आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्कालाई १५ महिना कैद, रकम र घरजग्गा जफत हुने फैसला

विशेष अदालतले शुक्रबार फैसला गर्दै खड्कालाई १ वर्ष ३ महिना कैद सजाय तोकेको हो। बिगोसहित १८ करोडभन्दा बढी जरिवाना हुने फैसला सुनाइएको छ।

नेपालभ्युज

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्कालाई १५ महिना कैद, रकम र घरजग्गा जफत हुने फैसला

काठमाडौं। नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले शुक्रबार फैसला गर्दै खड्कालाई १ वर्ष ३ महिना कैद सजाय तोकेको हो। बिगोसहित १८ करोडभन्दा बढी जरिवाना हुने फैसला सुनाइएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल र सदस्य न्यायाधीशद्वय शालिकराम कोइराला र खुशीप्रसाद थारुको इजलासले खड्काको बैंक मौज्दातमा रहेको रकम र घरजग्गा समेत जफत हुने फैसला गरेको छ।

बिगो र जरिवाना गरी खड्काबाट कुल १८ करोड ३८ लाख १३ हजार २६८ रुपैयाँ असुलउपर हुनेछ। ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ बराबर बिगो ठहर भई सोही बमोजिम जरिवाना समेत गरिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए।

कति छ खड्काको सम्पत्ति ?

सडक विभागबाट ५८ वर्षको उमेर हदका कारण अवकाश पाएलगतै खड्का राजनीतिक नियुक्तिका आधारमा २०७१ माघ १२ गते आयल निगमको प्रमुख बनेका थिए।

खड्काले आयल निगममा जागिर खाएको आयल निगममा साढे ३ वर्षमा पाँच वटा घर, उपत्यकाका विभिन्न स्थानमा जग्गै जग्गा भेटिएको थियो। सुपर मार्केटहरूमा एटीएमबाट मात्रै १ करोड ८० लाख भुक्तानी देखिएको थियो।

तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापाले ठाडो प्रस्तावबाट उनलाई नियमको कार्यकारी निर्देशक बनेका थिए। आयल निगमको भण्डारण स्थल बनाउन विभिन्न ठाउँमा जग्गा खरिद गर्दा अनियमिता गरेको भेटिएको थियो।

खड्कालाई सरकारले २ असोज २०७४ मा बर्खास्त गरेको थियो। तर, आयल निगममा साढे ३ वर्ष कार्यकारी निर्देशक हुँदा खड्काले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

अख्तियारका अनुसार खड्काले पुर्ख्यौली घरबाहेक ३ वटा घर निर्माण तथा खरिद गरेका थिए। दुई वटा घर खरिदका लागि आंशिक भुक्तानी दिएका थिए।

उनले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेका भेटिएको थियो।
घरजग्गा खरिदमा मात्र उनले ११ करोड ६१ लाख ४३ हजार २०६ रुपैयाँ ३१ हजार खर्च गरेका भेटिएको छ।

अख्तियारका अनुसार विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा उनको खाता भेटिएको थियो। २५ करोड २८ लाख ५ हजार नौ रुपैयाँ ७६ पैसा लगानी तथा खर्च गरेको भेटिएको थियो।

खड्काले श्रीमती शर्मिला खड्काका साथै तेह्रथुमको जिरीखिम्ती–२ घर भई बुढानीलकण्ठ–४ बस्ने कृष्णबहादुर लामाकी छोरी, दीपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बाको नाममा २० करोड रुपैयाँ बढी सम्पत्ति राखेका थिए।

तीनै खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। सोही मुद्दामा उनलाई सजाय सुनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved