ज्यान जोगाउन आफ्नो घर छाडे तर पहिरोले छाडेन

नेपालभ्युज

ज्यान जोगाउन आफ्नो घर छाडे तर पहिरोले छाडेन
फाइल तश्वीर

काठमाडौं। आफ्नो घरमा बाढी पसेपछि प्युठानको माण्डवी गाउँपालिका-४ फरिन्डेका ६० वर्षीय बमबहादुर राहु मगर श्रीमती थमासहित छिमेकी टेकीको घरमा ओत लाग्न पुगे।

बमबहादुरको घरमा बाढीले ढुंगा माटो थुपार्नथालेपछि पानीमा भिज्दै ज्यान जोगिने आशले लुगाफाटो काखमा च्यापेर बुढाबुढी करिब डेढ सय मिटर टाढा रहेको टेकीको घरमा गएर बसे।

उनीहरूको सामान ओसार्न छिमेकीले पनि सहयोग गरे। तीन दिनदेखि लगातार रुपमा परिरहेको पानीका कारण घर माथिबाट पहिरो बगेर घर नै पुर्ने अवस्थामा पुगेपछि ज्यान जोगाउन छिमेकीकोमा पुगेको बमबहादुर दम्पत्तिको ज्यान भने जोगिएन। शुक्रबार दिउँसो करिब दुई बजेको समयमा आफ्नो घर छाडेर छिमेकीकोमा पुगेको बमबहादुर दम्पत्ति त्यहाँ करिब आधा घण्टा पनि बस्न पाएन।

उनीहरू ज्यान जोगाउन जुन घरमा ओत लाग्न पुगेका थिए त्यही घर पहिरोले पुरिएर बमबहादुर दम्पत्ति मात्रै हैन घर मालिक २१ वर्षीया टेकी सहित ६ जना बेपत्ता भए। माथिबाट आएको पहिरोले घर पुरै परिँदा टेकीसहित उनको जेठानी डुमाको चार वर्षीय छोरा शुसान, घरमा पाहुना लाग्न आएका डुमाको बुबा माण्डबी-१ का ६० वर्षीय हिराबहादुर थापा तथा टेकीको बहिनी १८ वर्षीया मौसमी थापा बेपत्ता भएको स्थानीय शशी खत्रीले बताए।

शशीका अनुसार बमबहादुरको एक्लो छोरा श्रीमतीसहित भारतमा छन्। ‘आफ्नो घरबाट टेकीको घरमा जाँदा पानीले भिजेपछि बमबहादुरका बुढाबुढी आगो बालेर ताप्दै थिए। बमबहादुरको सामान ओसार्न हिराबहादुर पनि काखमा नाती (शुसान) च्यापेर टेकीको घरमा पुगेका थिए,’ शशीले नेपाल भ्युजसँग भने,’बमबहादुरको घरमा छुटेको कागजात लिन जाने क्रममा पहिरो ले घर पुरेपछि हिराबहादुर र उनको नाती पनि बेपत्ता भए।’

उनका अनुसार डुमा र उनको कान्छो छोरा मात्रै अब घरमा छन्। डुमा र टेकी दुबैको श्रीमान कामको शिलशिलामा भारतमा छन्। शशीका अनुसार करिब ५०-६० मिटर लामो पहिरो गएको छ। पहिरोको बीचमा एउटा महिलाको शव पुरै पुरिएको अवस्थामा हात र खुट्टामात्रै देखिएको उनले जानकारी दिए। उक्त शव कस्को हो भन्ने छुट्याउन नसकिएको उनले जानकारी दिए।

प्रहरी र स्थानीयले घटनास्थल कुरेर बसेका छन्। लगातार पहिरो खसिरहेकाले शवको खोजी कार्य आज सम्भव नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवाश खड्काले घटनास्थलमा प्रहरी निरीक्षक ऋषिराम बस्नेतको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यकालागि घटनास्थलमै रहेको बताए। उनले लगातारको वर्षाले गर्दा आज खोज्न सम्भव नभएको र भोलि बिहानैदेखि खोजी कार्य थाल्ने जानकारी दिए।

पहिरो गएको ठाउँ सदरमुकामबाट २४ किलोमिटर टाढा पर्छ। ठाउँठाउँमा सडक पहिरोले गर्दा अवरुद्ध भएपछि सदरमुकामबाट गएर डीएसपी सहितको टोली बीच बाटोबाटै फर्किएको छ। यस्तै घटनास्थल पुगेको नेपाली सेनाको टोली पनि गण फर्किएको छ।

प्युठानको माण्डवीमा पहिरोले घर भासिँदा ६ जना बेपत्ता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved