मुस्ताङमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराउने सेवा सुरु

नेपालभ्युज

मुस्ताङमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराउने सेवा सुरु

हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराउने सेवा सुरु भएको छ । अस्पताल स्थापनाको करिव ५० वर्ष पछि पहिलो पटक यो सेवा सुरु भएको हो ।

मुस्ताङमा स्वास्थ्य क्षेत्रमा भएको पहिलो सल्यक्रिया(अप्रेसन)बाट थासाङ गाउँपालिका–३ का मनिस परियारकी पत्नी अनिता परियारको बच्चा जन्माइएको हो । वि.सं. २०२९ सालमा स्थापना भएको २५ शैयाको अस्पतालमा हालसम्म यो सेवा सुरु हुन सकेको थिएन ।

मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर बिशाल तिवारीका अनुसार बुधबार बिहान अनिता परियारको शल्यक्रिया गरेर २ किलो ८ सय ग्रामको बालिका निकालीएको हो । शल्यक्रियाका लागि अस्पतालका एमडीजीपी डाक्टर कुन्दन कर्णको नेतृत्वमा डा. विशाल तिवारी, डा. राजिव सापकोटा, स्टाप नर्स सुनिता श्रीमल, निता घर्ती र सहयोगी सनिलाल परियारको टोली खटिएको अस्पतालले जनाएको छ ।

छ महिना अगाडी निमित्त मेडिकल सुपरिटेण्डेण्टका रुपमा मुस्ताङ आउनुभएका तिवारीले भन्नुभयो–संघिय सरकार तथा प्रदेशबाट आवश्यक बजेट तथा सामग्री ल्याएर शल्यक्रियाका लागि आवश्यक सामग्रीहरु जडान गरिएको हो । अहिले सम्म सामान्य सर्जिकलका लागि पनि बाहिर जान पर्ने अवस्था थियो अव यो सेवाले जिल्लाबासीका लागि सहज हुने भएको छ । अस्पतालबाट हाडजोर्नी, एपेण्डिसाइट, हाइड्रोसिल तथा अन्य चिरफारको काम पनि जोमसोममै हुने डा.तिवारीले बताउनुभयो ।

जिल्ला अस्पताल सल्यक्रियाको सुविधा नहुँदा प्रसूति लगायतका अन्य सल्यक्रिाको सुविधा लिन महँगो खर्च गरेर पोखरा–काठमाडौं लैजानु्पर्ने बाध्यता थियो ।

गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved