अधिकारभित्र रहेर पनि राम्रोसँग काम गर्न पाइनँ : हरिप्रभा खड्गी (अन्तर्वार्ता)

महिलाले घरपरिवार छोराछोरी सारा समालेर परिपक्क भएर आएका हुन्छन्, जसले गर्दा उनीहरू विवेक पुर्‍याएरमात्र काम गर्छन्। ७५३ ओटै स्थानीय तहमा महिला अगाडि आउनुपर्छ।

अधिकारभित्र रहेर पनि राम्रोसँग काम गर्न पाइनँ : हरिप्रभा खड्गी (अन्तर्वार्ता)

आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरको नेतृत्वका लागि बलियो दाबेदारी पेश गरेकी थिइन् २०७४ मा उपमेयर निर्वाचित हरिप्रभा खड्गीले। तर, अन्तिम समयमा सत्ता गठबन्धनको तर्फबाट का‌ग्रेसकी सिर्जना सिंहले टिकट पाएसँगै यसपटकका लागि खड्गीको सम्भावना सकियो। 

उपमेयरको रुपमा खड्गीको कार्यकाल मिडियामा सधैँ चर्चामा रह्यो। नेकपा एमालेका तर्फबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्यसँगको टक्करका कारण उनी सधैँ चर्चामा रहिन्। महानगरको विभिन्न योजनामा हस्तक्षेप गरेर सुधार्न/परिवर्तन गर्न नेतृत्वदायी भूमिका निभाएकी उनै खड्गीसँग स्थानीय तहमा महिला नेतृत्व, सम्भावना र चुनौती तथा गर्नुपर्ने काम र पाउने अधिकारमाथि केन्द्रित रहेर नेपालभ्यूजका लागि समृद्धा केसीले गरेको कुराकानी :

जुन सोचसाथ उपमेयरमा पद समाल्नुभएको थियो, कत्तिको पूरा गर्न सक्नुभयो ? अनि अब चुनिएर आउने व्यक्तिले शुरुमै सिक्नुपर्ने कुरा के हो ?

अब आउने व्यक्तिले धेरै कुराहरू सिक्नुपर्छ। अझै पनि हामीले आधारभूत कुराहरू बनाउन पाएका छैनौँ। काठमाडौं महानगरबासीले ठूलो अपेक्षा पनि गरेका छैनन्। त्यस कारण त्यो अपेक्षालाई मनोरेल, मेट्रोरेलतिर सोच्नुहुँदैन। यो पछिका योजनाहरू हुन्। अहिले आधारभूत आवश्यकताहरू पूरा गर्ने हो। अहिले पनि काठमाडौंको ठूलो समस्याको रूपमा रहेको ढल र खानेपानीको अझै पनि समाधान भएको छैन। यसलाई कसरी हुन्छ, समाधान गर्नेतिर लाग्नुपर्छ।

अर्को समस्या भनेको स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार्नु पर्‍यो। सामुदायिक विद्यालयलाई हामीले संस्थागत विद्यालयसरह अगाडि बढाउनुपर्छ। अनि मात्र हाम्रो बालबालिकाको शिक्षामा सुधार आउँछ। अझै पनि मध्यमवर्गको मान्छेले राम्रो स्कूलमा पढाउन सकिरहेका छैनन्। त्यस कारण हामीले सामुदायिक स्कूललाई नै संस्थागत स्कूलका रूपमा अगाडि बढाउन सक्यो भने सबै भन्दा ठूलो उपलब्धि हुन्छ।

त्यस्तै, स्वास्थ्यमा पनि महानगरीय अस्पताल बनाउने भनेर मैले पहिले नै भन्दै आइरहेको छु। हरेक वडामा सानो क्लिनिक त छ तर अझै पनि टाउको दुख्दा र हल्का ज्वरो आउँदा त्यहाबाट औषधि लिएर खान सकिने अवस्था मात्र छ। रोग पत्ता लगाउन टेक्नोलोजीको प्रयोग गर्नुपर्‍यो भने बाहिर जानुपर्छ, तर महानगरीय अस्पताल भयो भने महानगरबासीले सहुलियतमा उपचार पाउँछन्। त्यसबाहेक यहाँ बस्ने ७७ ओटै जिल्लाका मानिसले पनि केही सहुलियतमा उपचार गराउन पाउँछन्।

त्यस्तै, ट्राफिक जामलाई कसरी कम गर्न सकिन्छ भनेर पनि ध्यान दिन आवश्यक देखिन्छ। महानगरपालिका ७७ ओटै जिल्लाका मानिस बसोबास गर्ने घनाबस्ती भइसक्यो। महानगरपालिकाभित्र २४/२५ लाख जनता बसेको छ। तीन लाख चानचुन त मतदाता मात्र भइसके। त्यस कारण यसलाई मध्यनजर गरेर हामीले विकास गर्‍यौँ भने पक्कै पनि काठमाडौं महानगर सोचेजस्तो हुन्छ।

अहिले तपाईं सिर्जना सिंहको लागि भोट माग्दै हिँडिरहनुभएको छ। पाँच वर्षपहिले आफ्ना लागि भोट माग्दै हिँड्नुभएको थियो। जनतासँग गरेका ती प्रतिबद्धता पूरा गर्न नसकेकाले मतदाताले प्रश्न भन्लान् भन्ने डर छैन?

छैन। म मेयर भएको भए उहाँहरूको गुनासो सुन्नुपर्थ्यो। मैले जुन प्रतिबद्धता गरेर आएको थिएँ, त्यो पूरा पनि गर्नुपर्थ्यो।

तर, मेरा चारओटा अधिकार मात्र छन्। ०५४ सालमा त उपमेयरलाई त्यो पनि थिएन। अहिलेचाहिँ चारओटा अधिकारभित्र बसेर काम गर्नुपर्छ। जनताका दुःख र सुखलाई साथ दिनुपर्ने थलो हो हाम्रो। तर त्यो ठाउँमा पूर्ण रूपमा राजनीतिक दृष्टिकोणले महानगर चल्यो। त्यो हुँदा मैले आफ्नो अधिकारभित्र रहेर पनि राम्रोसँग काम गर्न पाइनँ। मैले जनतासँग प्रत्यक्ष प्रश्नोत्तर गर्दा उत्तर दिनसक्ने बनाएर आएको छु।

तपाईं एउटा पार्टीबाट निर्वाचित उपमेयर, अर्कै पार्टीका मेयरसँग काम गर्नुपर्‍यो। कस्तो अनुभव रह्यो?

म पार्टीको हरेक तहतप्कामा बसेर काम गरेर आइसकेकी मान्छे हुँ। म कुनै कुरामा अन्यायचाहिँ सहन सक्दिनँ, प्रस्ट रूपमा। मलाई महिला भएरै अन्याय गरेको भने महसुस भएन। हामीले जनतालाई न्याय दिनुपर्छ भन्ने हिसाबले काम गर्ने हो। मैले त्यो न्याय दिलाएँजस्तो लाग्छ।

महिला भनेको यस्तो हो, जसले भ्रष्टाचार पनि गर्दैन। महिलाले जहाँ पाइला टेक्छन्, त्यहा भ्रष्टाचारमुक्त हुन्छ। अनि सुशासन पनि राम्रो गराएर लैजान्छन्। जस्तो, भ्रष्टाचारमा अहिलेसम्म मेरो केही पनि कुरा आएन। महिलाले घरपरिवार छोराछोरी सारा समालेर परिपक्क भएर आएका हुन्छन्, जसले गर्दा उनीहरू विवेक पुर्‍याएरमात्र काम गर्छन्। ७५३ ओटै स्थानीय तहमा महिला अगाडि आउनुपर्छ।

महिला उमेदवारलाई के सुझाव दिनुहुन्छ ?

पहिलो कुरा, सबैले आफ्नो क्षेत्राधिकार बुझ्नुपर्छ। उपमेयरमा उठेको हो भने आफ्नो अधिकार के हो ? भन्ने थाहा पाउनुपर्छ। मेयरसँग कुनै कुरामा असहमति हुँदा आफ्नो क्षेत्राधिकारमा बसेर बोल्नुपर्‍यो।
प्रमुखले बेथिति गर्छ भने आवाज उठाउनुपर्छ। जसरी मैले रानीपोखरीमा बेथिति गर्दा आवाज उठाएको थिएँ। मेयरले करिब-करिब रानीपोखरी सिध्याउनै लागेके थिए, मैले रोकेँ।

रानीपोखरी बन्थ्यो, नबन्ने होइन तर कसरी बन्थ्यो गुम्बा शैलीमा कंक्रिटले बन्थ्यो। यसलाई हाम्रो पूर्खाले बनाएजसरी बनाउनुपर्छ भनेँ। नेपालमा पयर्टक यस्तै चिजहरू हेर्नको निमित्त आउने हो। हाम्रो पहिलेको शिखरशैलीमा नै रानीपोखरी बनाउनुपर्छ भनेर अडिग भएकाले त्यो पुरानै शैलीमा बन्यो।

त्यस्तै, टुँडिखेलमा ५१ ओटा पसल राख्न सफल नै भइसकेको थियो। मैले यदि आफ्नो संस्थासँग नलडेको भए आज त्यो टुँडिखेल रहँदैनथ्यो। यस्ता धेरै कुराहरू छन्। यस्ता बेथितिहरू देख्यौँ भने लड्नुपर्छ।

यो पाँच वर्षको कार्यकालमा चाहेर पनि गर्न नसकेका त्यस्ता कुनै कामहरू छन् ?

छन्। धेरै कुराहरू छ। मेरो सपना चकनाचुर भएको छ। तर मलाई लाग्छ- नेपाली कांग्रेसबाट मेयरका दाबेदार सिर्जना सिंहले ती सपनाहरू पूरा गर्नुहुनेछ। सबैभन्दा संस्कृति, कला, भाषा, गुठीलाई जोगाउनु आवश्यक छ। संस्कृति जोगाएको गुठीले हो। त्यसैले गुठीलाई पहिले जोगाउनुपर्छ।

महानगरमा सरसफाइ पनि उत्तिकै आवश्यक छ। महानगरमा गर्नुपर्ने धेरै कामहरू बाँकी छन्। फोहोरबाट मोहोर र ढलबाट शुद्ध पानी निकाल्नुपर्छ। यस्ता धेरै कुराहरू छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved