प्रचण्डको खैरो सर्ट र रविको कुर्ता पाइजामा

नयाँ दलले पनि पुरानाकै बाटो समाए फेरि नागरिकले अर्को विद्रोह गर्ने निश्चित छ। किन भने नागरिक कसैका दास होइनन्। हामी पनि किनमेलमा जाँदा मनपर्ने सामान नभेटिँदासम्म खोजी रहन्छौं।

प्रचण्डको खैरो सर्ट र रविको कुर्ता पाइजामा

तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराई चितवनबाट हेलिकप्टरमा कास्कीको सिक्लेस पुग्दा उनीहरूलाई हेर्न प्रतिक्षारतको ठूलै लाइन थियो।

१० वर्ष लामो विद्रोह गरेका नेता कस्ता होलान् भन्ने धेरैमा कौतुहलता हुने नै भयो। त्यसैले त्यो भीड स्वभाविक थियो।

सिक्लेसमा मात्र होइन, पोखरामा सिलाएको खैरो सर्ट पाइन्ट लगाएर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न बालुवाटार आइपुग्दा त झन् विभिन्न ओहोदामा रहेका नेताहरू नै प्रचण्डसँग हात मिलाउन पाएकोमा भाग्यमानी महशुस गर्ने अवस्था थियो।

पोखराको लामाचौरबाट बालुवाटार आउँदै प्रचण्ड । तस्वीर : राम गुरुङ

जे होस्, त्यो विद्रोहदेखि शान्तिसम्मको यात्रा बन्यो। पहिलो संविधानसभाको निर्वाचनमा माओवादी ठूलो दल बन्यो नेपाली कांग्रेस, नेकपा एमाले जस्ता दलका शीर्ष नेताहरू नै संसदबाहिर रहने अवस्था आयो। त्यो बुलेट र  ब्यालेट मिश्रित विद्रोहको फ्युजन थियो। समय डेढ दशकमा धेरै फेरियो।

दीपक खरेलको गीत जस्तै

प्रतीक्षा गर मेरी मायालु,
समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ…

न अहिले प्रचण्डलाई हेर्न मानिस लालायित हुन्छन् न त अरु अन्य पार्टीका नेतालाई। ७० को दशक अन्त्य हुनै लाग्दा टेलिभिजनको पर्दाबाट एकाएक राजनीतिको मञ्चमा ओर्लिए रवि लामिछाने। पार्टी बनाएको ६ महिना वरपर नै आम निर्वाचनमा जानुपर्ने चुनौती उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थियो।

सबैलाई लाग्यो, यत्राविधि संगठन, कार्यकर्ता भएका पार्टीका अगाडि रास्वपाको जोर चल्दैन। ७० वर्षदेखि सबैले देखिरहेको पनि यही थियो। पुराना दलहरूले त रविलाई गणनासम्म पनि गरेनन्।

कुनै एक दिन रविले घोषणा गरे देश मै बनेका कपडा लगाउँछु। बेला बेला नयाँ पुराना नेताहरूले यस्ता घोषणा गरिरहन्छन्। रविले पनि गरे। त्यसपछि प्राय: कुर्ता पाइजामामा उनी देखिन थाले। टेलिभिजनमा देखिइरहने चिरपरिचित अनुहार थियो उनको। प्रचण्ड जस्तो लामो भूमिगत जीवनपछि देखिएका थिएनन्। तर, उनीसँग हात मिलाउने र सेल्फी खिच्न चाहनेको भीड निकै ठूलो थियो। उनका चुनावी सभाहरूमा ठेलमठेल मानिसहरूको भीड देखियो।

रास्वपाकी सांसद तोसिमा कार्कीले १६ अप्रिलमा रवि लामिछानेको चुनावी सभाका दुई तस्वीर फेसबुकमा राख्दै लेखिन्, ‘कोण सभा भनेर सानै ठाउँमा आयोजना गरिएको थियो यस्तो रूप लियो। यो चितवनमा घण्टीको आमसभा होइन ‘कोणसभा’ हो।’

हो, उनले भनेजस्तै भयो आमनिर्वाचन र उपनिर्वाचनमा। रवि जहाँ-जहाँ पुग्थे त्यहाँ भेटघाट कोणसभा जस्ता देखिए, कोणसभा आमसभा जस्ता। नेपालको राजनीतिमा कति दल बने कति दल हराए त्यो हिसाब निकाल्दै गरौँला तर रास्वपाको आगम अन्य दलको भन्दा पृथक छ।

विश्वभर अहिले परम्परागत राजनीतिमाथि वैकल्पिक राजनीति चुनौती बनेर खडा भएको छ। नेपालमा पनि पछिल्लो दशक वैकल्पिक राजनीतिका रेखा कोर्ने प्रयास भए। स्वर्गीय उज्ज्वल थापादेखि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसम्मले त्यसको सपना देखे।

नगरिकहरू पनि पुराना दलबाट हुँदैन भन्नेमा विश्वस्त भए पनि त्यस्तो वैकल्पिक दलको खोजी गरिरहेका थिए जो पूर्णरूपमा फरक होस्। नागरिकको त्यो मनोविज्ञान रविले निर्वाचनमा क्यास गरे। वाकपटुताका धनी उनले मतदातालाई आफ्नो पक्षमा कन्भिन्स गरे र ‘ब्यालेट’बाट नेपालमा अर्को विद्रोह गरे।

विद्रोही प्रचण्ड सिक्लेसबाट हेलिकोप्टर चढेर खैरो पोसाकमा बालुवाटर छिरेका थिए डेढ दशकअघि गृहमन्त्री कृष्ण सिटौलाको हात समाएर। अहिले प्रचण्ड बालुवाटारमै छन्, तर उनको त्यो खैरो ड्रेसको रङ उडिसकेको छ।

ब्यालेटबाट विद्रोह गरेका रवि सिधै गृहमन्त्री बनेर सिंहदरबार छिरे। राजनीतिमा यस्तो उदय विरलै हुन्छ, लाग्थ्यो उनी फुत्त कतै आकासबाट झरिरहेका छन्। भलै गृहमा उनी टिक्न सकेनन्। अदालतको फैसलासँगै उनको पद गुम्यो र फेरि उनको स्थानमा उपनिर्वाचन हुने अवस्था आयो। यो उनका लागि झन् अवसर सावित भइदियो। पार्टीमा देखाउनका लागि कुनै ‘फेस’ चाहिएको अवस्थामा मुर्धन्य अर्थशास्त्री स्वर्णिम वाग्ले रास्वपामा आए भने स्वच्छ प्रहरी अफिसरको छवि बनाएका रमेश खरेल पनि रास्वपाबाटै चुनाव लडे। अदालतको फैसला पछि गुमाएको सांसद पदका लागि रवि पुन: चितवन बाटै चुनाव लडे।

यो रवि र रास्वपाका लागि राजनीतिक लाभ भइदियो। उपनिर्वाचन यस्तो पेचिलो बन्यो कि ‍पुराना र नयाँ दलबीच यो जनमतसंग्रह जस्तो बनेर देखियो। उनको कुर्ता पाइजामाको चमक यी घटनाहरूले खुइलिएन अरु झन् बढ्यो।

बारा २, तनहुँ १ र चितवन २ को निर्वाचनलाई पुराना दलहरूले प्रतिष्ठाको विषय बनाए। प्रधानमन्त्रीले ‘….लाई जिताए मन्त्री बनाउँछु’, भन्दै हिँड्नुपर्ने अवस्था आयो। यो डर अरुसँगको थिएन रास्वपासँगको थियो। पुरानै दलसँगको प्रतिस्पर्धा हुन्थ्यो भने सायदै यस्तो हुन्थ्यो। किन भने शक्तिमा रहेकाहरूले पुरानालाई जसरी स्वीकार्न सक्छन् नयाँलाई हम्मेसी स्थान दिँदैनन्। यो रास्वपालाई स्वीकार गर्न नसक्नुको मनोविज्ञान थियो।

राजनीतिमा उदय हुनु र टिक्नु फरक विषय हुन्। को कति टिक्छ त्यसमा आफ्नै कारण महत्त्वपूर्ण हुन्छ। राणा शासनविरुद्ध संघर्ष गरेको प्रजापरिषदको अस्तित्व अहिले छैन, २०१५ सालको आम निर्वाचनमा १९ सिट जितेको गोर्खा परिषद भन्ने दल पनि अहिले राजनीतिमा भेटिन्न। अरु यस्तै बन्ने र हराउने भइनै रहेकोछ।

रास्वपालाई चुनावमा नसोचेको सफलता भएको छ। नागरिकहरूले उसलाई विश्वास गरेका छन्। लोकतन्त्रमा मतदाताले ब्यालेटबाट विद्रोह गर्छन्। नेपाली मतदाताले बेला-बेला व्यालेट विद्रोहमार्फत परीक्षण गरिरहन्छन्। तर, त्यो मतलाई दलहरूले जोगाउन नसकेको विगत छ।

एकाथरी मानिसहरू रास्वपाको आकस्मिक सफलतापछि पुरातन दलहरूलाई सच्चिनुपर्ने बताइरहेका छन्। नागरिकले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलाई सच्चिने मौका दिएकै हुन्। तर, दलका सानादेखि ठूला नेताहरूले आफूलाई ‘ठालू’ र नागरिकलाई ‘रैती’ देख्ने पुरानै शैली लोकतन्त्रमा पनि पुनरावृत्ति गरे।

अब सच्चिने समय सकियो, अब सकिने हो। पुरानो नसकिइकन एकै ठाउँमा नयाँको पुनर्निर्माण हुन सक्दैन। मक्किएको खाँबोले दलान धान्न सक्दैन। त्यसका लागि नयाँ खाँबो गाड्नै पर्छ। त्यसका लागि अहिले रास्वपाले प्रयत्न गरेको छ। नागरिकले पनि उक्त प्रयत्नप्रति रुझान देखाएका छन्।

मत पाउँदा सम्हालिन नसक्ने नेपाली राजनीतिक पुरानो प्रवृत्ति हो। २०६४ मा माओवादीको पक्षमा नागरिकले भोट दिएर ठूलो पार्टी बनाए, दोस्रो संविधानसभामा माओवादीले आफ्नो जनमतको रक्षा गर्न सकेन। कारण थियो पहिलो संविधानसभाको जनमतको तगतमा उ सम्हालिन सकेन। मतदातालाई आफ्नै पेवा ठान्यो।

०७४ मा वाम गठबन्धनलाई भोट दिएर मतदाताले सच्चिने मौका दिए। तर, एमाले र माओवादीको त्यो एकता पनि कायम रहन सकेन। केपी ओली र प्रचण्डको शक्ति मोहका अगाडि नागरिकको जनमत सिमलको भुवाजस्तै हलुंगो बन्यो। ०७९ को निर्वाचनमा माओवादी र कांग्रेससहितको गठबन्धन बन्यो।

यहाँसम्म आउँदा गठबन्धनले राम्रोसँग काम गर्न सकेन। यो नागरिकको चेतावनी थियो। यहीबेला नयाँ दलको रूपमा रास्वपाको उदय भए। उसले छोटो समयमा सर्वाधिक सफलता पनि प्राप्त गर्‍यो। यो रास्वपाको लोकप्रियताभन्दा बढी नागरिकको दलहरूका लागि चेतावनी हो। जो रास्वपाकै हकमा पनि लागू हुन्छ। उपनिर्वाचनसम्म आइपुग्दाको रुझानले भन्छ अब सच्चिने समय सकियो तपाई पुरातन दलहरू पाखा लाग्नुस्।

नयाँ दलले पनि पुरानाकै बाटो समाए फेरि नागरिकले अर्को विद्रोह गर्ने निश्चित छ। किन भने नागरिक कसैका दास होइनन्। हामी पनि किनमेलमा जाँदा मनपर्ने सामान नभेटिँदासम्म खोजी रहन्छौं। कहिले यत्तिकैले काम चलाउँ, पाए राम्रो किनौला भन्छौं। मतदातालाई पनि छनोटको अधिकार छ, राजनीति गर्नेले यो बुझ्नै पर्छ।

अब कांग्रेस, एमाले, माओवादी, राप्रपा सच्चिएर हुने केही पनि होइन। शून्यहरूलाई जति नै संख्यामा जोडे पनि त्यसक उत्तर शून्य नै हुन्। राजनीतिमा जब नागरिकले सुन्न चाहँदैनन् दुई हात होइन सबैका हात एकैपटक बजार्दा पनि आवाज आउँदैन। अहिले देखिएको र भविष्यमा देखिने दृष्य यही हो।

हेरौं घण्टीको आवाज कत्रो सुनिन्छ। आवाज कर्कस आए नागरिकलाई म्युट गर्ने सुविधा छँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved