प्रतिनिधिसभा निर्वाचन

राप्रपाका तीन हेभिवेट लिङदेन, जबरा र लोहनी : कस्तो छ निर्वाचन क्षेत्रमा चुनौती ?

२०७४ को निर्वाचनमा कांग्रेसका उम्मेद्वार कृष्णप्रसाद सिटौलालाई हराएर संसद् प्रवेश गरेका अध्यक्ष राजेन्द्र लिङ्देन योपटक पनि झापा ३ बाटै उम्मेदवार बन्ने मनस्थितिमा छन् । गत निर्वाचनमा एमालेको साथ पाएका लिङ्देनलाई संसद प्रवेशका लागि यो पटक पनि अन्य दलको साथ आवस्यक छ ।

नेपालभ्युज

राप्रपाका तीन हेभिवेट लिङदेन, जबरा र लोहनी : कस्तो छ निर्वाचन क्षेत्रमा चुनौती ?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर चार गते हुने निर्वाचनको तयारी थालेको छ। संसदमा आफ्नो उपस्थिति बलियो देखाउन राप्रपाले कसरत गरिरहेको छ । अहिले एक सिट मात्र रहेको राप्रपाले संसदमा कसरी उपस्थिति बढाउन सकिन्छ भन्नेबारे छलफल गरिरहेको छ । सत्ता गठबन्धनसँग सहकार्यको सम्भावना नदेखेपछि राप्रपाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको साथ खोजिरहेको छ।

एमाले अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पटकपटक छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एमालेसँग तालमेलको विषय शीर्ष तहमै छलफल भइरहेको बताए । उनले भने ‘एमालेसँग तालमेलको सम्भावना टरेको छैन दुई पार्टीका अध्यक्षबीच छलफल भइरहेको छ । एक दुई दिनमा केही नयाँ कुरा आउँछ ।’

यता एमालेले पनि स्थानीय आवश्यकताअनुसार तालमेल गर्न बाटो खुला राखेको छ । गठबन्धन बाहिर रहेका दलसँग चुनावी तालमेल गर्ने एमालेको रणनीतिअनुसार नै संवाद गरिरहेको छ । यस्ता वार्तामा अध्यक्ष केपी ओली आफैँ सक्रिय छन् ।

राप्रपाको मिसन : धेरै जित

प्रवक्ता श्रेष्ठ राप्रपा बलियो हुँदाहुँदै पनि प्राविधिकरूपमा अघिल्लो निर्वाचनमा पराजय भोग्नुपरेको बताउँछन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको नजिजा हेर्दा योपटक आशावादी हुने ठाउँ रहेको उनले बताए । योपटक सबै ठाउँमा उम्मेदवार उठाउने राप्रपाको तयारी छ ।

प्रवक्ता श्रेष्ठ भन्छन्,  ‘तालमेल भएका ठाँउमा बाहेक हामी सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउछौँ , गत निर्वाचनमा भोगेको हारलाई यसपटक जितमा बदल्नु छ । अहिलेको मिसन भनेको जित हो । हामी त्यसैको तयारीमा छौँ ।’ जनस्तरमा राम्रो पकड बनाएका आधा दर्जन भन्दा बढी राप्रपाका उम्मेदवारले एमाले र गठबन्धनलाई नै कडा टक्कर दिने आकलन गरिएको छ ।

अध्यक्ष लिङ्देन कति सुरक्षित ?

२०७४ को निर्वाचनमा कांग्रेसका उम्मेद्वार कृष्णप्रसाद सिटौलालाई हराएर संसद् प्रवेश गरेका अध्यक्ष राजेन्द्र लिङ्देन योपटक पनि झापा ३ बाटै उम्मेदवार बन्ने मनस्थितिमा छन् । गत निर्वाचनमा एमालेको साथ पाएका लिङ्देनलाई संसद प्रवेशका लागि यो पटक पनि कसैको साथ आवस्यक छ । उनले अघिल्लो निर्वाचनमा ४४ हजार ६१४ मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिटौलाले ३१ हजार १७१ मत मात्रै पाएका थिए ।

झापा क्षेत्र नम्बर ३ मा बाह्रदशी, हल्दिबारी र  कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ र ८ नम्बर वडा र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० पर्छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा यो क्षेत्रमा नेपाली कांग्रेस बलियो देखिन्छ । कांग्रेसका उम्मेदवारले २६ हजार ९२१ मत प्राप्त गरेका छन्।

त्यस्तै, राप्रपाबाट वडाध्यक्षका उम्मेदवारले २१ हजार १५९ मत ल्याएका छन्। तेस्रो नम्बरमा रहेको एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार ११३ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रले ६ हजार ६८८ र स्वतन्त्रलगायत अन्य दलले ३ हजार ३७३ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धन भर्सेज एमाले र राप्रपाको समीकरण बन्न सक्ने बलियो सम्भावना छ । किनकी झापा ५ मा एमाले अध्यक्ष ओलीलाई सघाउने शर्तमा झापा ३ मा लिङ्देनलाई एमालेले सहयोग गर्नेछ । यस्तो अवस्थामा सिटौलामाथि फेरि पनि लिङ्देन नै भारी पर्न सक्छन् । एमालेसँग तालमेल गर्न नसकेमा भने लिङ्देनलाई नै गाह्रो हुनेछ ।

पशुपति शमशेरको नजर सिन्धुपाल्चोक-२ मा 

राप्रपाका अर्का हेविवेट नेता पशुपति शमशेर जबरा सिन्धुपाल्चोकबाटै चुनाव लड्ने मनस्थितिमा छन् । काठमाडौंमा जन्मिए पनि उनले सिन्धुपाल्चोकलाई चुनावी क्षेत्र बनाउँदै आएका छन् । जबराले सिन्धुपाल्चोकबाट चार पटक चुनाव जितेका छन् ।

वि.सं २०३८ र २०४८, २०५१ र २०५६ सालमा जबराले चुनाव जिते पनि त्यसयता भने उनको भागमा हार मात्रै परिरहेको छ । अहिले उनी एमालेसँगको तालमेल वार्ताको निष्कर्ष पर्खेर बसेका छन् ।

२०७४ सालको चुनावमा उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङसँग पराजित भएका थिए । तामाङले ३८ हजार ४०१ तथा जबराले  ३० हजार ३६९ मत ल्याएका थिए । यद्यपी त्यतिबेला वाम गठबन्धन बनेको थियो भने जबरालाई कांग्रेसले समर्थन गरेको थियो । एमालेसँगको तालमेलको निस्कर्षपछि मात्रै कहाँबाट उठ्ने भन्नेबारे टुङ्गो लाग्ने जबराले बताएका छन् ।

लोहनीलाई नुवाकोटमा चुनौती

नुवाकोट पञ्चायतकालमा डा‌‍‍. प्रकाशचन्द्र लोहनीको पकड भएको जिल्लाका रूपमा चिनिन्थ्यो । बहुदलआएपछि पनि उनले तीन पटकसम्म लगातार चुनाव जिते ।  उनले २०३८, २०४३, २०४८, २०५१ र २०५६ सालमा नुवाकोटबाट चुनाव जितेका थिए ।

उनी पहिलो संविधानसभामा भने समानुपातिक सभासद थिए । त्यसयता भने उनलाई जिल्लामा सफलता हात लागेको छैन । २०७० सालको चुनावमा राष्ट्रिय  जनशक्ति पार्टीबाट उठेका उनी कांग्रेसका अर्जुननरसिंह केसीसँग पराजित भएका थिए ।

आगामी चुनावबाट विरासत फर्काउन लोहनीले दाउ हेरिरहेका छन् । यद्यपी यो पटक पनि उनलाई सहज भने छैन । लोहनीको क्षेत्र पर्ने नुवाकोट–१ मा स्थानीय तहको चुनावमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले सबैभन्दा धेरै २८ हजार ९६२ मत पाएका छन् । दोस्रो स्थानमा रहेका माओवादीका उम्मेदवारले २३ हजार २००, एमालेका उम्मेदवारले १८ हजार २६७ र राप्रपाका उम्मेदवारले ४ हजार ७८ मात्रै पाएका छन् । सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादीले पनि २ हजार २४५ मत पाएको छ ।

यसलाई आधार मान्दा गठबन्धनका पक्षमा ५४ हजार ४०७ मत देखिन्छ। यो एमालेको भन्दा ३६ हजार १४० ले बढी हो। एमाले र राप्रपाका बीचमा तालमेल हुँदा पनि पाँचदलीय गठबन्धनकै मत निकै बढी हुन्छ । यद्यपी जिल्लामा प्रभाव राख्ने भएकाले लोहनी उठेमा केही बढी मत ल्याउन सक्छन् । एमालेले समर्थन गर्ने अवस्थामा मात्रै उनी उम्मेदवार हुने सम्भावना छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved