पहिचानको आन्दोलनलाई किन पूर्वराजासँग जोड्न खोज्दैछन् ओली ?

हिमानी शाह नामको ‘फेक आईडी’ बाट भएको एक निम्नस्तरको ट्विटलाई आधार बनाएर ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि गरेको कठोर हमलाले राजावादी त आश्चर्यचकित भएका छन नै, गणतन्त्रवादीले पनि असान्दर्भिक र अशोभनीय मानेका छन्।

पहिचानको आन्दोलनलाई किन पूर्वराजासँग जोड्न खोज्दैछन् ओली ?

काठमाडौं। राजावादी दल राप्रपाप्रति नरम दृष्टिकोण राख्दै र सहकार्य गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय पूर्व राजपरिवार र राप्रपाप्रति आक्रामक देखिएका छन् । तर, उनको यो आक्रामकता भने बेला न कुबेलाको ‘बकबक’ जस्तो बन्न पुगेको छ । एमाले अध्यक्ष ओली एकाएक के कारणले पूर्व राजाप्रति आक्रामक भएका हुन् ? कसैले बुझ्न सकिरहेको छैन ।

ओलीको आक्रोश सुरुमा हिमानी शाह नामक एक ‘फेक आइडी’ बाट भएको ट्विटप्रति लक्षित थियो । भलै कि, पूर्व राजपरिवारले कुनै पनि सदस्यले सामाजिक सञ्जाल प्रयोग नगरेको बताएको छ । ट्विटको भाषा र प्रकृति हेर्दा पनि त्यो हिमानी शाहले गरेको पत्याउन सकिने प्रकारको छैन । तर, एमाले अध्यक्ष ओली ‘फेक ट्विट’ लाई सत्य ठानेर आफैँ भ्रमित भएका हुन् वा जानाजान राजनीतिक ‘स्टन्ट’ गरेका हुन्, प्रष्ट छैन ।

ट्विटमा ओली गृहजिल्ला झापा जाँदा ‘जनताले ढुंगा हानेको’ मनसाय व्यक्त थियो । तर, झापालगायत कोशी प्रदेशका विभिन्न जिल्लामा ओलीप्रति लक्षित कालोझण्डा र अवरोध राजावादी आन्दोलनसँग नभएर पहिचानवादी आन्दोलनसँग जोडिएका घटना थिए । राजावादी आन्दोलन र राप्रपा आफैँमा ‘संघीयता र पहिचान’ विरोधी शक्ति हो । त्यसले पहिचानको आन्दोलनलाई कुनै सहयोग गर्ने सम्भावना नै छैन ।

ओली विरुद्धका क्रियाकलाप ‘कोशी’ प्रदेश नामाकरणविरुद्ध थियो । मुख्यमन्त्री हिक्मत कार्की एमाले अध्यक्ष ओलीनिकट मानिन्छन् । उनी ओलीकै निर्वाचन क्षेत्रभित्र पर्ने प्रदेशसभाबाट निर्वाचित हुन् । साथै, पार्टीभित्रको गुटबन्दीमा ओली पक्षधर भएको कारणले उनलाई मुख्यमन्त्री हुन सहज भएको थियो । कार्कीले प्रदेशसभाको पहिलो कार्यकाल पूरा हुँदा पनि थाँती बसेको प्रदेश नामाकरण गर्न मुख्यमन्त्री भएलगत्तै सहजीकरण गरेका थिए।

यही बुझाइबाट पहिचान पक्षधर आन्दोलनकर्ता ओलीविरुद्ध लक्षित भएका थिए । तर, यसलाई बेसन्दर्भ ओलीले पूर्वराजासँग लगेर जोडी दिए। उनले यो पनि भने कि –‘आफू माथि भएका आक्रमणमा पूर्वराजपरिवारको षड्यन्त्र छ । ज्ञानेन्द्र शाहका मान्छेले योजना बनाएर आक्रमण गरेका हुन् ।’

हिमानी शाह नामको ‘फेक आईडी’ बाट भएको एक निम्नस्तरको ट्विटलाई आधार बनाएर ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि गरेको कठोर हमलाले राजावादी त आश्चर्यचकित भएका छन नै, गणतन्त्रवादीले पनि असान्दर्भिक र अशोभनीय मानेका छन्।

ओलीको भाषा पनि उत्तिकै अराजनीतिक थियो । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै ‘छोराबुहारी अघि सारेर धेरै फुरफुर नगर्न’ चुनौती दिएका थिए । उनले शाहसँग ‘हिसाबकिताब बाँकी रहेको’ भन्दै धम्क्याएका थिए।

ओली कम्युनिस्ट आन्दोलनभित्र तुलनात्मकरूपमा दक्षिणपन्थी र राजावादी रुझान भएका नेता मानिन्छन् । २०६१ माघ १९ पश्चात् पार्टीभित्र गणतन्त्रमा जाने लाइन पास हुँदा उनले संवैधानिक राजतन्त्रको पक्षमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । नेपालमा गणतन्त्र आउनु भनेको ‘बयलगाढा चडेर अमेरिका जानु’ जस्तै हो भन्दै उनले गणतन्त्रवादी लाइनको खिल्ली उडाएका थिए । साथै, जनान्दोलन २०६२-२०६३ का प्रारम्भिक दिनमा उनी निस्क्रियजस्तो बसेका थिए ।

सशस्त्र विद्रोहमा रहेका माओवादीसँग मिलेर आन्दोलन गर्नुभन्दा राजा ज्ञानेन्द्रसँगै सहकार्य गर्नुपर्ने उनको राजनीतिक लाइन थियो । त्यसका लागि उनले राजा ज्ञानेन्द्र शाहको नजिक बस्ने र बारम्बार गोप्य वार्तासमेत गरेका थिए । कतिपयको भनाइमा उनले ‘आफूलाई प्रधानमन्त्री बनाए, सबै ठीक हुने’ भन्दै ज्ञानेन्द्र शाहसँग आग्रह गरेका थिए। शाहले उनको कुरा नमानेपछि मात्र उनीले तत्कालीन संसदीय ७ दल र माओवादी बीचको सहकार्यलाई स्वीकार गर्न बाध्य भएका थिए।

ओली संविधान निर्माणका बेला संघीयता र समावेशिताको पनि विरोधी थिए । आज पनि उनले यी कुरा ‘बाध्यताले स्वीकार गर्नु परेको’ बताउने गरेका छन् । त्यसपछिका दिनमा पनि उनी गणतन्त्रवादी शक्तिप्रति कठोर र राजावादी शक्तिप्रति नरम देखिँदै आएका थिए ।

राप्रपासँगको चुनावी तालमेललाई त्यसै श्रृंखलाको कडीका रूपमा हेर्ने गरिएको थियो । झापा–१ मा एमालेको सहयोगको कारणले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यको चुनाव जिते । दुवैपटक लिङदेनका प्रमुख प्रतिस्पर्धी रहेका कृष्णप्रसाद सिटौला गणतन्त्रको कार्यदिशा कार्यान्वयन गर्ने समयका एक महत्त्वपूर्ण पात्र थिए ।

सिटौलाले तत्कालीन ८ दल र शीर्ष नेता गरिजाप्रसाद कोइरालाको तर्फबाट वार्ता गरी राजा ज्ञानेन्द्र शाहलाई शान्तिपूर्ण तरिकाले नारायणहिटी राजदरबार छोड्न मञ्जुर गराएका थिए ।

झापामा लिङ्गदेनसँगको सहकार्यले ओलीलाई पनि राम्रै चुनावी फाइदा हुने गरेको थियो । ओलीले चुनाव लड्दै आएको निर्वाचन क्षेत्रका दमक, गौरादह र गौरीगञ्जजस्ता पालिकामा राप्रपाको पनि राम्रै भोट छ, राप्रपाले त्यो भोट ओलीलाई दिँदै आएको थियो ।

त्यसो त, गत चुनावमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ओलीले सूर्य चिह्नबाटै उम्मेद्वार बनाएका थिए । केही समयअघि दमकबाट दुर्गा प्रसाईंले आफ्नो अभियानको क्रममा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहलाई काँकडभिट्टाको अभियान उद्घाटनमा सँगसँगै राख्ने योजना रहेको खुलासा गरेका थिए । त्यसका लागि पूर्वराजकुमार पारस शाह र ओलीबीच फोन वार्तासमेत भएको तर अन्तिम समयमा दमकमा रहेका ओली काँकडभिट्टा नगएको प्रसाईंको दाबी थियो।

प्रसाईंको यस्तो अभिव्यक्तिपछि पार्टी केन्द्रीय सदस्य समेत रहेका उनलाई एमालेले कारबाही गरेको थियो । प्रदेशमा ‘कोसी’ नामाकरण विरुद्धको आन्दोलन झन्-झन् चर्किंदै गएको छ । यो आन्दोलनको राजावादी आन्दोलनसँग कुनै सम्बन्ध भने देखिँदैन । मूलतः संघीयता, पहिचान, समावेशिता र अधिकारको आन्दोलनको पृष्ठभूमि भएका संगठन, समूह र व्यक्तित्वले यसलाई टेवा दिइरहेका छन् । जसपा, लोसपा, नेसपा निकट राष्ट्रिय मोर्चा र संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध कार्यकर्ताले यो आन्दोलन हाँकिरहेका छन् ।

आन्दोलनकारीलाई ओलीले ‘आतंककारी, जातिवादी, साम्प्रदायिक र सामाजिक सद्भाव बिगार्ने तत्त्व’ को संज्ञा दिएका छन् । ओलीको यस्तो अभिव्यक्तिले आन्दोलनकारीलाई झनै आक्रोशित बनाएको छ ।

सम्भवत: दुर्गा प्रसाईंको आरोपलाई ढाकछोप गर्न र पहिचानको आन्दोलनलाई बदनाम गर्न ओलीले यस्ता अभिव्यक्ति दिएका हुन सक्दछन् । नत्र पूर्वराजा ज्ञानेन्द्र शाहको कुनै सम्बन्ध र सरोकार नै नभएको घटनामा उनलाई जोड्न आवश्यक थिएन । राजावादी शक्तिले पहिचानको आन्दोलनलाई सहयोग गर्ला भनेर कसैले कल्पना पनि गर्न सक्दैन ।

एमालेसँग सहकार्य गर्दै आएको राप्रपा भने ओलीको पछिल्लो अभिव्यक्तिपछि झस्किएको छ । राप्रपाले विज्ञप्ति नै निकालेर ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved