गुरुदत्त, एस्प्रेस्सो पिएर त हेर!

गुरुदत्त, एस्प्रेस्सो पिएर त हेर!

आज द मिनिमलिस्ट ‘गुरुदत्त’को जन्मजयन्ती! सन् १९२५ को ९ जुलाईका दिन वसन्तकुमार शिवशंकर पादुकोणका रूपमा जन्मिएका भारतीय सिनेजगतका हस्ती ‘गुरुदत्त’ कसरी मिनिमलिस्ट भए त ? नामै यति लामो भएका यिनलाई मिनिमलिस्ट किन भन्दैछु म ? वसन्तकुमार पादुकोण वा शिवशंकर पादुकोण मात्रै राख्दा पनि भइजान्थ्यो नि है ? तब पो मिनिमल सुनिन्थ्यो, होइन ? तर यिनको मिनिमलिजम अलि गौण छ। अब हेर्नुस् न, वसन्तकुमार मात्र राख्दा आमा वसन्तीको मात्र प्रतिनिधित्व हुन्थ्यो । अनि शिवशंकर मात्रै राख्दा खाली बाबुको।

अधिकांशलाई आमा, बाबू र आफ्नो नाम बताउन तीन नाम चाहिन्छ। यिनको हकमा भने ‘लम्बा है तोह् क्या हुवा ? सिर्फ इक नाम काफी है !’ भएन त मिनिमल?

अँ, थाहा त थियो सबैलाई यस्तो तर्क चित्तबुझ्दो लाग्दैन भन्ने। त्यसैले पनि होला यिनले नामै परिवर्तन गरे। अझै मिनिमलिस्ट भए। साच्चै, यिनी आखिर वसन्तकुमार शिवशंकरबाट गुरुदत्तचाहिँ कसरी भए? अँ, आमाबाबुबाट जन्मिएका यिनी मृत्युको मुखैमा पुगेर पनि फर्किए। यिनी बच्चै हुँदा यिनको दुर्घटना भएको रहेछ। त्यस दुर्घटनाका बाबजुद यिनी बाँचेपछि घरकालाई लाग्यो, ‘मृत्यु भइसकेको हो, तर भगवानले बचाए। यसको अबको जिन्दगी भगवानको कृपा हो। यो अब गुरुको प्रसाद हो। गुरुदत्त हो यो आजदेखि!’ भगवानको कृपा पाएपछि उनलाई त्यति लामो नाम त के पुर्खाले बोक्दै आएको थरसमेत पनि चाहिएन। यिनी विशुद्ध मिनिमलिस्ट भइगए। अब खाली ‘गुरुदत्त’ काफी भइगयो!

गुरुदत्तको आज जन्मजयन्ती! यो विशेष दिनमा म आज यस्ता कुरा गर्नेछैन कि उनी भारतको कुन शहरमा जन्मिए, कति वर्षको उमेरमा उदयशंकरकहाँ के सिक्न पुगे! फेरि प्रभात फिल्म्ससँग यिनी कसरी जोडिए, को को महिलासँग यिनको नाम जोडियो? बीचमा के लफडा भयो। र पनि कसरी टिकिरहे फिल्मी दुनियाँमा? तबसम्म, जबसम्म यिनलाई टिकिरहन मन भयो! यी तमाम चर्चा म यहाँ किन गर्नेछैन भने यी सबै कुरा तपाईंहरूमध्ये आधाभन्दा ज्यादालाई पक्का थाहा छ र बाँकीले पनि इन्टरनेटभरि भेटाइहाल्नुहुनेछ। म त बस् यिनी कसरी मिनिमलिस्ट हुन् भन्नेबारे आफ्नो विचार राख्नेछु। किनभने, ‘गुरुदत्त र मिनिमलिजम’- सम्भवतः यो भने तपाईंले अन्त भेट्नुहुन्न कि?

लेस इज मोर

गुरुदत्तलाई त चिनिहाल्नुहुन्छ पहिला मिनिमलिजमको कुरा सुनौँ। मिनिमलिजमले के भन्छ? यसको नारा के हो? अवधारणा के हो?

यसको नारा हो – ‘लेस इज मोर’ अर्थात् अरूलाई थोरै लागेको कुरा पनि मिनिमलिस्टलाई भने धेरै लागिसकेको हुनसक्छ। यसको अवधारणा हो – ‘मोर विथ लेस’ अर्थात् थोरैबाट धेरै निकाल्नु! कस्तो बिजनेस साइन्सका कुराजस्तै, होइन? तर, बिजनेस इज समवान इल्स बिजनेस! हामी मिनिमलिजमतिरै लागौँ। साच्चै, मिनिमलिजमचाहिँ कहाँ कहाँ लाग्छ त? कहाँ कहाँ लागू हुन्छ यो अवधारणा?

ओहो! बरु यो प्रश्नलाई यसरी पो सोधूँ- कहाँ कहाँ लागू हुँदैन मिनिमलिजम? तपाईंलाई मानौँ समय बचाउनु छ, पैसा बचाउनु छ। तपाईं दाल र सब्जी पकाउनको साटो मात्र सब्जीमा पानी हालेर त्यसैलाई झोलिलो बनाइदिनुहुन्छ। तपाईंको यतिमै  काइदा मिनिमलिस्टिक भइसक्छ। हो, तपाईंलाई चाहना त लाग्दो हो खान मिल्ने जति सबै खाऊँ। तर, जरुरी लाग्दैन र त्यति मात्र खानुहुन्छ जति खान जरुरी छ वा हुन्छ। यही चाहना र आवश्यकताबीच आवश्यकतालाई मात्र भाउ दिनु नै मिनिमलिजम हो।

तपाईंको भान्सा, तपाईंको दराज, तपाईंको जीवन जिउने शैली, घर सजाउने तरिकादेखि तपाईंको जिब्रो र मस्तिष्कको सञ्चालनमा समेत मिनिमलिजम लागू हुनसक्छ। मानसिक शान्तिको लागि तपाईं त्यति मात्रै बोल्नुहुन्छ जति बोल्नैपर्ने हुन्छ। त्यति मात्र सोच्नुहुन्छ जति साच्चै जरुरी हुन्छ।

अहिले त डिजाइनिङमा पनि मिनिमलिजम व्यापक भइसकेको छ। चाहे त्यो इन्टेरिअर डिजाइन होस्, वेबसाइट डिजाइन होस् या ब्यानर डिजाइन, डिजाइनरहरू सक्दो सानो कलर प्यालेटको प्रयोग गर्छन्। मात्र २ वा ३ रङको प्रयोग! त्यसमाथि पनि कलर हार्मोनीलाई विशेष ग्राह्यता दिन्छन्।

रङको कुराले सम्झिएँ, साच्चै यतिबेला त रंगमञ्चमा पनि मिनिमलिस्टिक अप्रोच देखिन थालेको छ। धेरैवटा प्रप्सको प्रयोगले भन्न सक्ने जति कुरा एउटै प्रप्सलाई धेरै तरिकाले प्रयोग गरेर भन्ने। यसले एक त प्रोडक्सन कस्ट घटाउने भयो, दोस्रो थोरै स्पेस खाने भयो, तेस्रो र मुख्य कुरा भनेको यसले सिर्जनशीलतालाई भरपूर बढाउने भयो। कृयटिभिटीसँग जति खेल्न सक्यो त्यो नाटक उति सुन्दर, कलात्मक बन्ने भयो।

मिनिमलिजम एन्ड प्यासा

फिल्ममै पनि मिनिमलिजमको ट्रेन्ड फैलँदो छ। यो दृश्य साच्चै आवश्यक छ? के यो संवाद राख्न जरुरी छ? बिना डायलग यही कुरा कसरी भन्न सकिएला? एउटै विम्बले धेरै कुरा कसरी भन्न सकिएला? न्यारेटरकै लागि छुट्टै क्यारेक्टर किन राख्ने, क्यामरालाई नै कथा भन्न किन नलगाउने? यस्ता प्रश्नको यतिबेला धेरैभन्दा धेरै फिल्म मेकरले जवाफ खोज्न थालेका छन्।

साच्चै, गुरुदत्तले कस्ता फिल्म बनाए? के उनका फिल्म मिनिमलिस्टिक हुन्? ५०-६० को दशकमा चलिरहेका समकालीन फिल्मको तुलनामा गुरुदत्तका फिल्म मिनिमलिस्टिक नै हुन्। जस्तो ‘प्यासा’लाई नै हेरौँ। यसको प्यासी पात्र ‘विजय’ आफू तिर्खाएको कुरा डायलगमा गर्दैन। फूलको रसको खोजीमा भुनभुनाउँदो भौँतारिँदो माहुरीले त्यो कुरा विम्बित गरिदिन्छ।

अडियन्सबाट डायलगमा प्रश्न आउँछ। तर गुरुदत्तको कवि पात्र डायलगमा जवाफ फर्काउँदैन। ऊ कवि हो र ऊ मञ्चमा छ- ऊ कविता नै वाचन गरिरहन्छ। तर, उसलाई प्रश्न गरिएको छ- ऊ जवाफ पनि दिन्छ। हो, ऊ कवितामै जवाफ दिन्छ। डायलगलाई पूर्ण गर्न डायलग नै चाहिएको छैन। अथवा भनूँ कविताले नै डायलगको काम गरेको छ।

फिल्मका गीतहरू पनि गीत मात्रै भइदिनका लागि त्यहाँ छैनन्। गीतले फिल्मले भनिरहेकै कथालाई विस्तार गरिदिएका छन्। फिल्ममा गीत त हुनैपर्छ भन्ने जमाना थियो त्यो। तर, मुख्य पात्र कवि (जसको भूमिका उनी स्वयंले निभाए) थियो। निर्देशक गुरुदत्तले त्यो कविलाई यसरी कविता भन्न लगाए जसरी गीत गाइन्छ। रफी र बर्मनलाई यसरी गाउन लगाए जसरी कविता वाचिन्छ। यसरी एउटै रचना कविता पनि बन्यो, गीत पनि बन्यो।

गुरुदत्त एन्ड मिनिमलिजम

यो त भयो उनको फिल्ममेकिङ र उनको आफ्नो समयको मिनिमलिजमबीचको सम्बन्धको चर्चा। फिल्ममेकर गुरुदत्तको कुरा। अब खाँटी कुरा गरौँ। समग्र गुरुदत्तको कुरा, ‘द मिनिमलिस्ट’को कुरा।

अनेक स्क्यान्डलमा फसिरहने गुरुदत्त भनिन्छ कि रिल लाइफ र रियल लाइफमा बिलकुल फरक थिए। अनेक हण्डर-ठक्कर भोगेका यिनी रक्सी खुब पिउँथे। आफ्नी धर्मपत्नी प्लेब्याक सिङ्गर गीता रोय चौधरीसँग (जो विवाहपश्चात् गीता दत्त बनिन्) पछिल्लो कालखण्डमा यिनको सम्बन्ध जम्न सकेन। प्यासाको सफलतापछि बनेको ‘कागज के फूल’ (जसलाई आजको दिन क्लासिक सिनेमाका रूपमा खोजी खोजी हेरिन्छ) फ्लप भएपछि ठूलो आर्थिक नोक्सानी त व्यहोरे व्यहोरे त्योबाहेक यिनको आलोचना पनि खुबै र खुलेरै भयो।

टेलिफोन अपरेटर हुँदै फिल्मीजगतमा छिर्नु, असिस्टेन्ट डिरेक्टर हुँदै सक्सेसफूल डिरेक्टर हुनुदेखि फ्लप डिरेक्टर हुनुसम्मको यिनलाई अनुभव थियो। गीतासँग राम्रो भइरहँदाको जीवन र उनीहरूबीच समस्या उत्पन्न भइसकेपछिको जीवनलाई उनको सेरोफेरो र समाजले भिन्नाभिन्नै रूपमा बुझिदियो। उनले कहिले मुक्तकण्ठले गरिएको प्रशंसा सुने त कहिले कटु आलोचना! कहिले गडगडाउँदो ताली सुने त कहिले तिमतिम्याउँदो गाली पनि! ‘कागज के फूल’ फ्लप भइसकेपछि उनले आफ्नै निर्देशनमा अरू कुनै फिल्म बनाएनन्। तर, अभिनेताका रूपमा हिट फिल्म दिन भने छोडेनन्। खैर, फिल्म जसको निर्देशनमा बने पनि गुरुदत्तको टिमको फिल्म भनेर चिनिन पनि छोडेन।

आफूले नजिकबाट संगत गरेकाहरूसँग उनी भन्थे रे-

“जीवनमा उतारचढाव दुवै भोगियो। सफल हुँदा आउने तारिफ सधैँ त्यही हो। तिमी जतिपटक सफल होऊ तिमीले अनुभव गर्ने खुसी, सुन्ने तारिफ एकै प्रकारको हुन्छ। तिमी फ्लप होऊ तिमीले सुन्ने गाली, आलोचना पनि त्यही हो।

मलाई सक्सेसफूल डिरेक्टर हुनुको अनुभव पनि भइहाल्यो। फ्लप डिरेक्टर हुनुको अनुभव पनि भइहाल्यो। सक्सेसफूल याक्टर हुनुको अनुभव पनि उस्तै रहेछ। अब फ्लप याक्टर हुँदाको अनुभव पनि त्यही नै त हो!

अब जीवनमा नयाँ अनुभव हुनेछैन। अब तिनै तिनै कुराहरू दोहोरिने मात्रै हुन्। अब के छ र नयाँ? के को लागि बाँचिरहने?”

गुरुदत्तको यस्तो अजीब कुरा सुनेर उनका साथीहरू भने डराउँथे। इन्ट्रोभर्ट मान्छेले यस्ता मृत्युमुखी कुरा गर्दा कोही किन नडराओस्! यस्तै विषयमा पटक-पटक उनीहरूबीच तर्कहरू चल्थे। के तपाईं उनका कुरामा मिनिमलिस्टिक गन्ध पाउनुहुन्न? एउटै अनुभव गर्नलाई जीवनलाई फरक फरक तरिकाले बाँचिरहनु उनलाई कता कता मुर्ख्याइँ लागेको हुनुपर्छ। कता कता बोरिङ लागेको हुनुपर्छ।

जब सक्सेसफूल डिरेक्टर हुनु र सक्सेसफूल याक्टर भइरहनुले अन्तिममा जसरी उनलाई एकै किसिमको अनुभूति दिलाइरह्यो उनलाई पक्कै लागेको हुनुपर्छ- अब यहाँभन्दा उता बाँचिरहनुको आवश्यकता के छ? जति बाँचियो काफी बाँचियो!- यसरी उनलाई पक्कै थोरै बाँच्दा पनि धेरै बाँचेको महसुस भइदियो।

अबरार अल्बी र उनीबीच आत्महत्याको कुरा भइरहन्थ्यो। अल्बीका अनुसार गुरुदत्त आत्महत्या गर्नेसम्बन्धी अनेक अनुसन्धान गरिबस्थे। स्लिपिङ पिल्स खाएर मर्न सजिलो हुने किस्सा पनि उनले अल्बीलाई कुनै भेटमा सुनाइसकेका थिए। अन्तत: एक रात रक्सी र स्लिपिङ पिल्सको ओभरडोजकै कारण उनको मृत्यु भयो। उनी जीवनसँग डराएर होइन बोर भएर भागे। जीवनलाई हेर्ने उनको नजरिया नै बेग्लै थियो।

भनिन्छ उनी अन्तर्मुखी स्वभावका थिए। उनका राइटर अबरार अल्बीले बाहेक अरूले उनलाई कमै बुझ्थे। वहिदा रहेमान, उनकै पुत्र अरूण दत्त, कैफी आजमी लगायत उनलाई चिन्ने अधिकांशले उनी गम्भीर किसिमका थिए भनेरै सम्झिएको पाइन्छ।

एक्स्पिरियन्स सोच्नेहरूभन्दा पनि एक कदम अघि बढेर जीवनलाई एक्स्प्लोरेसन सोच्ने गुरुदत्त समयभन्दा अघि नै जन्मिएथे सायद। यसो सोच्छु, रक्सीको साटो उनी कफी पिउने गर्थे भने? त्यसो हुन्थ्यो त उनी रेगुलर कफीभन्दा थोरै भइकन पनि ज्यादा तितो हुने मिनिमलिस्टिक गुणधारी एस्प्रेस्सो पिउँथे कि? एस्प्रेस्सोको तितो उनलाई खुब मीठो लाग्थ्यो होला! अधिकांशलाई डर लाग्ने मृत्युप्रति उनलाई भने मोह भएजस्तै!

कैफी आजमीले गुरुदत्तमाथि लेखेकै पनि छन्-

“रहने को सदा दहर में आता नहीं कोई
तुम जैसे गए ऐसे भी जाता नहीं कोई

इकबार तो खुद मौत भी घबराई होगी
यूं मौतको सिने से लगाता नहीं कोई”

अ बर्थडे नोट टु प्यासा!

प्रिय प्यासा,
मृत्यु पिएपछि तिम्रो प्यास बुझ्यो कि बुझेन? बुझेको भए त ठिकै छ। तर, बुझेको रहेनछ भने?

साच्चै, रक्सी त ओभरडोज भइसकेकै हो अब कफी पनि त पिएर हेर! आखिर, मृत्यु तितो कि कफी? आखिर, मृत्यु मीठो कि जिन्दगी?

स्लिपिङ पिल्स ओभरडोज भएर निदाएको निदायै भयौ, अब एस्प्रेस्सो पिएर हेर! भन्छन्, स्ट्रङ कफीले निद्रा भगाउँछ! साच्चै, अब जाग्यौ भनेचाहिँ, मिनिमलिजमलाई म्याक्सिमम सिरियस्ली नलिनू है! तर, के प्यासा फेरि जाग्न सम्भव छ? के अर्को गुरुदत्त जन्मिन सम्भव छ? खैर …

ओहो! कुरै कुरामा बर्थडे विस गर्न भने बिर्सिरहेको … ह्याप्पी बर्थडे प्यासा!

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved