पाँच वर्षमा १० हजार ८ सय बलात्कारका घटना : १० वर्ष मुनिका बालिका पनि असुरक्षित

नाबालिगको उमेर हद १६ बाट १८ वर्ष पुर्‍याएयता १३ सय ६९ उजुरी

२०७५ भदौ १ पछि कार्यान्वयनमा आएको संहिताले १८ वर्ष नपुगेकालाई नाबालिग भनेपछि १६ र १७ वर्षकी किशोरीमाथि भएका बलात्कारका घटनाका उजुरी बढेका छन्। यसमा कति पीडितले न्याय पाएका छन्। कतिपय घटनामा दाबी नपुगेर आरोपित छुटेका छन्।

पाँच वर्षमा १० हजार ८ सय बलात्कारका घटना : १० वर्ष मुनिका बालिका पनि असुरक्षित

काठमाडौं। ‘मन मिले चमत्कार नत्र बलात्कार’ अभिनेता पल शाहविरुद्ध परेको नाबालिग बलात्कारको मुद्दामा उन्मुक्ति पाएपछि सामाजिक सञ्जालमा जबरजस्ती एउटा भाष्य निर्माण गर्न खोजिएको छ। किनकि, पल शाहले नवलपुर जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दामा सफाइ पाए।

तर, पलले बाल यौन दुरुपयोगको मुद्दामा भने साढे दुई वर्षको कैद सजाय पाएका छन्। उनीमाथि परेको अर्को जबरजस्ती करणी मुद्दामा तनहुँ जिल्ला अदालतबाट भने फैसला सुनाउनै बाँकी छ। उनीविरुद्ध उजुरी दिने किशोरी १७ वर्षकी थिइन्।

अभिनेता पल शाहले जबरजस्ती करणी मुद्दामा सफाइ पाएकै दिन अर्का सेलिब्रेटी क्रिकेटर सन्दीप लामिछाने पनि सोही प्रकृतिकै आरोपमा मुछिएका छन्। १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध जबरजस्ती करणी मुद्दामा किटानी जाहेरी दिएकी छिन्। घटना भएको १६ दिनपछि उजुरी परेपछि यो घटनामा समेत कतिपयले उस्तै ढंगले उल्टै पीडितमाथि आरोप लगाइरहेका छन्।

कानुनले ठहर गर्ने बलात्कारलाई अपराध नमान्ने जमात

तर, धेरैले भने ‘अपहरण गरेर, हात खुट्टा बाँध्दै प्रतिकार गर्न नदिएर, नाक–मुख थुन्दै चिच्याउन नदिएर क्रूर तरिकाले मात्र बलात्कार हुँदैन’ भन्दै आएका छन्। ‘त्यसैले ललाईफकाई छलछाम गरेर वा विश्वासघात गरेर शारीरिक सम्पर्क गर्नु पनि बलात्कार हो’ भन्ने मत बलियो छ। मुलुकी अपराध संहितामा पनि १८ वर्ष उमेरमुनिका किशोरीसँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि बलात्कार ठहरिने उल्लेख छ।

यस्तो घटनामा अर्थात् १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भएकासँग सहमतिमा वा असहमतिमा यौनसम्पर्क गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था कानूनमा छ। यस्तै पीडकबाट पीडितलाई ‘मनासिब’ क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था पनि छ। कानुनमा १८ वर्ष नभएका युवतीसँग शारीरिक सम्पर्क गर्नै नहुने भनिएको छ।

तर, १६ वर्ष माथिका युवतीले ‘सहमतिमा शारीरिक सम्पर्क राख्दा केही नबिग्रने’ भन्दै कानुनविपरितका अराजक प्रतिक्रिया पनि भद्र भलाद्मी भनिनेबाटै आइरहेका छन्। यस्तो मत बलियो बनेमा पीडितले आफूमाथि भएको अन्याय बाहिर ल्याउन नसक्ने खतरा हुने भन्दै अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन्।

 

‘त्यसैले ललाईफकाई छलछाम गरेर वा विश्वासघात गरेर शारीरिक सम्पर्क गर्नु पनि बलात्कार हो’ भन्ने मत बलियो छ। मुलुकी अपराध संहितामा पनि १८ वर्ष उमेरमुनिका किशोरीसँग सहमतिमै शारीरिक सबन्ध राखे पनि बलात्कार ठहरिने उल्लेख छ।

 

यसरी (नवलपुर अदालतबाट सफाइ पाएका तर, तनहुँ अदालतमा मुद्दा खेपिरहेका) अभिनेता पल शाह र आरोपित सन्दीप लामिछानेले यदि सहमतिमै शारीरिक सम्पर्क राखेको भए  निर्दोष हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा सुभेच्छा प्रकट गर्नेको संख्या पनि कम छैन।

२०७५ भदौ १ अघि कार्यान्वयनमा रहेको कानुनमा भने १६ वर्षमुनिको व्यक्तिलाई नाबालिग भनिएको थियो। त्यतिबेला १६ वर्ष मुनिका किशोरीसँग सहमतिमै शारीरिक सबन्ध राखे पनि बलात्कार ठहरिन्थ्यो। अर्थात् १६ वर्ष पार गरेपछिको किशोरीसँग सहमतिमै सम्बन्ध राखेमा बलात्कार नहुने भनिएको थियो। फेरि, त्यही पुरानै कानुनको व्यवस्था अर्थात् नाबालिग उमेर हदलाई १८ वर्षबाट घटाएर १६ वर्षमा झार्नुपर्ने आवाजसमेत कतिपयले उठिरहेका छन्।

नाबालिगको उमेर हद १८ वर्ष पुर्‍याएयता १३ सय ६९ उजुरी

२०७५ भदौ १ पछि कार्यान्वयनमा आएको संहिताले १८ वर्ष नपुगेकालाई नाबालिग भनेपछि किशोरीमाथिको बलात्कारका उजुरी बढेका छन्। यसमा कति पीडितले न्याय पाएका छन्। कतिपय घटनामा दाबी नपुगेर आरोपित छुटेका छन्।

आर्थिक वर्ष २०७४/ ७५ मा देशभर १४४ जना १६ देखि १८ वर्षका किशोरी बलात्कृत भएको उजुरी परेको छ। आर्थिक वर्ष २०७५/७६ मा उजुरीको क्रम बढेर २ सय ३३ पुगेको प्रहरीको तथ्याङक छ। आर्थिक वर्ष २०७६/७७ मा ३ सय १९ उजुरी परेको छ। यस्तै, आर्थिक वर्ष २०७७/७८ मा यो उमेर समूहको ३ सय ४४ वटा उजुरी परेको छ।

आर्थिक वर्ष २०७८/ ७९ मा उजुरी केही घटेको छ। यो वर्ष ३ सय २९ उजुरी परेको प्रहरीको तथ्यांक छ। पाँच वर्षमा अर्थात् २०७४/७५ बाट गत साउन मसान्तसम्म कुल १ हजार तीन सय ६९ उजुरी परेको प्रहरीले जनाएको छ।

१६ वर्ष मुनिका बालिका बलात्कारको घटना झनै डरलाग्दो

आँकडा केलाउने हो भने १८ मुनिका किशोरी बलात्कारको घटना मात्र बढेका छैनन्। कलिला नानीलाई समेत अपराधीले छाडेका छैनन्। १० वर्ष उमेर नपुगेका बालिका बलात्कारको तथ्याङकले भयावह तस्वीर देखाउँछ।

पछिल्लो पाँच वर्षमा ११ देखि १६ वर्ष उमेर समूहका बालिका बलात्कृत भएका घटना पनि डरलाग्दो छ। उक्त अवधिमा ४ हजार २ सय ६१ बालिका बलात्कृत भएका छन्।

आर्थिक वर्ष २०७४/७५ मा ५९० बालिका बलात्कृत भएका छन्। आर्थिक वर्ष २०७५/७६ मा बलात्कारको घटना बढेर ८८९ पुगेको प्रहरीको तथ्याङक छ।

आर्थिक वर्ष २०७६/ ७७ मा ८०१ जना बलिका बलात्कृत भएका छन्। आर्थिक वर्ष २०७७/७८मा १ हजार १६ वटा घटना भएको तथ्याङक छ। आर्थिक वर्ष २०७८/७९मा ९ सय ६३ उजुरी परेको छ।

कलिला मुनाहरू पनि अपराधीको पञ्जामा

१० वर्ष उमेरभन्दा मुनिका बालिका बलात्कारको तथ्याङकलाई ऐनामा हेर्दा हाम्रो समाज आधुनिक युगकै कलंक प्रतिबिम्बित हुन्छ। समाज कति क्रूर छ भन्ने यसले देखाउँछ।

पछिल्लो पाँच वर्षमा १० वर्षभन्दा मुनीका १ हजार ४ सय ५ जना बालिका बलात्कारको शिकार भएका उजुरी प्रहरीमा परेका छन्।

आर्थिक वर्ष २०७४/७५ मा १० वर्षभन्दा मुनिका २ सय ६१ बालिका बलात्कृत भएका छन्। आर्थिक वर्ष २०७५/ ७६ मा यो बढेर २ सय ९८ पुगेको प्रहरीको तथ्याङक छ। आर्थिक वर्ष २०७६/७७ मा २ सय ७३ बालिका बलात्कृत भएका छन्।

यस्तै आर्थिक वर्ष २०७७/७८मा ३ सय ५ वटा घटना भएको तथ्यांक छ। आर्थिक वर्ष २०७८/७९ मा केही घटेर २ सय ६८ उजुरी परेको प्रहरीको तथ्यांकले देखाउँछ।

अति नै भयो बलात्कार – पाँच वर्षमा १० हजार ८ सय घटना

सबै उमेर समूह हेर्दा पाँच आर्थिक वर्षमा १० हजार ८ सय ३८ बलात्कारका घटना भएका छन्। आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४६८ जना बलात्कारको उजुरी प्रहरीमा परेको छ। आर्थिक वर्ष २०७५/७६ मा बढेर २ हजार २ सय ५४ जना प्रहरीकोमा पुगेको देखिन्छ। २०७६/७७ मा २ हजार १६७ महिला बलात्कृत भएका छन्।

यो संख्या २०७७/७८मा बढेर २ हजार ५५४ पुगेको छ। यस्तै २०७८/ ७९ मा २ हजार ३ सय ९५ उजुरी परेको प्रहरीको तथ्यांक छ।

 

दिनहुँ कलिला बालिकादेखि अशक्त वृद्धा समेत बलात्कारको सिकार बनिरहेको खबर आइरहेका छन्। कैयौँ घटनामा बलात्कारपछि बीभत्स हत्या समेत भएका छन्। पाँच वर्षमा  ६ जनाको हत्या भएको प्रहरीको आँकडाले देखाउँछ।

 

 

बलात्कारीको पासो- सामाजिक सञ्जाल

दिनहुँ कलिला बालिकादेखि अशक्त वृद्धा समेत बलात्कारको सिकार बनिरहेको खबर आइरहेका छन्। कैयौँ घटनामा बलात्कारपछि बीभत्स हत्या समेत भएका छन्। पाँच वर्षमा २६ जनाको हत्या भएको प्रहरीको आँकडाले देखाउँछ।

यस्ता जघन्य अपराधका आँकडाले समाजको क्रुर तस्वीर उजागर गरेको छ।

बलात्कारका घटना बढ्नुमा सामाजिक सञ्जालको पनि केही भूमिका देखिन्छ। सामाजिक सञ्जाललाई बलात्कारीले महिलालाई पासोमा पार्ने मुख्य माध्यम बनाएको पाइन्छ।

‘अभिभावक सचेत नहुनु, सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्नु’ जस्ता कारणले पनि बलात्कारीलाई सहयोग पुगेको प्रहरी अधिकारी बताउँछन्। एक अधिकारी भन्छन्, ‘‘हातहातमा मोबाइल र इन्टरनेट छ। सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्दा किशोरी तथा युवती बलात्कारीको पासोमा परिरहेका छन्। अति आधुनिकताले पनि यसमा केही न केही भूमिका खेलेको छ।’’

 

बलात्कारका घटना संवेदनशील भए पनि समाज र राज्य संवेदनशील बन्न नसकेको भन्दै कतिपयले चिन्ता गरिरहेका छन्। कानुन बलियो बनाए पनि न्यूनीकरण र नियन्त्रणका प्रयास नहुँदा घटना दोहोरिइरहेको उनीहरूको तर्क छ।

 

अभिभावक नै सचेत बनौं

बलात्कारका घटना संवेदनशील भए पनि समाज र राज्य संवेदनशील बन्न नसकेको भन्दै कतिपयले चिन्ता गरिरहेका छन्। कानुन बलियो बनाए पनि न्यूनीकरण र नियन्त्रणका प्रयास नहुँदा घटना दोहोरिइरहेको उनीहरूको तर्क छ।

अधिकांश पीडित नाबालिका रहेकाले अभिभावक सचेत हुनु जरुरी देखिन्छ। घटना न्यूनीकरण गर्न अभिभावकले आफ्ना बालबालिका वा छोराछोरीको गतिविधिमाथि निगरानी बढाउनुपर्ने राष्ट्रियसभा सदस्य डा‍. विमला राई पौडेलको सुझाव छ।

डा. विमला राई पौडेल, राष्ट्रियसभा सदस्य

‘‘किशोरी तथा बालिकाहरू अभिभावकसँग भन्दा पनि सामाजिक सञ्जालमा धेरै व्यस्त हुन थालेमा ख्याल राख्न पर्छ। यस्तो अवस्थामा उनीहरूको मनोविज्ञान राम्रोसँग बुझेर सुधारका लागि अभिभावकले ध्यान दिन सकेको पाइँदैन,’’ उनी भन्छिन्, ‘‘पहिले पहिले शिक्षामा पनि चरित्र निर्माण गर्न ध्यान दिइन्थ्यो। अहिले म्याथम्याटिक्स र साइन्समा मात्र ध्यान दिएका छौँ। असल चरित्र निर्माण गर्ने कुरामा नैतिक शिक्षामा ध्यान दिएका छैनौँ। समाजको सामाजिक विकास असल नागरिक बन्ने खालको छैन।’’

हाम्रो समाजको बनावट परिवर्तन भएकाले घरमा धेरै अभिभावकले समय दिन नसक्ने र यसको सजाय छोरीहरूले भोग्नुपरेको सांसद पौडेलको तर्क छ।

कानुन बन्यो तर, घटना हुनै नदिने योजना बनेन

अहिले बलात्कारका घटना रोकथाम भन्दा पनि घटना भएपछि कारबाहीको कानुन मात्र बनेको अधिकारकर्मी राधा पौडेलको बुझाइ छ। बलात्कारका घटना बढ्ने कारणबारे कुनै निकायबाट खोजी नभएकोमा उनको चिन्ता छ।

कतिपय अवस्थामा अहिलेको कानुन पर्याप्त भए पनि कार्यान्वयनको पाटो फितलो हुँदा घटनामा थप वृद्धि भएको उनी बताउँछिन्।

राधा पौडेल, अधिकारकर्मी

‘‘हामीले हाम्रा छोरीहरूलाई प्राकृतिक स्वरूपको बारेमा कुरा गरेनौँ। जस्तै छोरीहरू महिनावारी हुन्छन्। महिनावारीको कारणले संसार अघि बढेको छ। सृष्टि अघि बढेको छ भन्ने कुरा समाजलाई सिकाइएन। छोरीहरूलाई सचेतना सिकाइएन। वा गलत सिकाइयो’’ पौडेल भन्छिन्, ‘‘आफूलाई कसैले गलत रूपमा छोयो भने त्यसको प्रतिकार गर्न वा प्रश्न गर्नुपर्छ भन्ने सिकाइएन। यस कारण कसैले दुर्व्यवहार गर्दा प्रतिकार गर्ने आँट आउँदैन।’’

विषालु हतियार, बलात्कारीसँग मिलापत्र

बलात्कारका घटनालाई इज्जत–प्रतिष्ठासँग जोड्दै सकेसम्म ढाकछोप गर्ने प्रवृतिले पनि चिन्ता बढाएको छ। समाजले के भन्ला’ भन्ने चिन्ता र ‘बलात्कृत छोरीको पछि विवाह नहोला कि’ भन्ने चिन्ताले कतिपय पीडित आफूमाथिको अन्यायविरुद्ध बोल्दैनन्। यसले बलात्कारीको मनोबल बढ्छ।

‘यौनजन्य हिंसाका घटना सार्वजनिक गर्दा इज्जत जान्छ’ भनेर बस्दा पीडक पक्षले मिलापत्रमा मिलाउँदै कानुनबाट उन्मुक्तिको बाटो पाउने सांसद विमला राई पौडेल बताउँछिन्।

उनी भन्छिन् ‘‘महिलामाथि हुने हिंसालाई साधारण रूपले हेर्ने तप्काले घटनालाई मेलमिलाप गरेर टुङ्याउँदै आएको पाइन्छ। यौनजन्य हिंसाजस्ता जघन्य अपराधको यो डरलाग्दो रूपलाई कम गर्न सबै ठाउँमा अभियान नै चलाउनुपर्छ।’’

घटना भएपछि न्यायालयसम्म पुर्‍याउँदासम्म बीचमा आइपर्ने विभिन्न प्रलोभन, आर्थिक लेनदेन, मानसिक तनावलगायतका अप्ठ्यारासँग लड्नका लागि पीडितलाई हौसला दिनुपर्ने संयन्त्र चाहिने उनको बुझाइ छ।

बलात्कारको दैनिक १० वटासम्म घटना भइरहेको गम्भीर अवस्था अहिले रहेको अधिकारकर्मी राधा पौडेलको भनाइ छ। उनी भन्छिन् ‘‘पछिल्लो समय घटना बढेको होइन। बाहिर आएको मात्र हो। धेरै घटना बाहिर आउन सकेको छैन। हाम्रो समाजको संरचना हेर्दा अहिले बलात्कारको घटना बढेको होइन उजुरी दिनेको संख्या मात्र बढेको हो। उजुरी नदिएका धेरै घटना छन्।’’

कोही किन बलात्कार गर्छ ?

असामाजिक स्वभावका मानिसले महिलालाई ‘यौनको वस्तु’ का रूपमा बुझ्ने र बलात्कारको मानसिकता बनाउने मनोचिकित्सक डा. वासुदेव कार्की बताउँछन्।

डा वासुदेव कार्की मनोविद्

स्वास्थ्यकर मनोविज्ञान भएको साधारण मानिसले आपराधिक घटना नगराउने उनको भनाइ छ। ‘‘स्वास्थ्यकर मनोविज्ञान भएको साधारण मानिसले आपराधिक घटना गराउँदैन। हरेक मानव व्यवहार सकारात्मक होस् या नकारात्मक कुरामा उसको मानसिक स्वास्थ्य प्रत्यक्षसँग सरोकार राख्छ,’’ उनी भन्छन्, ‘‘सामाजिक अपराध घटनाको पछाडि सामाजिक मनोविज्ञानमा भइरहेको दुर्भावना, योजना विकास र गलत धारणालाई व्यवहारमा रूपान्तरण गरेर यस्ता घटना हुन्छन्। व्यक्तिको मनोविज्ञानको विकासमा कहीँ न कहीँ त्रुटि छ भन्ने सहज अनुमान गर्न सकिन्छ।’’

अहिलेकै स्वास्थ्य संरचना र प्रणालीमा त्यस्तो स्वभावका व्यक्ति पहिचान गर्नै गाह्रो रहेकाले तिनलाई उपचार वा परामर्श दिन अप्ठेरो रहेको उनी बताउँछन्।

 

‘‘मानसिक रूपमा अस्वस्थ भएका व्यक्तिले क्षणिक आवेगलाई नियन्त्रण गर्न सक्दैनन्। जसले अरूलाई सम्मान गर्दैन। सम्मान लिन पनि खोज्दैन। मदिरा र लागुऔषधको लत जस्तै यौन लत पनि बलात्कारको प्रमुख कारण हो।’’

 

यौनिक आचारसंहिताको दुष्परिणाम

मनोविद् गोपाल ढकालका अनुसार यौन लत (सेक्स एडिक्सन) लागेका, मेनिया, मदिरा वा लागुऔषधको लत र पेडोफेलिया भएका व्यक्तिले यौन हिंसा तथा बलात्कारका घटना गराउने सम्भावना बढी हुन्छ।

गोपाल ढकाल, मनोचिकित्सक

उनी भन्छन्, ‘‘मानसिकरूपमा अस्वस्थ भएका व्यक्तिले क्षणिक आवेगलाई नियन्त्रण गर्न सक्दैनन्। जसले अरूलाई सम्मान गर्दैन। सम्मान लिन पनि खोज्दैन। मदिरा र लागुऔषधको लत जस्तै यौन लत पनि बलात्कारको प्रमुख कारण हो।’’

परिवारभित्रको विचलन र तनावमा परेका पुरुषले आफ्ना कुण्ठा दबाउन पनि बलात्कारजस्तो जघन्य घटना गराउन सक्ने खतरा रहेको उनी बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved