कर्णालीका हिमाली जिल्लावासीलाई च्याउ टिप्ने चटारो

कर्णालीका हिमाली जिल्लावासीलाई च्याउ टिप्ने चटारो

सुर्खेत। कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा औषधीय गुण भएको गुच्ची च्याउ टिप्ने चटारो सुुरु भएको छ । हिमाली जिल्लाका बासिन्दाको आम्दानीको मुख्य स्रोत गुच्ची च्याउ भएका कारणले टिप्ने चटारो बढेको हो ।

चैत्रको पहिलो सातादेखि नै फल्न सुुरु हुने गुच्ची च्याउ एक प्रकारको जंगली जडीबुटी नै हो । ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्ची च्याउ टिप्ने चटारो बढेको डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका–४ का स्थानीय छिरिङ लामाले बताए ।

‘यो हिमाली जिल्लामा एक प्रकार औषधीय गुण भएको च्याउ हो ।’ उनले भने,‘यो च्याउ जंगलमा पाइने गरेको छ ।’
यो वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्ची च्याउको राम्रो उत्पादन भएको स्थानीय मुगु जिल्ला सोरु गाउँपालिका -७ की रमिला बुढाले बताइन् ।

‘स्थानीय बजारमा गुच्ची च्याउको मूल्य प्रतिकिलो १४ हजारदेखि १७ हजारसम्म पर्ने गरेको छ ।’ उनले भनिन्,‘बेंसीतिर उम्रिने गुच्ची च्याउ पहेँलो आकारको हुने र लेकमा उम्रने च्याउ कालो आकारको हुने गरेको छ । ठाउँ हेरेर मूल्य फरक–फरक हुन्छ ।’

कर्णालीको हिमाली भेकमा पाइने गुच्ची च्याउ नेपालगञ्ज, काठमाडौं र तिब्बतसम्म जाने गरेको नेपाल जडीबुटी व्यवसायी संघका मुगुका अध्यक्ष मेलबहादुर शाहीले बताए ।

‘गुच्ची च्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमा समेत प्रयोग गरिने भएकाले यसको माग बढेको छ,’ उनले भने,‘हुम्लाको हिल्सा नाका हुँदै चीनसम्म पनि जाने गरेको छ ।’

कर्णालीमा गुच्ची च्याउ कति उत्पादन हुन्छ भन्ने यकिन तथ्य‌ांक नभए पनि यहाँका स्थानीयको आम्दानीको स्रोत भनेको गुच्ची च्याउ पनि एक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved