छैटौंपटक चुनावी मैदानमा कांग्रेस उपसभापति खड्का

छैटौंपटक चुनावी मैदानमा कांग्रेस उपसभापति खड्का
फाइल तस्वीर

सुर्खेत। नेपाली कांग्रेसका उपसभाति पूर्णबहादुर खड्का सुर्खेतबाट छैटौंपटक प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । खड्का २०४८ सालदेखि सुर्खेत क्षेत्र नं. १ बाट चुनाव लड्दै आएका छन् ।

२०४८ बाट निरन्तर विजयी हुँदै आएका खड्का २०६४ सालको निर्वाचनमा मात्रै समानुपातिकमा बसेका थिए । २०४८, २०५१, २०७६ र २०७० सालको निर्वाचनमा खड्का विजयी भएका थिए ।

२०७४ सालको निर्वाचनमा वामगठन्धनबाट उम्मेदवार रहेका ध्रुवकुमार शाहीले खड्कालाई हराए । शाहीले ३६ हजार ७५९ र खड्काले ३३ हजार ३७७ मत पाएका थिए ।

खड्काको निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेको मत हाराहारी छ । माओवादी तेस्रो शक्तिका रूपमा निर्णायक रहेको छ । विगतमा वामगठन्धन हुँदा  एमालेलाई गएको माओवादीको मत अहिले खड्कातिर जाने छ ।

२०४८ सालमा एमालेका हस्तबहादुर पुनलाई पराजित गरेका खड्काले २०५१ सालमा एमालेकै ऋषिप्रसाद शर्मालाई हराए । २०५१ सालमा खड्काले १३ हजार ७७१ र शर्माले १२ हजार ६५४ मत ल्याएका थिए ।

२०५६ सालमा खड्काले उनै शर्माविरुद्ध झिनो अन्तरको जित निकाले । खड्काले १६ हजार ९८० र शर्माले १६ हजार ५९४ मत ल्याए । २०७० सालमा उनले एमालेको कमला शर्मालाई हराए ।

खड्काविरुद्ध एमालेले ध्रुवकुमार शाहीलाई उम्मेदवार बनाएको छ । शाहीले २०७४ सालमा जस्तै खड्कालाई पराजित गर्ने एमालेको विश्वास छ ।

सुर्खेतको निर्वाचन क्षेत्र नं. १ मा सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, लेकबेसी नगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा भेरीगंगा, सिम्ता र चिङ्गाड गाउँपालिकामा एमाले र अन्यमा कांग्रेस विजयी भएको छ ।

स्थानीय तह धेरै जितेको एमालेले अहिले त्यसकै आधारमा खड्कालाई हराउने बताएको छ । कांग्रेसका नेताहरु भने स्थानीय तहको निर्वाचनमा पार्टीमा अन्तर्घात भएकाले हारेको भन्दै अहिले त्यो समस्या समाधान भएकाले खड्काले सहजै जित्ने दाबी गर्छन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved