प्रिय पात्र

स्पार्टाकस : धेरै जीवन्त र शक्तिशाली

उनी दासहरुले भोग्नुपरेको पासविक यातनाका साक्षी थिए र त्यसबाट कसरी मुक्ति पाउने भन्ने उपाय निकाल्न लागिरहेका थिए। त्यो उपाय थियो- विद्रोह।

स्पार्टाकस : धेरै जीवन्त र शक्तिशाली

नेपाली र विदेशी भाषाका साहित्य अध्ययन गर्दा मलाई कथावस्तुले नै धेरैभन्दा धेरै तान्थ्यो। अध्ययन गर्ने क्रममा म पात्रहरुमा खासै अल्झिन चाहँन्नथेँ, पात्रहरुमै त्यति धेरै निर्लिप्त हुन चाहँदिन्नथेँ। घटनावस्तुमै केन्द्रित भएर अध्ययन गर्थेँ। तथापि, मलाई केही नेपाली साहित्यका केही र केही ऐतिहासिक पात्रहरुले भने प्रभावित तुल्याएका छन् र ती पात्रहरु मलाई अझै पनि प्रिय लाग्छन्।

मलाई अत्यधिक प्रभावित पारेको पात्र हो- स्पार्टाकस। प्रसिद्ध अमेरिकी उपन्यासकार हावर्ड फास्टले लेखेको चर्चित उपन्यास ‘आदि विद्रोही’ का यी पात्र यति शक्तिशाली लाग्छन्, अझै पनि म त्यो पात्रलाई स्मरण गरिरहन्छु।

‘आदि विद्रोही’ को मुख्य पात्र स्पार्टाकसको कथा इसापूर्व ७३ वर्षअघिको रोमको कथा हो। त्यतिबेला रोममा दासप्रथा सर्वोच्च शिखरमा थियो। तिनै दासमध्ये एउटा दास थिए- स्पार्टाकस। उनी दासहरुले भोग्नुपरेको पासविक यातनाका साक्षी थिए र त्यसबाट कसरी मुक्ति पाउने भन्ने उपाय निकाल्न लागिरहेका थिए। त्यो उपाय थियो- विद्रोह। निःसन्देह, त्यो समयमा दासहरुलाई मालिकले यसरी बेचविखन गर्थे, मानौं दासहरु कुनै घरपालुवा पशुपक्षी हुन्, जसलाई जतिबेला चाह्यो, त्यतिबेला बिक्री गर्न सकिन्छ।

स्पार्टाकस, एक जीवन्त पात्र हो। मैले जिन्दगीमा जेजति कथा, उपन्यास, आख्यान पढेँ, पठनका लागि प्राप्त जेजति सामग्रीहरु पढेँ, त्यसमा सबभन्दा शक्तिशाली र मलाई प्रभावित पारेको पात्र स्पार्टाकस नै हो। अझै पनि त्यो पात्रको अनुहार मेरो आँखासामुन्ने नाचिरहन्छ, मेरो मस्तिष्कमा छाइरहन्छ। खञ्जर बोकिरहेको, अखडामा मर्नु र मार्नुको अभ्यास गरिरहेको, एकातिरको नाक काटिएको, कालो र तगडा त्यो आदि योद्धाको याद मलाई अझै पनि आउँछ।

निश्चित रुपमा, आजभन्दा दुई हजार वर्ष पहिलेको समाज कस्तो थियो होला ? हामी सहजै परिकल्पना गर्न सक्छौं। त्यतिबेला दासप्रथा चरम अवस्थामा थियो र मालिक र दासबीच ठुलो खाडल खनिएको थियो। त्यस्तो समयमा, मालिकहरुको दबदबा रहेको बेला मानव सभ्यताको इतिहास निर्माण गर्ने कार्यका कोसेढुंगा सावित हुन पुगेका पात्र थिए- स्पार्टाकस। तत्कालीन समयमा विद्रोहको प्रतीक थिए उनी। त्यो बेलाका एउटा डरलाग्दो विद्रोही पात्र।

नेपाली आख्यान साहित्यका पात्रहरुले मलाई खासै छुनसकेका छैनन्। तर पनि पारिजातको प्रसिद्ध कृति ‘शिरीषको फूल’ को पात्र सकम्बरी भने मलाई मनपर्ने पात्रमा पर्छिन्।

‘शिरीषको फूल’ लाई शून्यवादी उपन्यास भनिन्छ। सकम्बरीको चरित्र कस्तो छ भने उनी सधैँभरि जीवनको कुरा गर्छिन, जीवनको ऊहापोहको कुरा गर्छिन। तर अन्तिम समयमा भने एक चुम्बनले जीवनसँग नै पराजित हुन्छिन्। धेरै नै विरोधाभासपूर्ण छ, उनको जीवन चरित्र। त्यसैले पारिजातले शुरुमै लेखेकी छन्-
‘शिरीष-फूल
भ्रमर-चुम्बनमै
ओइली झर्छ।’

यो सकम्बरीकै कथा हो। र, मलाई प्रिय लाग्ने र प्रभावित तुल्याउने पात्रहरुमध्ये सकम्बरी पनि एक हुन्।

विदेशी साहित्यमा म्याक्सिम गोर्कीको ‘आमा’ मलाई मन परेको सिर्जनामा पर्दछ। मैले पढेका उपन्यासमध्ये यो अग्रपंक्तिमा नै आउँछ। उपन्यासका पात्रहरुमध्ये आमा र पावेल दुवै आदर्श र शक्तिशाली पात्र लाग्छन्। सामाजिक रुपान्तरणका लागि दुवै पात्रले खेलेको भूमिका बिर्सिनसक्नु छन्।

उपन्यासकार एवं राजनीतिज्ञ बीपी कोइरालाको चर्चित उपन्यास ‘सुम्निमा’ पनि मलाई मन परेको उपन्यासमध्ये पर्दछ। उक्त उपन्यासको पात्र सोमदत्त मलाई धेरै नै प्रिय लाग्दछ। सुम्निमाभन्दा पनि बढी प्रिय लाग्दछ- सोमदत्त।

निश्चय नै, सोमदत्तले एक किसिमको जिन्दगी बाँचेको छ। उसले अध्यात्मवादको कुरा गर्छ तर ऊ भित्रैदेखि खोक्रो छ। ऊ भौतिकवादको विरुद्धमा पनि लागेको हुन्छ। अनेक धर्मकर्म, पूजापाठमा निर्लिप्त हुन्छ। तर पनि ऊ भित्रैबाट खोक्रो छ।

उक्त उपन्यासको अन्त्यमा बीपीले भौतिकवादले विजय प्राप्त गरेको देखाएका छन्। उनले सोमदत्तलाई यस्तो चरित्रमा ढालेका छन्, जसका कारण पनि मलाई सोमदत्तको चरित्र मन परेको हो।

हुन त कतिपयले पौराणिक पात्रहरुले आफूलाई प्रभाव पारेको कुरा उल्लेख गर्छन्। महाभारत, रामायणजस्ता ग्रन्थमा उल्लेखित पात्रहरुले पारेको प्रभावबारे लेख्छन्, उल्लेख गर्छन्। तर मलाई भने पौराणिक पात्रहरुले जीवनमा खासै प्रभाव पारेनन्। ती पौराणिक ग्रन्थका पात्रहरुले मलाई प्रभाव पार्न नसक्नुमा ती ग्रन्थहरुप्रति मेरो कम अध्ययनकै प्रतिफल होलाजस्तो लाग्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved