रवीन्द्र मिश्रले राजनीतिबाट सन्यास लिनुपर्छ : मिलन पाण्डे (भिडिओ अन्तर्वार्ता)

जीवनमा म सबैभन्दा बढी वैचारिक रूपमा स्पष्ट भएको छु । म किन राजनीति गर्न आएको हुँ, मेरो लक्ष्य के हो भन्नेमा स्पष्ट भएको छु । मेरा साथीहरू पनि स्पष्ट हुनुभएको छ ।

आफूलाई नेपालको वैकल्पिक राजनीतिक दल दाबी गर्ने ‘विवेकशील साझा पार्टी’ चरम विवादमा फसेको छ।

एकपटक फुटेर २०७४ सालमा पुनः एकीकृत भएको यो पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रले गत साउनमा मार्ग परिवर्तन भन्दै ‘विचारभन्दा माथि देश’ शीर्षकको दस्तावेज ल्याएपछि विवाद शुरु भएको थियो। मिश्रले संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव राखेपछि विवाद चुलिएको हो।

त्यसको विपक्षमा रहेका पार्टीका संयोजक मिलन पाण्डेलाई उनले कारबाही गरेपछि विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको छ। यसैबीच मिश्रको समूहमा रहेकाहरूले नै उनले एकल निर्णय गरेको भन्दै १३ चैतमा स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्। उक्त असन्तुष्ट पक्षले १४ चैतमा निर्वाचन आयोगमा आफूले गरेको निर्णयको जानकारी पनि गराएको छ। यसै प्रसंगमा उक्त पार्टीको विवाद र भविष्यबारे संयोजक मिलन पाण्डेसँग लक्ष्मण श्रेष्ठले गरेको कुराकानी।

अहिले विवेकशील साझामा आइरहेको विवाद कहाँ पुगेको छ ? के यो पार्टी विघटनको दिशातिर हो ?

विवेकशील साझामा जब साउन ११ गते रवीन्द्र मिश्रजीले ‘विचारभन्दा माथि देश’, ‘मार्ग परिवर्तन’ भनेर पार्टीको मर्म विपरीत, एकीकरणको दस्तावेज विपरीत, संविधान विपरीत, युवा पुस्ताको चाहना विपरीत, भविष्य विपरीत, नेपाललाई अन्यौलमा लैजाने प्रयत्न गरेर, पार्टीलाई नै भाँडभैलोमा लैजाने प्रयत्न गरेर जुन दस्तावेज ल्याउनुभयो, त्यही विन्दुबाट पार्टीमा विवाद शुरु भएको हो।

उहाँले पार्टीको विधान र दस्तावेज नै परिवर्तन गर्नुभयो। त्यसको विरोध गर्दै हामी निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत पुगेका छौँ। उहाँले जुन दिनबाट एकल बैठक बोलाउनुभयो, त्यस दिनबाट हामी गएकै छैनौं। अहिलेको उहाँले नै विभिन्न पार्टीबाट ल्याउनुभएका, कन्भिन्स गर्नुभएका साथीहरू नै विपक्षमा उभिनुभएको छ।

हिजो जुन पक्षले ‘विचारभन्दा माथि देश’ भन्ने रवीन्द्रजीको प्रस्ताव मानेको थियो, त्यसैमा विवाद आएको हो। ‘विचारभन्दा माथि कुन तहसम्म जाने हो त ? राजावादी धारसँगै मिल्ने कि यतिमै सीमित रहने हो ? भन्ने विवाद हो। रवीन्द्र मिश्रकै गुटभित्रको विवाद हो।

अहिले पार्टीमा तपाईंहरूको पोजिसन कस्तो छ ?

रवीन्द्र मिश्रजीले म लगायत केही साथीहरूलाई कारबाही गर्नुभएको छ। हामी त्यसविरुद्ध अदालतसम्म पुगेका छौँ। मैले भर्खरै पाएको जानकारी अनुसार निर्वाचन आयोगले हामीलाई गरिएको कारबाही सदर गरिसकेको अवस्था छैन। अर्थात् निर्वाचन आयोगको डकुमेन्टमा अहिले पनि म संयोजक नै छु। साथीहरू अहिले पनि कायम नै हुनुहुन्छ। निर्वाचन आयोगको रेकर्ड अनुसार आधिकारिक रूपमा हामी पार्टीमै छौँ।

यो त कानूनी कुरा भयो। राजनीतिक रूपमा पार्टीभित्र तपाईंहरूको पोजिसन के छ ?

राजनीतिक रूपमा त झनै यो पार्टी हाम्रो हो। यो पार्टीको नाम नै ‘विवेकशील साझा’ कसरी रह्यो ? दुई ओटा पार्टी एकीकरण भएर हो। रवीन्द्रजीलाई अध्यक्ष र मलाई संयोजक बनाएको एकीकृत दस्तावेजलाई मानेर को अघि बढेको छ त ? त्यसको मर्मलाई कसले ‘क्यारी’ गर्छ त ? हाम्रो टिमले गर्छ। त्यसका लागि मेरो कुरा सुन्न, बुझ्न, पत्याउन पर्दैन, दस्तावेज हेरे पुग्छ। त्यसैले आधिकारिक रूपमा यो पार्टीको राजनीतिक लिडर हामी नै हौँ।

रवीन्द्र मिश्रले तपाईंहरूलाई कारबाही गर्दैगर्दा तपाईंकै शब्दमा ‘पार्टीको विधानविपरीत गएको हुनाले’ तपाईंहरूले कारबाही गर्न सक्नुहुन्थ्यो तर गर्नुभएन। यसले त तपाईंहरू अंकगणितीय रूपमा कमजोर हुनुहुन्छ भन्ने देखिँदैन र ?

तपाईंले त्यो भन्न सक्नुहुन्छ तर म मान्दिनँ। परीक्षण त हुनुपर्‍यो नि। रवीन्द्र मिश्रजीले ११ कात्तिकमा बैठक बोलाउनुभयो तर जुममा। त्यतिबेला कोभिड महामारी थिएन। ठूला पार्टीहरूको आमसभा, सम्मेलन, महाधिवेशन भइरहेको थियो। तर उहाँले जुम बैठकको लिंक पठाउनुभयो। लिंक आएपछि त जो पनि के रै’छ भनेर छिर्छ। त्यसरी गएका मानिसहरूको ‘स्क्रिनसट’ लिएर निर्वाचन आयोगमा जानुभयो। यसरी उहाँले किर्ते दस्तावेज बुझाउनुभयो। त्यसमा कसैको हस्ताक्षर छैन। एकल हस्ताक्षर गर्नुभयो। कतिपय साथीले ‘सहभागी नै नहुँदा पनि मेरो नाम राखियो’ भनेर गुनासो गरिरहेछन्।

तर निर्वाचन आयोगले रहस्यमय ढंगले उहाँको दाबी सदर गर्‍यो। त्यसको विपक्षमा हामी अदालत गएका छौँ। रवीन्द्रजीले आफूसँग ९१ जना केन्द्रीय सदस्य भएको दाबी गर्नुभएको छ। मैले बारम्बार भनेको छु, उहाँले त्यो प्रमाणित गर्नुभयो भने धन्यवाद दिएर हिँड्नेछु। प्रमाणित त गर्नुपर्‍यो नि !

एक जना मानिसले हस्ताक्षर गरेको विषय नमान्न पनि पाउँछ भन्ने मेरो कल्पनामा पनि थिएन। मैले सुसंस्कृत राजनीतिमा विश्वास गर्थेँ, कुसंस्कृत राजनीतिमा म हारेँ।

तपाईंहरू अहिले पार्टीभित्र वैधताको लडाइँ लडिरहनुभएको छ भन्न मिल्छ ?

कानूनी रूपमा हेर्दा, त्यो पनि भन्न मिल्ला। तर पार्टीको मर्म अनुसार को अगाडि बढ्ने भन्ने हो। तर रवीन्द्र मिश्रले वैकल्पिक राजनीति गिजोल्नुभयो। रवीन्द्र मिश्र रहेसम्म वैकल्पिक राजनीति माथि उठ्ला भन्ने लाग्दैन। अहिले मैले समाचारमा जे देखिरहेछु, त्यो प्रमाणित होला। उहाँको पक्षमा रहेका ९५ जनाले नै कारबाही गर्नुपर्छ भनेर पत्र लेखेका छन्। निर्वाचन आयोगमा पुगेका छन्। यो साँचो हो भने, रवीन्द्र मिश्रले राजीनामा दिएर पनि पुग्दैन। उहाँले संन्यास लिनुपर्छ। राम्रो पत्र लेख्ने, मिठो भाषामा लेख्ने, ‘विचार भन्दा माथि देश’ भन्ने राखे पनि हुन्छ, अनि संन्यास लिने। उहाँ मेरो मित्र, नेता हुनुहुन्छ। उहाँको भलाई राजनीतिबाट संन्यास लिएर किताब लेखे हुन्छ। किताबको शीर्षक पनि म दिन्छु– ‘मेरो असफल राजनीति’। त्यो किताबचाहिँ सफल हुन्छ।

तपाईं यसो भन्दै हुनुहुन्छ तर आज बिहानमात्रै रवीन्द्रजीले एउटा पत्र लेख्नुभएको छ। त्यो हेर्दा उहाँ संन्यास लिने मनस्थितिमा देखिनुहुन्न। बरु तपाईंहरूले जुन पार्टी गठन गर्नुभएको थियो, त्यो नै एक दशक नपुग्दा दोस्रोपटक विभाजन हुने स्थितिमा पुगेको छ। तपाईंहरू नै राजनीतिबाट अलग्गिनुपर्ने स्थिति पो आएको हो कि ?

त्यो त सम्भव छैन। राजनीति शुरु गर्दाखेरी हाम्रो दिमागमा नेता भनेको शेरबहादुर देउवा थिए। त्यत्रा खेलाडी, ०५१/५२ सालदेखिको। केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’हरूसँग संघर्ष गर्न भनेर आएको। मानमर्दन गर्न खोजेको होइन तर रवीन्द्र मिश्रलाई त हामी काउन्ट नै गर्दैनौँ। स्थापित ठूला पार्टीसँग संघर्ष गर्न आएको हामी रवीन्द्र मिश्रसँग डराएर भाग्छौँ त ?

रवीन्द्र मिश्रसँग काउन्टर गर्न त नडराउनुहोला तर तपाईंको राजनीति उनीसँग लडाइँ गर्नेमै सीमित हुन्छ कि वैकल्पिक राजनीतिलाई अर्को ढंगले अगाडि बढाउनुहुन्छ ?

दुई जना मान्छेले अँगालो हालेर हिँडिरहेका छन्, एउटाले झापड हान्दा रियाक्ट त गरिहाल्छ। त्यहीँ भएको हो। मिलेर पार्टी बनाएर हिँडेको हामी तर अर्को एकजना मार्ग परिवर्तन गर्दै हुनुहुन्छ। यो गलत हो। उहाँले गलत गर्नुभयो भनेर आम नागरिकले बुझ्न जरुरी छ। हिजो लोकमानसिंह कार्कीले गलत गर्दा हामी सडकमा आयौँ त। अन्याय, बेथितीविरुद्ध लड्यौँ नि त। निर्मला पन्तलाई अन्याय भयो, हामी सडकमा आयौं। आज हाम्रो पार्टीलाई अन्याय भएको छ। हाम्रा साथीहरूलाई अन्याय भएको छ। हाम्रा साथीहरूले फेसबुकमा लेखिरहनुभएको छ– रवीन्द्र मिश्रलाई पत्याएर गल्ती गर्‍यौँ। त्यो पढ्दा रुन मनलाग्छ। त्यसैले एक हदसम्म लड्ने हो। रवीन्द्र मिश्रले ९१ जना पुगे भनेर पार्टीको विधान परिवर्तन गर्नुभयो। मलाई कारबाही गर्नुभयो। आज त्यही अंकगणितको खेलमा उहाँ आफै फस्नुभएको छ। त्यो भएको ६ महिना पनि भएको छैन। मैले त एक, डेढ वर्षसम्म लड्नुपर्ला भनेको थिएँ। ६ महिना पनि नपुगी उहाँ आफै अंकगणितमा फस्नुभएको छ। अहिले समाचारमा आए अनुसार उहाँ अल्पमतमा हुनुहुन्छ। उहाँ आफ्नै ट्रयापमा पर्नुभयो। उहाँले आफ्नो टिमलाई जे सिकाउनुभयो, उहाँको टिमले त्यही लागू गरेर उहाँलाई कारबाही गरेको छ।

हामीले यो चरणबाट पार्टीलाई माथि लैजान सक्यौँ भने यो झनै बलियो हुन्छ। पार्टीको प्रतिरक्षा प्रणाली बलियो हुन्छ।

खासगरी तपाईं र रवीन्द्रजीबीच विवाद राजनीतिक दिशाबारे छ। तर तपाईंहरू त एकपटक फुटेर जोडिनुभएको हो। त्यसरी पुनः एकीकरण हुँदा यी विषयमा धारणा बनाइएको थिएन ?

थियो। दुई तरिकाले तय गरिएको थियो। एउटा, विवेकशील साझा एकीकरण गर्दाको घोषणापत्र बनाउँदा पार्टी कस्तो बनाउने भन्नेबारे हामीले ६ महिना वार्ता गरेका थियौँ। त्यसमा ‘प्रगतिशील, अग्रगामी, संविधानवादलाई पूर्णतः पालना गर्ने पार्टी बनाउने’ भनेका छौँ।

त्यतिले नपुगेर हामीले ‘विगतका आन्दोलनको उपलब्धिलाई रक्षा गर्ने’ भनेर लेखेका छौँ। रवीन्द्रजी त्यसमा चार महिना पनि टिक्न सक्नुभएन। अब तपाईंले मलाई प्रश्न गर्न सक्नुहुन्छ, ‘रवीन्द्र मिश्रको बारेमा पहिले नै गाइँगुँई थियो, किन पत्याइस् ?’ म आम शुभेच्छुक र पार्टीका साथीहरूसँग मैले उहाँले गरेको हस्ताक्षर पत्याउनु गल्ती हो भन्ने स्विकार्छु। मैले उहाँलाई पत्याउनु नै गल्ती हो भने ठूलो गल्ती भयो। तर म त लोकतन्त्रमा विश्वास गर्छु। त्यसैले म एग्रिमेन्ट (सम्झौता)मा विश्वास गर्छु। घोषणापत्रको आधारमा मत पाएर लागू गर्ने व्यवस्था हो लोकतन्त्र, म त्यसमा विश्वास गर्छु। एक जना मानिसले हस्ताक्षर गरेको विषय नमान्न पनि पाउँछ भन्ने मेरो कल्पनामा पनि थिएन। मैले सुसंस्कृत राजनीतिमा विश्वास गर्थेँ, कुसंस्कृत राजनीतिमा म हारेँ।

नेपालमा भइरहेको राजनीतिप्रति वितृष्णा जागेर, नयाँ तरिकाले काम गर्छौँ भनेर नयाँ पार्टी बनाउनुभएको थियो। तर यो पार्टीमा यतिधेरै अलमल देख्दा लाग्छ कतै हाम्रो देशमा वैकल्पिक राजनीतिको आधार नबनिसकेको हो कि ? वा तपाईंहरूको राजनीति यात्रालाई पुनर्विचार गर्नुपर्ने अवस्था आएको हो ?

पुनर्विचारको विषयमा, म गहिरो आत्मसमीक्षा गनुपर्ने बेला आएको छ भन्छु। एक दशक पनि भयो। नेपालमा आत्मसमीक्षा गर्ने अभ्यास कम छ। त्यसैले हामीले चैतदेखि वैशाखको पहिलो हप्तासम्मलाई आत्मसमीक्षा गर्ने भनेका छौँ। पुराना साथीलाई भेट्ने तय गरेका छौँ। जहाँसम्म नेपालमा वैकल्पिक राजनीति असफल भयो कि भन्ने प्रश्न छ, त्यस्तो होइन।

केजरीवालकै उदाहरण दिन्छु। केजरीवालले पार्टी खोल्नुभन्दा १०, १२ वर्ष पहिलादेखि अभियान चलाउनुभएको थियो। हामीले चाहिँ पार्टी खोलिहाल्यौँ। त्यसलाई पनि अभियान नै भन्न सकिन्छ तर हामी निर्वाचन आयोगमा दर्ता भइहाल्यौँ। केजरीवालको त्यो १२ वर्षको संघर्ष पनि त हेर्नुपर्‍यो नि। इमरान खानलाई पनि सत्तामा पुग्न २१ वर्ष लाग्यो। त्यहाँ पनि यस्तो भयो होला नी त ! अहिले हामीले उहाँहरूको सफलतामात्र हेरिरहेछौँ।

मैले बिम्बमा यस्तो भन्ने गरेको छु– सकेसम्म कोरोना नलागेको भए हुने। लाग्यो। अब मर्नचाहिँ भएन। कोरोना लागेपछि त प्रतिरक्षा प्रणाली बलियो हुन्छ। त्यस्तै हो। हामीले यो चरणबाट पार्टीलाई माथि लैजान सक्यौँ भने यो झनै बलियो हुन्छ। पार्टीको प्रतिरक्षा प्रणाली बलियो हुन्छ। त्यसैले यो विवादले हाम्रा साथीहरू वैचारिक रूपमा थप स्पष्ट भए। विवेकशील साझा पार्टीभित्रका कुन व्यक्तिले कस्तो सोच राख्छ भन्ने थाहा पाए। यही विवाद संसद्‍‌मा पुगेर भएको भए देशलाई घाटा हुन्थ्यो। अहिले हाम्रो आशा मात्र गिजोलियो। त्यसैले मलाई नुहुनुपर्थ्यो भयो तर ठीकै भयो भन्ने लाग्छ। यसले हामीलाई वैचारिक रूपमा थप स्पष्ट बनाउनेछ। जीवनमा म सबैभन्दा बढी वैचारिक रूपमा स्पष्ट भएको छु। म किन राजनीति गर्न आएको हुँ, मेरो लक्ष्य के हो भन्नेमा स्पष्ट भएको छु। मेरा साथीहरू पनि स्पष्ट हुनुभएको छ।

तपाईंले अघि ‘आत्मसमीक्षा गर्दैछौँ’ भन्नुभयो। व्यक्तिगत रूपमा आत्मसमीक्षा गर्दा, आजको स्थितिसम्म आइपुग्दा आफूले के सही गरेँ र के गलत गरेँ भन्ने लागिरहेको छ?

सहीको मामिलामा मैले कुनै पनि प्रसंगमा भोट कति आउँछ, पार्टीभित्र बहुमतमा हुन्छु कि अल्पमतमा भनेर हिसाब गरेर विचार बदलिनँ। मलाई उज्ज्वल (थापा) दाईले जे सिकाउनुभएको थियो, विवेकशील पार्टीले जे सिकाएको थियो, त्यसमा म चुकेको छैन।

होला म अंकगणितमा चुकेको हुँला तर विचारमा चुकेको छैन। अर्कोतर्फ, मैले साथीहरूलाई किन विश्वासमा लिन सकिनँ ? म कहाँनेर चुकेँ ? मेरो लिडरसिपमा कहाँ कस्तो कमीकमजोरी रहे भन्ने हेर्नुपर्छ। तपाईंले इंगित गरेजस्तो, रवीन्द्रजीलाई चिन्न नै गल्ती गरेँ कि भनेर आत्मसमीक्षा गर्नुपर्छ। उहाँलाई मैले जसरी विश्वास गरेँ त्यसमा म चुकेँ भन्ने लाग्छ।

यद्यपि यो मेरा लागि एउटा सिकाइ रह्यो। यसबाट पाएको ज्ञानलाई आत्मसात गर्दै अझ परिपक्व हुँदै अगाडि बढ्छु र पार्टीले दिएको भूमिका पूरा गर्दै वैकल्पिक राजनीतिलाई अगाडि बढाउँछु भन्ने आत्मविश्वासचाहिँ छ।

विवेकशील साझा भन्ने पार्टी रहिरहन्छ कि रहँदैन ? कि अर्को पार्टी गठन गर्नुहुन्छ ?

नाम, चुनाव चिन्ह दोस्रो प्राथमिकताका विषय रहेछन्। विचारको रूपमा भने यो पार्टी रहिरहन्छ। म हाम्रो समूहमा रहनुभएका युवा साथीहरूको विश्वास बढी गर्छु। अहिले म आफैँ ३०, ३२ वर्षको भएँ। हाम्रो पार्टीमा २५ वर्षका युवाहरू पनि नेतृत्व लिन तयार छन्। त्यसैले यो पार्टी रहिरहन्छ।

त्यति मात्र होइन, ५, १० वर्षमै यसले सत्ता सम्हालेर डेलिभर गर्छ भन्ने विश्वास गर्छु। त्यो विश्वास भएर न लागिरहेको छु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved