फिल्म मेकिङमा संयोगले महत्त्वपूर्ण भूमिका खेल्छ !

एकै वर्ष कान्स र ओस्कार जस्ता विश्वस्तरमै प्रतिष्ठित दुवै सिने अवार्ड हात पारेपछि हामागुचीका फिल्महरू खोजी खोजी हेर्ने दर्शकको सङ्ख्या बढिरहेको छ। विशेषगरी, प्रेमको कथा भन्ने हामागुचीका फिल्ममा यौन मनोविज्ञानदेखि जीवन र जगतका गहन दर्शनसमेत खप्टिएका पाइन्छन्।

फिल्म मेकिङमा संयोगले महत्त्वपूर्ण भूमिका खेल्छ !

४४ वर्षीय र्युसुके हामागुची पछिल्लो समय सिनेप्रेमीका लागि खोजी र रुचिका नाम बने। यिनलाई खोज्ने र यिनमा रुचि राख्नेहरू दिन प्रतिदिन बढिरहेका छन्।

जापानी फिल्ममेकर हामागुची नयाँ निर्देशक भने होइनन्। जीवनको ४ दशक ४ वर्ष लामो यात्रापछि बल्ल अन्तर्राष्ट्रिय लोकप्रियता बटुल्न उनी सफल भएका हुन्। अङ्ग्रेजी भाषामा सबटाइटल राख्ने जमर्को नगरिएकै कारण पनि उनका अघिल्ला अब्बल फिल्महरूले पनि पाउनुपर्ने जति ख्याति कमाउन सकेका थिएनन्।

तर, ‘ड्राइभ माइ कार’का लागि सन् २०२२ को ओस्कारमा उत्कृष्ट विदेशी चलचित्र र त्यसैगरी २०२२ कै कान्समा उत्कृष्ट पटकथा हात पारेपछि यिनको ख्याति अन्तर्राष्ट्रिय स्तरमै चुलिएको हो। त्यसो त अन्तर्राष्ट्रिय स्तरमा यिनले आफ्नो नाम सन् २०१५ मै लेखाएका हुन्। ‘ह्याप्पी आवर’ नामक फिल्मबाट अन्तर्राष्ट्रिय सिने जगतमा खाता खोलेका उनको पहिचानलाई दरिलो पार्ने काम भने २०१८ मा ‘असाको १ र २’ नामक फिल्मले गर्‍यो। र हुँदाहुँदै ड्राइभ माइ कारले दिलाएको व्यापक सफलताले उनलाई पहिचान सँगसँगै लोकप्रियता समेत दिलाएको छ।

एकै वर्ष कान्स र ओस्कार जस्ता विश्वस्तरमै प्रतिष्ठित दुवै सिने अवार्ड हात पारेपछि हामागुचीका फिल्महरू खोजी खोजी हेर्ने दर्शकको सङ्ख्या बढिरहेको हो।

सन् २००१ देखि सिनेक्षेत्रमा सक्रिय यिनले टोक्यो राष्ट्रिय विश्वविद्यालयबाट फाइन आर्ट र म्युजिकमा विद्यावारिधि गरे। कमर्सियल सिनेमाबाट फिल्मी करियर सुरू गरेका उनले डकुमेन्ट्री फिचर हुँदै आर्ट फिचर फिल्मसम्म बनाउन थालेका हुन्। आफ्नै देश जापानमा भने उनलाई उनको फिल्म ‘प्यासन’ ले चिनाएको हो। सन् २०११ मा जापानको तोहोकोमा गएको भूकम्प र सुनामीमाथि उनले तीन भागमा समेटिएको डकुमेन्ट्री फिल्म ‘साउन्ड अफ वेभ्स’ बनाए जसले उनलाई आफ्नै देश जापान र आसपासका देशमा स्थापित गराइदियो।

उनका फिल्मको केन्द्रबिन्दूमा प्रायः महिला पात्र भेटिने गर्छन्। ‘ह्याप्पी आवर’ मा उनले ४ जना महिला पात्रहरूको वरिपरि रहेर मित्रता, प्रेम र यौनका कथा भनेका छन्।

यस्तै, ‘असाको १ र २’ पनि एउटी यस्ती युवतीको कथा हो जो एकैसाथ एउटै अनुहार भएका दुई फरक युवकहरूसँग प्रेम गर्छे र दुवैसँग बिलकुल फरक तरिकाले प्रस्तुत हुन्छे।

हुन त ड्राइभ माइ कारको प्रमुख पात्र (युसुके काफुकु) पुरुष भए पनि फिल्मले उसको जीवनको पहिलो खण्ड र पछिल्लो खण्डमा दुई महिलाले पारेको प्रभावको कथा भनेको छ।

यति भएपछि त उनका अन्य फिल्मबारे त तपाईँ आफै पनि चासो दिई नै हाल्नुहुनेछ। कि कसो?

विशेषगरी, प्रेमको कथा भन्ने हामागुचीका फिल्ममा यौन मनोविज्ञानदेखि जीवन र जगतका गहन दर्शनसमेत खप्टिएका पाइन्छन्। सामान्य हुलियामा मस्तिष्कमा छिरेर विशेष पकड जमाउन यिनका पात्रहरू सिपालु छन्। अथवा भनूँ फिक्का आकृतिमा देखा परेर ती पात्रहरू दर्शकका मनमा गाढा छाप पारेर जान्छन्।

अघिल्लो शनिबारको बसाइँमा यिनै निर्देशकको कान्स एवं ओस्कार विजेता फिल्म ‘ड्राइभ माइ कार’ बारे केही लेखेकी थिएँ। आजको बसाइँमा यिनको फिल्म मेकिङप्रतिको समझ र अनुभव तपाईँहरूसँग बाँड्न मन लाग्यो।

द अनिअनको इन्टर्टेन्मेन्ट पेपर (अडियो-भिजुअल) ए.भी. क्लबले हामागुचीसँग गरेको फिल्ममेकिङ केन्द्रित कुराकानीको अनुवादित अंश तपाईँका लागि:

 

क्लब: तपाईँका धेरै पात्रहरू आवेगमा चल्छन्। तर, तपाईँको फिल्ममेकिङ स्टायल हेर्दा तपाईँ आफै भने आवेगमा चल्ने मान्छे हो जस्तो लाग्दैन। आवेगलाई तपाईँले खास कसरी लिनुभएको छ? आखिर, किन तपाईँका फिल्म आवेगको त्यस्तो धनी?

हामागुची: मलाई लाग्छ आवेग राम्रो चिज हो। वास्तवमा म त सधैँ आवेगकै खोजीमा हुन्छु। तर, त्यो आवेगचाहिँ इमानदार होस्, स्वाभाविक होस्! अभिनय गरेर, बल लगाएर ल्याइएको आवेग मैले एकदमै कम देख्न चाहने कुरा हो।

आवेग स्वाभाविक र सटीक होस्। र, मलाई थाहा छैन यसको कुनै अर्थ छ/छैन तर, मैले आफैले आफैलाई पनि यही कुरा सुझाइरहेको हुन्छु। म आफैले आफैलाई स्वाभाविक रूपमा आवेगपूर्ण हुन हौस्याइरहेको हुन्छु।

त्यसको लागि आफूमाथि एकदम ध्यान दिन जरुरी छ जस्तो लाग्छ मलाई। आवेग आखिर कस्तो हो, साँचो आवेग हो या होइन छुट्टाउनु पक्कै मुस्किल काम हो। खैर, को जानोस्, भोलि अचानक म आफैले पनि गायब भइदिने आवेगपूर्ण निर्णय पो गर्छु कि?

 

क्लब: तपाईँका फिल्ममा त संयोग र जम्काभेटहरू पनि खुब हुन्छन्। फिल्म मेकिङको दौरान तपाईँ त्यस्ता घटनाहरूलाई घट्न छोडिदिनुहुन्छ कि स्क्रिप्टभित्रै रहनुपर्छ भने कडा नियम छ तपाईँको?

हामागुची: यहाँनेर दुईवटा पाटा छन् कुरा गर्नका लागि। किनभने, संयोग भनेको त फिल्म मेकिङलाई चाहिने अत्यन्तै महत्त्वपूर्ण चिज हो। यदि तपाईँले संयोगलाई खिच्न सक्नुभयो भने तपाईँले केही यस्तो कुरा खिच्नुभयो जुन एकपटक मात्रै खिच्न सकिन्थ्यो! त्यस्तो दृश्य खिच्नुभयो जुन एकपटक मात्रै घटित हुनसक्थ्यो!

हो, यसकारण संयोग अति महत्त्वपूर्ण हुन्छ फिल्म मेकिङमा। तर, यसको मतलब हरेक संयोगलाई फिल्ममा राख्नैपर्छ त? त्यस्तो भने होइन। मलाई के लाग्छ भने जब कथा भनिन्छ नि, तब संयोग पनि एउटा योजना सँगसँगै भने जानुपर्छ। योजनासँगै संयोग कसरी आउँछ त? त्यहाँनेर एउटा कोठा संयोगको लागि खाली राखेर!

जस्तो, म के गर्छु भन्दा आफ्नो कास्टलाई डायलग्स पढ्न लगाउँछु। उनीहरूले त्यो बारबार पढ्छन्। त्यतिबेला उनीहरूले त्यसमा भावना हुलेर पनि पढ्दैनन्। तर, यसले के हुन्छ भने सुटिङको समयमा उनीहरूको मुखबाट संवाद आफै निस्किन्छ। त्यो होसपूर्ण संवाद हुँदैन। उनीहरूको भित्रबाट उनीहरूलाई नै होस् नभई त्यो संवाद त्यसरी निस्किन्छ।

र यो नै त्यो संयोग हो जुन योजना सँगसँगै बगेर आउँछ। के बोल्ने भन्ने त पहिल्यै योजना गरिएको हुन्छ। तर, अभ्यासमा भावना मिसाउन दिइएको हुँदैन। तर सुटिङको क्रममा अचानक जुन भावसहित उनीहरू ती संवाद बोल्छन्, त्यो भावना उनीहरूकै लागि पनि अनौठो भइदिएको हुन्छ। यो कुरा फेरि आवेगसँगै गएर ठोक्कियो। ती संवाद बोलिँदा एउटा आवेग पनि सँगसँगै आएको हुन्छ, जसबारे अघि कुनै पनि योजना बनाइएको हुँदैन।

मचाहिँ संयोगका लागि यसरी एउटा कोठा खाली राख्ने गर्छु। र यो कोठा खाली राख्ने कलालाई म अझै बढाउन चाहन्छु।

 

क्लब: साँच्चै, तपाईँ त हमसकलहरूबाट खुब प्रभावित हुनुहुन्छ नि है?

हामागुची: म जान्दिनँ, वास्तवमा म हमसकलहरूबाट प्रभावित छु या छैन। एकपटक के भएको छ भन्दा मान्छेहरूले मलाई कतै देखेको बताए जता म कहिल्यै पुगेको पनि थिइनँ। यो कुराले मलाई गज्जबै सोचाएको हो, ओहो! कोही मजस्तै देखिने मान्छे अन्त कतै पनि बाँचिरहेको रहेछ है! तर, मलाई लाग्दैन म हमसकलहरूप्रती म त्यति धेरै पनि रुचि राख्छु जति मेरा गुरु कियोसी कुरोसवाले राख्न सक्नुहोला!

खैर, यो प्रश्न जन्मिनुको कारण पक्कै पनि मेरो दुईवटा फिल्म ‘असाको १ र २’ अनि ‘ह्विल अफ फर्चुन’ हुनुपर्छ। तर, साँच्चै भन्नुपर्दा हमसकल वा यसको अवधारणाको हकमा मैले रुचि देखाउनुको एउटै मात्र कारण भनेको यो कतिसम्म असम्भव लागिदिन्छ वा भनूँ यसको अजीबपनाले नै हो मलाई यसप्रति आकर्षित गरेको।

त्यही अजीबपना र यसले निम्त्याउने विसङ्गतिलाई देखाउने रहर लागेर नै मैले यी फिल्म बनाएँ। र विसङ्गतिले, मलाई लाग्छ फिल्ममा अति महत्त्वपूर्ण भूमिका खेल्छ, विशेष गरी फिक्सनमा। किनभने, यथार्थमा त एकपछि अर्को तर्क हुन्छ हरेक कुरामा। र मान्छेको समझको सीमा नै यहीँनेर खडा हुन्छ। तर, फिक्सनले त्यस्तो विसङ्गतिलाई समेत साह्रो गज्जबसँग चित्रण गरिदिनसक्छ जुन यथार्थमा हामीलाई बुझ्न गाह्रो पर्न सक्छ।

फिल्ममा यसरी विसङ्गति देखाइनुले मलाई लाग्छ, हामीलाई हाम्रो वास्तविक जीवनमा घट्ने वा घट्नसक्ने विसंगतिहरूको लागि तयार राख्न सहयोग गर्छ।

सायद, म अब तयार छु मेरो हमसकललाई भेट्न र उसले मेरो जिन्दगीमा लिएर आउने विसङ्गतिको सामना गर्न।

 

क्लब: सन् २०११ को तोहोकु भूकम्पले ‘असाको १ र २’ मा भूमिका खेलेको छ। त्यस्तै, ‘ड्राइभ माइ कार’मा पनि २०१८ को पहिरोले थोरै भूमिका निभाएकै छ। यस्ता प्राकृतिक प्रकोपले फिल्मको कथामै चाहिँ खास कति अर्थ राख्छन्?

हामागुची: त्यसो त म जे भन्न खोज्दैछु त्यो सुनेर तपाईँलाई मैले बहाना गरेँ, पन्छिन खोजेँ जस्तो पनि लाग्न सक्दो हो। किनभने, ‘असाको’ मा २०११ मा पूर्वी जापानमा आएको भूकम्पको प्रसङ्ग जुन छ, त्यो मेरी सहलेखक साचिको तनाकाले लेखेकी हुन्।

वास्तवमा, फिल्मको ओरिजिनल कथा २००८ ताकाको थियो। तर, यस फिल्मको कथाले एउटा सिङ्गो दशक समेट्न सक्थ्यो। र म चाहन्थेँ, फिल्म हेर्दा दर्शकले समकालीन कथा हेरेझैँ महदुस गरुन्। त्यसैले, मैले उनलाई भनेको थिएँ, कसैगरी यसमा २०११ को तोहोकु भूकम्प पनि कतै उल्लेख हुनुपर्छ! उनलाई त्यसो भनिरहँदा मेरो दिमागमा भने टिभी स्कृनतिर भूकम्पको बारे समाचार आएको दृश्य पृष्ठभूमिमा देखाउन सकिने उपाय सुझ्दै थियो। सामान्य तरिकाले, मात्र समकालीन महसुस होस् भन्नका लागि म त्यस भूकम्पलाई पृष्ठभूमिमा उभ्याउन चाहन्थेँ। तर, उनले त्यसमा जब काम गरिन् त्यस भूकम्पलाई व्यापक ढङ्गले समेटिदिइन्।

उनलाई पनि थाहा थियो यो अति संवेदनशील विषय थियो तर फेरि पनि उनलाई किन हो म प्रति विश्वास जागेछ। उनले भनेकी थिइन्, ‘सायद, यो विषयमा फिल्ममा काम गर्न सक्ने मान्छे नै तिमी होऊ!’ त्यही भूकम्पमाथिको मेरो डकुमेन्ट्री फिल्मका कारण उनले ममाथि आँखा चिम्लिएको हुनुपर्छ।

त्यसरी उनले ममाथि आँखा चिम्लिएर विश्वास गरिदिएपछि, मैले पनि दायाँबायाँ केही नहेरी यो फिल्मलाई भूकम्पमय बनाइदिएँ। यसरी नै यो यस्तो बनेको थियो।

र जहाँसम्म ड्राइभ माइ कारको पहिरोको कुरा छ, त्योचाहिँ कुनै वास्तविक पहिरो होइन। त्यो पहिरोलाई कथामा म आफैले ल्याएको हुँ। त्यो खाली एउटा काल्पनिक पहिरो हो। र यी दुवै प्राकृतिक प्रकोप जुन फिल्ममा देखिन्छन् ती दुवै संयोगवश कथामा जोडिएका वा गाँसिएका हुन्। मैले यिनलाई होसपूर्वक कथामा राखेँजस्तो मलाई लाग्दैन तर, यतिबेला यसो हेर्दा यो मैले हिँड्नै पर्ने बाटो रहेछ, र हिँडेर राम्रै गरेछु जस्तो लाग्छ।

हुन त तीनले मलाई भूकम्पताकाका आफ्नै अनुभूतिहरू पनि नसम्झाउने होइनन्। तर, मलाई लाग्दैन मैले ती कुरालाई होसपूर्वक लेखेको हुन्थेँ भने त्यसरी लेख्न सक्थेँ जसरी त्यो लेखियो। र ड्राइभ माइ कारको हिरोसिमाको प्रसङ्ग कोट्याएर पनि मान्छे मलाई यस्तै प्रश्न सोधिराख्छन्। तर, त्यो दृश्य हिरोसिमामा खिचिनु पनि एउटा संयोग मात्रै थियो।

कहिलेकाहीँ यसो सोच्छु र लाग्छ कतै त्यसो हुनु नै त्यसको नियति थियो वा जे गरेँ त्यो मैले जसैकसै गर्नु नै रहेछ!

जब मुराकामीको कार हामागुचीले हाँके

क्लब: बहुराष्ट्रिय कास्टलाई निर्देशन गर्नु कस्तो कुरा रहेछ? यसका भयानक चुनौती र व्यापक फलिफाप भन्न मिल्नेजस्ता केही चिज छन् कि? अनि ड्राइभ माइ कार निर्देशनपछि तपाईँको निर्देशकीय चेत फेरियो पनि कि?

हामागुची: यसबाट मैले के सिकेँ भन्दा कुनै पनि कार स्टार्ट गर्नु पूर्व सम्पूर्ण तयारी गरिसकेको हुनुपर्ने रहेछ। हामीले सन् २०२० को मार्चमा महामारीअघि फिल्म खिच्न थाल्यौँ। अथवा भनूँ फिल्म खिच्न थालेको १० दिनपछि नै कोरोना महामारी सुरू भयो र छायाङ्कन रोक्नुपर्‍यो। त्यसपछिका दृश्यहरू कोरियामा खिच्नुपर्ने थियो। बहुभाषिक थिएटर प्लेको सट्सका लागि। त्यो कसरी खिचियो भन्ने अहिले जब म सम्झिन्छु, लाग्छ खिच्न सम्भव हुन्थ्यो पनि कसरी? बहुभाषिक दृश्य भएकै कारणले पनि छायाँकनमा अप्ठ्यारो हुनु नै थियो।

महामारीकै कारण छायाङ्कन ८ महिनासम्म ठप्प नै भयो। तर, त्यो बन्दाबन्दीले हामीलाई विस्तृत तयारीको लागि समय भने दिएछ। (अभिनेत्री) पार्क यु-रिमको लागि पनि यो बन्दाबन्दीले राम्रै समय दिएछ। त्यो बीचमा उनले फिल्मकै लागि कोरियन साङ्केतिक भाषा सिकिछिन्।

त्यसकारण, त्यत्तिको समय हामीलाई आवश्यक नै पनि रहेछ, जुन अकस्मात् महामारी आइदिएकाले हामीले पायौँ। महामारी नआएको भए र हामी नरोकिएरै ओरिजिनल समयतालिका अनुसार नै जान्थ्यौँ त त्यस्तो फिल्म खिचिन्थेन जस्तो आखिरमा हामीले खिच्यौँ।

मैले यो कुरा मेरो निर्मातासँग पनि गरेँ कि कसरी हामीले महामारीका कारण थप तयारीका लागि समय लिन पायौँ। र मैले यो पनि भनेँ कि अब भने कुनै काम सुरू गर्नुअघि हामी पहिले नै पर्याप्त समय लिनेछौँ र फरक तरिकाले सबै तयारी पूरा गरेर मात्र थाल्नेछौँ। किनभने, सधैँ सधैँ महामारी त आउँदैन।

क्लब: लु अब, ड्राइभ माइ कारकै अन्त्यलाई स्पष्ट पारिदिनुस् न। मिसाकीलाई फिल्मको अन्त्यमा हामी साउथ कोरियामा देख्छौँ, साब ९०० मा देख्छौँ, कुकुर पालेकी पनि देख्छौँ। कसैले मलाई यो भने कि मिसाकी कोरिया गएकी होइन र उसले चढेको कार उसलाई युसुकेले दिएको हो र उसले पालेकी कुकुर उसलाई ती कोरियन दम्पतीले दिएका हुन्।

हामागुची: ठिक छ, फिल्मको त्यो अन्तिम दृश्यको कुरा गरौँ। ऊ साउथ कोरियामा छे त्यो दृश्यमा, यसको मतलब सम्भवतः ऊ त्यहाँ हुनसक्छे। ऊ त्यहाँ छे!

साब ९०० मा पनि छे र यो कार पनि उसले आफै किनेकी हुनसक्छे वा युसुकेले नै दिएको पनि हुनसक्छ। जे पनि हुनसक्छ त्यो हामीलाई थाहा छैन।

तर, यदि तपाईँले फिल्म दुईपटक हेर्नुभयो भने पक्कै थाहा पाउनुहुनेछ कि ती दुई कुकुर भिन्नाभिन्नै जातका हुन्।

र अब म के भन्न चाहन्छु भने यति तथ्य दिमागमा राखेर बाँकी कुरा हरेक दर्शक आ-आफ्नै हिसाबले अर्थ्याऊन् र अगाडि कसरी जान्छ कथा त्यो पनि आफ्नै हिसाबले बुझुन्।

मिसाकीको बारेमा म के मात्र भन्न चाहन्छु भने उसले युसुकेलाई भेटी, उसले त्यो थिएटर पिस पनि हेरी, त्यो प्रस्तुति पनि हेरी। अनि हामी के देख्छौँ भने मिसाकीले अन्त्यमा आफ्ना आँखाबाट, अनुहारबाट एउटा बेग्लै अभिव्यक्ति दिएकी छे जुन त्यसअघि फिल्मभरि नै उसले कतै पनि दिएकी हुन्न।

यत्ति हो कि, थिएटरबाट निस्किँदा दर्शकहरूले मिसाकीको यही नौलो अभिव्यक्तिबाट लिन सक्ने जति चिजचाहिँ लिएर निस्किउन्।

 

क्लब: अन्त्यमा दुई कुरा सोधेँ, के तपाईँलाई ड्राइभ माइ कारको सफलताले चकित पार्यो? अनि एउटै वर्ष प्रदर्शनमा आएको ह्विल अब फर्चुन एण्ड फेन्टासीले पनि उत्तिकै ध्यानाकर्षण पाउनुपर्थ्यो भन्ने लाग्यो?

हामागुची: नढाँटी भन्दा ड्राइभ माइ कारको सफलताले मलाई चकित पारेकै हो। यो फिल्म खिचिरहँदा मलाई केही अद्भुत, केही शानदार चिज खिचिरहेछु र यसले कोही कोहीलाई त व्यक्तिगत रूपमै पुगेर पक्कै छुनेछ भन्ने महसुस भएको त थियो। तर, मलाई थाहा रहेनछ त्यस्ता कोही कोही यहाँ यति धेरै पनि रहेछन् जसले फिल्मबाट व्यक्तिगत रूपमै पनि केही भेट्टाए। ड्राइभ माइ कारको हकमा म यहीँनेर चकित भएँ।

ह्विल अफ फर्चुन एण्ड फेन्टासीको हकमा भने मैले धेरै भन्दा धेरै दर्शकले यो हेर्नैपर्छ भन्ने सोचिनँ भन्न मिल्दैन। किनभने, मैले यसरी सोचेकै हुँ। मैले होइन भन्दिनँ तर, अघिल्ला मेरै फिल्महरूसँगै स्केल गर्ने हो भने पनि फिल्म तुलनात्मक नै हो। र साँच्चै भन्दा अघिल्ला फिल्महरूको दाँजोमा यो फिल्म धेरैभन्दा धेरै दर्शकसम्म पुगिरहेकै पनि छ।

र मलाई के पनि लाग्छ भने ड्राइभ माइ कारको सफलताका कारण पनि ह्विल अफ फर्चुन एण्ड फेन्टासी हेर्न धेरै दर्शक बाध्य भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved