‘मर्यादापालक माननीय’हरू, जसले अवरोध छिचोलेर अर्थमन्त्रीलाई रोस्ट्रम पुग्न सघाए

नेपालभ्युज

‘मर्यादापालक माननीय’हरू, जसले अवरोध छिचोलेर अर्थमन्त्रीलाई रोस्ट्रम पुग्न सघाए

काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकको सुरुवातमा सभामुख देवराज घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई बोल्न दिए । त्यसपश्चात् अर्थमन्त्री बर्षमान पुनलाई आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्न समय दिए ।

तर सभामुखले पूरा वाक्य बोलेर सकेकै थिएनन्, अर्थमन्त्री पनि कुर्सीबाट उठिसकेकै थिएनन्, कांग्रेसका केही सांसदहरू वेल घेराउ गर्न पुगिहाले । अर्थमन्त्री उठेर अघि बढ्दै गर्दा वेल क्षेत्रमा कांग्रेस सांसदहरू खासै आइपुगेका थिएनन् । आइपुगेका एकदुई जना पनि सभामुखतर्फ फर्केर नाराबाजी गरिरहेका थिए ।

कांग्रेस सांसद देवप्रसाद तिमिल्सिनाले भने त्यो ‘ग्याप’को आकलन गरे र उनी अर्थमन्त्री पुन अघि बढ्ने बाटोमा उभिए । जब अर्थमन्त्री सामुन्ने आइपुगे । उनले रोके । अग्ला जिउडालका उनी उभिएपछि पुन अगाडि बढ्न सकेनन् । यताउताबाट छलेर अगाडि जाने प्रयत्न त गरे, तर सफल भएनन् ।

यतिञ्जेल पनि कांग्रेसका अरु सांसदले अर्थमन्त्रीलाई रोक्नेतिर खासै ध्यान दिएका थिएनन् । केही बेरपछि सीता मिजार पनि अर्थमन्त्रीलाई रोक्नका लागि तिमिल्सिनाको पछि उभिइन् । उनी आफू मात्रै उभिइनन्, अन्य महिला सांसदलाई पनि तान्ने प्रयास गरिन् ।

यतिञ्जेल केही सांसदहरू पुनको वरिपरि झुम्मिए । अब यही अवस्थामा उनी अगाडि बढ्न कठिन हुने देखियो ।

सभामुख सांसदहरूलाई आ-आफ्नो स्थानमा बस्न आग्रह गरिरहेकै थिए । तर वेलमा भने कांग्रेस सांसदहरू ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नारा लगाइरहेका थिए ।

अब पुन आफ्नै एकल प्रयासले रोस्ट्रममा पुग्न कठिन हुने निश्चित थियो । त्यसैबेला रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि वेल क्षेत्रमा आइपुगे । उनले पुनको हात समाएझैं गरे अगाडि ताने । पुनले उनलाई पछ्याए ।

तर एकदुई पाइला अगाडि नबड्दै उसैगरी तिमिल्सिना उभिए । अन्य सांसदहरूले पनि घेरे । त्यहाँ परियार र कांग्रेस सांसदहरूबीच थोरै सवालजवाफ चलेको थियो ।

रास्वपाका सांसदहरू पनि कुर्सीबाट उठेका थिए । एमालेका योगेश भट्टराई, गोकर्ण विष्ट, माओवादी केन्द्रका सुवोध सापकोटा, लेखनाथ दाहाल, पूर्णबहादुर घर्ती, रास्वपाका असीम शाह लगायतका सांसदहरू पनि सवालजवाफ भइरहेकै ठाउँमा आइपुगे ।

सम्भावित झडपको आकलन गरेर हुनसक्छ, सभामुख केही कडा सुनिए । उनले कडा आवाजमा आसन ग्रहण गर्न आग्रह गरे ।

केही बेरको अवरोधपछि वास्तविक मर्यादापालकले कांग्रेस सांसदहरूलाई एक ठाउँमा केन्द्रित गराइसकेका थिए । त्यसले वेल क्षेत्रमा केही ‘ग्याप’ सिर्जना भयो । परिणामतः मर्यादापालककै जस्तो भूमिका निर्वाह गरेका ‘माननीय’हरूले पनि अर्थमन्त्री पुनलाई अगाडि बढाउन सफलता पाए ।

अर्थमन्त्री ‘फुत्किए’ पनि कांग्रेसका सांसदहरूले नाराबाजी जारी राखे । नाराबाजीकै बीच अर्थमन्त्रीले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण प्रस्तुत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved