हेल्लो फ्रस्टेटेड युवा, लेट्स, अभिनय गरौँ!

होमवर्क बुझाउनुपर्ने पिरले स्कुल जान नमानेर भुईँमा लडिबुडी खेलिरहेको बच्चोलाई आमाले रंगीबिरंगी बेलुन किनिदिएर फकाएजस्तै ती पात्रमार्फत हामीहरू पनि आफैलाई फकाइरहेछौँ सपनाका रंगिन बेलुनहरूमा श्वास हाल्दै! हो, म कुरा गर्दैछु नाटक ‘लेट्स, अभिनय गरौँ!’ को।

हेल्लो फ्रस्टेटेड युवा, लेट्स, अभिनय गरौँ!

काठमाडौंको टेकुस्थित कौसी थिएटरमा यतिबेला एक हुल तपाईं-हामीहरू अभिनय गरिरहेका छौँ ! हो, तपाईं-हामीहरू अभिनय गरिरहेछौँ। तपाईं-हामीहरू ती पात्रहरूमार्फत बाँच्ने अभिनय गरिरहेछौँ।

होमवर्क बुझाउनुपर्ने पिरले स्कुल जान नमानेर भुईंमा लडिबुडी खेलिरहेको बच्चोलाई आमाले रंगीबिरंगी बेलुन किनिदिएर फकाएजस्तै ती पात्रमार्फत हामीहरू पनि आफैँलाई फकाइरहेछौँ सपनाका रंगिन बेलुनहरूमा श्वास हाल्दै! हो, म कुरा गर्दैछु नाटक ‘लेट्स, अभिनय गरौँ!’ को।

नाटक कतिबेला सुरू भइसक्छ हामी ठ्याक्कै मेसो पाउँदैनौँ। किनभने, नाटकका पात्रहरू अभिनय गरौँ त भनिरहेका छन् तर, जीवनको अभिनय अभिनयजस्तै नलाग्ने। अहो! कस्तो विरोधाभास हेर्नुस् न, त्यही जीवन बाँच्दा भने बाँचिरहेझैँ नलाग्ने! खैर …

पात्रहरूको कुनै नाम छैन, थर छैन। हुलिया? कोही मजस्ता छन् त कोही ठ्याक्कै तपाईंजस्ता- फ्रस्टेटेड! उनीहरूको हुलिया नै फ्रस्टेसन हो। तपाईं-हामीले भोग्दै, बाँच्दै आइरहेको फ्रस्टेसन।

हाम्रो फ्रस्टेसनलाई नाटकले कतै संवादमार्फत्, कतै संगीतमार्फत्, कतै नृत्य त कतै अनेक शारीरिक कृत्यमार्फत् पोखिदिएको छ। कौसीको मञ्चमा लाग्छ हामी नै पोखिइरहेका छौँ।

साँच्चै, पृष्ठभूमिमा बजेको सङ्गीतको धुनमा पात्रहरू यसरी बगिदिन्छन् कि लाग्छ जिन्दगी ठोस होइन तरल छ। तर, तरल हुँदाहुँदै पनि जिन्दगी रेफ्रीजेरेटरभित्र राखिएको पानीजस्तै जमेको छ। त्यसलाई बगाउन अनेक तिकडम गरेर न्यानो बनाउनपर्छ, सेक्नपर्छ, बफ्याउनपर्छ, उमाल्नपर्छ!

नाटक आखिर के का बारेमा हो त? यो फ्रस्टेटेड युवाहरूको दैनिकीको कथा हो, जुन दैनिकीभित्र युगौँदेखि बाँचिरहेको (कि बाँच्ने अभिनय गरिरहेको?) युवाको सिङ्गो जिन्दगी छ। जुन कथाभित्र अक्कडे भीरमै पनि फुल्न नबिर्सिएको गुराँसजस्तै गरी व्याप्त छ कविता!

अँ, कविताको कुरा आइसकेपछि लाग्छ घडीको सुइलाई लट्ठ हुने सुई दिऊँ र डुबिरहूँ एकै छिन कविताको सौन्दर्यमा। पात्रहरू बिहान ब्युँझिएसँगै दर्शकहरूसँगसँगै तयार हुन थाल्छन्। उनीहरूलाई निस्किनु छ संसारमा। भेटघाट गर्नु छ।

तयारीस्वरूप उनीहरू आफ्नो मैलो पखाल्न थाल्छन्। उनीहरू मुख धुन्छन्, हात धुन्छन्, ज्यान मिचीमिची पखाल्छन्, नुहाएर स्निग्ध हुन्छन्। तर, दाँत मोल्न बिर्सिन्छन्।

दाँतको फोहर उनीहरू संसारको अनुहारमा खकाल्छन्। आफ्नो फ्रस्टेसनको पहाड सायद अरूको टाउकोमा खसाल्छन्! हाय बिम्ब! हाय कविता!साँच्चै, के तपाईंले आफ्नो मुखको मैलो अर्काको मुखमा थुक्नुभएको छ? वा अनायासै गल्तीले कसैको अनुहारमा थुक उछिट्याउनुभएको छ? झट्ट सम्झिनुभएन? ठिक छ, समय लिनुस्। अब घडीको सुइलाई बग्न दिनुस्।

 

तपाईंले मलाई आज अलि फ्र्स्टेटेड महसुस गर्नुभएको हो? के म छटपटाइरहेको छु? के भन्ने, के नभन्ने? कताबाट सुरु गर्ने, अन्त्य कता कसरी गर्ने? वास्तवमा म नाटकका यिनै पात्रहरूको रिदममा बग्न थालिसकेछु।

या फेरि यिनीहरूले समाएका हुन् मेरो रिदम? तर, यत्ति कुरा भने हो, कि यो नाटक संगीत, नृत्य र शब्दहरूको कोलाज हो! म यस लेखमा शब्दभन्दा पर जान सकिरहेको छैन। मसँग सीमितता छ जसरी नाटकका पात्रहरूसँग छ।

साँच्चै, नाटकका पात्रहरूको सीमितता के हो? उनीहरू किन रोकिएका छन्? बन्द घडीका सुइहरूजस्तै? किनभने, उनीहरू फ्रस्टेटेड छन्। किन छन्? किनभने, उनीहरू बेरोजगार छन्। या त फेरि रोजगार पीडित छन्। कोहीसँग डिग्री छ तर जागिर छैन।

कोहीसँग जागिर त छ तर, चुलोमा आगो छैन। जागिर खान नपाएकाहरू फ्रस्टेटेड छन् त्यसको स्वाद लिन नपाउँदा। जागिर खान जानेहरू सोच्दा छन्- मैले खानुपर्ने जागिरले मलाई नै किन चपाइरहेछ?

आफ्नै रोजगारी गरौँ लगानी छैन। जोसँग लगानी छ, उसलाई स्वरोजगार बन्ने न आँट छ न इच्छा! अर्काको जागिर गरौँ अर्कैलाई हुन्छ, आफूलाई कहाँ हुन्छ? तर पनि, घडी चलिरहेकै छ, पात्रहरू रोकिएका छैनन्। पृष्ठभूमिमा संगीत बजिरहेकै छ, पात्रहरू दौडिरहेछन्, नाचिरहेछन्।

यो भागदौडको धपेडीले दाँत मोल्न बिर्सिने पात्रहरू सार्वजनिक यातायातमा एकैठाउँ भेला भए भने के हुन्छ साँच्चै? सोच्न थाल्नुभयो? यसमा सोच्नपर्ने के छ र? सधैँ जे भइरहेछ, जे सधैँ भोगिरहेका, बाँचिरहेका छौँ त्यही त हुन्छ नि! तपाईं त्यही हरेक दिन झुटो बोल्ने कन्डक्टरलाई हरेक दिन विश्वास गरेको अभिनय गर्नुहुन्छ।

बस प्याक भइसक्छ तर, कन्डक्टर सिट खाली छ भन्न छोड्दैन। र तपाईं त्यसलाई पत्याउन छोड्नुहुन्न। तपाईंहरू दुवै अभिनय गर्नुहुन्छ। अफिसमा सबैभन्दा पछाडि हाजिर हुने तपाईंहरू बसभित्र पछाडि पर्न चाहनुहुन्न। बसभित्र अरू के के हुन्छ? अँ, बसभित्र नभएको मौका सिर्जना गरेर समेत तपाईंको शरीरलाई अपरिचितले पनि छोइदिन्छ। तर, आजसम्म कोही परिचितले पनि तपाईंको हृदयलाई भने छुन सकेको छैन।

साँच्चै, शरीर छुनु त्यति नराम्रो हो? होइन होला! तर, भित्र नछोई बाहिर छुनु राम्रो पक्कै नहोला!

तब पात्रहरू आफ्ना आँखामा पट्टी बाँधिदिन्छन्। आउनुस्, यो दृश्यलाई ‘लेट्स महसुस गरौँ!’ तपाईंले आफ्नो आँखामा पट्टी बाँध्नुभएको छ। तपाईंले आफ्नो अनुहार बिर्सिसक्नुभएको छ।

अब को तपाईं? को ऊ? तपाईंको वर्ण कस्तो, उसको वर्ग कस्तो! तपाईंको रूप, उसको लिङ्ग! तपाईंको जात, उसको धर्म! अब कुनै पनि परिचय बाँकी छैन। अब खाली अस्तित्व मात्र व्याप्त छ। बाहिरी सबै कुरा विलीन भइदिएका छन्।

तपाईंहरू आ-आफ्नो अन्तरमा लीन भइसक्नुभएको छ। आफ्नै अन्तर भेटे मात्र पो मान्छेले अरूका पनि अन्तर भेट्दो हो। सबै बाहिरी कुरा गायब भइदिएपछि अब अन्तर-अन्तरबीच के को अन्तर? होइन? तब, एउटा अन्तरले अर्को अन्तरलाई छोएको पनि कति मीठो! अन्तर-अन्तरको सामीप्य कति सुन्दर! कति पवित्र तिनको आलिङ्गन, तिनको प्रेमालाप!

खैर, यस्तो प्रेमालाप यथार्थमा पनि हुनसक्थ्यो भने!

अब धेरै कुरा गर्दिनँ। म पनि यही युगको फ्र्स्टेटेड युवा प्रतिनिधि न हुँ। खैर, नाटकभरि फ्र्स्टेटेड पात्रहरू केही खोजिरहेछन्, केही मागिरहेछन्।

पात्रहरू यसरी मागिदिन्छन् कि दर्शक करिब करिब बिर्सिदिन्छ कि म दर्शक हुँ! लाग्छ, यो पात्रले खोजेको के हो? म केही त दिऊँ उसलाई, आखिर उसले मागेको के हो? जागिर? लगानी? बिजनेस आइडिया? अंकमाल? प्रेम? स्नेह? हौसला? आखिर के? बसिरहेको ठाउँ छोड्न मन लाग्दा लाग्दै पनि, केही दिऊँ दिऊँ लाग्दालाग्दै पनि (अपवादबाहेक) दर्शकदिर्घाबाट कुनै हात अघि बढ्दैन।

कसैले केही दिँदैनन्। नाटक लगभग खोजेर, मागेरै सकिन्छ। भेटिने, पाउने दृश्य कतै छैनन्।

तर अँ, एक ठाउँमा पाउने आशा भने छ है। विदेश जाने हो भने ऋणचाहिँ पाइन्छ। साँच्चै, देशमै केही गर्छु भन्नेलाई तपाईंले कहिल्यै केही दिनुभएको छ? नाइँ, नाइँ। पैसा नै परेन। तर, साथ! या कहिलेकाहीँ हौसला मात्रै पनि!

पुनश्च:
यो नाटक, सायद नाटक कम जीवन ज्यादा हो। जसरी जीवन सधैँ जीवन कम र नाटक ज्यादा भइदिने गर्छ। यो नाटक फ्र्स्टेटेड युवाहरूको ‘र्याप सङ विद पर्फमेन्स’ हो।

अनि, र्‍यापमा कताहुँदी यताउति रफ वर्ड त भइहाल्ने भयो। आखिर  र्‍याप  भनेको आफूभित्रको फ्रस्टेसन निकाल्ने एउटा सिर्जनात्मक काइदा न हो। म त्यो लेडी पात्रलाई यतिबेला पनि सम्झिरहिछु- जसको संस्कारमाथि अर्को पात्र बारबार प्रश्न उठाइरहन्छ।

अनि, ती पात्रहरूको शब्द युद्ध! साँच्चै, त्यो भाषा पो कुन थियो? आ! हुन त भाषामा के नै पो राखेको छ र? अभिनय जीवन्त भयो भने हुँदै नभएको भाषा पनि बुझिनेरहेछ!

जाँदाजाँदै, हेल्लो फ्र्स्टेटेड युवाहरू, लेट्स अभिनय गरौँ! थोरै बाँचेजस्तो गरौँ!

तस्वीर सौजन्य : प्रयास/ए.के.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved