बैतडी जिसस निर्वाचन जेठ २४ मा, कांग्रेस र माओवादीको गठबन्धन यथावत्

जिल्ला समन्वय समिति बैतडीको निर्वाचन २४ जेठमा हुने भएको छ।

नेपालभ्युज

बैतडी जिसस निर्वाचन जेठ २४ मा, कांग्रेस र माओवादीको गठबन्धन यथावत्

बैतडी। जिल्ला समन्वय समिति बैतडीको निर्वाचन २४ जेठमा हुने भएको छ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सो समितिको चुनाव गरिसक्ने प्रावधानअनुसार चुनावको मिति तय भएको हो।

मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार नौ सदस्यीय जिल्ला समन्वय समिति बन्नेछ। यसमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक सदस्य र तीन खुला सदस्य हुनेछन्।

चुनावका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले उम्मेदवार हुन पाउने प्रावधान छ। मतदाताका रूपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन्। निर्वाचनका लागि जेठ २१ गते मनोनयन दर्ता हुनेछ।

यस्तै जिल्लामा सो समितिका पदाधिकारीहरूको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता छ। स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले गठबन्धन गरेकाले समन्वय समितिको चुनावमा पनि दुवै दलले गठबन्धन गर्ने बताइएको छ। दुवै दलले गठबन्धन गरेमा उनीहरूको बहुमत पुग्ने देखिएको छ।

जिल्लामा १० स्थानीय तह छन्। जिल्लामा सो समिति गठनका लागि मतभारको सङ्ख्या २० छ। यहाँ कांग्रेसको मतभार नौ छ। उसले डिलासैनी गाउँपालिका उपाध्यक्ष, दशरथ चन्द नगरपालिका उपप्रमुख, पाटन नगरपालिका प्रमुख, पुर्चौडी नगरपालिका प्रमुख–उपप्रमुख, मेलौली नगरपालिका उपप्रमुख, शिवनाथ गाउँपालिका अध्यक्ष, सिगास गाउँपालिका अध्यक्ष र सूर्नया गाउँपालिकामा उपाध्यक्ष जितेको छ।

एमालेको मतभार आठ छ। एमालेले दशरथचन्द नगरपालिका प्रमुख, दोगडाकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, पञ्चेश्वर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिवनाथ गाउँपालिका उपाध्यक्ष, सिगास गाउँपालिका उपाध्यक्ष र सूर्नया गाउँपालिका अध्यक्ष जितेको छ।

माओवादी केन्द्रको मतभार दुई छ। उसले पाटन नगरपालिका उपप्रमुख र मेलौली नगरपालिका प्रमुख जितेको छ। त्यहाँको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

यसैबीच समितिको निर्वाचनका लागि खगेन्द्रसिंह धामीलाई प्रमुख पदको उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ। कांग्रेस बैतडीका उपसभापतिसमेत रहेका उनलाई समितिको प्रमुखका लागि उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले जानकारी दिए।

उनकाे नाम सर्वसम्मतरुपमा पार्टीको प्रदेश कार्यसमितिमा पठाइएको छ। समितिमा माओवादी केन्द्रसँग गठबन्धन गरेर अघि बढ्ने सहमतिअनुसार उपप्रमुख पद भने माओवादीको भागमा परेको कांग्रेसले जनाएको छ।

कांग्रेसबाट प्रमुख पदका लागि उम्मेदवार बनाइएका धामी सिगास–४ को वडा सदस्यमा निर्वाचित छन्। अन्य सदस्यका उम्मेदवार कसलाई बनाउने र माओवादीको भागमा कति सदस्य पर्ने भन्ने विषय अझै टुंगो लाग्न बाँकी छ। यसअघि पनि कांग्रेस र माओवादी मिलेर समन्वय समिति बनाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved