विराटनगरमा एक्लै जित्ने कांग्रेसको दाबी, गठबन्धन बनाए हार्ने डर

३० वैशाखमा हुने स्थानीय निर्वाचनमा तालमेलको खाका तयार पार्न सत्तारुढ गठबन्धनले प्रदेश १ मा प्रक्रिया अघि बढाएको छ।

विराटनगरमा एक्लै जित्ने कांग्रेसको दाबी, गठबन्धन बनाए हार्ने डर

विराटनगर। ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा तालमेलको खाका तयार पार्न सत्तारुढ गठबन्धनले प्रदेश १ मा प्रक्रिया अघि बढाएको छ।

यसका लागि मोरङका स्थानीय तहहरूमा राजनीतिक दलहरूको अवस्था अध्ययन र सुझावका निम्ति कार्यदल गठन गरी तालमेल प्रक्रिया शुरु गरिएको नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुुर लिम्बूले बताए।

उनले सम्मानजनक गठबन्धनका निम्ति कार्यदल गठन गरी अवस्था विश्लेषणको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए। भने, “कार्यदलबाट प्राप्त निष्कर्ष र आवश्यक सुझावका आधारमा मोरङ जिल्लाको हकमा आउँदो निर्वाचनको रुपरेखा तयार हुन्छ। हामी त्यहीअनुसार आ-आफ्नो रणनीति बनाएर अघि बढछौं।”

पालिकाको अवस्था अध्ययनका निम्त्ति सत्तारुढ गठबन्धनको बुधबार बसेको बैठकले नेकपा माओवादी केन्द्रका मोरङ जिल्ला संयोजक विजय कुमार विश्वास, कांग्रेसका जिल्ला उपसभापति भक्तिनाथ माझी, नेकपा (एकीकृत समाजवादी) का डा. उद्धव पोखरेल र जसपाका जिल्ला अध्यक्ष राजकुमार यादव सम्मिलित कार्यदल गठन गरेको थियो।

कार्यदलले २ दिनभित्र जिल्लाका १७ वटै स्थानीय तहको अवस्थाबारे रिपोर्ट तयार पार्ने र त्यसका आधारमा पालिका विभाजनको सुझाव दिने कार्यादेश पाएको थियो। कार्यदलले आज (शुक्रबार) आफ्नो सुझावसहित अध्ययन प्रतिवेदन पेश गर्दैछ।

कार्यदलबाट प्राप्त रिपोर्ट बारेमा दलहरूबीच पुनः एकपटक छलफल भएपछि माथिल्लो समितिमा सिफारिश गर्ने तयारी रहेको नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति लिम्बूले बताए। प्रदेश नं १ को राजधानी विराटनगरको हकमा भने कांग्रेस एक्लैले पनि चुनाव जित्नसक्ने उनले जानकारी दिए।

“गठबन्धनलाई निरन्तरता दिने प्रयासमा हामी छौं। पाँचदलीय मात्र नभई ७ दलीय गठबन्धन निमार्ण हुने अवस्था छ भने पनि हामी हट्दैनौं। त्यसका लागि ढोका खुला छ,” उनले भने, “तर कुनै कारणवश भोलिका दिनमा तालमेल गरेर जानसक्ने अवस्था रहेन भने पनि विराटनगरमा हामी सजिलै जित्छौं। हाम्रो पकड राम्रो छ।”

नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरका लागि कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चापागाईं, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्कीको नाम सिफारिस गरिएको छ।

नेकपा माओवादीबाट भोगेन्द्र यादव र नमिता न्यौपाने तथा जसपाबाट अमरेन्द्र यादव, जयराम यादव, उमेश यादव, भुराज राई, भरत दाहाल र तेजलाल कर्ण मेयरको दौडमा छन्।

यता नेकपा एमालेबाट रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम अघिल्लो हप्ता सिफारिस नै भइसकेको छ। मेयरको टिकटको अन्तिम टुंगो भने केन्द्रीय कमिटीले लगाउने बताइएको छ।

महानगर प्रमुखको टिकट जसले पाए पनि मूलभूत रुपमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग हुने एमाले मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले बताए। आउँदो स्थानीय तहको निर्वाचनमा माओवादी र एकीकृत समाजवादीबाहेक दलहरूसँग चुनावी तालमेलको सम्भावना रहेको भन्दै अध्यक्ष पोखरेलले एमालेको कार्ययोजना र दृष्टिकोण नै जित्ने प्रमुख आधार रहेको जानकारी दिए।

“विराटनगर एमालेको गढ हो। पछिल्ला परिस्थितिहरूमा कतिपय अवस्थाहरूमा हामीबीच एकता भएन, पार्टीमा अन्तरविरोध सिर्जना भए। हाम्रो त्यही विवादले कांग्रेसले जितेको हो,” उनले भने, “हामी एक हुनेबित्तिकै हामी चुनाव जित्छौं। यसपटक त हामीलाई झन सजिलो छ। हाम्रा विरोधीहरू सबै एकसाइड छन्।”

प्रदेश नं. १ को एक मात्र महानगरपालिकाको चुनाव जित्न जति कठिन एमालेलाई छ, त्यति नै चुनावी तालमेल मिलाउन गठबन्धनका अन्य दलहरूलाई पनि छ।

विराटनगरको मेयरमा जसपाको दाबी

विराटनगरमा जसपालाई ‘बाइकट’ गरेर जान सक्ने अवस्था पनि गठबन्धनमा छैन। २०७४ सालको निर्वाचनमा जसपाको पनि यहाँ राम्रो उपस्थिति थियो। त्यसैले पनि जसपा मेयरको दाबीबाट पछि हटेको छैन।

गठबन्धनबीच तालमेलको वातावरण सिर्जना हुन नसके जसपा एक्लै पनि चुनाव लड्न तयार रहेको जसपाका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले बताए। “हामी सकेसम्म गठबन्धन गरेर सर्वसम्मतिमै अघि बढ्ने रणनीतिमा छौं। तर, त्यो अवस्था बन्न सकेन भने हामी कसैलाई पर्खिदैनौं। हामी एक्लै लड्छौं,” उनले भने, “विगतमा पनि हामीलाई राम्रै भोट आएको हो। २०७४ सालको निर्वाचनमा ११ वडामा हाम्रो उम्मेदवारी हुँदा हामीले ६ वडा जितेका थियौं। अहिले त अवस्था पनि फेरिएको छ। हाम्रो प्रभाव र पकड पनि बलियो भएको छ। यसपटक १९ वटै वडामा हाम्रो उम्मेदवारी रहन्छ। यसपटक मेयरको उम्मेदवारीबाट भने पछि हटिँदैन।”

२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले ७ वटा वडा जित्दा जसपाले ६ वडा जितेको थियो। कांग्रेसले जितेका अधिकांश वडामा प्रमुख प्रतिस्पर्धी जसपा नै थियो। प्राविधिक कारणले धेरै मत बदर भएपछि त्यसबेला जसपाले पराजय व्यहोर्नुपरेको थियो।

यसपटक जसपाले वीरगञ्ज र विराटनगरको मेयरमा दाबी गरेको छ। त्यस अर्थमा यसपटक जसपाको दरिलो प्रतिस्पर्धा भने कांग्रेससँग हुने देखिन्छ। यसबाहेक गठबन्धनबाट माओवादी केन्द्रको दाबी उपमेयर मात्र भएको र कांग्रेस मेयर र उपमेयर दुवै छाड्न तयार नरहेको अवस्थामा माओवादी र कांंग्रेसबीच सहमति नभए जसपा र माओवादी केन्द्रबीच तालमेलको सम्भावना पनि बलियो रहेको दलका नेताहरू बताउँछन्।

२०७४ सालको निर्वाचनमा पनि माओवादी र फोरमले मेयर र उपमेयरमा तालमेल गरेको थियो।

यस्तो थियो २०७४ सालको अंकगणित

२०७४ सालको निर्वाचनमा विराटनगरको मेयर र उप–मेयरमा नेपाली कांग्रेसले जित हाँसिल गरेको थियो। कांग्रेसका भीम पराजुली २३ हजार ३१ मतसहित विजयी हुँदा दोस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए। तेस्रो भएका तत्कालीन संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए।

विराटनगर महानगरपालिकामा ०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको आधारमा कांग्रेसको मत १६ हजार ७ सय ६६ थियो।

यस्तै, एमालेको १६ हजार २ सय १८ र संघीय समाजवादी फोरमको मत लगभग ११ हजार थियो। विराटनगर महानगरपालिकामा अघिल्लो निर्वाचनको तुलनामा हाल १९ हजार ३ सय ८१ जना मतदाता थपिएका छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार मतदाताको संख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेको छ। २०७४ सालको निर्वाचनमा भने विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६१ रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved