चिसो मौसममा हृदयघातको जोखिम बढी, यस्तो छ चिकित्सकको सल्लाह

यस्तै नुन तथा चिल्लो पदार्थ कम खाने, बढी फाइबरयुक्त फलफूल तरकारीको नियमित सेवन गर्नाले पनि हृदयघातबाट जोगिन सकिन्छ । दैनिक आधा घण्टा देखि एक घण्टासम्म शारीरिक व्यायाम गर्नाले पनि हृदयघातको जोखिम कम गराउँछ ।

नेपालभ्युज

चिसो मौसममा हृदयघातको जोखिम बढी, यस्तो छ चिकित्सकको सल्लाह

हृदयघात भनेको मुटुको कुनै पनि धमनीहरूमा सतप्रतिशत अवरोध भई मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो । मुटुमा रक्तसंचार गर्ने नलीहरु हुन्छन् ।

यसलाई कर्नरी आर्टरी भनिन्छ। यी नलीहरुको काम मुटुको मांसपेशीलाई आवश्यक पर्ने अक्सिजन,ग्लुकोज लगायत पोषण तत्व पुर्‍याउनु हो। कुनै कारणवस यी रक्तनलीमा अवरोध आयो भने त्यो भागमा रक्तसंचार कम हुने र मुटुको मांशपेशीको मृत्यु हुन सक्छ।

यसलाई हार्ट अट्याक अर्थात हृदयघात भनिन्छ । यो हृदयघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ भने साना साना धमनीहरुको अवरोध भएर भएको हृदयघात कहिले काँही मानिसलाई थाहा नहुन पनि सक्छ ।

जाडोमा हृदयघातको जोखिम बढी

गर्मीको तुलनामा जाडो मौसममा हृदयघातको जोखिम बढ्ने कुरा यथार्थ हो । जाडो मौसममा नसाहरु खुम्चिने हुँदापनि यसको जोखिम बढ्छ । सामान्य अवस्थाका मानिसलाई समस्या नभएपनि नशा साँघुरो भइसकेका व्यक्तिहरु बढी जोखिममा हुने गर्दछन् ।

विहानै चिसोमा बाहिर निस्कदा चिसो हावा चलिरहेको छ भने नशा खुम्चिने प्रक्रिया बढी हुन्छ । पहिल्यै नशा साँघुरो भइसकेको अवस्थाका व्यक्तीमा हृदयघात हुने सम्भावना हुन्छ ।

जाडोमा बढ्नुको कारण पहिला नै कुनै पनि मुटुको रोग छ या मुटुको नली पहिल्यै साँघुरो भइसकेको छ भने चिसोले यो बढेर जान्छ। अर्थात् चिसोको कारण रगतका नलीहरु साँघुरो बन्छन् त्यसपछि हृदयघातको जोखिम बढ्छ ।

हृदयघातको जोखिम समुह

सामान्यतया ५५ वर्ष नाघेका पुरुषमा र ६५ वर्ष नाघेका महिलाहरुमा हृदयघातको जोखिम धेरै हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । तर त्यो भन्दा कम उमेरमापनि हृदयघातको समस्या देखिने गरेको छ ।

चुरोटको सेवन गरेका, मधुमेहका विरामी, कोलस्ट्रोल, उच्च रक्तचाप भएका, मोटोपनाको समस्या भएकाहरु यसको जोखिममा पर्दछन् । यस्तै वंशाणुगत समस्या जसको परिवारमा हृदयघात भएको इतिहास छ  उनिहरुमा पनि हृदयघातको जोखिम उच्च हुन्छ ।

एकपटक हृदयघात भएका व्यक्ति पनि उच्च जोखिममा हुन्छन् । मधुमेहको बिरामी, शरिरमा कोलस्ट्रोल, उच्च रक्तचाप भएका व्यक्ति, धेरै तनावमा बाँचिरहेका, मोटोपना बढी भएका, अत्यधिक रक्सी सेवन गर्ने र धुमपान गर्ने मानिसहरु यसको जोखिममा पर्छन्।

हृदयघातका लक्षणहरु

हृदयघात भएको बेलामा छातिको बिचमा वा देब्रेतिर भारी हुने, ढुंगाले थिचे जस्तो अनुभव हुने, स्वाँ स्वाँ बढ्ने तर आराम गरे पछि सन्चो हुने। कहिले काही देव्रे हातमा वा च्यापूतिर पनि दुखाई सरेको जस्तो हुनसक्छ ।

कसैकसैलाई पेटको माथिल्लो भाग दुख्ने, बेहोस हुने शरीरको कुनै भाग चलाउन गाह्रो हुने जस्ता लक्षणहरु देखिन सक्छन। यस्तै मुटुको धड्कन बढी भएको अनुभव हुने, वाक–वाक लाग्नु,वान्ता हुनु, चिट–चिट पसिना आउनु, कडा पीडा हुनु, रिंगटा चल्ने र वहोस भएर ढल्ला जस्तो हुने लक्षण पनि देखिन सक्छ ।

हृदयघातको जोखिम कम गर्ने उपाय

जोखिम समुहका मानिसहरुले विषेश ख्याल गर्नुपर्छ । मधुमेह, उच्च रक्तचाप, रक्सी –चुरोट सेवन गर्ने, मोटोपना बढी भएकाहरु बिहानै बाहिर ननिस्कने , उच्चरक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल भएका व्यक्तिहरुले नियमित औषधी सेवन गर्ने ।

नियमित स्वस्थ खानपान गर्नुपर्छ । यस्तै नुन तथा चिल्लो पदार्थ कम खाने, बढी फाइबरयुक्त फलफूल तरकारीको नियमित सेवन गर्नाले पनि हृदयघातबाट जोगिन सकिन्छ ।

दैनिक आधा घण्टा देखि एक घण्टासम्म शारीरिक व्यायाम गर्नाले पनि हृदयघातको जोखिम कम गराउँछ ।

( डा.प्रजापति शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कन्सल्टेन्ट कार्डियोलोजिस्ट हुन्, कुराकानीका आधारमा यो सामग्री तयार पारिएको हो )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved