विवादास्पद व्यक्तिप्रति दलहरूको मोह : ‘भ्रष्टाचारी’ देखि हत्या आरोपीसम्म उम्मेदवार सिफारिस

अहिले मुख्य दलबाटै आधा दर्जनभन्दा धेरै विवादास्पद व्यक्ति प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भइसकेका छन् । प्रदेशसभामा पनि अवस्था उस्तै छ । यदि यस्ता व्यक्ति कानून बनाउने निकायमा पुगे के होला ? सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । 

नेपालभ्युज

विवादास्पद व्यक्तिप्रति दलहरूको मोह : ‘भ्रष्टाचारी’ देखि हत्या आरोपीसम्म उम्मेदवार सिफारिस

काठमाडौं : मंसिर चार गते हुने निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । निर्वाचन नजिकिँदै जाँदा विवादित अनुहार पनि दलहरूको रोजाइमा पर्न थालेका छन् ।

दलहरूको सिफारिसमा हत्या आरोपीदेखि गुन्डा नाइकेसम्म परेका छन् । मुख्य दलहरूले नै विवादस्पद व्यक्तिलाई उम्मेदवार बनाउने तयारी गरेपछि आम नागरिकमा आक्रोश बढ्दो छ । रौतहटमा बम विस्फोट गराएको र जिउँदा मान्छेलाई इँटाभट्टामा हालेर पोलेको आरोप लागेका मोहमद अफताब आलम तथा ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई कांग्रेसले प्रतिनिभिसभाको उम्मेदवारका लागि सिफारिस गरेको छ ।

विवादास्पद व्यक्ति सिफारिसमा परेपछि कांग्रेसभित्रै असन्तृष्टि छ । नख्खु जेलमा रहेका आलमलाई नेपाली कांग्रेस रौतहटले संघीय संसद्को उम्मेदवारका लागि क्षेत्र नम्बर दुईबाट सर्वसम्मत सिफारिस गरेको थियो । आलमले कर्तव्य ज्यानसम्बन्धी मुद्दा खेपिरहेका छन् ।

यस्तै भ्रष्टाचार मुद्दा खेपिरहेका गच्छदारलाई कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ ले उम्मेदवारका लागि सिफारिस गरेको छ । उनीमाथि ललिता निवास जग्गा प्रकरणमा अनियमितता गरेको अभियोगमा छानबिन भइरहेको छ ।

यस्तै, सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि कांग्रेसबाट सिफारिस भएका राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली) पनि विवादास्पद व्यक्ति हुन् । आपराधिक पृष्ठभूमिका गोर्खालीलाई प्रहरीले गुण्डा नाइके भन्दै आएको छ । त्यसो त गोर्खालीले २०७४ को चुनावमा राप्रपालाई सहयोग गरेका थिए । उनी अहिले कांग्रेसको महासमिति सदस्य छन् ।

अर्का विवादित व्यक्ति हुन् रोज राणा अर्थात् सरोज थापा । उनी पनि उम्मेदवारको सिफारिसमा छन् । कांग्रेस प्युठान प्रदेश (ख) का क्षेत्रीय सभापतिसमेत रहेका उनको नाम क्षेत्रीय समितिले पहिलो नम्बरमा राखेर जिल्लामा सिफारिस गरेको हो । राणालाई पनि प्रहरीले गुण्डा नाइके भन्दै आएको छ ।

विवादित व्यक्ति सिफारिस गर्न एमाले पनि पछि छैन । चक्रे मिलनका नामले चिनिने मिलन गुरुङ एमालेबाट गोरखा क्षेत्र नं. २ मा प्रतिनिधि सभाको उम्मेद्वारका लागि सिफारिस भएका छन् । नेकपा एमालेको क्षेत्रीय समितिले उनको नाम माथिल्लो निकायमा पठाएको छ ।

विवादित छवि भएका चक्रे मिलनले काठमाडौंको विशेषगरी ठमेल क्षेत्रमा गुण्डागर्दी गरेर अकुत धन आर्जन गरेको आरोप छ । प्रहरीले उनलाई पनि गुण्डा नाइकेकै सूचीमा राखेको छ ।

कांग्रेस बचाउमा उत्रियो 

विवादित व्यक्तिलाई सिफारिस गरे पनि दलहरूले भने बचाउ गर्न थालेका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अफताब आलमको बचाउ गर्दै आरोप लाग्दैमा दोषी करार गर्न निमल्ने बताए । महतले पत्रकार सम्मेलन नै गरेर भने, ‘अफताबजीलाई लागेको आरोपमा अदालतबाट केही निर्णय भएको छैन, त्यहाँँका कार्यकर्ताले सिफारिस गर्नुभयो । त्यसकारण यसमा हामीले केही भनेका छैनौँ ’

आलमको सिफारिसबारे कांग्रेस महामन्त्री गगन थापाले भने अलि फरक प्रतिक्रिया दिए । शुक्रबार आयोजित एक कार्यक्रममा थापाले निर्वाचनका लागि आलमको नाम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउने बताए । उनले भने, ‘ संविधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हुँ, यो निर्णय, हामीले गरेको हाैं भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट पार्टीले गर्दैन, यत्ति कुरा म आवश्वस्त पार्दछु।’

नेता विजयकुमार गच्छदारले पनि अहिले भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । मुद्दाको किनारा नलाग्दै उनी पनि प्रतिनिभिसभा सदस्यको निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन् । तर, सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रूपमा गच्छदारको नाम सिफारिस गरेको छ ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने क्रममा संलग्नता देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । तल्लो तहमा असन्तृष्टि बढे पनि केन्द्रीय नेतृत्वले भने गच्छदारको वचाउ गरिरहेको छ ।

प्रवक्ता महतले ललिता निवास प्रकरणमा गच्छदारको संलग्नता नरहेको दाबी गरे । उनले भने ‘ कुनै पनि निर्णय मन्त्रिपरिषद्ले गर्दा प्रधानमन्त्रीको भूमिका हुन्छ । ललितानिवास प्रकरण मन्त्रीस्तरीय निर्णय होइन । मन्त्रिपरिषद्को निर्णय भएकाले त्यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । उहाँ त्यो बेला प्रधानमन्त्री हुनुहुन्नथ्यो । यद्यपि, उहाँलाई आरोप लगाइएको छ ।’

भ्रष्टाचारको मुद्दा दर्ता भएपछि गच्छदार २०७६ माघमा सांसदबाट निलम्बनमा परेका थिए । मुद्दा दर्ता भएपछि सम्पर्कविहीन भएका उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएकै दिन अदालतमा हाजिर भएका थिए । त्यतिबेला उनी १० लाख रुपैयाँ धरौटीमा रिहा भए ।

दण्डित गनुपर्ने व्यक्तिलाई संरक्षण गर्दा दलमाथिको विश्वास गुम्यो : समाजशात्री 

अहिले मुख्य दलबाटै आधा दर्जनभन्दा धेरै विवादास्पद व्यक्ति प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भइसकेका छन् । प्रदेशसभामा पनि अवस्था उस्तै छ । यदि, यस्ता व्यक्ति कानून बनाउने निकायमा पुगे के होला ? सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

विवादास्पद छविका व्यक्ति दलको रोजाइमा पर्नु समाजका लागि दुर्भाग्यपूर्ण भएको समाजशास्त्री डा. ओम गुरुङको भनाइ छ । दण्डित हुनुपर्ने व्यक्तिलाई संरक्षण गर्ने दलहरूको प्रवृत्तिले नयाँपुस्तामा राजनीतिप्रति नै वितृष्णा जागेको उनी बताउँछन् ।

दलहरूका यी निर्णय समाजका लागि पनि घातक हुने र सामाजिक सद्भाव खल्बलिने उनको तर्क छ । अनुसन्धान भइरहेका र जघन्य अपराधमा सजाए भोगेका व्यक्तिलाई उम्मेदवार सिफारिस गर्नु जनताप्रतिको अपमान भन्दै गुरुङ  थप्छन,’ ‘जुन व्यत्तिः दण्डित हुनुपर्नेछ त्यही व्यक्ति घुमीघुमी उम्मेदवार बन्नु भनेको जनताप्रतिको अपमान हो । मनपरी गरेर उम्मेदवार बनाउँदा दलहरू जनताप्रति उत्तरदायी छैनन् भन्ने पुष्टि हुन्छ ।’

यस्ता व्यक्तिले टिकट पाए अवैध रुपमा कमाएको रकम खर्च गर्ने र डर / त्रास देखाएर जित्ने सम्भावना बढि हुन्छ । त्यसैले अहिले नै सबैतिरबाट खवरदारी आवस्यक रहेको समाजशास्त्री गुरुङ बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved