एलन मस्कले ट्विटर बिगारे कि सपारे ?

मस्कले ट्विटरको प्रतीक चिन्ह ‘हरियो चरा’ को साटो ‘खैरो कुकुर’ राख्दा कसो होला भनेर प्रयोग गरि हेरे । तर, यो निर्णयमा उनी एक हप्ता पनि टिकेनन् । ट्विटर प्रयोगकर्ताले कुकुरभन्दा चरा नै मन पराएको देखियो । मस्कको यस्तो प्रयासले उनको मनोदशा अनुमान गर्न धेरैलाई गाह्रो भयो।

नेपालभ्युज

एलन मस्कले ट्विटर बिगारे कि सपारे ?

नेपाल भ्युज। रोबर्ट वैज्ञानिक, स्पेस एक्स र टेस्ला कारका मालिक तथा संसारका सर्वाधिक धनाढ्यमध्ये एक एलन मस्कले सन् २०२२ अक्टोबरमा ४४ बिलियन अमेरिकी डलरमा लोकप्रिय माइक्रो ब्लगिङ कम्पनी ट्विटर खरिद गरे । त्यसयता ट्विटरमा कस्तो बद्लाव आयो वा आएन ? एलन मस्कले ट्विटर बिगारे वा सपारे ?

मस्कले ट्विटरको स्वामित्व किनेपछि उनको सबैभन्दा ठूलो दाबी थियो– यो अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने मञ्च हुनेछ । उनले ट्विटरले एकाउन्ट बन्द गर्दिएका पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फिर्ता ल्याए ।

सन् २०२१ जनवरी ६ को अमेरिकी संसद भवन क्यापिटोल हिल आक्रमणपछि जनवरी ९ मा ट्रम्पको ट्विटर एकाउन्ट बन्द गरिएको थियो । करिब २२ महिनापछि सन् २०२२ नोबम्बर १९ मा मस्कले ट्रम्पलाई ट्विटरमा पुनर्स्थापित गर्दै भने–‘जनताको आवाज सुने,जनताले ट्रम्प ट्विटरमा फिर्ता चाहेको पाए । जनताको आवाज भगवानको आवाज हो । त्यसलाई नमान्न म सक्दिनँ ।’

ट्रम्पको बन्द एकाउन्ट खुल्ला गरेर मस्कले नयाँ बहस सिर्जना गर्दिए–ट्विटरबाट सार्वजनिक हिंसा र तोडफोडको अपिल गर्नु पनि अभिव्यक्ति स्वतन्त्रताभित्रै पर्छ ?

त्यसो त उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको मात्र हैन, संसारका अरु धेरै व्यक्तित्वहरूको एकाउन्ट समेत पुनर्स्थापित गरिदिए । यसभित्र क्यानेडियाली लेखक जोर्डन पिटरसनदेखि भारतीय अभिनेत्री कंगना रनावतसम्म पर्दछन्।

यसरी विभिन्न विवादस्पद व्यक्तित्वहरूका एकाउन्ट खुल्ला गरेका मस्कले सन् २०२२ डिसेम्बर १५ मा केही अमेरिकी पत्रकारहरूको एकाउन्ट भने बन्द गरिदिए । उनीहरूमाथि एमन मस्कको बारेमा गलत समाचार लेखेको आरोप थियो । तर, उनी यो निर्णयमा दुई दिन पनि टिक्न सकेनन् । डिसेम्बर १७ मा सबै बन्द एकाउन्ट खुल्ला गरे ।

विश्लेषक भन्छन् कि एलन मस्कको स्वामित्व र ट्रम्पको एकाउन्ट पुनर्स्थापनापछि ट्विटरमा ‘हेट स्पिच’ बढेको छ । छुद्र, अश्लिल र आपत्तिजनक प्रतिक्रिया र पोस्टमा ह्वात्तै बृद्धि भएको छ । अभिव्यक्ति स्वतन्त्रताको अर्थ मानवीय दृष्टिकोणले अभद्र र कुनै व्यक्तिको मानहानी हुने प्रकारका सामग्री राख्नु उचित हो कि हैन ?

ट्विटरको स्वामित्व खरिद गरेपछि मस्कले यसको स्टाफमा भारी परिवर्तन गरे । पुराना कर्मचारीको ठूलै संख्या उनले हटाए । यहाँसम्म कि उनले सीईओ पराग अग्रवाल र मुख्य आर्थिक नियन्त्रक नेड सेगललाई समेत जागिरबाट हटाए । निजी कम्पनीमा मालिकको अधिकार मानिने यस्ता क्रियाकलाप रोजगार र ट्रेड युनियन अधिकारका दृष्टिकोणले भने आपत्तिजनक हुन् ।

मस्कले ट्विटर एकाउन्टको आधिकारिकता रुजु गर्ने ‘ब्लुमार्क’ वापत मासिक ८ डलर र वार्षिक ८० डलर शुल्क लिने योजना अघि सारेका थिए । तर, उनको योजना स्वयं उनले भन्ने गरेको पूर्ण अभिव्यक्ति स्वतन्त्रताको धारणासँग के-कति मिल्दो हो वा हैन भन्ने बहस भयो ।

विश्वव्यापीरूपमा ‘ब्लुमार्क’ रुजु शुल्क लगाउँदा ट्विटर प्रयोगकर्ता घट्ने सम्भावना औंल्याइए पछि उनी आफ्नो निर्णयबाट फिर्ता भए । यद्यपि, उनी यो सोचबाट पूर्णतः फिर्ता नभएको बताइन्छ । ‘ब्लुमार्क’ मा शुल्क लगाउने निर्णय कार्यान्वयन भएमा ट्विटरको प्रयोगमा के-कस्तो असर पर्ने हो यसै भन्न सकिन्न।

एलन मस्कले किन्नुअघि नै ट्विटरमा ‘ब्लुमार्क’ को प्रचलन थियो। तर, यो शुल्कका लागि नभएर विश्वका चर्चित र महत्त्वपूर्ण पदमा भएका व्यक्तिहरूको पहिचानका लागि प्रयोग गरिन्थ्यो ।

हुनतः रुजु शुल्कको प्रचलनले ट्विटरमा नक्कली र प्यारोडी एकाउन्टको बाढी घट्ने तर्क गरेका थिए, त्यो आफैँमा गलत कुरा थिएन । विश्लेषक भन्छन्–‘नक्कली र प्यारोडी एकाउन्टले प्रायोजित प्रयोगलाई मद्दत पुर्‍याएको छ।’

साइबर सेना, वार रुम, आरटी सेनाजस्ता प्रचलनले महत्त्व पाएका छन् । स्वतन्त्र तथा निष्पक्ष अभिव्यक्ति स्वतन्त्रताका दृष्टिकोणले यस्ता अभ्यास उचित हैनन् ।

त्यसो त एलन मस्कले ट्विटरको प्रतिक चिन्ह ‘हरियो चरा’ को साटो ‘खैरो कुकुर’ राख्दा कसो होला भनेर प्रयोग गरि हेरे । तर, यो निर्णयमा उनी एक हप्ता पनि टिकेनन् । ट्विटर प्रयोगकर्ताले कुकुरभन्दा चरा नै मन पराएको देखियो । मस्कको यस्तो प्रयासले उनको मनोदशा अनुमान गर्न धेरैलाई गाह्रो भयो ।

मस्कले किन्नुअघि ट्विटरमा लाइक, रिट्विट र कमेन्ट मात्र देखिन्थ्यो । उनले प्रत्येक ट्विटको भ्युज देखिने अप्सन थपे । यसबारे उनको भनाइ थियो– ट्विटको सबैभन्दा मुख्य कुरा भ्युज हो । भ्युज लाइकभन्दा सयौं गुणा धेरै हुन्छ ।

भनिन्छ– एलन मस्कले किनेपछि ट्विटर सञ्चालक कम्पनी एक्स कर्पको सेयर मूल्य बढ्न सकिरहेको छैन । कम्पनीको सेयर मूल्यमा आधारित भएर हेर्दा उनले झन्डै आधा बराबरको नोक्सान व्यहोरेका छन् । यदि, अहिले बेच्नुपर्ने हो भने ट्विटर मस्कले खरिद गरेको मूल्य ४४ बिलियनको आधा २२ बिलियनमा मात्र बिक्ने अनुमान गरिन्छ ।

स्टक मार्केटमा सेयर मूल्य ट्विटरको मात्र हैन, सबै कम्पनीको घटबढ भइरहन्छ। एलन मस्कले किनेपछि ट्विटरका प्रयोगकर्ता भने बढेका छन् । उनले खरिद गर्नुअघि ३६८.४ मिलियन मासिक प्रयोगकर्ता रहेकोमा अहिले ५०० मिलियनभन्दा बढी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved