हेटौँडामा कांग्रेसको सम्भावना सकिएको छैन, पार्टीको निर्णय पर्खिरहेका छौँ : आनन्दराम पराजुली (भिडियो)

नगर समितिले मेयर कांग्रेसले नपाए दुर्घटना हुन सक्छ भनिरहेको छ। जिल्लाकै बहुमत पदाधिकारीले भनिरहनु भएको छ। स्वभाविक रुपले अरु नेताहरुले किन बोल्नुभएन भन्ने प्रश्न आइरहेको छ। किन बोल्नुभएन थाहा छैन।

हेटौँडामा कांग्रेसको सम्भावना सकिएको छैन, पार्टीको निर्णय पर्खिरहेका छौँ : आनन्दराम पराजुली (भिडियो)

अघिल्लो स्थानीय चुनावमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा झिनो मतान्तरले पराजित उम्मेदवार हुन् – नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली। त्यसलगत्तै उनले अर्को चुनावमा मेयर उठ्ने तयारी थालेका थिए। उनले पार्टीको जिल्ला अधिवेशनको समयमा मेयरको आश्वासन पाएपछि बुद्ध लामालाई जिल्ला सभापति पद छाडेका थिए। तर, ३० वैशाखमा हुने स्थानीय चुनावका लागि सत्ता गठबन्धनको भागबण्डामा हेटौँडा नेकपा (एकीकृत-समाजवादी)को भागमा पर्‌यो।

गठबन्धनका कारण कांग्रेसले छाड्नुपर्ने हुँदा पराजुलीले मेयरमा टिकट पाउन सकेनन्। जसका कारण उनले पार्टी चर्को असन्तुष्टि व्यक्त गरेका छन्।

यही पृष्ठभूमिमा पराजुलीसँग अब कसरी अघि बढ्ने सोच छ ? गठबन्धनले जित्ने आधार के हो ? भन्ने सवाललाई केन्द्रमा राखेर नेपालभ्यूजका लागि सम्झना रिजालले गरेको कुराकानी :

गठबन्धनले हेटौँडा उपमहानगरपालिकाको मेयर समाजवादीलाई दिने निर्णय गरेको छ। अब तपाईंहरु कसरी अगाडि बढ्नुहुन्छ ?

नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिका समिति, जिल्ला पदाधिकारीसहितको भेलाले निर्णय गरेर हामीले विभिन्न चरणमा विरोध जनाएर केन्द्रलाई ध्यानाकर्षण गराइसकेका छौँ। समाजवादीलाई यहाँ मेयर दिँदा हामीले यहाँ उपलब्धि हाँसिल गर्न सक्दैनौँ।

नेपाली कांग्रेसको पार्टी नै ध्वस्त हुन्छ। केन्द्रले फेरि पनि पुनर्विचार गरेर कांग्रेसकै नेतृत्वमा हेटौँडालाई अगाडि बढाउनुपर्छ। यसो गर्दा कांग्रेसको संगठन पनि बँच्छ भने धेरै उपलब्धि पनि हाँसिल हुन्छ। अन्यथा दुर्घटना हुन सक्छ।

संगठन ध्वस्त पनि हुन सक्छ भन्नुभयो। खास भन्न खोज्नु भएको के हो ?

यो नेपाली कांग्रेसको रहिरहेको संगठन, जस्ले अघिल्ला निर्वाचनहरुमा पनि अन्य पार्टीसँग गठबन्धन गर्दा हाम्रो संगठनमा धक्का पुगेको थियो। कार्यकर्ता र मतदाताको माग हेटौँडामा कांग्रेसलाई मेयर बनाउने भन्ने छ। तर, थोरै मत भएको पार्टीलाई मेयर दिइएको छ। आधारसमेत राम्रोसँग नबनिसकेको पार्टीलाई मेयर दिँदा कांग्रेसको मतदाता नेतृत्वसँग टाढिने हुनसक्छ। त्यसकारण कांग्रेसको संगठनमा यसले ठूलो असर पार्न सक्छ।

गठबन्धनमा भागबण्डा गर्दा कांग्रेसले धेरै ठाउँ लिएर अरुलाई थोरैमात्रै दिएको अवस्थामा पनि तपाईंहरु विरोधमा हुनुहुन्छ, अरु पार्टीको अस्तित्व स्वीकार्न नसकेको हो ?

पार्टीकै अस्तित्वको लागि हो। चुनाव जित्न नपर्ने हो भने त हाम्रो भन्नु केही छैन। कांग्रेसले अरु पार्टीको अस्तित्व जोगाउने ठेक्का लिएको भए छुट्टै कुरा, होइन भने चुनाव भनेको जित हाँसिल गर्नको लागि हो। जसले जित्छ उसले पाउनुपर्छ।

यो गठबन्धन एमालेको विरुद्धको हो। तर, यही गठबन्धनले एमालेलाई नै बल पुग्ने गरी काम गर्ने हो भने यो गठबन्धनको औचित्य छैन। उहाँहरुको मत धेरै भएको ठाँउमा उहाँहरुलाई नै नेतृत्व दिँदा हुन्छ। तर, जहाँ उहाँहरुको मत नै छैन, त्यहाँ जित नै हुँदैन भने केही लचक भएर पछाडि हट्नुपर्छ।

अघिल्लो पटक मेयरमा थोरै मतान्तरले पराजित हुनुभयो। पाँच वर्षदेखि फेरि पनि तपाई नै भन्ने चर्चा छ, अब के गर्नुहुन्छ ?

म एउटा पार्टीको नेता भएर स्वतन्त्र उम्मेदवार दिने भन्ने हुँदैन। पार्टीले पुनर्विचार गरेर मलाई दियो भने म उठ्ने हो। तर, म स्वतन्त्र रुपमा जान्नँ। म पार्टीको इमान्दार कार्यकर्ता हुँ। अहिले जे भए पनि म त्यसरी हिँड्दिनँ।

तर, अहिले जे भइरहेको छ, जनताको चाहनाविपरीत भइरहेको छ। खासमा मकवानपुरका समाजवादीका साथीहरुले त हेटौँडामा नेतृत्व चाहिन्छ पनि भन्नुभएको थिएन। केन्द्रको हाम्रो नेतृत्वले जबरजस्ती उहाँहरुलाई नेतृत्व दिनुभयो। जिल्लाको संगठन उहाँहरुले बुझ्न सक्नुभएन।

तपाईंलाई आफ्नै पार्टीको माथिल्लो तहबाट समर्थन नभएको कारण पनि हेटौँडामा कांग्रेसले मेयर पाएन भन्ने चर्चा छ नि ?

अलिकति हल्ला त्यो पनि छ। कांग्रेस अधिवेशनदेखि प्रतिशोध साँध्नको लागि यो भयो कि भन्ने पनि हल्ला छ। मैले पनि यो सुनेको छु। मैले यसको जवाफ कसरी दिनु ?

म एउटालाई बाहिर पार्नको लागि त्यो गरेको हो भनेदेखि त जस्ले गर्‍यो ऊ पार्टीको इमान्दार नेता होइन। अरु नेता भएको देख्नै नचाहने हो भने हजारौँ युवाहरु नेता बन्नको लागि भनेर पार्टीमा आउनु भएको छ। उहाँहरुको समेत भविष्य अन्धकार हुन्छ।

मकवानपुर कांग्रेसमा संस्थापनभित्रै दुई धार देखिएको हो ?

पार्टीमा धार देखिनु स्वभाविक हो। पार्टीमा राजनीति गर्छु भनेर आएपछि यस्ता कुरा स्वभाविक हो। त्यसलाई पनि हामीले स्विकारेर जानुपर्छ। जे भए पनि कांग्रेस नै हो। सबैलाई नसमेट्ने हो भने कसरी राजनीति अगाडि बढ्छ ? आन्तरिक र अहिले जनताको माझमा जाने कुरा त विल्कुल फरक कुरा हो।

कांग्रेसले हेटौँडाको नेतृत्व पाउनुपर्छ भन्ने कुरामा पनि दुई धार देखिएको हो ?

यो अब अहिले देखिँदा यस्तो देखिनु स्वभाविक हो। नगर समितिले मेयर कांग्रेसले नपाए दुर्घटना हुन सक्छ भनिरहेको छ। जिल्लाकै बहुमत पदाधिकारीले भनिरहनु भएको छ। स्वभाविक रुपले अरु नेताहरुले किन बोल्नुभएन भन्ने प्रश्न आइरहेको छ। किन बोल्नुभएन थाहा छैन। यो कुरा तपाईंहरुले नै एक पटक उहाँहरुलाई सोध्नु होला।

गठबन्धनमा अब आम मानिसलाई कसरी बुझाएर अगाडि बढ्नुहुन्छ त ?

अब मलाई लाग्छ पार्टीले केही त गर्ला। तर, अहिले सम्झाएर लैजान एकदमै गाह्रो छ। क्रियाशील सदस्यहरुले त सम्झिनुहोला तर आम जनता जस्ले नेपाली कांग्रेसलाई मत दिने योजना बनाउनु भएको थियो उहाँहरुले बुझ्न गाह्रो छ।

गठबन्धनबाट तपाईंले टिकट पाए चाहिँ जित्छु भन्ने आधार के के हुन् ?

आम जनताले अहिले नगरमा कांग्रेस खोजिरहनु भएको छ। कांग्रेसले जित्दा धेरै काम हुन्छ भन्ने जनताको अभिलासा छ। त्यो पूरा गर्न हामी तयार थियौँ। तर, नेतृत्वमा कांग्रेसको सहभागिता नहुने हो भने कांग्रेस कमजोर बन्छ। हामी भन्न त गठबन्धनलाई मत दिनको लागि सबै जनालाई भन्छौँ तर आम मतदाता गठबन्धनसँग सहमत हुनुहुन्न।

तपाईले टिकट पाएर जितेको अवस्थामा हेटौँडाका लागि के के योजना बनाउनुभएको छ ?

हेटौँडालाई नमूना शहर बनाउने, थपिएका गाविसको विकास, खानेपानी तथा कर्रा करिडोर लगायतका कुरामा हामीले धेरै योजना बनाएका थियौ। पाँच वर्षमा कमसेकम पाँच ओटा हाम्रा आँखाले हेर्दा देखिने काम हामीले गर्न सक्थ्यौँ भन्ने सोचेका थियौँ।

प्रतिपक्षका हिसाबले अहिलेको जनप्रतिनिधिका पाँच वर्षे कामलाई कसरी समीक्षा गर्नुहुन्छ ?

अहिलेका जनप्रतिनिधिहरुको काम खासै उपलब्धिमुलक छैन। किनकि, हेटौँडा बजारको पार्किङको कुरा, २५ मिटरको सडकको कुरामा सहजीकरण, सबैसँगको सल्लाह, समन्वयमा केही कुरामा पनि काम हुन सकेन। जनप्रतिनिधि भइसकेपछि जे गरे पनि हुन्छ भन्ने कुराको विकास भयो। तौल पुलका कुरामा हस्तक्षेप गर्ने काममा लाग्ने तर आफूले गर्न पर्ने काममा चाहिँ ध्यान पुगेन। खालि फुल रोप्ने काम मात्र भयो। त्यो पनि चाहिने काम हो तर त्यतिले पुगेन।

सडक पिच त कर्मचारीले चलाउँदा पनि भएको थियो। जनताको अपेक्षाअनुसार थोरै पनि काम भएन। कांग्रेसको जनप्रतिनिधि भएको भए सबैसँग सल्लाह गरेर हामी अगाडि बढ्ने थियौँ। हमी आफै कयौँ पटक समन्वयका लागि गयौँ। तर, उहाँहरुले हामीलाई खासै महत्व दिनुभएन।

नेतृत्वले पुनर्विचार गर्ला भन्ने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ?

पार्टी बलियो होस् भन्नुहुन्छ भने पुनर्विचार गर्नुहुन्छ, गर्नुपर्छ भन्ने कुरामा मेरो जोड छ। होइन भने साथीहरुले पनि आगामी बाटो आफै तय गर्नुहुनेछ। स्थानीय तहको निर्वाचन नजिकै आइसक्यो तर पनि हेटौँडामा रौनकता छैन। मतदाताहरु एकमदमै निराश हुनुहुन्छ। गठबन्धनले गर्दा सबै जना अलमल हुनुहुन्छ। म सबै जनालाई भन्छु, मतदान चाहिँ गर्नुपर्छ। तपाईहरुको कांग्रेसलाई मतदान गर्ने चाहना अहिले नै समाप्त भयो त म भन्दिनँ, पार्टीको निर्णय पर्खिरहेका छौँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved