सिनेमा

‘प्रकाश’- कर्णालीबाट नियालिएको देश–विम्ब

यो सिनेमा प्रकाश र उनकी आमाको वैयक्तिक त्रासदी र कष्टकर जीवनयात्रामा मात्र सीमित छैन, कर्णाली क्षेत्रका पूरै राजनीतिक, सामाजिक, शैक्षिक परिदृश्यमा व्याप्त विसंगत तस्वीर छ। कतिपय घटना–दृश्यमा नजर पुग्दा एउटा स्वाभाविक प्रश्न उठ्छ– हामी कुन समाजमा बाँचिरहेका छौँ ?

‘प्रकाश’- कर्णालीबाट नियालिएको देश–विम्ब

तृणमूल कांग्रेसको उपल्लो तहका नेता एवं पश्चिम बंगालका तत्कालीन क्याबिनेट मन्त्री (शिक्षा) पार्थ चटर्जी र अभिनेत्री अर्पिता मुखर्जीबीचको घनीभूत सहकार्यमा शिक्षक भर्ना प्रकरणमा अर्बौँ रुपियाँ भ्रष्टाचार भएको खबरले जब पछिल्लो समय भारतीय मिडियालाई ढपक्कै ढाक्यो, त्यसले अधिकारप्राप्त व्यक्तिले गरेका घोटालाको भयावह पर्दाफास गरिदियो।

सन् २०१४ देखि २०२१ सम्म शिक्षा मन्त्री रहेका चटर्जीको कार्यकालमा सरकारी सहायताप्राप्त विद्यालयहरूमा १८ हजार शिक्षक माग गरिएको थियो। करिब दुई लाखले निवेदन दिएका थिए। शिक्षक भर्नाको क्रममा मन्त्री चटर्जी र अभिनेत्री मुखर्जीले आफ्नो सञ्जाल प्रयोग गरेर अर्बौँ कमाए। भ्रष्टाचारको विषय जब सतहमा आउन थाले, तब प्रवर्तन निर्देशनालय (ईडी) ले जाँच गर्यो‍। जाँचको क्रममा अभिनेत्री मुखर्जीको घरबाट ५० करोड रुपैयाँ बरामद भयो।

लहरो तान्दा पहरो नै गर्जिन पुग्यो। करिब ५ करोडको सुनको गहना, ५८ लाख विदेशी मुद्रा, २६ एकड जग्गा, १० वटा घर र नौ वटा फ्ल्याट, दुइटा फार्म हाउस, ३ वटा गेष्ट हाउस र रिसोर्ट। कति हो कति। यी सबै शिक्षक भर्ना गर्दा अनियमित तरिकाले कमाइएका सम्पत्ति थिए। अनियमित हिसाबले अकुत सम्पत्ति जोडेपछि मन्त्री चटर्जीले पद गुमाएका छन् भने अभिनेत्री मुखर्जी प्रहरी नियन्त्रणमा छन्।

भदौको दोस्रो सातायता नेपाली सिनेमा–हलहरूमा चलचित्र ‘प्रकाश’ प्रदर्शित छ। ‘प्रकाश’ हेरिरहँदा भारतको पश्चिम बंगालमा शिक्षक भर्नाको क्रममा देखिएको ठुलो मात्राको भ्रष्टाचारको दृश्य–विम्ब सतहमा तैरिन्छ। हुन त, हामीकहाँ शिक्षक भर्नाका क्रममा हुने भ्रष्टाचार र अनियमितताको खाडल यति गहिरो छ वा छैन ? तर, पार्थ चटर्जीको भ्रष्ट–कहानीलाई सम्झाउन भने यो सिनेमा पर्याप्त देखिन्छ।

००

नेपाली सिने क्षेत्र पछिल्लो समय भने तारादेवीको स्वरमा सजिएको गीतजस्तै ‘झरीको पछि झुल्केको घामले पहाडमा नीर छरेजस्तै’ आशावादको सुन्दर संकेत भने दिएको छ। अर्थात्, झरीपछि खुलेको पहाडजस्तै देखिँदैछ, नेपाली सिने क्षेत्र।

व्यावसायिक कोणबाट नियाल्दा सफलता–असफलता जेजस्तो भए पनि, कोभिड–१९ ले पूरै जर्जर र शिथिल तुल्याएको नेपाली सिने क्षेत्र पछिल्लो समय भने तारादेवीको स्वरमा सजिएको गीतजस्तै ‘झरीको पछि झुल्केको घामले पहाडमा नीर छरेजस्तै’ आशावादको सुन्दर संकेत भने दिएको छ। अर्थात्, झरीपछि खुलेको पहाडजस्तै देखिँदैछ, नेपाली सिने क्षेत्र।

सिनेकर्मीहरूले पनि लामो महामारीको पीडालाई भुल्दै बिस्तारै सिनेमा निर्माणमा कदम बढाउँदैछन् र केही महिनायता नेपाली सिनेवृत्तले पूर्ववर्ती समयकै लिक पक्डिएको आभास हुँदैछ। ‘चिसो मान्छे’, ‘पानीफोटो’जस्ता सिनेमाहरू यही अवधिमा रिलिज भए भने पछिल्लो हप्ता ‘प्रकाश’ र ‘राधा’जस्ता सिनेमा प्रदर्शन भए। अबका केही महिना सिनेक्षेत्रलाई नेपाली सिनेमाले नै ढाक्ने सुखद् स्थिति देखिएको छ।

अब ‘प्रकाश’ को कुरा।

कथावस्तुमा मौलिकताको अभाव रहे पनि निर्देशकको ‘पकाउने’ र ‘पस्किने’ नयाँ शैलीका कारण ‘प्रकाश’ ले पछिल्लो समय निर्मित सिनेमामध्ये केही उचाइ निश्चय नै ग्रहण गरेको देखिन्छ। राज्यको नजरमा जहिल्यै उपेक्षित कर्णाली प्रदेशको जुम्लाको परिवृत्तमा उनिएको कथावस्तुले जुम्लेली जनताको भाषिक लवजलाई पछ्याउँदै केही दशक यताका स्थानीय राजनीति, सामाजिक, शैक्षिकलगायत समस्याहरू केलाउन उद्यत रहेको छ। सिनेमाले कर्णालीको कथाव्यथा भन्न चाहे पनि मूलतः यो अरू भेगको पनि कथा हो।

विगतको द्वन्द्वकालमा राज्य पक्षद्वारा बेपत्ता पारिएका नागरिकका परिवारजनले झेल्नुपरेको पीडा अरू भेगमा पनि उस्तै छन्। शिक्षालयमा हुने राजनीतिकरण पनि उस्तै छन्। जातीय विभेदको तगारोले अरू भेगलाई पनि उस्तै गरी छेकेको छ। फरक यति हो– ‘प्रकाश’ ले परिवर्तनपछि पनि बेपत्ता पारिएको परिवारले झेल्नुपरेको पीडाको आयतन खुम्चिनुको साटो झन्झन् फराकिलो हुँदै गरेको धरातलीय सत्यलाई समात्न चाहेको छ र यो सिनेमाको प्रधान थिमलाई यही एउटा संवादले सार्थक र पूर्ण आयाम दिन्छ–

‘रङ बदल्नेहरू महलमा जाँदा छन्
रगत बगाउनेहरूले दुःख पाएका छन्…।’

रङ बदल्नेकै कथा

सुरुवात, रङ बदल्नेकै कथाबाट।

गाउँका गन्यमान्य इन्द्रप्रसाद (प्रकाश घिमिरे) पूर्वराजा ज्ञानेन्द्रको अतिशय भक्त देखिन्छन्। अथक जनप्रयत्नद्वारा विक्रमाब्द साठीको मध्य दशकदेखि देशबाट राजतन्त्रको अन्त्य भए पनि उनी भने घरको मूलढोकामाथि राजा–रानीको तस्बिर सजाउँछन्। आफैँले स्थापना गरेको विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुन्छन् उनी र सोही पदमा आजीवन टाँसिइरहन चाहन्छन्।

उनले बुझेका छन्– व्यवस्थापन समितिको अध्यक्ष हुनुको अर्थ आफ्नो सान, रवाफ र प्रतिष्ठालाई यथावत् राख्ने काइदाको तरिका पनि हो। परिवर्तनपश्चात् भने विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा उनलाई नराख्न परिवर्तनकामीहरूले जोडबल गर्दछन् तर पनि उनी सोही पदका लागि योग्य ठहरिन्छन्।

समाजका इन्द्रप्रसादजस्ता चरित्रका विरुद्ध उभिँदै आए– ‘प्रकाश’ हरू। इन्द्रप्रसाद र प्रकाशबीचको द्वन्द्व पक्डिँदै यो फिल्मले गति समातेको छ। यिनै दुई पात्रबीचको खिचातानी र अन्तरविरोधको वरिपरि घुम्दै सिनेमा टुङ्गिन्छ।

परिवर्तनपछि ‘राजावादी’को खोटो सिक्का नचल्ने बुझे पनि उनी राजावादीको पहिरन फुकाल्छन् र परिवर्तनमा मुख्य भूमिका खेल्ने दलको छहारीमा ओतिन पुग्छन्। पछि त स्थानीय तहको निर्वाचन हुँदा गाउँपालिकाको अध्यक्षमा उठेर निर्वाचित समेत हुन्छन्।

नेपाली समाजको मनोविज्ञानलाई बुझेकाहरूलाई थाहा छ– इन्द्रप्रसादजस्ता चरित्र हामीकहाँ अझै थुप्रै छन्। झन् २०६५ पश्चात् त नेपाली समाजमा धेरै इन्द्रप्रसादहरू जन्मिए र तिनीहरूजस्ता पात्रलाई पार्टीमा भित्र्याउन र उनीहरूलाई नै टिकट दिएर सांसद वा स्थानीय तहको जनप्रतिनिधि बनाउन आफूलाई परिवर्तनकामी भन्ने दलहरूले लाजशरम नमानी कदम चाले। यो उपक्रमको अझै अन्त्य भइसकेको छैन।

समाजका इन्द्रप्रसादजस्ता चरित्रका विरुद्ध उभिँदै आए– ‘प्रकाश’ हरू। इन्द्रप्रसाद र प्रकाशबीचको द्वन्द्व पक्डिँदै यो फिल्मले गति समातेको छ। यिनै दुई पात्रबीचको खिचातानी र अन्तरविरोधको वरिपरि घुम्दै सिनेमा टुङ्गिन्छ।

बेपत्ता परिवारको पीडा

२०५२ सालदेखि ०६२ सालसम्मको एक दशकीय अवधिमा तन्किएको राज्य–माओवादीबीचको द्वन्द्वमा धेरै नेपालीले रगत बगाउनुपर्‍यो। हजारौँ घाइते भए। बेपत्ता पनि भए थुप्रै। सरकारी आँकडाअनुसार १३ सयभन्दा बढी नै बेपत्ताको सूचीमा छन्, अहिले पनि। विद्रोही पक्ष शान्ति प्रक्रियामा आएको डेढ दशक अवधि छिचोलिसके पनि द्वन्द्वकालीन घाउहरू कहिलेकाहीँ पुनः बल्झिन भने छाडेका छैनन्।

जनयुद्धमा हिँडेका जुम्लाका सूर्यप्रसाद रोकाया द्वन्द्वकालमा बेपत्ता भए। बेपत्ता नहुँदै उनले आफ्नी पत्नी (सीता) लाई भनेका थिए, ‘मेरो छोराले धेरै पढेर गाउँकै स्कुलमा मास्टरी गर्छ।’

प्रकाश, सूर्यप्रसादको एक्लो छोरा। जसरी भए पनि बेपत्ता पारिएका श्रीमान्को सपना साकार पार्नु छ, उनका पत्नी (दिया मास्के) लाई। गाउँका ठालुहरूका घरमा भाँडा माझेरै भए पनि वा बनिबुतो गरेरै भए पनि छोरालाई पढाउँछिन् उनले। प्रकाशको पनि तीव्र इच्छा हुन्छ– शिक्षकमा नाम निकाल्ने र शिक्षक बनेर प्रतिष्ठाको जीवन बाँच्ने। शिक्षक सेवा आयोगले शिक्षक भर्नाका निम्ति आवेदन खुलाएपछि जाँच दिएका उनले लिखित परीक्षामा त नाम निकाल्छ तर मौखिकमा निकाल्ने बेलामा भने उनी बुज्रुकहरूका अनेक षड्यन्त्र र खेलको सिकार हुन पुग्छन्।

पहिलो सिकार त इन्द्रप्रसाद र उनका छोराबाटै हुन्छ। दोस्रो सिकार, शिक्षण पेसामा कुनै रुचि नै नभएका अर्का पात्रका बाबु–छोराबाट हुन्छ। प्रकाश शिक्षकको परीक्षामा नाम निकाल्न प्रयत्नरत रहेकै बेला स्थानीय तहको निर्वाचनको सरगर्मीले गाउँलाई छोप्छ र इन्द्रप्रसाद गाउँपालिकाको चुनावमा उठेका हुन्छन्। पहिला युद्धमा हिँडेका र बेपत्ता पारिएका सूर्यप्रसादका सहकर्मीसमेत रहेका इन्द्रप्रसादका छोराले भने आफ्नै सहकर्मीकी पत्नी अर्थात् प्रकाशकी आमालाई भन्छ कि, ‘सरकारी शिक्षकमा त्यत्तिकै नाम निस्किँदैन, भाउजू। कम्तीमा पनि ५०–६० हजार खर्च गर्नुपर्छ।’

यो जुम्लाको एउटा विद्यालयको कथामा मात्र सीमित छैन, देशभरि नै यस्ता समस्या व्याप्त छन्। आफ्नो स्वार्थमा धक्का आउने अवस्था सिर्जित हुने बित्तिकै प्रधानाध्यापक वा शिक्षकहरूको सरुवा गर्ने र आफूअनुकूलका शिक्षकहरूलाई काखी च्याप्ने प्रवृत्तिको उस्तै छ।

त्यति रकम एउटा बेपत्ता पारिएको व्यक्तिको परिवारसँग, अरूसँग २–४ सय सापटी मागेर चल्नेसँग र आर्थिक कष्ट झेल्दै बाँचिरहेको एउटी महिलासँग कहाँबाट हुनु ! इन्द्रप्रसादको छोराले दिमाग खियाउँछ र बेपत्ता पारिएका सूर्यप्रसादको मृत्यु भइसकेको कागजात तयार पारेर सरकारबाट १ लाख रुपियाँ उम्काउने उपाय रच्छ। सुरुमा त प्रकाशलाई यस्तो प्रस्ताव स्वीकार्य हुँदैन तर पछि शिक्षक बन्न पैसा खर्च गर्नुपर्ने र त्यसका निम्ति पैसाको अभाव देखेपछि भने उनलाई आफ्नो बाबुको मृत्यु भएको कुरा स्विकार्न बाध्य पारिन्छ। मानवीय संवेदनामाथिको खेलबाड हेर्नका निम्ति सिनेमाको यी दृश्यहरू पर्याप्त छन्।

इन्द्रप्रसादको छोराले जिल्ला शिक्षा कार्यालयका हाकिमलाई आर्थिक लाभ दिएर नाम निकाल्न आफूले प्रयत्न गरेको कुरा प्रकाश र उनकी आमालाई बताए पनि उनले बिचौलियाको भूमिका खेलेको कुरा त्यतिबेला बाहिरिन्छ, जतिबेला प्रकाशको नाम निस्किँदैन र शिक्षण पेसाप्रति कुनै रुचि नै नभएका आफ्ना छोरालाई जागिर खुवाउन उनका बाबुले गरेको प्रयत्न भने सफल हुन्छ। समाजमा आर्थिक रूपले विपन्न, माथिल्ला निकायहरूमा कुनै पहुँच नभएका र इमानदारितामा विश्वास गर्ने पात्रहरूले परिवर्तनपछि पनि पछाडि परेका छन्, दबिएका छन्, उपेक्षित छन् भन्ने दृष्टान्त दिन यो फिल्म सफल देखिएको छ।

विदितै छ, लामो समययता शैक्षिक क्षेत्र राजनीतिकरणको चपेटामा फस्दै आयो। अझ, विद्यालय व्यवस्थापन समितिको अध्यक्षको निर्वाचन त राजनीतिक दलका स्थानीय तहका नेताहरूबीचको ‘भाले भीडन्तस्थल’ मा रूपान्तरित हुन पुग्यो। विद्यालयजस्तो पठन–संस्कृतिको जग हाल्ने थलोमा र ज्ञान र चेतनाको विस्तार हुने भूमिमा देखिएको तीव्र राजनीतिकरणले शिक्षकदेखि विद्यार्थीसम्मको भविष्यमा प्रश्नचिह्न उठ्ने आधारहरू तय हुँदै गए। अझ, कुनै अमुक राजनीतिक दलले चुनावी सभा गर्नुपर्‍यो भने विद्यालयको प्राङ्गणलाई नै रोज्ने र विद्यार्थीहरूलाई त्यस्ता सभामा उपस्थित गराइने गलत परम्पराको जगसमेत बसालियो। शैक्षिक क्षेत्रलाई राजनीतिको धूमिल मैदानमा परिणत गर्ने क्रम अझै थामिएको छैन।

यो जुम्लाको एउटा विद्यालयको कथामा मात्र सीमित छैन, देशभरि नै यस्ता समस्या व्याप्त छन्। आफ्नो स्वार्थमा धक्का आउने अवस्था सिर्जित हुने बित्तिकै प्रधानाध्यापक वा शिक्षकहरूको सरुवा गर्ने र आफूअनुकूलका शिक्षकहरूलाई काखी च्याप्ने प्रवृत्तिको उस्तै छ।

बेपत्ता परिवारको मुद्दा, शैक्षिक क्षेत्रलाई राजनीतिले ढाकेको विषय, जातीय विभेदको मुद्दा, इमान र नैतिक हराएको राजनीतिको विषय। भनौँ, एउटा पिछडिएको समाजभित्रका यावत् विम्बहरूलाई उभ्याउने प्रयत्नमा सिनेमा केन्द्रित छ।

विभेदको प्रश्न

अझै पनि सचेत पंक्तिलाई रुकुम संहारले झस्काउँछ। कथित उच्च र दलित जातबीचको माया–प्रेम, सद्भाव र वैवाहिक सम्बन्धमा सामाजिक\पारिवारिक तगाराहरू तेर्सिएका त छन् नै, दस वर्षे जनयुद्धले घटाएको भनिएको जातीय विभेदको पर्खाल पछिल्ला अवधिमा झन् अग्लिँदै गएका छन्।

कथित उच्च जातका प्रकाश र विद्यालय तहमा अध्ययनरत दलित परिवारकी एउटी किशोरीबीच मन परापर हुन्छ। चढ्दो उमेरका युवा–युवतीमा एकअर्काबीच आकर्षक देखिनु प्राकृततः सामान्य पक्ष हो। तर प्रश्न उही छ, जातीयताको। कथित उच्च जात र दलितबीचको। सिनेमाका एउटा दृश्यमा प्रकाशले जातीय विभेद र छुवाछुतको पर्खाललाई तोड्न सांकेतिक रूपमा एउटा ढुङ्गा झिकेर फाल्छन् तर दलितकी छोरीलाई छोएको देखेपछि उनकी आमा भने सुनपानीले छोरालाई चोख्याउन अग्रसर हुन्छिन्। यसलाई प्रकाशकी आमाको दोष मान्नु सर्वथा गल्ती हुनेछ, यसलाई त समाजमा सयौँ वर्षदेखि मौलाउँदै आएको जातीय विभेद र छुवाछुतरुपी नीलकाँडाले कोतरेको घाउहरूको विम्बका रूपमा बुझ्नु पर्नेछ।

अन्त्यमा,
‘प्रकाश’ ले एक होइन, अनेक विषय/मुद्दालाई सम्बोधन गर्ने चाहना पालेको प्रस्टै देखिन्छ। बेपत्ता परिवारको मुद्दा, शैक्षिक क्षेत्रलाई राजनीतिले ढाकेको विषय, जातीय विभेदको मुद्दा, इमान र नैतिक हराएको राजनीतिको विषय। भनौँ, एउटा पिछडिएको समाजभित्रका यावत् विम्बहरूलाई उभ्याउने प्रयत्नमा सिनेमा केन्द्रित छ।

यो सिनेमा प्रकाश र उनकी आमाको वैयक्तिक त्रासदी र कष्टकर जीवनयात्रामा मात्र सीमित रहेको छैन, कर्णाली क्षेत्रका पूरै राजनीतिक, सामाजिक, शैक्षिक परिदृश्यमा व्याप्त विसंगत तस्वीर खिच्नमा केही हदसम्म अग्रसर छ। सबल पक्ष त, सिनेमाका कतिपय घटना–दृश्यमा नजर पुग्दा एउटा स्वाभाविक प्रश्न उठ्छ– हामी कुन समाजमा बाँचिरहेका छौँ ?

अतः कथावस्तुको उठान, प्रस्तुतीकरण भव्य हुँदै गए पनि समापन भने बलिउडका कुनै मसालेदार सिनेमाभन्दा केही हिसाबले पनि फरक नहुनु ‘प्रकाश’ को कमजोर र बेस्वादिलो पक्ष हो। कर्णाली प्रदेश विशेषतः जुम्ला भेगमा बोलिने भाषाको कौमार्यलाई अक्षुण्ण राख्न त्यही बोलिने भाषिक लवजलाई (केही शब्द) समेत स्थान दिइएको छ। तर संवादको क्रममा देखिने भाषिक जटिलताले भने सिनेमालाई केही हदसम्म बोझिलो तुल्याएको छ। भाषिक सहजताका निम्ति ‘सब टाइटल’ राखेको भए उत्तम हुन्थ्यो।

लामो समयदेखि रङ्गमञ्चमा भिजेका कलाकारहरूका उम्दा अभिनय–कलाले भने दर्शकलाई दुई घण्टासम्म चलमलाउन दिँदैन। प्रकाश (प्रदीप खड्का) र आमा (दिया मास्के) को अभिनय त प्रशंसनीय नै छन्, इन्द्रप्रसाद (प्रकाश घिमिरे), छोरा (राजन खतिवडा) को अभिनयमा भने उनीहरूले अभिनय गरेका पूर्ववर्ती सिनेमाहरूकै शैली दोहोरिएको आभास हुन्छ।

हामीकहाँ निर्मित सिनेमाको मुख्य कर्म मनोरञ्जन रहँदै आयो। सामाजिक सरोकारलाई फिल्मांकन गर्नु व्यावसायिक दृष्टिकोणले प्रत्युत्पादक ठान्दै आए, प्रायः अधिकांश फिल्मकर्मीले। ‘प्रकाश’ को निर्माता, निर्देशकले भने व्यावसायिक तराजुमा जोख्ने हेतुले सामाजिक सरोकारलाई पर्दाकरण गरेको देखिन्छ। अपेक्षा गरौँ, ‘प्रकाश’ जस्ता स्वस्थ सिनेमाले सामाजिक परिवर्तनमा थोरै भए पनि अवश्य नै भूमिका खेल्नेछ।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved