सदनमा बिच्किएको कांग्रेस ओर्लियो सडक, कहाँ भेटिएला सहमति ?

जे होस्, कांग्रेस सत्तापक्षसँग कुनै पनि हालतमा नझुक्ने जिकिरमा छ । यही बखत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई दिनभित्र सहमति हुने बताएका छन् ।

नेपालभ्युज

सदनमा बिच्किएको कांग्रेस ओर्लियो सडक, कहाँ भेटिएला सहमति ?

काठमाडौं । सदनमा ‘बबाल’ मच्चाइरहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सडक ओर्लिएको छ ।

सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी रहेको यथेष्ट प्रमाणहरू रहेको दाबी गरिरहेको कांग्रेस उनीमाथि उच्चस्तरीय संसदीय छानबिन समिति बन्नैपर्ने अडानमा यथावत् छ ।

यससम्बन्धी कांग्रेसले सदनमा कुरा उठाएको मात्रै छैन, यही विषयलाई लिएर लामो समययता सदन नै अवरुद्ध गर्दै आइरहेको छ । त्यसको निरन्तरता आज मात्रै पनि देखियो । तर, सरकारको नीति तथा कार्यक्रम भने बहुमतले पारित भएको छ ।

आफूहरूको अवरोध र नाराबाजीकै बीच पनि नीति तथा कार्यक्रम पारित गराइएपछि चिढिएका कांग्रेस नेताहरू थप शक्ति आर्जन गर्न सडक ओर्लिएका हुन् । कांग्रेसले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । अब यसलाई निरन्तरता दिने नेताहरूले बताएका छन् ।

माग पूरा नहुँदासम्म सदन-सडक दुवैतिर आक्रामक रूपमा प्रस्तुत हुने रणनीति कांग्रेसको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, “कांग्रेस आफ्नो अडानबाट पछाडि हट्दैन, बरु अझ सशक्त रूपमा र सडकको कार्यक्रमलाई दह्रोसँग अगाडि बढाउँछ ।”

कांग्रेसले सरकारविरुद्ध गरेको विरोध प्रदर्शन । तस्वीर : नेपालभ्युज/सरोज बस्नेत ।
कांग्रेसले सरकारविरुद्ध गरेको विरोध प्रदर्शन । तस्वीर : नेपालभ्युज/सरोज बस्नेत ।

सहकारी ठगी प्रकरणमा छानबिन समिति बन्नैपर्ने उसको मागमा सत्तापक्षीय दलहरूले सहमति त जनाएका छन् तर, समिति नै बन्न भने सकेको छैन । सत्तापक्षीय दलहरूकै मागमा समिति बन्नुपूर्व त्यसको कार्यादेश (टीओआर) निर्माण कार्यदल बनेको छ । तर, कार्यदलमा पनि दुवै पक्षको पुरानै अडानका दोहोर्‍याएपछि सहमति जुटेको छैन ।

कांग्रेस गृहमन्त्री लामिछानेको नाम टीओआरमा नै उल्लेख गर्न चाहन्छ, सत्तापक्षीय दलहरू त्यो मान्दैनन् । कार्यदलभित्र सहमति नजुटेपछि यसबारे शीर्षस्थ नेताहरूकै बीचमा छलफल सुरु भएको छ तर, सहमति जुटेको छैन ।

यसैमाथि सहमतिको प्रयासस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निजी निवास बूढानीलकण्ठ पुगेका थिए । तर, देउवाले पुरानै अडान दोहोर्‍याएपछि प्रधानमन्त्री प्रचण्ड निराश भएर फर्किए ।

बूढनीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान् अन वान् भेटवार्ता । तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।
बूढानीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान् अन वान् भेटवार्ता । तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

जे होस्, कांग्रेसले आफ्नो अडानबाट कुनै पनि हालतमा ‘ब्याक’ नहुने चट्टानी अडान कसेको छ । यसमा अब उसले सडकको सहारा पनि लिएको छ ।

कांग्रेसले सदन र सडकबाट एकसाथ हिँड्ने निर्णय गर्दैगर्दा उसका माग तथा अडान पनि थपिएका छन् । सदनबाट गृहमन्त्री लामिछानेमाथि छानबिन समितिको माग गरिरहेको कांग्रेसले सडकबाट सदनको रोस्ट्रमको उनको अभिव्यक्तिमाथि समेत जवाफ खोजिरहेको छ ।

यसअघि गृहमन्त्री लामिछानेले सदनको रोस्ट्रममा उभिएर पूर्वमन्त्रीसमेत रहेका कांग्रेस महामन्त्री गगनकुमार थापालाई विभिन्न आरोप लगाएका थिए, जसलाई प्रमाणित गर्न कांग्रेस नेताहरूले गृहमन्त्री लामिछानेलाई चुनौती दिइरहेका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपालभ्युजसँग भने, “सदनको रोस्ट्रममा उभिएर माननीयहरूमाथि विभिन्न आरोप लगाउनु वाञ्छनीय होइन । यी विषयहरूमा कांग्रेस जवाफ चाहन्छ । हाम्रो माग यो पनि हो ।”

सदनमा कांग्रेस सांसदहरूको नाराबाजी । तस्वीर : नेपालभ्युज/सरोज बस्नेत ।
सदनमा कांग्रेस सांसदहरूको नाराबाजी । तस्वीर : नेपालभ्युज/सरोज बस्नेत ।

उनले पार्टीले सदन र सडकबाट सँगसँगै आवाज उठाउने बताए । सरकारले पीडकको संरक्षण गरेको प्रसङ्ग जोड्दै लेखकले त्यसका विरुद्ध आफूहरूको सङ्घर्ष रहेको बताए ।

जे होस्, कांग्रेस सत्तापक्षसँग कुनै पनि हालतमा नझुक्ने जिकिरमा छ । यही बखत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई दिनभित्र सहमति हुने बताएका छन् । उनले आजको सदनलाई सम्बोधन गर्दै बजेट पढ्ने बेला अर्थात् जेठ १५ भित्र सहमति भइसक्ने बताएका छन् । सहमति जुट्छ कि जुट्दैन हेर्न बाँकी छ, योचाहिँ पक्का हो कि कांग्रेसले ‘कम्प्रमाइज’ गर्ने सम्भावना न्यून छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved