संर्घषदेखि पक्राउसम्म

जीवनभर नेपालीभाषी भुटानीका पक्षमा संघर्ष गरेका रिजाललाई उत्तरार्धमा लाग्यो दाग

आफैँले लगेका नेपाली भाषीलाई जब राजाले नै लखेटेर नेपाल पठाए

७८ वर्षे रिजालले जीवनभर संघर्ष गरेर कमाएको ख्यातिमा दाग लागेको छ । यो पक्राउसँगै भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा मानवअधिकारवादी आन्दोलनका नेताको रूपमा निर्मित उनको विशाल परिचयमा अहिले ग्रहण लागेको छ ।

जीवनभर नेपालीभाषी भुटानीका पक्षमा संघर्ष गरेका रिजाललाई उत्तरार्धमा लाग्यो दाग

काठमाडौं। हिमालय क्षेत्रमा पर्ने एउटा सानो देश हो भुटान। दक्षिण एसियामा पर्ने यो देशको दक्षिण, पूर्व र पश्चिमतर्फ भारत र उत्तरतर्फ गणतन्त्र चीनको तिब्बतसँग जोडिएको भूपरिवेष्टित देश हो। भुटानलाई भारतको सिक्किम राज्यले नेपालसँग छुट्याएको छ।

भुटानको दक्षिण भागमा नेपाली भाषी (स्थानीय भाषामा ल्होत्साम्पा)को बसोबास छ। भुटानको माथिल्लो क्षेत्रमा डुक्पा र तराई क्षेत्रका गेलेकफु, चमर्ची, फुन्चोलिङलगायत स्थानमा नेपाली भाषीको बसोबास बाक्लो छ। नेपाली भाषी भुटानमा निकै पहिल्यै मुख्य तीन कारणले गएका रहेछन्। पहिलो, भुटानी राजाले देश विकाशका लागि काम गराउन भन्दै नेपालबाट लगेकाहरु छन्।

भुटानका तत्कालीन प्रधानमन्त्री दोर्चेले पनि त्यहाँ लगेका हुन् भनिन्छ। किनकि दोर्चेको घर कालिम्पोङमा पनि थियो। त्यहाँ बस्दा उनले नेपालीसँग हिमचिम गरेका थिए। दोस्रो कामको खोजिमा सिक्किमहुँदै भौँतारिँदा भौतारिदै भुटान पसेकाहरू र आफन्त  भुटान गएपछि तानिएकाहरु। दक्षिण भुटानको मलिलो माटोमा कृषि उब्जाउ र पशुपालन खुबै फस्टायो। यही पेसा अँगालेका नेपाली भाषी अर्थात् ल्होत्साम्पाहरू समृद्ध बन्दै गए।

सन् १९८० देखि १९९० (विसं २०३७ देखि २०४७) को दशकमा एक लाखभन्दा बढी नेपाली भाषी भुटानी नागरिक (ल्होत्साम्पा) त्यहाँबाट नेपालतर्फ लखेटिए। नेपाली भाषीको बर्चस्व बढ्न थालेपछि भुटानी सरकारले ल्होत्साम्पालाई ‘देशद्रोही’ भन्दै देश निकाला गर्न थाल्यो।

नेपालमा आएको प्रजातन्त्रको लहर भुटानसम्म पुग्ने आशंका पनि त्यहाँका शासकलाई थियो। केही नेपाली भाषी भुटानीले प्रजातन्त्र, मानव अधिकारलगायतका मुद्दा उठाउन थालिसकेका थिए। उनीहरुले प्रजातन्त्र माग्दै केही संघर्ष पनि सुरु गरेका थिए। त्यही निहुँमा कैयौंलाई शारीरिक र मानसिक यातना दिइयो। नागरिकता खोसियो। भुटानले नेपाली भाषीलाई दोस्रो दर्जाका नागरिकको व्यवहार गर्थ्यो। भुटानी राजाले त्यहाँका नेपालीको माग सुन्नु त परै जाओस्, भारतसँग गुप्त सहमति गरेर नेपालीलाई दपेटिदिए।

भारतले भुटानी सत्तालाई समर्थन गर्ने हुँदा त्यहाँ रहेका नेपाली भाषीको नागरिकता खोसेर लखेट्न सहमति दियो, आफूकहाँ बस्न नपाउने सर्तमा। भुटानको फिनचोलिङ सीमा पार गर्ने बित्तिकै भारतको जयगाउँ आउँछ। जयगाउँबाट सयौँ भारतीय ट्रक, बसमा कोचेर नेपाली भाषी भुटानीलाई नेपालको सीमा बिन्दु काँकडभिट्टा हुलियो, भारतीय सुरक्षाकर्मीकै सहयोगमा।

आफ्नो पहिचान, संस्कृति, भाषा, धर्म र राजनीतिक विचारकै कारण दमनमा परेका उनीहरू नेपालमा ल्याइए। तीमध्ये धेरै व्यक्ति अनुचित नजरबन्द, यातना र मानव अधिकार उल्लंघनका घटनामा परेका छन्। आफ्नो पहिचान, संस्कृति र भाषा मान्दै त्यही बस्न पाउनुपर्ने भन्दै विद्रोह गरेकाहरु कैयौँ अझै जेलमै छन्।

नेपाल र भुटानको नक्शा र भुटान- बाटो (गुगल म्यापबाट)

नेपालमा शरण लिएकाहरुलाई झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा क्याम्प बनाएर राखियो। झन्डै एक लाख १३ हजार भुटानी शरणार्थी त्यहाँ बसे। त्यतिकै संख्यामा नेपाली भाषी भुटानमा अझै छन्। नेपालमा शरणार्थीसम्बन्धी उच्च आयोग, नेपाल सरकार र दातृ निकायको समन्वयमा १ लाख भन्दा धेरै भुटानी शरणार्थी अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायत तेस्रो देश पुनर्वास गए। जान नचाहने ६ हजार भन्दा बढी क्याम्पमै छन्।

सरकारी प्रतिवेदन अनुसार १ लाख १९ हजार ८ सय ८४ जना भुटानी शरणार्थी छन्। तीमध्ये सन् २०१९ जनवरीसम्म १ लाख १३ हजार ३ सय ७ तेस्रो मुलुक पुर्नवास भए। बाँकी रहेका शरणार्थीको संख्या ६ हजार ५ सय ७७ छ। जो तेस्रो मुलुक जान नचाहेर नेपालमै बसेका हुन्।

राजाको चाहनामा बाधक बनेका रिजाल

अब फेरि फर्कौँ भुटानमा नेपाली भाषीलाई लखेटिएको प्रसङ्गतर्फ। नेपाली भाषीको बाहुल्यता रहेको सिक्किम भुटानको छिमेकी देश थियो। सिक्किम भारतमा विलय भयो। त्योसँगै भुटानको राजपरिवार आफ्नै नागरिकसँग सन्त्रासमा थियो। त्यही समयमा दोस्रो दर्जाका नागरिकको व्यवहार खेप्दै आएका नेपाली भाषीहरू (ल्होत्साम्पा)ले भाषा पहिचान संस्कृतिमा समानताको माग गरे। राजाले नेपाली भाषीको कारण आफ्नो राजगद्धि जोखिममा पर्ने आकलन गरे।

अधिकार दिनुको साटो तीनलाई लखेटेर ढुक्कले राज गर्ने तत्कालीन राजा जिग्मेमा चाहना पलायो। त्यो चाहनामा बाधक बने टेकनाथ रिजाल। उनी सन् १९८४ मा राजकीय सल्लाहकार परिषद्को सदस्यमा निर्वाचित भएका थिए।

टेकनाथ रिजाल

उनले भुटानको लामिडाँडा क्षेत्रबाट चुनाव जितेका थिए। रिजाल र राजपरिवारबीच द्वन्द्व चल्यो नेपाली भाषीको अधिकारको लागि। रिजालले भ्रष्टाचार छानबिनका क्रममा राजपरिवारका नातेदार संलग्न रहेको उजागर गरे। त्यसपछि दरबार त्रसित भयो। ऊनीमाथि मिथ्या आरोप लगाउन थालिएको थियो।

तैपनि उनी आफ्ना नागरिकका लागि सम्झौताहीन संघर्षमा होमिइरहे। नेपाली भाषीलाई अधिकार दिलाउन पहल गर्न भन्दै उनले दिल्ली पुगेर इन्दिरा गान्धीसँग भेट पनि गरे। त्यसपछि जिग्मे दोर्जीको सेखपछि राजा बनेका जिग्मे सिंगे उनीप्रति अझै बढ्ता आक्रामक भएका थिए।

भुटानी नेल्सन मन्डेला

सन् १९८८ मा जनगणनाको नाममा नेपाली भाषीमाथि अत्याचार हुँदै थियो। सन् १९८२–८८ को अवधिमा सरकारले वितरण गरेको नागरिक परिचय पत्रले नै भुटानको नागरिक हो भनी प्रमाणित गर्न पर्याप्त थियो। तर, षड्यन्त्रपूर्वक जनगणना टोली पुरानो नागरिक परिचय पत्रलाई स्विकार्न तयार थिएन। आफ्नै नागरिकलाई अनागरिक भन्दै थियो। यो कुरा कुरा रिजालले राजा जिग्मेसिङ्गे वाङचुकलाई सुनाए। दक्षिण भुटानीमाथि भइरहेको अत्याचारका बारेमा उजुरी दिए।

जनगणनाले भुटानी नागरिकलाई वंशज, बसाइ सरेर आएका र गैर भुटानी भनी तीन वर्गमा बाँडेको थियो। नेपाली मूलका अधिकांश नागरिकलाई गैर भुटानी समूहमा राखिएकोमा उनले राजा समक्ष गुनासो गरे। राजाले त्यसपछि रिजाल आफ्नो विरोधी हुनसक्ने शंका गरे। त्यसै बेला संसद्को उपसभामुखमा राजाका मान्छेले हारे। रिजाल समर्थित मान्छेले जिते। राजालाई शंका बढ्यो। भुटानी राजाका मान्छेले उनलाई खेदाए। ७ दिन हिरासतमा राखियो।

त्यहाँ उनलाई मार्न खोजियो। त्यसपछि भारतको आसाम हुँदै सन् १९८९ मा विसं २०४५ भदौ अन्तिमतिर नेपाल आए। शरणार्थीको रूपमा बसे। केही समयको नेपाल बसाइका क्रममा सन् १९८९ नोभेम्बर १३ तारेखको मध्यरातमा नेपालको पञ्चायती सरकारले उनलाई झापाको आफ्नै निवासबाट पक्राउ गर्याे र भुटानलाई सुम्पिदियो।

भुटानले उनलाई चरम यातना दियो। जन्मकैद सजाय तोकियो। राजधानी थिम्पुमा थुनिएपछि नै हो, उनलाई भुटानी नेल्सन लन्डेला भन्न थालिएको। आफ्ना नागरिकका लागि सम्झौताहीन संघर्षमा होमिएका टेकनाथ रिजाललाई राजद्रोही बन्दि राख्ने राबुना जेलमा राखिएको थियो मोटो फलामको नेल कसेर।

दुवै हात पछाडि लगेर पाता फर्काएर बाँधियो। हातमा हतकडी, खुट्टामा नेल, र आँखामा पट्टि बाँधेर साँघुरो कोठामा कैद गरेर मानसिक पीडा पनि दिइयो। फलामका किला, सिसाका टुक्रा, माछाका काँडा र मरेका किरा मिसाएर दिइएको खाना घुँडा मारेर, मुखले च्यापेर जबरजस्ती खान बाध्य पारिएको उनले आफ्नो पुस्तक ‘निर्वासन’मा लेखेका छन्।

सत्ता छाडेर संघर्षमा

चरम यातनाकै बीचमा अन्तर्राष्ट्रिय क्षेत्रले उनको बारेमा चासो राख्न थाल्यो। रेडक्रस, एम्नेष्टी इन्टरनेशनल जस्ता संस्थाले भुटानलाई उनको रिहाइका सम्बन्धमा दबाब बढाउन थाल्यो। सन् १९९९ मा १० वर्ष ३ महिना र तीन दिनको कठोर यातनासहितको जेल जीवनपछि उनलाई निर्दोष रहेको भन्दै रिहाइ गरियो। रिहाइ पछिका केही महिना उनी भुटान नै बसे। स्वास्थ्य उपचार गरे।

भरतमा गएर पनि उपचार गराए। रिजालले फेरि विद्रोह गर्न सक्ने देखेर दरबारले फेरि सल्लाहकार बनाउने आश्वासन दियो। तर उनी आफ्नै नागरिकको मुक्तिको लागि नेतृत्व गरिरहने बाटो रोजे । त्यसपछि उनी पुनः नेपाल निर्वासनमा आए। २०६० असोज ३० गते काठमाडौँ आए। उनी शरणार्थी रहेकाले नागरिकता पासपोर्ट थिएन। भुटानी शरणार्थीको लागी वकालत गर्न विदेश जान समन्वय गरिदिन नेपाल सरकारलाई आग्रह गरे। तर सरकारले उनलाई सुनेन।

आफ्ना नागरिकको मुक्तिको लागि उनी अनसन बसे। अन्तत: २०६१ असोज १ मा नेपाल सरकारले रिजाललाई विदेश भ्रमण गर्न पाउने अनुमति र समन्वय गरिदियो। अनुमति पाएपछि उनी जेनेभामा भएको राष्ट्रसंघीय शरणार्थी उच्च आयोगको बैठकमा भाग लिन गएको उनको आत्मकथाको पुस्तक ‘निर्वासन’ प्रकाशित छ।

उनको योगदानको कदर गर्दै थुप्रै अन्तर्राष्ट्रिय संस्थाले पुरस्कार पनि दिए। निष्ठावान छवि बनाएका रिजाललाई भुटानी राजा जिग्मे दोर्जी वाङचुक राजपरिवारले सर्वोच्च सम्मान ‘डासो’ दिएको थियो । उनी नेपालबाटै विभिन्न संघसंस्थासँग जोडिएर ल्होत्साम्पाहरू (नेपाली भाषीहरू)लाई न्याय दिलाउन लागिरहे। स्वदेश फिर्ता हुन पाउनुपर्ने र राज्यले हडपेको श्रीसम्पत्ति फिर्ता गर्नुपर्ने भन्दै संघर्ष गरि नै रहे।

बिहीबार पक्राउपछि अधिकारकर्मी तथा भुटानी नेपाली भाषीका नेता टेकनाथ रिजाल

ढल्यो जीवनभरको संघर्षपछिको पहिचान

बिहीबार (४ वैशाख २०८०) उनी पक्राउ परे। झापामा समातिएका रिजाल भुटानी शरणार्थीको अधिकारको आन्दोलनको एजेन्डामा भने होइन। आफ्नै समुदायको मुक्तिसँग जोडिएको गम्भीर आपराधिक प्रकरणमा।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौं रकम ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा अन्यसँगै रिजाल पनि पक्राउ परेका छन्। यससँगै ७८ वर्षे रिजालले जीवनभर संघर्ष गरेर कमाएको ख्यातिमा दाग लागेको छ।

यो पक्राउसँगै भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा मानवअधिकारवादी आन्दोलनका नेताको रूपमा निर्मित उनको विशाल परिचयमा अहिले ग्रहण लागेको छ। रिजाल तिनै नेता हुन् जसको संघर्षकै कारण एक लाख १२ हजार भुटानी शरणार्थीको तेस्रो मुलुकमा पुनर्वास भइसकेको छ ।

पुनर्वासमा जान नचाहने शरणार्थी अहिले झापाको बेलडाँगीस्थित शिविरमा छन् । उनीहरूको तेस्रो मुलुकमा पुनर्वासका लागि सरकारले ३० जेठ ०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेल त्यहीँबाट सुरु भएको भेटिएको छ। जीवनको उत्तरार्द्धमा रिजाल बिचौलियाको सोही खेलमा सामेल भएको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार रिजालले नक्कली भुटानी शरणार्थी बनाउन बिचौलियासँग रकम नै बुझेका थिए । प्रहरी हिरासतमा रहेका सानु भण्डारी र सागर राईले धन्दामा रिजाल पनि संलग्न रहेको बयान सुरुमै दिएका थिए । रिजालले सात लाख रुपैयाँ बुझेको विवरण प्रहरीले भण्डारीकै डायरीमा फेला पारेको छ । तर, प्रहरीले उनलाई पक्राउ गर्न प्राथमिकतामा राखेको थिएन । पछि रिजालले थप रकम बुझेको बैंक ‘स्टेटमेन्ट’ पनि फेला पार्यो‍। त्यसपछि मात्रै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले शरणार्थीका नाममा ठगी भइरहेको भन्दै कार्यदल बनाएर छानबिन गर्नुपर्ने माग राख्दै आएका थिए। उनी नै यसमा संलग्न देखिनु निकै नै अनौठो भएको छ। यद्यपी उनलाई अर्कै कामका लागि भनेर रकम दिएर फसाइएको हुन सक्ने पनि कतिपयले आशंका गरेका छन्।

उनी पक्राउपरेसँगै एक भुटानी शरणार्थी भन्छन्, ‘‘हामी भुटानबाट लखेटिएर नेपाल आएका शरणार्थीका लागि विश्वासको टेको हुनुहुथ्यो। जीवरभर हाम्रो हक अधिकारको लागी लड्नुभयो। पक्राउ परेको खबरले स्तब्ध भएका छौँ।’’

सन्दर्भ सूची

टेकनाथ रिजालको आत्मकथाको पुस्तक ‘निर्वासन’

History of the Bhutanese Refugee Situation in Nepal \ https://www.hrw.org/legacy/backgrounder/wrd/refugees/3.htm

Wikipedia/Lhotshampa  https://en.wikipedia.org/wiki/Lhotshampa

Wikipedia /टेकनाथ रिजाल 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved