मैले सूर्यबाट चुनाव लड्नु एमालेको लागि गौरवको विषय हो : कमल थापा

मैले सूर्यबाट चुनाव लड्नु एमालेको लागि गौरवको विषय हो : कमल थापा

हेटौंडा। मकवानपुरको क्षेत्र नम्बर १ बाट कमल थापाले एमालेको चिह्नमा चुनाव लड्ने निश्चित भएको छ । उनले आइतबार मनोनयन दर्ता गराइसकेका छन् ।

दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरे पनि थापाले केन्द्रबाट रानाको टिकट खोसेका हुन् । उनै थापाले आफू एमालेको सूर्य चिन्हबाट चुनावमा होमिनु एमालेका लागि गौरवको विषय भएको बताएका छन् ।

एमाले जस्तो गौरवशाली इतिहास बोकेको पार्टीको चुनाव चिह्न लिएर चुनाव उठ्न पाउँदा आफूलाई गौरव महसुस भएको थापाले बताए । उनले भने, “जति मलाई सूर्यबाट उठ्दा गौरव महसुस भएको छ । कमल थापाजस्तो राष्ट्रिय व्यक्तित्वलाई आफ्नो चुनाव चिह्नबाट लड्ने अवस्था सिर्जना हुनु एमालेका साथीहरूको निमित्त खुसी, गौरव, सफलताको कुरा भएको मलाई लाग्छ ।” सूर्यबाट चुनावमा जाँदा जित हासिल हुने देखेकैले उक्त चिह्न रोजेको उनले बताए । जितेर गएपछि संसदमा एमालेसँग निकट भएर काम गर्ने उनले विश्वास दिलाए ।

नेपाली राजनीतिमा सधैँ निष्ठा र इमान्दारितापूर्वक काम गरेको उनले जिकिर गरेका हुन् । नेपाल भ्युजसँग प्रतिकृया दिँदै थापाले आजसम्म कसैलाई बेइमानी र विश्वासघात गर्‍यो भनेर भन्न नसक्ने बताए । राजनीतिको उत्तरार्धमा रहेकाले आफूमा अब सत्ताको स्वार्थ नरहेको उनी बताउँछन् ।

राष्ट्रियताको सवालमा मात्र केपी ओलीसँग निकट रहेको बताउँदै उनले एमालेसंँगको पार्टी एकताको कुरा गर्ने बेला नभएको बताए । एमालेसँगको सहकार्य देशमा रहेको संकट समाधानको लागि रहेको भन्दै एमालेका आम कार्यकर्तालाई बुझेर सहयोग गर्नसमेत उनले आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved