तिब्बती शरणार्थीको मानवअधिकार रक्षा गर्न अमेरिकी उपविदेशमन्त्रीको आग्रह, गृहमन्त्री खाँणले भने, ‘हाम्रो परिस्थिति बुझिदिनुस्’

नेपालभ्युज

तिब्बती शरणार्थीको मानवअधिकार रक्षा गर्न अमेरिकी उपविदेशमन्त्रीको आग्रह, गृहमन्त्री खाँणले भने, ‘हाम्रो परिस्थिति बुझिदिनुस्’

काठमाडौं। नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेकी छिन्। गृह मन्त्रालयमा भएको भेटवार्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको छ।

नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षको अवसरमा नेपाल भ्रमणमा रहेकी उपविदेशमन्त्री जियाले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक कदम चाल्न अमेरिका सधैँ तत्पर रहेको गृहमन्त्री खाणसँग बताइन्।

उनले नेपालमा रहेका तिब्बती शरर्णाथीको मानव अधिकार रक्षाको विषयमा सतर्कता अपनाउन गृहमन्त्री खाणसँग आग्रह गरेकी छन्।

शुक्रबार नेपालको तीनदिने भ्रमणमा आएकी उनले शनिबार अपरान्ह जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी थिइन्। शरणार्थी शिविरको भ्रमणपछि नेपाल सरकारका अधिकारीहरुसँग भेट गरेकी जियाले शरणार्थीहरुले भोग्नु परेको समस्याको विषयमा नेपालका प्रधानमन्त्री तथा मन्त्रीलाई अवगत गराएकी छन्।

गृहमन्त्री खाणले नेपालले उसका दुई ओटा छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलता ख्याल गर्नुपर्ने हुँदा नेपालको बाध्यता बुझ्न उपविदेशमन्त्री जियासँग आग्रह गरेका छन्। नेपालमा रहेका शरणार्थीहरुलाई नेपालले समान व्यवहार गरेको मन्त्री खाणले उपविदेशमन्त्री जियालाई बताए।

कोभिड खोपदेखि अन्य मानवीय सहायता नेपाल सरकारले पुर्याउँदै आएको गृहमन्त्री खाणले बताए। नेपाल शरणार्थी सन्धीको पक्ष राष्ट्र नभएपनि मानवीयताका आधारमा तिब्बतीहरुलाई शरणार्थीको दर्जा दिएको पनि उनले बताएका छन्।

“अमेरिकाको चासोलाई नेपालले उचित सम्मान गर्छ”, स्रोतका अनुसार खाणले भने, “तर अमेरिकाले पनि हाम्रो परिस्थिति बुझिदिनुपर्छ।”

नेपाल भ्रमणमा रहेकी जियाले यहाँ रहेका मानवअधिकार अभियान्ता र नागरिक समाजका व्यक्तिहरुलाई भेट्दै तिब्बती समुदायले यहाँ भोग्नु परेको अवस्थाको विषयमा जानकारी लिएकी थिइन्।

आफ्नो तीनदिने भ्रमण सकेर आजै स्वदेश फर्किने तयारीमा रहेकी जियाले स्वदेश फर्कनुअघि काठमाडौंमा रहेको अन्य तिब्बती शरणार्थी शिविर भ्रमण गर्ने सम्भावना रहेको स्रोतको दाबी छ।

नेपाल भ्रमणमा आएका अमेरिकी उपविदेशमन्त्री जियाले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई मात्रै भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको थियो। गृहमन्त्री खाँणसँग भेट्ने कार्यक्रम परराष्ट्र मन्त्रालयको ‘सेड्युल’मा थिएन।

प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेश मन्त्री जियाबीच भेटवार्ता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved