प्रतिनिधि सभाबाट आठ अध्यादेश स्वीकृत

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १० गते साँझ ६ बजे बस्नेछ।

नेपालभ्युज

प्रतिनिधि सभाबाट आठ अध्यादेश स्वीकृत
फाइल तस्वीर

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ।

गृहमन्त्री बालकृष्ण खाणले बैठकमा “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८” र “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् ” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले “औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९” र “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९” एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले “रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” र “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १० गते साँझ ६ बजे बस्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved