शिक्षकको कुटाइबाट ९ वर्षीया बालिका (छात्रा) घाइते

शिक्षकको कुटाइबाट ९ वर्षीया बालिका (छात्रा) घाइते

जनकपुरधाम। महोत्तरीमा शिक्षकको कुटाइबाट एक नौ वर्षीया बालिका (छात्रा) घाइते भएकी छन् । औरही नगरपालिका–२ स्थित श्रीप्रसाद सिंह माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापूर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ। छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार विज्ञान विषयका शिक्षक सोनमा गाउँपालिका वडा नं ८ सिंहासनी बस्ने दीपेश यादवले गृहकार्य नगरेको भन्दै औरही नगरपालिका–२ की ९ वर्षीया बालिका आरती कुमारी महरालाई निर्घात कुटेको परिवारको आरोप छ। कुटपिटबाट बालिकाको जीउभरि निलडाम देखिएको छ । यसैको पीडाले ज्वरो आएको उपचारमा संग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।

पीडित बालिकाको आमा सुन्दरकला देवीको अनुसार छोरीले गृहकार्य नगरेको भन्दै शिक्षक यादवले बाँसको कर्ची (लट्ठी)ले निर्मतापूर्वक पिट्दा जीउभरि निलडाम देखिएको बिरामी बालिकाको उपचार स्थानीय औरही बजारस्थित राधाकृष्ण क्लिनिकमा भई रहेको छ। पीडित बालिकाको अभिभावकले आफ्नो छोरीलाई यसरी यातना दिने शिक्षकमाथि कारबाहीको माग गरेका छन् ।

यता विद्यालयका प्रधानाध्यापक शिवशरण यादवले बालिकाको अभिभावक बुबा साजेंद्र महरा र आमा सुन्दरकला देवीलाई विद्यालयमा मै बोलाएर बालिकाको उपचारको लागि खर्च दिएर घटनालाई बाहिर नल्याउन भनि प्रलोभन दिन खोजेको बालिकाको अभिभावकले बताए ।

बालिकाकी आमा सुन्दरकलाले भनिन्, ‘हामीलाई पैसा हैन, शिक्षकमाथि कारबाही हुनुपर्छ, आज मेरो छोरीलाई यातना दिएको छ भोलि अरुलाई पनि यस्तो गर्न सक्छ ।’ पीडित बालिका आरती अहिले विद्यालय जानसमेत तर्सिएकी छिन् । आरतीले भनिन्, ‘अब त्यो स्कुलमा पढ्दिनँ फेरि पनि सरले कुट्नुहुन्छ ।’

‘शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छिन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन्’ उनकी आमा सुन्दरकलाले भनिन् ।

यता प्रधानाध्यापक यादवले घटनामाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन पीडित पक्षलाई दिएका छन् । अभिभावकले यसरी बच्चाबच्चीलाई निर्घात तरिकाले कुटपिट गर्ने शिक्षकलाई कारबाहीको लागि पहल गरिदिनलाई अधिकारकर्मी, सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved