एमालेसँगको सत्ता समीकरण तोड्दा प्रचण्डलाई हुने ३ फाइदा र ३ बेफाइदा

राष्ट्रपति निर्वाचनले ल्याएको तरंग

पछिल्लो पटक एमालेका धेरै नेता अब राष्ट्रपति आफूले नपाउनेमा ढुक्क जस्तै देखिन थालेका छन् । तर त्यसका बाबजुद पनि एमाले र त्यसका अध्यक्ष ओली अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमै देखिन्छन् । प्रचण्डका लागि यो निकै ठुलो अवसर हो । 

एमालेसँगको सत्ता समीकरण तोड्दा प्रचण्डलाई हुने ३ फाइदा र ३ बेफाइदा

काठमाडौं। प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एमालेसँग सत्ता सहकार्य जारी नै रहन्छ वा यसले अर्कै मोड लिन्छ ? के गत पुस १० गते आकस्मिक रूपमा तय भएको एमालेसँगको सत्ता सहकार्य सरकारको मधुमास मानिने १०० दिन नपुग्दै तोडिँदैछ ? अझै यसै हो भन्न सकिने अवस्था छैन, तर आशंका भने सर्वत्र व्यप्त छ ।

यसको वास्तविक उत्तर आउन अरु एक हप्ता प्रतीक्षा गर्नुपर्ने हुन्छ । राष्ट्रपति निर्वाचनको उम्मेदवारीले घटनाक्रमलाई प्रष्ट गर्ने छ । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रको भूमिका कस्तो हुन्छ त्यसमै धेरै कुरा निर्भर हुनेछ ।

माओवादीले एमाले उम्मेदवारलाई समर्थन र सहयोग गरे गठबन्धनमा कुनै समस्या आउने छैन । तर माओवादी नेताहरुले अब त्यो सम्भावना सकिएको बताएका छन् । अर्थात माओवादीले अब एमालेलाई राष्ट्रपतिमा समर्थन नगर्ने सन्देश दिइसकेको छ ।

यस्तो अवस्थामा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरे एमालेसँगको सत्तासहकार्य टुट्नु अनिवार्य जस्तै हुन्छ । तर माओवादीले आफ्नै उम्मेदवार उठाउने र त्यसमा एमालेले समर्थन गर्ने अथवा कुनै व्यक्तिमा सहमति खोजेर अहिलेको सत्ता गठबन्धन टिकाइराख्ने प्रयास भइरहेको कतिपयले बताएका छन् ।

पछिल्लो पटक एमालेले आफूले राष्ट्रपति नपाएपनि  गठबन्धन बचाउनका लागि माओवादीले अघि सार्ने उम्मेदवारलाई समर्थन गर्न सक्ने सम्भावना रहेको स्रोतहरुले बताएका छन् । एमालेले उक्त रणनीति अख्तियार गरे प्रचण्डलाई गठबन्धन तोड्न सहज हुनेछैन ।

तर अहिलेसम्मको अवस्थामा माओवादी र विशेष गरी प्रचण्ड एमालेसँगको सहकार्य तोडने मनस्थितिमै देखिएको स्रोतहरुको दाबी छ । यस्तो अनुमान गर्न सकिने मुख्य तीनवटा आधार पनि छन् ।

पहिलो आधार–‘राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार’ खोजिनु पर्ने माओवादी केन्द्रको संस्थागत निर्णय । माओवादीको यस्तो निर्णयको अर्थ नेपाली कांग्रेसले अघि सार्ने उम्मेदवारलाई सहयोग गर्ने मनसाय नै हो ।

दोस्रो आधार–नेपाल कांग्रेसले सरकारलाई दिएको विश्वासको मत, माओवादीसँग बढ्दो संवाद र सहकार्य हो । प्रधानमन्त्री प्रचण्डको सरकारलाई कांग्रेसले विश्वासको मत दिँदा नै धेरैले एमाले–माओवादी सम्बन्धमा भाँजो हालिएको अनुमान गरेका थिए । त्यसपछि माओवादी कांग्रेसप्रति नरम हुँदै गएको थियो ।

तेस्रो आधार भने– भरखरै भएका अमेरिकी उच्च अधिकारी र भारतीय विदेश सचिवको भ्रमण र उनीहरूले राष्ट्रपतीय निर्वाचनप्रति राखेको चासो हो । स्रोतका अनुसार अमेरिका र भारत दुवै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनोस भन्ने चाहन्छन् । नेपाल भ्रमणमा आएका दुवै देशका उच्च अधिकारीले यसका लागि दबाब पनि दिएका छन् ।

एमालेसँगको सत्ता सहकार्य तोडी नेपाली कांग्रेससँग फेरि नयाँ सत्तासहकार्य सुरुवात गर्दा प्रधानमन्त्री प्रचण्डलाई फाइदा र बेफाइदा दुवै हुनेछन् । यहाँ उनलाई हुन सक्ने ३-३ ठूला फाइदा र बेफाइदाको लेखाजोखा गरिएको छ ।

फाइदाहरूः

१.ओलीको चर्को दबाब सामना गर्नु नपर्ने

विद्यमान गठबन्धन सरकारमा प्रधानमन्त्री प्रचण्डमाथि एमाले अध्यक्ष ओलीको चर्को दबाब भएको सबैले बुझेका हुन् । नेपाली कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएपछि ओलीको दबाब अवश्य केही मात्रामा मत्थर भयो, तथापि ओलीले एमालेको हित, इच्छा र इसाराबमोजिम प्रचण्ड सरकारलाई चलाउने प्रयास गरेका थिए ।

यहाँसम्म कि राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमै वास्तविक प्रधानमन्त्री को हो भन्ने प्रश्न उठाए । प्रेसले प्रचण्डलाई ‘डिजुरे’ र ओलीलाई ‘डिफ्याक्टो’ प्रधानमन्त्री भन्न भ्याए । प्रचण्डलाई यी चिज मन नपर्नु स्वाभाविक हो । प्रधानमन्त्रीको पदमा बसेर कोही पनि कसैको कठपुतली हुन चाहँदैन । सबै काम ओलीले भनेबमोजिम गर्नुपर्ने हो भने प्रधानमन्त्रीको पदमा बसिरहनुको कुनै अर्थ हुँदैन ।

एमालेसँगको सहकार्य टुटेमा प्रचण्डले ओलीको दबाब र रिडोपिढोबाट मुक्ति पाउनेछन् । कांग्रेससँगको सहकार्य तुलनात्मक रूपमा लचिलो हुन सक्नेछ । प्रधानमन्त्रीका रूपमा उनको स्वतन्त्र, स्वविकेकीय निर्णय अधिकार विस्तार हुनेछ । सरकार सञ्चालन गर्न उनले थप सहजता प्राप्त गर्नेछन् ।

२.अनुकूल राष्ट्रपति हुने

आफू अनुकूलको राष्ट्रपति नहुँदा प्रधानमन्त्री पदमा रहेर शासनसत्ता सञ्चालन गर्न सहज नहुने अनुभव प्रचण्डले यस अघि नै बटुलिसकेका छन् । पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कलिन राष्ट्रपति डा. रामवरण यादवको असहयोगका कारणले उनले प्रधानमन्त्री पदबाटै राजीनामा गर्नु परेको थियो ।

प्रधानसेनापति रुक्माङगत कटवाललाई हटाउने प्रचण्ड सरकारको निर्णयका विरुद्धमा राष्ट्रपति यादवले सेनापतिको पक्ष लिएका थिए । त्यसबाट उत्पन्न असहजता बीच ‘द्वैधसत्ताको अन्त्य’ गर्न भन्दै उनी सरकारबाट राजीनामा गरेर बाहिरिएका थिए ।

आफू अनुकूलको राष्ट्रपति नहुँदा हुने अप्ठ्यारो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा समेत प्रष्टसँग देखियो । भण्डारीले दुई-दुईपटकको असंवैधानिक संसद विघटनका बेलामा ओलीको पक्षपोषण मात्र गरिनन्, संसदबाट दोहोर्‍याएर पास भएको नागरिकता ऐन संसोधन विधेयक प्रमाणीकरण नगरेर अर्को अप्ठ्यारो पारिन् ।

एमालेसँगको गठबन्धन तोडिए गैरएमाले राष्ट्रपति निर्वाचित हुने सम्भावना छ । ओली निकट एमाले राष्ट्रपतिभन्दा त्यस्तो राष्ट्रपति प्रधानमन्त्री रहुन्जेलका लागि प्रचण्ड अनुकूल हुन सक्नेछन्।

३.पाँचदलीय गठबन्धन पुनर्स्थापित हुने 

निर्वाचनपूर्वको गठबन्धन गरेर चुनाव लडेपछि संसदको अवधिमा चुनावी मैदानमा प्रतिस्पर्धी रहेको दलसँग मिलेर सरकार बनाउनु जनादेशको सिद्धान्तविपरीत हो भन्ने आरोप प्रचण्डले खेप्दै आउनुपरेको छ । यसको उनीसँग कुनै भरपर्दो उत्तर छैन र उनी मौन रहँदै आएका छन् ।

एमालेसँगको सत्तासाझेदारी भंग गर्दा पुनश्च: पाँचदलीय गठबन्धन क्रियाशील हुन सक्ने सम्भावना बढ्दछ । कांग्रेसको ८८ र माओवादी केन्द्रको ३२ सिटले जम्मा १२० सिट मात्रै हुन्छ । सरकारलाई बहुमत पुर्‍याउन चाहिने थप १८ सिटका लागि पहिलो प्राथमिकतामा निर्वाचन ताका सहकार्य गरेका पाँच दलीय गठबन्धनका दलहरू नै पर्ने हुन्छन् ।

पाँच दलीय गठबन्धन पुनर्स्थापित भएमा प्रचण्डले ‘कोर्स करेक्सन’ भएको सन्देश दिने अवसर प्राप्त गर्नेछन् । यो गठबन्धन एमालेसँगको सहकार्यभन्दा प्रचण्डका लागि बढी सहज हुन सक्दछ ।

बेफाइदाहरूः

तर, एमालेसँगको गठबन्धन तोड्दा प्रचण्डका लागि फाइदा मात्र छैनन, बेफाइदा पनि धेरै नै छन् । त्यसो गर्दा माओवादी पार्टीलाई र व्यक्तिगत रूपमा प्रचण्डलाई पनि निम्न ३ वटा ठूला बेफाइदा हुन सक्नेछन् ।

१.एमालेसँगको विश्वास सधैंका लागि कमजोर हुने

एमाले र ओलीसँग माओवादी र प्रचण्डको राजनीतिक घृणा, तिक्तता र आरोपप्रत्यारोप दशकौं लामो हो । तर, त्यसका बाबजुद यी दुई दल र दुई नेताले परस्पर सहकार्यको प्रयास पनि नगरेका हैनन् । विशेषतः २०७४ को आमनिर्वाचनको पूर्वसंन्ध्यामा भएको वामगठबन्धन र त्यसपछिको पार्टीं एकताबाट नेकपा (नेकपा) को गठन प्रेम, सहकार्य, साझेदारी र सहयात्राको उच्चतम अवधि थियो ।

त्यस अवधिमा ओली र प्रचण्डले ‘आधा-आधा कार्यकाल प्रधानमन्त्री’ हुने गोप्य तथा लिखत सम्झौता गरेका थिए, जो प्रकारान्तले ‘गोप्य’ रहेन । त्यो सम्झौता लागू नभएको भन्दै प्रचण्डले ओली विरुद्ध जिहाद छेडे । झगडा बढ्दै गएपछि नेकपा तीन टुक्रा भएको, दुई-दुईपटक प्रतिनिधिसभाको असंवैधानिक विघटन भएको र ओलीविरुद्ध पाँचदलीय गठबन्धन बनेको जगजाहेर नै छ ।

तर, यी घटनाक्रममा मानिसले प्रचण्डको भन्दा बढी ओलीको दोष देखेका थिए । यति ठूलो तिक्तताका बाबजुद पुष १० गते ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन दिए । यस विन्दुमा पुगेर भने ओलीले ‘क्षमाशील छवि’ बनाएर जनताको सहानुभूति हासिल गरे । प्रचण्डलाई प्रधानमन्त्री बन्न समर्थन दिएकोमा एमाले कार्यकर्ता तथा समर्थक त्यतिधेरै खुसी र आश्वस्त भने छैनन् ।

राष्ट्रपति निर्वाचनको निहुँमा प्रचण्डले एमालेसँगको सत्तासहकार्य तोडेमा एमाले नेता, कार्यकर्ता र समर्थकको नजरमा प्रचण्डको विश्वासनीयता निकै कमजोर हुनेछ । यो कुरा दीर्घकालमा प्रचण्डका लागि बेफाइदाको विषय हुन सक्दछ ।

२.पदलोलुप र अवसरवादी भएको आरोप 

त्यसै पनि प्रचण्ड पदका लागि जे पनि गर्न सक्ने, आफूलाई सत्ता र शक्तिको केन्द्रमा सान्दर्भिक बनाइ राख्नका लागि जोसँग जतिसुकै बेला मिल्न र छुट्न सक्ने नेताका रूपमा चित्रित हुने गरेका छन् । प्रचण्डलाई अवसरवादी नेताको रूपमा बुझ्ने देशमा ठूलै पंक्ति छ ।

सरकार गठनको १०० दिन नपुग्दै एमालेसँगको गठबन्धन भत्काएर कांग्रेससँग अर्को गठबन्धन बनाउँदा प्रचण्डलाई पदलोलुप र अवसरवादी नेता ठान्नेहरूको बुझाइ झनै बलियो हुनेछ । यसको मूल्य उनले कुनै न कुनै रूपमा चुक्ता गर्नुपर्ने हुन्छ ।

अर्थात प्रचण्डको विस्वंसनीयतामा यसले निकै ठुलो क्षति गर्नेछ ।

३.कम्युनिस्ट एकता र वाम गठबन्धनको सम्भावना क्षीण  

माओवादी पार्टीको भोट विगत तीन चुनावदेखि निरन्तर घट्दो छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा करिब २९ प्रतिशत मत पाएको माओवादी त्यसपछिका तीन निर्वाचनमा क्रमशः करिब १५ प्रतिशत, १३ प्रतिशत र ११ प्रतिशतमा झर्‍यो । भविष्यमा माओवादीको जनाधार विस्तार हुने र भोट बढ्ने कुनै बलियो आधार अहिलेसम्म देखिएको छैन ।

माओवादी पार्टीको भिन्नै र एकल अस्तित्व शंकाको घेरामा छ । वामगठबन्धन वा कम्युनिस्ट एकताका लागि माओवादीको वैचारिक आधार मिल्ने दल फेरि पनि एमाले नै हो । माओवादीबाट राजनीतिक भविष्य सुनिश्चित नहुने अवस्थामा एमालेसँग मिल्नुको कुनै विकल्प देखिन्न ।

तर, एमालेलाई अहिले धोका दिँदा निकट भविष्यमा वाम गठबन्धन र कम्युनिस्ट एकताको सम्भावना क्षीण हुन सक्नेछ । यो कुरा माओवादी र प्रचण्डका लागि ठुलो बेफाइदाको विषय हुन सक्दछ ।

केही गरी भोलि गएर कांग्रेसले पनि धोका दियो भने प्रचण्डका लागि धेरै बाटोहरु बन्द हुनेछन् । नयाँ गठबन्धन भारतको जोडबलमा बन्ने भएकाले कुनै पनि बेला प्रचण्डले धोका पाउने सम्भावना रहनेछ ।

 

प्रचण्डका लागि उत्तम विकल्प के होला ?

तत्कालका लागि एमालेलाई राष्ट्रपति नलिन मनाउने र अहिलेकै गठबन्धन कायम राख्नु प्रचण्डका लागि सबैभन्दा गतिलो विकल्प हो । एमालेलाई मनाएर राष्ट्रपति कांग्रेसलाई दिन सके प्रचण्ड झन मजवुत हुनेछन् ।

तर एमाले कांग्रेसलाई राष्ट्रपति दिन सहजै तयार हुने सम्भावना देखिएको छैन । यस्तो अवस्थामा एमालेलाई समेत मान्य हुने कुनै व्यक्तिमा सहमति खोजेर अघि बढ्ने विकल्प प्रचण्डका सामु छ । एमालेले पनि नपाउने अवस्थामा कांग्रेस पनि त्यसका लागि तयार हुन सक्ने छ ।

पछिल्लो पटक एमालेका धेरै नेता अब राष्ट्रपति आफूले नपाउनेमा ढुक्क जस्तै देखिन थालेका छन् । तर त्यसका बाबजुद पनि एमाले र त्यसका अध्यक्ष ओली अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमै देखिन्छन् ।  प्रचण्डका लागि यो निकै ठुलो अवसर हो ।

यही अवसर उपयोग गरेर प्रचण्ड आफू अनुकुलको राष्ट्रपति बनाएर एकातिर ओलीको सम्भावित दबाबबाट मुक्त हुन सक्नेछन् । अर्कातिर अहिलेको गठबन्धनले पनि निरन्तरता पाउनेछ । यसको अर्को ठुलो फाइदा एमालेसँगको गठबन्धन पछि कुनै बिन्दुमा तोडियो भने पनि प्रचण्डका लागि कांग्रेससँग मिल्ने विकल्प बाँकी नै रहनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved