपरि हुन्थ्यो ।

सन् १९१७ देखि १९९१ सम्म संसारमा करिब ५० देशमा साम्यवादी शासन थियो । त्यसलाई ‘सर्वहारा वर्गको स्वर्ग’ भन्ने गरिन्थ्यो । त्यो स्वर्ग थियो वा नर्क वा बीचमा अरु नै केही ? यो प्रश्नलाई उत्तरित गर्ने एक जिउँदा लेखक थिए कुन्देरा, जो अब यो धर्तीमा रहेनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved