विमानस्थलबाटै पक्राउ पर्नेछन् सन्दीप, यसरी अघि बढ्छ उनीविरुद्धको मुद्दा

यदि खेल सकिएपछि पनि नेपाल नआएको अवस्थामा जिल्ला प्रहरी परिसर, काठमाडौंले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोग लिन सक्ने अनुसन्धान अधिकृतहरू बताउँछन्। सन्दीप स्वदेश फर्किएपछि विमानस्थलबाटै पक्राउ पर्नेछन्। त्यसपछि अदालती प्रक्रिया शुरु हुनेछ।

नेपालभ्युज

विमानस्थलबाटै पक्राउ पर्नेछन् सन्दीप, यसरी अघि बढ्छ उनीविरुद्धको मुद्दा

काठमाडौं। नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेले नाबालिगलाई जबरजस्ती करणी (बलात्कार)को गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि यो मुद्दा कसरी अघि बढ्ला भन्ने आम चासो देखिएको छ। उनीविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। तर, अहिले नेपालमा नरहेकाले उनी कसरी पक्राउ पर्लान् र अनुसन्धान अघि बढ्ला भन्ने धेरैको जिज्ञासा छ।

मंगलबार प्रहरीमा जाहेरी परेको भए पनि सन्दीप भने क्यारेबियन टापुको जमैकामा छन्। उनी क्यारेबियन प्रिमियर लिग खेल्न गएका हुन्। दुई दिनपछि (८ सेप्टेम्बर) मा ‘ग्रेस आइलेट’ मा हुने खेलको लागि उनी त्यही सहरमा रहेको अनुमान छ।

२५ सेप्टेम्बरसम्म उनको टिम ‘जमैका तल्लवा’को खेल छ। सो टिम क्वालिफायरमा प्रवेश गरेमा सन्दीपको जमैका बसाई थप समय लम्बिनेछ। तर, उनीविरुद्ध उजुरी परेको भन्दै उनले खेलिरहेको टिम ‘जमैका तालावाज’ले उनलाई नेपाल फिर्ता पठाउन पनि सक्नेछ।

सन्दीप लामिछाने ४ दिन अघि (३ सेप्टेम्बरमा) क्यारेबियन आइल्यान्डको बास्टेरमा थिए। त्यो खेलमा उनी बेन्चमा थिए। सन्दीपको टिम जमैका तालावाजको खेल भोलि (८ सेप्टेम्बरमा) बिहान पौने ५ बजे सेन्टलुसिया किङससँग छ।

उजुरीकर्ता पीडित किशोरीले पिंगलास्थानको ‘होटल काठमाडौं इन’मा लगेर दुईपटक बलात्कार गरेको भनेकी छन्। बलात्कार मुद्दा संवेदनशील मानिने भएकाले सन्दीपलाई नियन्त्रणमा लिन प्रहरी सक्रियतापूर्वक लाग्नेछ।

यदि, खेल सकिएपछि पनि नेपाल नआएको अवस्थामा जिल्ला प्रहरी परिसर, काठमाडौंले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोग लिन सक्ने अनुसन्धान अधिकृत बताउँछन्।

विमानस्थलबाटै पक्राउ पर्छन् सन्दीप

सन्दीप स्वदेश फर्किएपछि उनी विमानस्थलबाटै पक्राउ पर्नेछन्। पक्राउपछि हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीले अदालतसँग समय माग्नेछ। उनी केही दिन प्रहरी हिरासतमा रहनेछन्। त्यसपछि अदालती प्रक्रिया शुरु हुनेछ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७३ मा कुनै फौजदारी कसुरको आरोपमा प्रहरीमा जाहेरी परेमा के गर्ने भन्नेबारे विस्तृत प्रक्रिया खुलाइएको छ। सो अनुसार जाहेरी लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले सन्दीपसँग बयान लिनेछ। बयानका क्रममा उनले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने मौका पाउनेछन्। उनले आरोप झुटा रहेको भनी आफ्नो दलिल पेस गर्ने मौकासमेत पाउँछन्।

फौजदारी कानुनमा पीडितको जाहेरी र अनुसन्धान अधिकृतसमक्ष गर्ने भनाइलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ। यसैले अदालतले पीडित किशोरी र उनका संरक्षकको पनि बयान लिन्छ। प्रमाण संकलनको लागि प्रहरीले पीडित किशोरीले स्वास्थ्य परीक्षणसमेत गराइसकेको छ। साथै, घटना भएको भनिएको होटेलमा गएर सीसीटिभी फुटेज संकलन गरिसकेको छ।


यस्तो छ अदालती प्रक्रिया

सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले २५ दिनको समय पाउने छ। अनुसन्धान टुङ्गिएपछि सन्दीपले जबरजस्ती करणी गरेको प्रमाण भेटिएमा प्रहरीले उनी विरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिन्छ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा सन्दीप मुद्दा दायर गर्नेछ। मुद्दा दायरपछि जिल्ला अदालतले सन्दीपको बयान लिनेछ। साथै आफ्ना पक्षमा वकालत गर्नेको लागि सन्दीपले कानुनी सल्लाहकारसमेत राख्न पाउनेछन्।

बयान सकिएपछि थुनछेक बहस हुने छ। अदालती भाषामा थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्नेमा बहस हुनेछ।

यो प्रक्रिया सकिएपछि जिल्ला अदालतले शाहलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्ने आदेश दिनेछ। सामान्यतया: ३ वर्षभन्दा बढी कैद सजाय तोकिएको मुद्दामा धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने प्रावधान छैन।

अदालतले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन सक्ने कानुनका जानकारहरू बताउँछन्। यदि प्रारम्भिक रूपमा सन्दीपले जबरजस्ती करणी गरेको भन्ने बलियो प्रमाण नभेटिएमा मात्र धरौटीमा वा तारेखमा रिहा हुनसक्ने कानुनका जानकार बताउँछन्।

यो पनि पढ्नुहोस्-

बलात्कार आरोपबारे किन बोल्दैनन् सन्दीप ?

आरोप पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय भोग्नुपर्ने

उनी धरौटीमा वा साधारण तारेखमा रिहा भए भने पनि विदेश जान पाउने सम्भावना हुँदैन। यसकारण उनले थुप्रै विदेशी क्लबका खेल खेल्नबाट वञ्चित हुनेछन्। केही समयको अदालती प्रक्रियापछि अन्तमा फैसला हुने छ।

मुलुकी अपराध संहिता ऐनको दफा २१९

मुलुकी अपराध संहिता ऐनको दफा २१९ मा १८ वर्षमुनिको नाबालकको हकमा मन्जुरी लिएर समेत करणी गर्न नपाइने उल्लेख छ। उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि जबरजस्ती करणी भएको मानिने भनिएको छ।

उक्त दफामा भनिएको छ, ‘‘मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’’

मुलुकी अपराध संहिता ऐनको दफा २१९

यदि, सन्दीपले जबरजस्ती करणी गरेको आरोप पुष्टि भएमा पीडितको उमेरले गणना गर्दा सन्दीपमाथि १० देखि १२ वर्षसम्म कैद सजाय हुनसक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।

आरोप पल शाहकै जस्तै

जबरजस्ती करणी मुद्दामा पल शाह निर्दोष सावित भए। तर, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाइएको छ। २५ हजार जरिवानाको सजाय पनि भएको छ। पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश पनि दिएको छ।

यो फैसला भएकै दिन सन्दीपविरुद्ध उस्तै प्रकृतिको उजुरी परेको हो। पीडित पनि १८ वर्ष मुनीको नाबालिग, र बलात्कारको प्रकृति पनि उस्तै रहेको जाहेरीमा देखिन्छ।

उजुरीकर्ताले सन्दीपले आफूलाई पिंलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको भनेकी छन्। त्यसअघि, आफूलाई नगरकोट लगेर आफ्नो समय कटाउन झुलाएको बताएकी छिन्। उजुरीको प्रकृति हेर्दा नगरकोटमा सन्दीपले दुर्व्यवहार गर्ने मनसायले रातिको मौका कुर्नकै लागि लामो समयसम्म राखेको अनुसन्धान अधिकृत बताउँछन्।

त्यसैले, पीडित नाबालिग भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ अनुसार बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुनसक्ने छ। ‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगे, यौनसम्बन्धी अङ्ग छोए वा अन्य कुनै यौनजन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने यसको उपदफा (२) मा भनिएको छ।

यसरी अभिनेता पल शाहको मुद्दाको नजिर हेर्दा यदि सन्दीपविरुद्धको जबरजस्ती करणी आरोप पुष्टि नभए बालयौन दुरुपयोगको कसुर आकर्षण हुन सक्ने देखिन्छ। यदि, यो पुष्टि भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनका जानकारको भनाइ छ ।

यो पनि पढ्नुहोस्-

जाहेरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण, होटलबाट लिइयो सीसीटीभी फुटेज

सन्दीप लामिछानेमाथि १७ वर्षिया किशोरी बलात्कार गरेको आरोप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved