घरेलु मैदानले दिएको साथः अपराजित रहँदै फाइनलमा

घरेलु मैदानले दिएको साथः अपराजित रहँदै फाइनलमा

काठमाडौं। “सकेसम्म सिरिजको शुरुका चार ओटै खेल जितेर फाइनलमा पुग्ने र उपाधि जित्ने हाम्रो लक्ष्य हो।” नेपालका कप्तान सन्दीप लामिछानेले घरेलु सिरिज चलिरहँदा नै बताएको थिए। सन्दीपले भने जस्तै ट्राइ नेसन्स् टी–ट्वान्टी क्रिकेट सिरिजमा अविजित रहँदै नेपालले फाइनलको यात्रा तय गरेको छ।

कप्तानको एउटा लक्ष्य त पूरा भएको छ। अब उपाधि जित्ने अर्को लक्ष्य पूरा गर्न भने सोमबार हुने फाइनलमा पीएनजीलाई हराउनुपर्ने हुन्छ। यो सिरिजको फाइनलमा नेपाललाई पीएनजीसँग एकदिवसीय सिरिजको हारको बदला पनि लिनुछ।

यसअघिको नेपालमा नै भएको पीएनजीसँगको दुई म्याचको एकदिवसीय सिरिजको दुवै खेलमा नेपाल पराजित भएको थियो। यो एकदिवसीय सिरिजअघि पीएनजीले एकदिवसीय खेलमा नेपाललाई एकपटक पनि हराउन सकेको थिएन।

तर नेपाललाई घरेलु मैदानमा नै नेपाललाई लगातार दुई खेलमा हराउँदै पीएनजीले सिरिज क्लिन स्विप गरेको थियो। दुवै खेलमा ब्याटिङमा राम्रो प्रदर्शन गरे पनि बलिङ चल्न नसक्दा पीएनजीले खेल क्रमशः ६ रन र तीन विकेटले जितेको थियो।

तर त्यो एकदिवसीय सिरिजको हारलाई भुलाएर नेपालले टी–ट्वान्टी सिरिजमा भने सान्दार प्रदर्शन गर्‍यो। सिरिजमा लगातार चार खेल जित्दै नेपाल फाइनलमा पुगेको छ।

टी–ट्वान्टी सिरिजमा भने नेपाललाई बलिङ र ब्याटिङ दुवैले साथ दियो। पहिलो खेलमा १८३ रनको योगफल बनाएको नेपालले पीएनजीलाई १६८ रनमा रोक्दै १६ रनको जित निकालेको थियो।

दोस्रो खेलमा कसिलो बलिङको मद्दतले मलेशियालाई ११४ रन रोकेको नेपालले १४ औं ओभरमा नै ६ विकेटको जित दर्ता गरेको थियो। यसपछि अर्को पीएनजीसँगको अर्को खेलमा नेपालले बलिङ र ब्याटिङ दुवैमा सान्दार प्रदर्शन गरेको थियो। दीपेन्द्र सिह ऐरी र आदिल अन्सारीको आक्रमक ब्याटिङमा २०३ रनको विशाल स्कोर खडा गरेको थियो। यसपछि करणले ह्याट्रिक सहित पाँच विकेट लिएपछि नेपालले ३७ रनले विजयी भएको थियो।

अन्तिम खेल खेल्नु अगावै सिरिजको फाइनलमा स्थान पक्का गरिसकेको नेपाललाई शनिबारको मलेशियासँगको खेलमा गुमाउनु केहि थिएन। नयाँ प्रयोग गर्ने मौका थियो।

फाइनलमा पुग्न मलेशियालाई यो खेलमा नेपाललाई हराउनै पर्ने दबाब थियो। हारको मतलब पीएनजी फाइनलमा पुग्थ्यो। तर सान्दार ब्याटिङ र बलिङ प्रदर्शनको मद्दतमा शनिबार नेपालले मलेशियालाई ८५ रनले पराजित गर्‍यो। २३४ रनको लक्ष्य दिएकोमा नेपालले १३८ मा अलआउट गर्‍यो।

नेपालको विष्फोटक ब्याटिङ

खेलमा टस जितेर मलेशियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो। गुमाउनु केहि नरहेकोले नेपालले निडर ब्याटिङ गर्‍यो र २० ओभरमा पाँच विकेटको नोक्सानीमा २२३ रनको विशाल स्कोर खडा गर्‍यो। टी–ट्वान्टी अन्तर्राष्ट्रिय नेपालको यो तेस्रो ठूलो स्कोर हो।

शुरुदेखि नै विष्फोटक ब्याटिङ गर्ने जोशमा नेपालका दुवै ओपनर पावर प्लेमा नै पेभोलिएन फर्किएका थिए। कुशल भुर्तेल आठ बलमा १२ रन आसिफ शेख ९ बलमा १८ रन जोड्दै आउट भए। चौथो ओभरमा दुई विकेट जाँदा नेपालको स्कोर ३६ थियो।

दीपेन्द्रको कीर्तिमानी शतक

तर यसपछि तेस्रो क्रमका ब्याटर दीपेन्द्रले टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा आफ्नो पहिलो शतक प्रहार गर्दै कीर्तिमान राखे। उनले मात्र ५७ बलमा १० चौका र ६ छक्काको मद्दतले अविजित ११० रनको योगदान दिए। कुनैपनि नेपली ब्याटरले एकै खेलमा बनाएको यो हालसम्म कै उच्च स्कोर हो। यसअघि पुर्व कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक १०७ रन हानेका थिए।

त्यस्तै दीपेन्द्र नेपालका लागि टी–ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा शतक प्रहार गर्ने दोस्रो खेलाडी पनि बनेका छन्। यसअघि पुर्व कप्तान पारसको नाउमा मात्र यो रेकर्ड थियो। त्यस्तै टी–ट्वान्टी क्रिकेटमा नेपालको लागि शतक हान्ने पनि उनी चौथो खेलाडी हुन्।

उनले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए। पीएनजीसँगको अघिल्लो खेलमा पनि उनले ६६ रनको योगदा गरेका थिए। यसै सिरिजमा टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालका लागि सर्वाधिक रन जोड्ने रेकर्ड बनाइसकेका दीपेन्द्र यो खेलबाट ९०० रन पूरा गर्ने पहिलो ब्याटर बने। कुल ९७९ रन प्रहार गरेका उनीले सोमबारको फाइनलमा कम्तिमा २१ रन प्रहार गरेमा एक हजार रनको कोशेढुंगा पार गर्नेछन्।

उनले रोहितसँग मिलेर तेस्रो विकेटका लागि मात्र ६२ बलमा ९६ रनको साझेदारी गरेका थिए। रोहित पौडेलले पनि यो खेलमा आफ्नो पहिलो अर्धशतक प्रहार गरे। उनले ३४ बलमा ५१ रन जोडे। त्यसैगरी दीपेन्द्रले पाँचौ विकेटका लागि आदिल अन्सारीसँग मिलेर ५९ रनको साझेदारी गरेका थिए।

यसपछि २२४ रनको विशाल लक्ष्य पूरा गर्नुपरेको मलेशियाले पनि आक्रमक खेल खेल्न निर्णय गर्‍यो। तर ओपनर जुबाधि पहिलो ओभरमा नै कमलसिंह ऐरीले डक आउट गरे। विष्फोटक ब्याटिङ गरिरहेका अर्का ओपनर भिरानदिपलाई पनि कमलले नै छैठौ ओभरमा क्याच आउट गराए। भिरानदिपले २६ बलमा सर्वाधिक ४७ रन जोडेका थिए।

एकातर्फ ठूलो लक्ष्य र अर्कोतर्फ नेपालको धारिलो बलिङ सामु लगातार विकेट गएपछि मलेशियाको इनिङ धरापमा पर्‍यो। कुनै बेलमा ७७ रनसम्म मात्र दुई विकेट गुमाएको मलेसियको बाँकी आठ विकेट मात्र ६१ रनमा खेर फाल्यो।

कप्तान अहमद फैजको थप ३३ रन बाहेक अन्य ब्याटरले गतिलो रन जोड्न सकेनन् र मलेशिया ओभरमा मात्र रनमा अलआउट भयो। बलिङमा नेपालका लागि कप्तान सन्दीपले चार ओभरमा मात्र १९ रन खर्चेर तीन विकेट लिए। त्यस्तै दीपेन्द्र र कमलले समान दुई विकेट लिएका थिए। त्यस्तै कुशल मल्ल र रोहित पौडेलले समान एक विकेट लिएका थिए।

सिरिजको सबै चार खेल जित्दै अंक तालिकामा स्पष्ट आठ अंक जोड्दै शीर्ष स्थानमा रहेर नेपालले फाइनलको यात्रा तया गर्‍यो। चार खेलमा एक एक खल जितेर मलेशिया र पीएनजीको समान दुई अंक भयो। यसपछि रनरेटको आधारमा पीएनजीले नेपालसँगको सोमबार हुने उपाधि भीडन्त पक्का गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved