चुनावै पिच्छे पोस्टर बदलिए, घरको छानो बदलिएन

चुनावै पिच्छे पोस्टर बदलिए, घरको छानो बदलिएन

सुर्खेत। कालीकोटको महावै गाउँपालिका-२ का धौले विकको घरको दिवालमा चुनावै पिच्छे पोस्टर बद्लिन्छन्। पटक पटकका चुनावमा आकर्षण नारा दिइएका चुनावी पोष्टरहरू बदलिए तर उनको घरको छानो अहिलेसम्म बदलिएको छैन्।

कर्णाली प्रदेश सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ भन्ने नारा तय गरेको पनि च वर्ष वितिसक्यो। धौले जस्तालाई केन्द्र तथा प्रदेश सरकारका यस्ता आकर्षक नाराले छोएको छैन्। पाँच वर्ष अघि पनि उनको घरमा समृद्धिको नारा दिएर पोष्टर टासिएको थियो। तर उनको घरमा पाँच वर्षमा कुनै समृद्धि आएन।

गत २०७९ वैशाख ३० को स्थानीय निर्वाचनको समयमा पनि उनको घरमा आएर राजनीतिक दलहरूले समृद्धिको नारा दिएर पोप्टर टाँसे। अहिले हुन लागेको आम निर्वाचनका लागि पनि दलहरूले गएर उनको दैलोमा समृद्धिको नारा दिएर पोष्टर टाँसेका छन्। तर उनको घरको छानो बद्लिने कहिले हो ? उनलाई आउने समृद्धि के हो ? त्यसको कुनै अत्तोपत्तो छैन्।

नेपाल सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय सरकारले खरको छानोमुक्त बनाउने अभियान चलाएका छन्। यहाँका दलित परिवार रहेको बस्तीमा अहिलेसम्म खरका छानामुक्त अभियानले छोएको छैन्। प्रत्येक पटक आउने निर्वाचनले भने उनीहरूको घरको दैलोमा रंगीचंगी पोष्टरमा लेखिएको समृद्धिको नाराले भने छुने गरेको छ।

महावै गाउँपालिका-२ को ओदा गाउँमा १६ परिवारको दलित बस्ती छ। उनीहरू सबै विपन्न परिवार छन्। राज्यले खरको छानारहित घर बनाउने भनेर अभियान नै चलाएको छ। तर यो गाउँमा कुनै पनि घरमा टिनको छानाले वा ढुङ्गाको छानाले छाएका छैनन्।

चुनावका बेला मात्रै आफ्नो गाउँमा राजनीतिक दलका नेता कार्यकर्ताहरू आउने र चुनावी नारामा मात्रै खरको छानो हटाउने अभियान चलाउने गरेको धौलेले बताए।

‘चुनावको बेला मात्र आएर हाम्रो घरमा पोष्टर टास्छन्। भोट दिनु तिमीहरूको घरको छानो बदल्छौं भन्छन्,’ उनले भने,‘बीचमा कोही देखा पर्दैनन्, त्यसपछि चुनावका बेला मात्रै भोट माग्न आउँछन्।’ चुनावी नारा र भोटका लागि प्रत्येक पटक मत माग्न आउने गरेको भएपनि आफ्नो जीवनस्तर नबदलिएको स्थानीय सुकिले विकले बताए।

‘हामीले घरको छानो बदल्न नसक्दा वर्षामा चुहिने र हिउँदमा चिसोमा रात काट्नु पर्ने बाध्यता छ,’ उनले भने,‘अहिले लगाएको चुनावी नाराले कसलाई छुन्छ खै ?’ प्रत्येक पटकका चुनावमा यो गाउँका दलित तथा विपन्न परिवारलाई बिभिन्न समृद्धिको नारा दिएपनि अवस्था अझैँ नबदलिएको र राजनीतिक दलहरूले चुनावको बेला मात्रै सम्झिने गरेको स्थानीय दुर्गाप्रसाद काफ्लेले बताए।

‘मैले प्रत्येक पटक चुनावमा यी घरमा पोष्टर टासेको देख्छु। ती पोष्टरमा समृद्धिको नारा लेखिएका हुन्छन्,’ उनले भने,‘तर, नारा हैन् काम गरेर कहिले बदलिने होलान् ?’

यो पनि पढौं

खरमुक्त छाना बनाउने बाचा गरेर गए, पाँच वर्षपछि आएर भित्तामा चुनावी पर्चा टाँसिदिए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved