धनुषा-२ : नेताले रातारात पार्टी परिवर्तन गरेर उम्मेदवारी दिएपछि मतदाता अन्योलमा

नेताहरूले पटकपटक दलबदल गर्दा धनुषाको निर्वाचन क्षेत्र नं २ का मतदाता अलमलमा छन् । औरहीका इन्द्रेश चौधरीले भने, ‘नेतालाई छान्ने कि पार्टीलाई अलमलमा छौैं।’ नेताहरू मनोनयन दर्ता गर्नु अघि एउटा दलमा थिए । रातारात दल परिवर्तन गरी अर्कोबाट टिकट लिई उम्मेदवार बनेकाले यस्तो अन्योल छाएको हो । धनुषा २ मा दुवै गठबन्धनका एकल उम्मेदवार छैनन् । एमाले र जसपा तथा कांग्रेस र एकीकृत समाजवादीले यो क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

धनुषा-२ : नेताले रातारात पार्टी परिवर्तन गरेर उम्मेदवारी दिएपछि मतदाता अन्योलमा

जनकपुरधाम। नेतालाई रोजौं कि पार्टीलाई ठूलो असमञ्जस छ,’ औरही गाउँपालिकास्थित परवाहाका विष्णुकान्त मिश्रले भने । नेताहरूले पटकपटक दलबदल गर्दा धनुषाको निर्वाचन क्षेत्र नं २ का मतदाता अलमलमा छन् । औरहीका इन्द्रेश चौधरीले भने, ‘नेतालाई छान्ने कि पार्टीलाई अलमलमा छौैं।’

नेताहरू मनोनयन दर्ता गर्नु अघि एउटा दलमा थिए । रातारात दल परिवर्तन गरी अर्कोबाट टिकट लिई उम्मेदवार बनेकाले यस्तो अन्योल छाएको हो । धनुषा-२ मा दुवै गठबन्धनका एकल उम्मेदवार छैनन् । एमाले र जसपा तथा कांग्रेस र एकीकृत समाजवादीले यो क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

लोसपा परित्याग गरी टिकटको लागि एमालेमा प्रवेश गरेका उमाशंकर अरगरिया र एमालेबाट टिकट पाउनको लागि जसपामा प्रवेश गरेका गंगाराम यादवबीच सुरुवातमा उम्मेदवारीका लागि प्रतिस्पर्धा भयो । किनकी एमाले र जसपा बीच गठबन्धन भएको थियो । पछि ती दुवै दलमा उम्मेवारबीच मित्रवत प्रतिष्पर्धामा जाने निर्णय अनुसार अरगरिया एमालेबाट र यादव जसपाबाट उम्मेदवार बनेका छन् ।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट पनि एउटै उम्मेदवार छैनन् । प्रतिनिधिसभामा कांग्रेसका पनि उम्मेदवार छन् भने नेकपा एकीकृत समाजवादीले पनि छुट्टै उम्मेदवारी दिएको छ ।

मनोनयनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी एमालेका उम्मेदवार बनेका उमाशंकर अरगरिया ०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यतिबेला उनका प्रतिस्पर्धी रामचन्द्र झा एकीकृत समाजवादीबाट उम्मेदवार छन् । त्यसैगरी, यस क्षेत्रबाट पटकपटक प्रतिनिधित्व गरिसकेका रामकृष्ण यादवले कांग्रेसबाट उम्मेदवारी दिएका छन् । अरगरिया, झा र यादव संघीय मन्त्री भइसकेका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभामा अन्य ११ जना उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

०७४ को निर्वाचनमा अरगरिया संघीय समाजवादी फोरमका उम्मेदवार थिए भने झा माओवादी (केन्द्र) का । अरगरिया ३२ हजार ४४ मत प्राप्त गरी विजयी भए भने झाले १८ हजार ७ सय १५ मत तथा कांग्रेसका यादवले १५ हजार ४ सय ४२ मत प्राप्त गरेका थिए ।

एमालेबाट राजनीति सुरु गरेका झा ०७४ को निर्वाचनअघि माओवादी प्रवेश गरेका थिए । पछि, डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै अहिले नेकपा एकीकृत समाजवादीबाट चुनावमा उत्रिएका छन्।

यसैगरी, संघीय समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका अरगरिया जसपा विभाजन हुँदा लोसपा रोजे । उनी लोसपाका प्रमुख सचेतक पनि थिए । हाल उनी एमालेको उम्मेदवार छन् । यता तीन दशक एमालेमा बिताएका गंगाराम पार्टी परित्याग गरी जसपाबाट उम्मेदवार बनेका छन् ।

यसरी नेताहरूको ठेगान नभएपछि यस क्षेत्रका मतदाता हैरान छन् । तीनकौरियाका रामबाबु यादवले नेताहरूले पटक–पटक पार्टी फेरबदल गर्दा कसरी विश्वास गर्ने भनेर प्रश्न गरे ।

सबैजसो उम्मेदवारको एउटै एजेन्डा

सिरहा छुँदै भारतीय सीमासम्म फैलिएको धनुषा–२ मा सबैजसो उम्मेदवारको एजेन्डा पनि एउटै देखिएको छ, कमला नदीको पुल र हुलाकी राजमार्ग निर्माण । शिलान्यास भएको झन्डै एक दशक बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेको तथा बनेका संरचना पनि पटक–पटक भासिने गरेको कमला पुल र हुलाकी सडक तथा सहिद पथ यस क्षेत्रका नागरिकका लागि चासोको योजना हुन् ।

कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले हुलाकी सडक र सहिद पथको स्तरोन्नतिसँगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न, नागरिकता तथा मधेसको समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताए । उनले भने, ‘हुलाकी सडक र शहीद पथ लगभग निर्माण भइसकेको छ । यसको स्तरोन्नति गर्नु तथा यथाशीघ्र कमला पुल निर्माण गर्नु हाम्रो प्राथमिकता रहनेछ ।’

एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झाले कमला पुलको डिजाइन परिवर्तन र पुननिर्माण, नदी उकास जग्गाको सदुपयोग गरी कृषि क्रान्ति ल्याउने आफ्नो प्रमुख एजेन्डा रहेको बताए । उनले भने, ‘शिलान्यास हुने समयमै मैले कमला नदीको डिजाइनमा त्रुटि रहेको भनेको थिए । डिजाइन परिवर्तन गरी कमला पुल पुननिर्माण गराउनेछु ।’

एमालेका उम्मेदवार अरगरिया आफूले भ्रष्टाचारमुक्त, सुशासन समाज तथा यथाशीघ्र कमला पुल निर्माण गराउन उम्मेदवारी दिएको बताउँछन्। ‘विकास निर्माण कार्यमा कमिसन नलिने र अरूलाई पनि लिन नदिने मेरो प्रतिबद्धता हो । साथै, यस क्षेत्रको समग्र विकास र समृद्धि मेरो प्राथमिकता हो,’ अरगरियाले भने । कमला नदीको वैकल्पिक पुल निर्माण गर्न आफूले आवश्यक प्रक्रिया थालिसकेको उनले बताए ।

जसपाका उम्मेदवार गंगारामले कमला पुल, हुलाकी राजमार्ग निर्माणको साथै पछाडि पारिएको यस क्षेत्रलाई विकासको मूलप्रवाहमा ल्याउन आफ्नो योगदान रहने दाबी गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved