न्यूरोडको पिच जथाभावी खनिएपछि सडक डिभिजन असन्तुष्ट, प्रतिशोध साध्न बालेनले धुलो खन्याएको आरोप

सडक काटेर चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगायो । प्रचलित कानुनअनुसार सडक विभागको अनुमतिविना सडकको चौडाइ घटाउने काम गर्न मिल्दैन । यसैले महानगरले त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयको आरोप छ ।

नेपालभ्युज

न्यूरोडको पिच जथाभावी खनिएपछि सडक डिभिजन असन्तुष्ट, प्रतिशोध साध्न बालेनले धुलो खन्याएको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक डिभिजन कार्यालयको गेटमा शनिबार एक ट्रक धुलो र फोहोर फालेपछि यी दुई निकायबीच विवाद उत्कर्षमा पुगेको छ ।

सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया दिने केही वर्गले यसमा महानगरको समर्थन गरिरहेपछि फोहोर फाल्नुको कारण भने बालेन शाहले भने जस्तै नभएको देखिन्छ ।

विगत १५ वर्षदेखि काठमाडौंका नागरिकले कलङ्कीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको भन्दै मेयर शाहले असन्तुष्टि व्यक्त गरेका थिए ।

महानगरका मेयर बालेनले जे आरोप लगाएर फोहोर फाले, त्यो आरोप भने सत्य नभएको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । यसलाई सडक डिभिजन कार्यालय काठमाडौंले शनिबारै विज्ञप्ति जारी गर्दै महानगरको ‘कानुनी राज्यको उपहास हुने गरी गरिएको बलमिचाइँ’ र ‘अराजक शैली’ भनिसकेको छ ।

बालेनले रिङरोडको काम अघि नबढेको र धुलोले मानिसहरू आजित भएपछि आफूले सडक डिभिजनको कार्यालयमा फोहोर फालेको बताएका थिए । तर, त्यो नभई न्युरोड क्षेत्रको बाटोको सन्दर्भमा भएको विवादको प्रतिशोध साँध्न मेयर बालेनले फोहोर फालेको सडक डिभिजन कार्यालयका अधिकारीहरू बताउँछन् ।

के हो विवाद ?

अहिले महानगर र सडक डिभिजन कार्यालयबीच विवाद छ, कारण न्यरोडको सडक होइन । न्युरोड क्षेत्रको बाटो हो । अहिले महानगरले न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका लागि फुटपाथ बनाइरहेका छ । शनिबार दिउँसो महानगरले न्यूरोडको सडक किनारा भत्काएर सडक काट्न थालेको थियो । त्यहाँ पैदलयात्री हिँड्ने फुटपाथ बनाउने भनिएको छ ।

न्यूरोडको जुद्ध सालिकबाट इन्द्रचोक सडकसम्म महानगरले सडक दुवैतिर भत्काएको छ । १० दशमलव ५ मिटर लामो तीन लेनको सो सडकमा दायाँबायाँ दुवैतर्फ एक दशमलव १५ मिटर जति सडक खनिएको छ ।

तर, सडक काटेर चौडाइ घटाउन नपाइने भन्दै सडक डिभिजनले रोक लगायो । प्रचलित कानुनअनुसार सडक विभागको अनुमति बिना सडकको चौडाइ घटाउने काम गर्न मिल्दैन । यसैले महानगरले त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयको आरोप छ ।

मेयर बालेनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै ‘एक ट्रक धुलो उपहार पठाएको’ बताएका थिए । महानगरको गाडीले सडक डिभिजन काठमाडौंको गेटमा धुलो खन्याइदिएको थियो ।

महासेठ भन्छन्- बालेनको क्रियाकलाप गैरकानुनी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको प्रतिक्रिया दिएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री महासेठले न्युरोडमा काठमाडौं महानगरपालिकाको क्रियाकलाप कानुनसम्मत नभएको बताए ।

यसप्रति प्रतिक्रिया दिँदै मन्त्री महासेठले मेयर शाहको सल्लाह, सुझावलाई सकारात्मक रुपमा लिएको बताए ।

उनले रिङरोड बनाउने सम्झौता चीनसँग भएको भन्दै सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउनका लागि बजेट व्यवस्थापन गरिसकेको जानकारी दिए ।

‘‘जुन प्रकारले अहिले काठमाडौं महानगरपालिकाले आफ्नो क्रियाकलाप देखाएको छ, त्यसप्रति हामीले सरसल्लाह गर्दैछौँ । त्यो बनाउनै पर्छ सरकारले । त्यसलाई मैले अन्यथा लिएको छैन । तर, न्युरोडमा जुन क्रियाकलाप छ, त्यो कानूनसम्मत छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved