सात वर्षपुरानो बलात्कारको अर्को घटना सार्वजनिक :

अर्की युवतीको आरोप– ९ कक्षा पढ्दा प्रिन्सिपलले अस्पताल लान्छु भनेर होटल लगे, बलात्कार गरे

इटहरीकी ती युवतीले आफूलाई आफ्नै विद्यालयको प्रिन्सिपलले बलात्कार गरेको सात वर्ष पुरानो घटनाबारे बताएकी हुन्। उनले  आरोपितको खोजी गरी कारबाही गर्न र  आफूलाई न्याय दिन माग गरेकी हुन्। २०७२–२०७३ तिर ९ कक्षामा पढ्दाको समयमा प्रिन्सिपलले बलात्कार गरेको उनले खुलाएकी छिन्। 

अर्की युवतीको आरोप– ९ कक्षा पढ्दा प्रिन्सिपलले अस्पताल लान्छु भनेर होटल लगे, बलात्कार गरे
पीडित युवतीले सार्वजनिक गरेको फोटो, प्रिन्सिपल र घटना हुँदाको उनको अनुहार

काठमाडौं। राजधानीका सडकमा बलात्कारीमाथि कारवाहीको माग गर्दै विरोध प्रदर्शन तीव्र भइरहँदा सुनसरी इटहरीको घर भएकी २२ वर्षीया युवतीले आफूमाथिको बलात्कार घटना सार्वजनिक गरेकी छिन्। उनले १५ वर्षको हुँदा प्रिन्सिपलबाट पटक–पटक बलात्कृत भएको र प्रहरीमा उजुरी दिँदा पनि न्याय नपाएको खुलासा गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान लामो विवरण लेख्दै ती युवतीले सात वर्ष पुरानो घटना सार्वजनिक गरेकी हुन्। ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा पढेकी ती युवतीले२०७२–२०७३ तिर  ९ कक्षामा पढ्दाको समयमा प्रिन्सिपलले बलात्कार गरेको उनले खुलाएकी छिन्।

आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार  गरेको घटना सार्वजनिक गरेपछि आरोपितलाई उन्मुक्ति नदिन माग गर्दै राजधानीका सडकमा अभियन्ताहरू दैनिक रूपमा सडकमा प्रदर्शन गर्दैआएका छन्। पीडकलाई कारवाहीको लागि एक वर्षभित्र उजुरी गर्नुपर्ने कानूनी प्रवधान बाधक भएको भन्दै त्यसलाई हटाउनुपर्ने माग सडकबाट उठेको छ ।

इटहरीकी ती युवतीले आफूलाई आफ्नै विद्यालयको प्रिन्सिपलले बलात्कार गरेको सात वर्ष पुरानो घटनाबारे बताएकी हुन्। उनले  आरोपितको खोजी गरी कारबाही गर्न र  आफूलाई न्याय दिन माग गरेकी हुन्।

युवतीले आफूमाथि भएको बलात्कारको घटना सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनलाई साथ दिनेहरू बढेका छन्। युवतीले घटना सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा भाइरल हुन थालेको छ। सो पोस्ट भएको पाँच घण्टाको अन्तरालमा (आइतबार दिउँसो २ बजेसम्म) झन्डै ४ हजार बढी शेयर भइसकेको छ। पोस्टमा ८ हजार कमेन्ट आइसकेका छन्।

होस्टेलमा बस्दैआएको त्यो समयमा आफूलाई छातीमा समस्या भएपछि प्रिन्सिपलले ‘अस्पताल लैजान्छु भनेर होटलमा पुर्‍याएको’ ती युवतीको भनाइ छ। दुई वर्षसम्म पटक–पटक बलात्कार गर्ने प्रिन्सिपलविरुद्ध बलात्कारको किटानी जाहेरी दिँदा पनि आफ्नो मुद्दा सुनुवाइ नभएको उनको गुनासो छ।

अहिले २२ वर्षीय ती युवतीले सात वर्षअघिको घटना भएकोले बाहिर निस्कने हिम्मत नभएको भए पनि अहिले सौन्दर्य प्रतियोगितामा सहभागी भई पीडित बनेकी युवतीका लागि जम्मा भएको जनसमुदाय देखेर आफू आशा लिएर उभिएको उल्लेख गरेकी छन्।
होटलको कोठामा लगेर टिसर्ट च्यातेर बलात्कार गर्नुको साथै मोबाइलमा नग्न भिडियो खिचेकोसमेत ती युवतीले उल्लेख गरेकी छिन्। आफ्नो फोटो र भिडिओसमेत खिचेका प्रिन्सिपलले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर दुई वर्षसम्म यौन शोषण गरेको ती किशोरीले खुलाएकी छिन्।

युवतीले लेखेकी छिन्, ‘‘प्रिन्सिपल राज खड्काले मलाई विद्यालयबाट अस्पताल जान भनेर लग्यो तर बाटोमा मलाई अस्पताल लैजानुको सट्टा होटेलमा पो पुर्‍यायो। होटलमा पुगेपछि उसले मलाई खाना खान भन्यो। मैले खान मानिन। मलाई अलि नराम्रो फिल भयो। म डराएँ। मरो अनुहारबाट पसिना बग्यो। त्यसपछि उहाँले ‘यता आऊ, गर्मी हुँदैन’ भन्दै कोठामा तानेर लग्यो। कोठामा पुगेपछि उसले चुकुल लगायो। त्यसपछि उसले फेरि मलाई खाना खान कर लगायो। मैले फेरि खान मानिन्। त्यसपछि उसले मेरो स्कुलको जर्सी च्यात्यो। मलाई बलात्कार गर्‍यो।’’

यो घटनापछि आफूले धेरै साथीहरूलाई सुनाएपछि कसैले विश्वास नगरेको ती युवतीको गुनासो छ। न्याय नपाउने देखेपछि आफूलाई आत्महत्या गर्ने प्रयास गरेको समेत उनले उल्लेख गरेकी छिन्। घटनाको धेरैपछि आफूले अभिभावकलाई बताएपछि धरानस्थित प्रहरी चौकीमा उजुरी दिएको बताएकी छिन्। उजुरी परेलगतै ती प्रिन्सिपल फरार भएको उनको भनाइ छ।

सुनसरी प्रहरीले भन्यो– आरोपित फरार

यता सुनसरी प्रहरीले पनि सो घटनाबारेमा उजुरी परेको बताएको छ। २०७४ साल भदौमा उजुरी परेको र अदालतको अनुमतिबाट पक्राउ-पुर्जी जारी भए पनि आरोपित नभेटेको बताएको छ।

सुनसरी प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले नेपालभ्यूज सँग भने, ‘‘उजुरी परेको २०७४ भदौमा हो।  घटना भएको चाहिँ त्योभन्दा दुई वर्षअघि थियो। उजुरीका आधारमा हामीले घटनास्थलमा गएर सबै प्रमाण संकलन तथा बयान लिने काम पनि गरेका छौँ। अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी भए पनि आरोपित फरार भएकाले भेट्न सकिएको छैन।’’

पीडितका साथी भन्छन्– पीडक फरार भएपछि निराश

प्रहरीमा उजुरी परेलगतै प्रिन्सिपल रातारात भागेको पीडित युवतीकी घिमिरे थरकी एक साथीले बताइन्। उनले नेपालभ्यूज सँग टेलिफोनमा भनिन्, ‘‘उनले प्रहरीमा उजुरी दिइन्। प्रहरी प्रिन्सिपललाई खोज्न स्कूलमा गयो तर प्रिन्सिपल रातारात भागिसकेछन्। त्यो प्रिन्सिपलको घर सिन्धुली कि कता थियो, ऊ भागेर काठमाडौँतिर गएको चर्चा चल्यो।’’

पीडक फरार भएपछि पीडित युवती निराश भएकी ती घिमिरे थरकी साथीले बताइन्। आफूमाथिको अत्याचारको पीडा र पीडकलाई कारबाही नहुँदा ती युवती अहिले पनि विक्षिप्त अवस्थामा छिन्।

पीडितकी दिदीले नेपालभ्यूज सँग टेलिफोनमा भनिन्, ‘‘बहिनी धेरै तनावमा छिन्। पछिल्लो समय काठमाडौंको एक घटना सार्वजनिक भएपछि बहिनीले पनि फेसबूकमा आफ्नो पीडा पोखेकी रहेछिन् तर उनी अहिले कसैसँग कुरा गर्न चाहँदिनन्।’’ अदालतले पक्राउ-पुर्जी जारी गरेपछि ती प्रिन्सिपल फरार रहेको भए पनि अहिले उनी  विद्यालय सञ्चालन गरेर काठमाडौंमा बसिरहेको पीडित पक्षको भनाइ छ।

यस्तो छ पीडित युवतीले फेसबुकमा लेखेको आफ्नो घटना

सात वर्षअघिको घटना भएकोले मैले कसैलाई भन्न सकेको थिइन्। त्यतिबेला सानै थिएँ। त्यो बेला कसैलाई भन्ने हिम्मत भएन। अहिले ठूलो भए पनि घटना भएको धेरै ढिला भइसकेकाले घटना सार्वजनिक गर्न सकिन। तर, अहिले सुस्मिताको न्यायको लागि जम्मा भएको भीड देखेर म पनि आफ्नो पीडा पोख्दैछु। मलाई बलात्कार गर्ने बलात्कारीको पर्दाफास गर्दैछु। आशा छ, मैले न्याय पाउनेछु।

घटना २०७२-७३ तीरको आसपासको हो। म इटहरीस्थित ब्लूमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा पढ्थे। मलाई त्यो बेलाको प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गर्याे। म होस्टेलमा बस्ने गर्थे। म कक्षा ९ मा पढ्थे। त्यतिबेला म १५ वर्षको थिएँ। मलाई एकपटक छातीमा समस्या देखियो। मेरो उपचारको लागि मेरो बुवाले विदेशबाट पैसा पठाउनुभयो। तर, मेरो आमाको खातामा नभई प्रिन्सिपल राज खड्काको एकाउन्टमा पठाउनुभयो।

प्रिन्सिपल राज खड्काले मलाई विद्यालयबाट अस्पताल जान भनेर लग्यो। तर, बाटोमा मलाई अस्पताल लैजानुको सट्टा होटेलमा पो पुर्याईयो। होटलमा पुगेपछि उहाँले मलाई खाना भन्यो। मैले खान मानिन। मलाई अलि नराम्रो फिल भयो। म डराएँ। मरो अनुहारबाट पसिना बग्यो। त्यसपछि उहाँले “यता आऊ गर्मी हुँदैन’’ भन्दै कोठामा लग्यो। कोठामा पुगेपछि उसले चुकुल लगायो। त्यसपछि उसले फेरि मलाई खाना खान कर लगायो। मैले फेरि खान मानिन्। त्यसपछि उसले मेरो स्कुलको जर्सी च्यात्यो। मलाई बलात्कार गर्‍यो।

उसले मलाई नाङ्गो बनाएको थियो। उसले आफ्नो मोबाइलमा मेरो भिडियो खिच्यो। मलाई ब्ल्याक मेल गर्न थाल्यो। र उसले मलाई बोलाउन थाल्यो। उसले बोलाएको ठाउँमा आएन भने बेइज्जत गर्ने धम्की दिन्थ्यो। यो क्रम एसइईसम्म चल्यो। बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेलको कोठामा जता हुन्छ, म एक्लै भएमा उसले त्यही बलात्कार गथ्र्याे। बिदाको दिन घर जान दिएन। यदि घर गएको खण्डमा मेरो पढाई बिग्रन्छ, त्यही भएर होस्टेलमै बस्नुपर्छ भन्थ्यो।

मेरो बुबाले उसको खातामा पैसा किन पठाउनुभयो भने मलाई मेरो घरमा कहिल्यै पठाइएन। मैले राम्रोसँग पढोस् भनेर बुबाले मलाई होस्टेलमा राख्नुभएको थियो। प्रिन्सिपलले पनि होस्टलेमै राम्रो हुन्छ भनेर मेरो बुवालाई भन्नुभयो। यसैले मेरो बुवाले प्रिन्सिपलले खातामा पैसा पठाउनुभयो। उसले मलाई घर जान पनि नदिने गथ्र्याे। आमाबुवाले उसको कुरामा विश्वास गरेर सबै सधैँ होस्टेलमा बस्न दिए। मैले मेरा साथीहरूसँग सबै घटनाहरू सुनाए।

तर, कसैले पत्याएनन्। म बाल्यकालदेखि नै रमाइलो गर्ने खालको थिए। यसैले सबैले मेरो चरित्रलाई दोष दिन्थे। म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्। कसैले मेरो पक्षमा अडान लिएनन्। लडाइँमा म एक्लै थिएँ। अन्ततः धेरै अत्याचार भएपछि मैले यो प्रिन्सिपल सरको श्रीमतीलाई यो कुरा सुनाए। प्रिन्सिपलकी श्रीमतीले पनि यो कुरा पत्याइनन्।

यस घटनाबाट पीडित भएपछि न्यायको लागि मलाई कसैले साथ दिएन। सबैले मलाई नै दोषी देखाएपछि आत्महत्या गर्ने प्रयास गरे। २ वर्षको अन्तरालमा २ पटक आत्महत्याको प्रयास गरेको थिए। न म म मर्न नै सके, न त मेरो समस्या समाधान नै भयो। एसइई सकेपछि परिवारसँग यो कुरा भन्ने हिम्मत जुटाएको थिएँ। तर भने पनि मैले न्याय पाइन। किनकि त्यो बलात्कारी फरार भयो। म प्रहरीको मा पनि गएँ। तर, प्रहरीले त्यो पनि त्यो बलात्कारीलाई खोज्छु भन्छ। ७ वर्ष भइसक्यो तर बलात्कारी कहाँ छ ? अन्ततः मैले न्याय पाउने आशा गुमाए। प्रहरीकहाँ धाउन छाडेँ । तर, घटनाले बारम्बार मलाई पीडा दिन्छ। जब मैले सामाजिक सञ्जालमा न्यायको लागि याचना गरेको हुँ। त्यो बलात्कारी अहिले काठमाडौँमा कुनै विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत रहेको सुनेको छु। उसलाई कारबाही होस्, न्याय पाउने आशामा ७ वर्ष पुरानो यो घटना शेयर गरेको छु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved