प्रिय कथा

…अनि उसले नयाँ विधि रच्यो

आमाले कपाल सुम्सुम्याउँदै भनेकी थिइन्, “छोरा, बाँचुन्जेलको माया र रेखदेख पो धर्म हो। मरेपछि त कसले के पो देखेको छ र ! तिमी समाजसँग जुझ्ने आँट गर्छौ भने मेरो किरिया र श्राद्ध नगर्नू। बरु असहाय अरू आमाहरूको सेवा गर्नू।”

…अनि उसले नयाँ विधि रच्यो

(रचनागर्भ- यो कथामा प्रस्तुत विषयवस्तु सानो उमेरदेखि मेरो मनभित्र परेको छापको विम्बात्मक प्रस्तुति हो। मेरो बुवा श्री दुर्गाप्रसाद दाहालले म सानो उमेरको हुँदादेखि नै मभित्र साँस्कृतिक रुपान्तरणको चेतना दिनुभएको थियो। काज किरिया गर्दा निधन भएका मातापिताका नाममा पिण्ड लडाउने काम अन्धविश्वास हो भन्ने कुरा उहाँले मानिसहरूसँग भन्नुहुन्थ्यो। किरिया पनि तेह्र दिन होइन, तीन दिन गर्दा हुन्छ भन्दै आफन्तहरूसँग बहस पनि गर्नुहुन्थ्यो। म उहाँका यी कुराहरू सुनिरहन्थेँ। बुबाको त्यही कुराले मनभित्र अमिट छाप छोडेको थियो। “…अनि उसले नयाँ विधि रच्यो” कथा त्यही साँस्कृतिक रुपान्तरणको छाप जोडिएको कथा हो।

मानिस अजर अमर छैन। जसको औंलो समाएर हिँड्न सिकिन्छ, जसको काखमा लुटुपुटु गरेर हुर्किइन्छ, एकदिन उसलाई छोड्नु नै पर्छ। आमाबुबाहरूलाई सन्तानले बाँचुन्जेल सुख र खुसी दिनुपर्छ। मरेपछि त केही गर्छु भनेर पनि पाइन्न र मरेपछिको पिण्डदानको कुनै अर्थ पनि छैन। त्यसैले मरेपछि गरिने धार्मिक आडम्बर र बैतर्णी तार्ने अन्धविश्वासमा बस्न हुन्न। बाँचेकै बेलामा हो माया, सम्मान दिने भनेको। मृतकको काजकिरिया वैज्ञानिक मान्यताका साथ गरिनुपर्छ भन्ने भाव मैले यस कथामा पस्किन खोजेको छु।

कथाको पात्र किरणले यथास्थितिका विरुद्ध विद्रोह गरेको छ। हतियारका बलमा गरिने विद्रोह भन्दा साँस्कृतिक हस्तक्षेपको माध्यमबाट गरिने विद्रोह नै वास्तवमा समाज रुपान्तरणका लागि दिगो हुन्छ भन्ने आशय मैले पोख्न खोजेको छु। साँस्कृतिक रुपान्तरणका कुराहरू सोझो ढंगले राख्दा पाठकले पचाउन सक्दैन। कथाका माध्यमबाट घटनाबोध गराउन सकियो भने त्यसले पाठकको मनभित्रको अन्तरकुन्तरलाई छुन्छ भन्ने मेरो विश्वास हो। कथाको अन्त्यतिर वरिष्ठ साहित्यकार पारिजातले आफ्नो शिरमाथि लेनिनको तस्वीर राखेर शवयात्रा गराउनु भन्नुभएको प्रसंग मैले यसकारण पनि राखेको छु कि धार्मिक अमूर्त पात्रहरूलाई होइन, यस जगतका मूर्त र जीवनशील पात्रहरूलाई श्रद्धाको केन्द्र बनाउनुपर्छ।)

सानो एक तले पक्कीघर छ। अगाडिपट्टि थोरै आँगन छ। आँगनको वरिपरि फूलहरू फुलेका छन राता, पहेँला, सुन्तले विभिन्न खालका। मानिसहरू झुरुप्प भेला भएका छन्। महिलाहरू काखमा बच्चा चेपेर पनि आएका छन्, बुढाबुढीहरू पनि छन् अनि तन्नेरीहरू ढोकाभित्र बाहिर गर्दैछन्।

“लौ अब समय आई नै सक्यो चाँडै बाहिर निकाल्नुपर्‍यो।” अलि अधबैंसे मानिसले अलि ठूलो आवाजमा बोल्यो घरभित्रबाट। एकजना फुत्त बाहिर निस्कियो अनि आँगन वरपर आँखा घुमायो।

“खै त ? यहाँ त तुलसीको मोठ पनि रैन’छ। कतिबिघ्न हेलचेक्र्‍याइँ छ यो घरमा !” दाहिने हत्केलालाई फरक्क फर्काउँदै बाहिर निस्कने त्यो मानिसले आफैँआफैँमा कुरा गरेर फेरि भित्र पस्यो।

त्यो मानिस भित्र पसेको अलिबेरमा एउटा बाह्र पन्ध्र वर्षको जस्तो लाग्ने केटा खुरुर्र दौडँदै छिमेकीकोमा गयो। अनि ठसठस कन्दै तुलसीको बिरुवा रोपेको ठूलो गमला बोकेर ल्यायो अनि आँगनको पूर्वपट्टिको छेउमा राख्यो।

“लौ ! तुलसीको बिरुवा आयो। चाँडै गरौं, भित्रै सास नजाओस्।” अर्को आवाज आयो।

एकैछिनमा भित्रबाट केही मानिसहरूले झण्टाङ्गझुण्टुङ्ग पार्दै एउटा महिलाको शरीरलाई बाहिर निकाले। झण्डै पैंसठ्ठी पुग्न लागे जस्तो लाग्ने महिला मुख आँ गर्दै हिक्कहिक्क गरिरहेकी थिइन्। उनीहरूले त्यो वृद्धालाई तुलसीको मोठ भएको गमलातिर मुख पर्ने गरी पूर्व-पश्चिम फर्काएर राखे। त्यहाँ आएका सबै झुरुप्प त्यतै घेरा हाल्न गए।

“ल ल, सास गई त हाल्यो। धन्न तुलसीको वायुस्पर्श पाइन् आमाले।” अर्कोले भन्यो। गाउँघरका भेला भएका महिलाहरूले साँक्कसुँक्क गर्दे मजेत्रोले आँखा पुस्न थाले।

“किरण बाबु ! सबैको यस्तै हो जाने-आउने थिति। दुःख मानेर पनि हुने रहेनछ।” एकजना पाको मानिसले छेउमा घुँडा टेकेर बसेको मानिसलाई ढाडमा थप्थपाउँदै भन्यो।

घुँडा टेकेर बसेको त्यो मानिस अर्थात किरणका आँखा रसिला थिए। ऊ त्यो शवको अनुहारलाई एकटकले हेरिरहेको थियो।

“आमा ! म हजुरको आँखामा कहिल्यै आँसु आउन दिन्न। जसरी हजुरले मलाई यतिको बनाउन दुःख गर्नुभयो, अब हजुरलाई सुखी र खुशी राख्ने दायित्व मेरो हो…, तर हजुरले मेरो एउटा आग्रह मान्नु पर्छ है …”

“हवस् छोरा।”

घरमा पटक पटक आफू र आमाबीच हुने गरेको भलाकुसारी किरणको मस्तिष्कमा मडारियो। उसले बिस्तारै आफ्नो दाहिने हात उचाल्यो अनि आमाको निधार देखि च्युँडोसम्म दायाँ-बायाँ दुवैतिरबाट सुम्सुम्यायो- दुई तीन पटक। आँखाबाट आँसु बरर्र झरे उसका। कसरी आँसु नझरोस्, आखिर आमा पो हुन् उसको। संसारमा छोराछोरीलाई सबैभन्दा निःस्वार्थ प्रेम दिने प्रेमको प्रतीक हो आमा। गर्भमा नौ महीना आमाकै अवयवहरू पिएर संसार देख्न योग्य हुन्छ अनि आमाकै स्तनपानले हृष्टपुष्ट हुन्छ अनि आमाकै स्याहार र शिक्षाले योग्य बन्छ अनि आमाकै काखमा लुट्पुटिएर पहिलो माया पाउँछ मानिसले। मायाको खानी हो आमा।

किरणले आमाको हत्केला मुसार्‍यो। तिनै हत्केलाले कोखाइ-कोखाइ गरेकी हुन् अनि प्याट्टपुट्ट गालामा हिर्काएर सभ्य बन्न सिकाएकी हुन्। उसले हत्केलालाई एकपटक म्वाइँ खायो अनि सुँक्कसुँक्क गर्न थाल्यो।

“अब शवलाई उठाउनु पर्छ।” कुराकानी चल्यो। एकै क्षणमा हरियो बाँस आयो, कात्रो आयो, शंखको एकोहोरो ध्वनि बज्यो अनि सबै हिँडे ‘राम नाम सत्य हो’ भन्दै।

किरण पनि शवलाई अगाडिपट्टिबाट बोकेर खाली खुट्टाले हिँड्यो। उसको काकाको छोराले सघायो शव बोक्न उसलाई। सिंघिया खोलाको किनारमा शवका लागि चिता बनाए गाउँलेहरू मिलेर। चितामा किरणकी आमाको शव आँखा चिम्लिएर लमतन्न परेको थियो। किरणले चिताको वरपर परिक्रमा गर्‍यो अनि एकफेर अन्तिम दर्शन गर्‍यो आमाको। हातले शवको गाला सुम्सुम्यायो। निर्जीव बनेको शवको गालामा आफ्ना ओठका धब्बाहरूको स्पर्श गर्‍यो उसले। सानो छँदा आमाको गालामा दिनको कत्तिपल्ट उसले म्वाइँ खान्थ्यो।

चिता जल्यो। प्यारी आमाको मुखमै आगो धस्नुपर्‍यो उसले। आगो सल्कनासाथ ऊ दुवै हातले आँखादेखि गालासम्म छोपेर थचक्क बस्यो भुइँमा।

केही महीना अघिको कुरा त हो। ऊ कलेजको परीक्षा दिने तयारीमा गहिरो अध्ययन गरिरहेको थियो। राति झण्डै साढे एघार बजे आमाले दूध उमालेर उसको टेबुलमा ल्याइदिएकी थिइन्। सधैँ गर्थिन् उनले यस्तो। त्यो बेला खै के भयो कुन्नी गिलास टेबुलमा राख्न लाग्दा हातबाट खुस्किएर उनको खुट्टामा उम्लिएको दुध पोखियो। हतारहतार किरणले चिसो पानी खन्याएर आमाको खुट्टामा मल्हम लगाएको थियो। आमाको मुखबाट निस्किएको ‘आत्था !’ को आवाजले उसको मुटु कुटुक्क खाएको थियो। आज निर्जीव बनेकी आमा दन्दनी बलेको आफ्नै आँखाले हेर्नुपरेको छ। सम्वेदनाहीन छ त्यो आमाको शव अनि सम्वेदनाहीन छ स्पर्श।

त्यतिबेला खुट्टामा मल्हम लगाउदा आमाले भनेकी थिइन् “छोरा। भयो पर्दैन।”

उसले पनि अलि ठुस्केको आवाजमा भनेको थियो, “हजुरले सानामा जति गर्नुभयो, अब त मेरो पालो हो नि।” उसको आवाज सुनेर आमाले कपाल मुसार्दै भनेकी थिइन् “तिम्रै माया र आशामा त बाँचेकी छु म।” त्यतिबेला किरणले फेरि पनि दोहोर्‍याएको थियो, “अब हजुरलाई सुखी र खुशी राख्ने दायित्व मेरो हो… तर हजुरले मेरो एउटा आग्रह मान्नु पर्छ है …।” उसको कुरा सुनेर आमा मुसुक्क मुस्कुराएकी थिइन्।

“किरण भाइ, उठ अब। किरिया कर्म गर्नतिर लाग्नुपर्छ।” फुपूको छोराले कुममा कोट्याउँदै बोलाएपछि किरण अतितको संसारबाट झल्याँस्स भयो। किरिया कर्म कता गर्ने, पण्डित्याइँ कसले गर्ने भन्ने कुरा चल्न थालिसकेको रहेछ।

“आऊ, यहीँ खोला किनारमा मुण्डन गर्नु पर्छ।” एकजना अधबैंसे मानिसले भन्यो।

किरणले उसको अनुहारमा हेर्‍यो अनि बिस्तारै भन्यो, “म कपाल खौरिन्न।”

“के रे ? यस्तो अनिष्ट कुरा नगर बाबु !” उसले भन्यो अनि त्यहाँ भएका अरूलाई पनि सुनायो। भेला भएका केही मानिसहरू छेउमा आए अनि कपाल खौरन आग्रह गर्न थाले। उसले आफ्नो जिद्दी छोडेन। धेरैका धेरै कुरा सुनेपछि उसले बोल्यो, “हेर्नुस, दाहसंस्कार गर्ने बेलासम्म तपाईंहरूको चाहना अनुसार भयो। किनकि, तपाईंहरू पनि मेरो आमाको नातेदार र आफन्त हुनुहुन्थ्यो तर अब किरिया बस्ने काम त म छोराको मात्र हो अनि म मेरो विचार अनुसार गर्छु।”

“ए बाबु ! कुरा त सम्झ। तिम्रो यो जिद्दीले गर्दा समाज भाँडिन्छ। भोलि मेरो, उसको, त्यसको, सबैकाले यो सिको गर्न थाले भने हाम्रो संस्कार, सभ्यता कता जान्छ ? लौ भन त !” अर्का नजिकका नाता पर्नेले गुनासो गर्दै भने।

“संस्कार त त्यो टिक्नु पर्छ जुन वैज्ञानिक छ, कुसंस्कारलाई हाम्रो सभ्यता नभन्नुहोस्।” उसले फेरि भन्यो। उता शव जलिसकेको छैन यता संस्कारगत अहंको लहरो तान्ने तर्क शुरु हुन थाल्यो। धेरैबेरसम्मको गलफत्तीपछि किरणले अनुहार रातोरातो पार्दै जोडसँग चिच्यायो, “मेरी आमा चितामा जलिरहेकी छिन्, मेरो सबैभन्दा प्यारी आमा…, मैले बाँचुन्जेल मेरी आमालाई कति माया गरें भन्ने तपाईंहरूले लेखाजोखा गर्नुभएको छ ?”

सन्नाटा छायो वरपर। पुरातन तर्क तेस्र्याएर संस्कार जोगाउन गनगन गर्नेहरू मौन भए, एकदम मौन। किरणले आँखाबाट बगेको आँसु पुछ्यो। अनि बिस्तारै बगिरहेको खोलातिर हेर्‍यो। खोलाको वेग थिएन, केवल उत्तरबाट दक्षिणतिर बगेको हो कि जस्तो मात्र देखिन्थ्यो। मधेसमा आए पछि सानातिना सुक्न लागेका खोलाहरूको चाल यस्तै हुन्छ।

त्यसपछि ऊ जुरुक्क उठ्यो अनि अस्ताउने तरखरमा रहेको तर अस्ताइनसकेको घामलाई झट्ट हेर्‍यो। अनि खोलामा गई मज्जाले अनुहार धोयो, कपाल भिजायो। त्यहाँ आएका सबै मौन भएर चिताकै वरपर उभिइरहे।

अनुहार धोइसकेर किरण फेरि चिता जलिरहेको ठाउँमा आयो।

“मैले आमालाई दिनुपर्ने माया, कर्तव्य, संस्कार सबै बाँचेकै बेला दिइसकेको छु। मरेपछि किरिया गर्छु गर्दिन या कसरी गर्छु भनेर आमा र मबीच सबै भइसकेको छ। तपाईंहरू मलाई मेरो विचारधारा अनुसार कार्य गर्न दिनुहुन्छ कि आडम्बरी संस्कारका कुरा थोपरेर मलाई थप आहत पार्नु हुन्छ ?” उसले अझै ठूलै आवाजमा प्रश्न गर्‍यो।

सबै चुप भए। केही युवाहरू किरणको पक्षमा कुरा ठीक हो भन्दै सहमति दिन अघि सरे।

“चुनावमा कम्युनिष्टको प्रचार गर्थ्यो। साँच्चिकैको कम्युनिष्ट भएछ यो त।” एकजना आफन्तले दिग्दारीको भाव व्यक्त गर्‍यो।

“कहाँ कम्युनिष्ट मात्र हुनु नि। माओवादी पो हुन् रे भन्ने सुनेको छु। खै कता हो एउटा गोष्ठीमा सांस्कृतिक क्रान्ति घरघरबाट शुरु गर्नु पर्छ भनेर कुरा राखेका थिए रे भन्ने छ महीना अगाडि नै मैले सुनेको थिएँ।” फुपूको छोरा पर्नेले त्यहाँ बिस्तारै बतायो।

“हो हो। पक्कै हो। प्रचण्डले पनि किरिया गरेको थिएन बाउ मर्दा।” अर्कोले उसको कुरामा गतिलो तर्क पेश गर्‍यो।

“किरिया त बीपी कोइराला र डिल्लीरमण रेग्मी जस्ता प्रजातन्त्रवादीले पनि गरेका थिएनन् नि उसो त।” कम्युनिष्ट पार्टीको सदस्य भनेर गाउँमा चिनिएको तर जातपात, उँचोनिचोको चलन अझै मान्नुपर्छ भन्ने अर्को एकजनालाई अलिकति जंग चलेछ, प्याच्च बोल्यो।

मलामीमा आएकाहरू एकछिन एकआपसमा छलफल गरे अनि त्यहाँबाट हिँडे। किरणको साथमा दश बाह्र जनाजति युवाहरू रहे। किरणकै विचारबाट प्रभावित उनीहरू किरणलाई साथ दिन अघि सरे।

चिता जलेर खरानी भयो। किरण र उसका केही युवा साथीहरू खोलाको पानीले चिता सफा गरेर फर्के।

घरमा पनि ती केही युवा साथीहरू मात्र साथ दिन बसे। घरमा एउटा कोठाका सबै सामान झिकेर उनीहरूले अर्को कोठामा राखे अनि त्यो कोठामा गुन्द्री ओछ्याए अनि केही भागमा डस्ना राखेर सुत्ने ओछ्यान बनाए। किरणले पूर्वपट्टिको झ्यालतिर ओछ्यान बनायो अनि अरू साथीहरू चाहिँ पश्चिमपट्टि ढोका भएतिर सुते।

भोलिपल्ट बिहान भए पनि गाउँका मानिसहरू सान्त्वना दिन आएनन्। कोहीकोहीमात्र आए।

“त्यो धर्मछाडा किरणेको कहिल्यै भलो हुन्न। आमाको आत्मालाई समेत परमात्मासँग मिल्न दिएन। कत्ति असत्ति केटो रहेछ।” यस्ता कुराहरू गर्न थाले घरघरमा।

यता किरण साथीहरूसँग छलफलमा थियो। आमाको मृत्युको पीडा त छँदै थियो तर पनि सामाजिक परिवेशसँग जुझेर विज्ञानको सत्य स्थापित गर्नु उसको अर्को ध्येय थियो।

“साथी ! तिमी निदाएको बेला कहाँ पुगेका हुन्छौ ?” उसले सोध्यो।

“खै ! निदाएको बेला त केही होस नै हुन्न नि।”

“निदाउँदा हाम्रो मस्तिष्कले पनि आराम गरेको हुन्छ। त्यस्तो बेलामा तिमी-हामी जसरी अचेत जस्तो हुन्छौ नि ठीक त्यस्तै हो मर्नु पनि। अझ त्यो बेला त मस्तिष्क समेत मरेको हुन्छ।” किरणले भन्यो।

“तिमीहरूले पनि घरमा खसी मार हानेका होलाऊ, हैन ?” किरणले फेरि पनि प्रश्न गर्‍यो।

“दशैंका बेलामा त मैले नै घरमा एउटा अनि काकाकोमा अर्को गरी दुईटा ढालेको थिएँ।” काले काले वर्णको केटाले उत्तर दियो।

“तिमीलाई ती खसीका भुतहरूले कहिल्यै तर्साएन ?” किरणले फेरि सोध्यो।

“खसीको पनि भुत ? हा हा हा…” त्यो काले काले वर्णको केटा हाँस्यो।

“हो ! जसरी मारेका खसीबोकाहरू भुत बन्दैनन् त्यसरी नै मरेका मान्छेहरू पनि भुत प्रेत बन्दैनन्। यो सब भ्रम हो। ठगिखाने शास्त्रको नियम।” किरणले तर्कहरू राख्दै साथीहरूको चेतनालाई वैज्ञानिक पार्न खोजिरह्यो।

टोलमा उसको गतिविधिले कतिपयको टाउको दुखेको थियो।

“ए बाबा ! त्यस्तो गर्नु भन्दा त बरु छोटोमिठो विधि म तयार गर्थें। वैतर्णी तारेपछि त भै’हाल्थ्यो नि।” निधारमा ठाडो चन्दन लगाएको उपाध्याय ब्राह्मण कुर्लिँदै हिँड्यो टोलभरि।

किरणको टाउकोमा सेतो फेटा थियो। उसले सेतो कमिज र सुरुवाल लगाएको थियो। सेतो रङ्ग सबैले मानिआएको शान्तिको प्रतीक हो भन्ने उसको ठहर्‍याई रह्यो। आफ्नो ओछ्यानतिर फर्काएर उसले आमाको माला ओढाइदिएको ठूलो फ्रेमवाला तस्वीर कुर्सीमा अड्याएर राखेको थियो अनि फोटोमा अविर र फूलहरू थिए। कोठा छिर्ने बित्तिकै भित्तामा सोझै देखिने गरी ऊ र उसका साथीहरूले ठूलो फ्ल्याक्स पेपर टाँगेका थिए। त्यसमा ठूलाठूला अक्षरले ‘वर्ग विभाजनलाई कायम राख्न बनाइएका आध्यात्मिक संस्कारहरू जबसम्म तोडिन्न, तबसम्म मानिसको वास्तविक मुक्ति सम्भव नै छैन’ भनेर लेखिएको थियो।

यी अक्षरहरू नै परम्परागत समाजका अगुवाहरूका लागि बन्दुकको गोली बनेको थियो। केही आफन्तहरू बाहेक अरू कोही पनि उसकोमा आउन खोजीरहेका थिएनन्। ऊ पनि आफ्नो विचारमा दृढ बस्यो।

उसले किरिया कर्मको काम तीन दिन मात्र गर्ने घोषणा गर्‍यो। उसले सबै साथीहरूलाई बोलाएर तेस्रो दिन गरुड वाचन गराउने कुरा गर्‍यो। एकछिन त उसका साथीहरू अकमक्क परे तर उसले सबैलाई सम्झायो अनि साथीहरूको मद्दतले कम्प्युटरमा टाइप गरेर निम्तो पत्र बनाई टोलभरी वितरण गरायो।

तेस्रो दिन टोलका मानिसहरू कोही उत्सुक बन्दै त कोही करले भए पनि आए। चलिआएको संस्कार जोगाउनु पर्छ भन्नेहरू त त्यो बाटोबाट पनि हिँडेनन्। अर्कै बाटोबाट चोकतिर निस्कन्थे। किरणको घरको आँगनमा टेण्ट नै गाडियो। प्लास्टिकका राता, नीला, हरिया कुर्सीहरू लहरै राखिएका थिए। अर्कोतिर खानेकुराहरू पाकिरहेको थियो। टोलमै खानेकुराको बास्ना मगमग भयो। केटाकेटीहरू रमाएर कुर्सीमा उफ्रीउफ्री खेल्न थालेका थिए।

“आज गरुड वाचन गर्ने रे किरणले।” कसैले टोलमा खस्याकखुसुक गर्‍यो।

“त्यो नास्तिकले तेस्रो दिनमा गरुड पुराण गर्ने भयो रे ? ठीकै भो उसकी आमाको आत्मालाई केही शान्ति हुने भो।” कसैकसैले भने।

मानिसहरू भेला भए। केही बेरमा कार्यक्रम शुरु भयो। साउण्ड बक्स थियो छेउमा। अतिथिहरू आएका थिए। किरणले आफ्नै कलेजको विज्ञान विषयको प्राध्यापकलाई पनि बोलाएको थियो। प्रगतिवादी चिन्तन बोक्ने लेखकहरू पनि थिए। वक्ताहरूले धेरै बोलेनन् तर जति बोले नयाँ संस्कृतिको विकास हुनुपर्ने कुरा बोले। भुतप्रेत, पिसाच अनि स्वर्ग, नर्कका कथाहरूको पनि चिरफार गरे। जति धेरै दान गर्न सक्यो उति स्वर्गमा राम्रो हुने अनि दान दक्षिणा दिन नसक्नेहरूको जीवन यही दुःखको संसारमा चौरासी जुनीको चक्रमा घुमिरहने भन्ने धर्मशास्त्रको तर्क सम्भ्रान्त वर्गको हितका लागि बनाइएको भन्ने कुराहरू पनि आए।

किरणको प्रोफेसरले त झन् गरीबले आफ्नो अधिकारका बारेमा सचेत नबनुन् अनि अधिकारका लागि विद्रोह गर्ने चेतना नआओस् भनेर गरुड पुराण लगायतका धार्मिक पुस्तकहरू रचिएका हुन् भनेर तर्कहरू राखे। त्यहाँ भएका केही पढेलेखेका युवायुवतीहरूले त ती तर्कमा टाउको हल्लाएर भए पनि सहमति प्रकट गरे तर केही बुढाखाले मान्छेहरू भने धर्मसंस्कार भाँडिने भो भन्ने चिन्ताले व्यग्र देखिए।

“भाषण गरेर हुन्छ ? हिजै चतुर्भुजेले राति १२ बजे ड्युटी सकेर फर्कँदा किरणेको गेटैमा सेतो कपडा लगाएकी उसकी आमा हात फैलाएर उभिएकी देख्यो रे ! मन थामेर एकछिन हेर्नासाथ बिलाई रे !” ढाका टोपी लगाएको सेतो सेतो झुसे दाह्री पालेको एउटाले खुसुक्क भनिहाल्यो।

“कठै ! किरणेको कुबुद्धिले गर्दा आमाको आत्मा तर्न पाएन। कति छट्पटिएको होला त्यो आत्मा। कस्तो असत्ति मोरो। बाहुनलाई दानदक्षिणासम्म दिएको भए पनि त आत्माले शान्ति पाउँथ्यो क्यारे।” अर्की महिलाले कुरा थपी। गन्गन् चल्यो कुर्सीको एक छेउमा बसेकाहरूबीच।

ठीक यसैबेला किरणले आमाको नाममा हरेक वर्ष दुःख पाएका दलित र अपहेलित आमाहरूलाई दश हजार रुपैयाँको सहयोग गर्ने घोषणा गर्‍यो। यसो गरे आमाले वैतर्णी तरेभन्दा बढी सुख पाउने विचार पनि राख्यो। उसको यो विचारले आतेपाते गर्ने ब्राह्मणहरूलाई चोट पर्ने नै भयो।

“यो अधर्म हो। यो पाप हो।” गोरे अनुहारका पण्डित काशीप्रसाद जुरुक्क उठेर हिँड्यो।

“हामी त चित्त नबुझे पनि लक्ष्मी दिदीको बाँचुन्जेलको व्यवहार देखेर माया लागेर पो भेला भएका थियौं। अब त अति भयो।” अर्की महिला पनि चिच्याई। अनि त फटाफट् दश बाह्र जना उठेर हिँडे।

“हिँड्नेहरूलाई हिँड्न दिनुपर्छ। हामी त सत्य र विज्ञानको पक्षमा छौं।” कुर्सीमै बसेका त्यस्तै दश बाह्र जनाले पनि बोले। टोलका मान्छेहरूमा विभाजनको रेखा कोरिएको प्रष्ट देखियो। धर्मको कसिलो बन्धनमा खुलेर बोल्न नसकेका अनुहारहरूले पनि आज केही बके। कुर्सी छाडेर हिँडेकाहरू गेट बाहिर निस्किएर “यसलाई पानी बार्नु पर्छ” भन्न थाले। टोल सुधार समितिको बैठक डाकेर कारबाहीको निर्णय गर्नुपर्छ पनि भन्दै थिए।

टोलमा विभाजन देखिएको र त्यो आक्रोश प्रतिआक्रोशमा बद्लिन थालेको देखेर किरण अलिकति हड्बडायो। उसले कलेजको प्रोफेसरको छेउमा गएर सोध्यो, “गाह्रो पो पर्ने भयो।”

प्रोफेसरले किरणलाई धाप मार्दै भने, “शान्त तलाउमा ढुंगा हानेका छौ तिमीले। समाजलाई तरंगित नपारेसम्म त त्यहाँ पनि शान्त तलाउमा जस्तै लेउ लाग्नेछ। शान्त तलाउमा ढुंगा हान्नुपर्छ अनि बल्ल त्यसले गतिशील परिवर्तनको बाटो समाउँछ।” यति भनेर प्रोफेसर बिदावारी भए।

मध्यान्ह पनि टर्न लाग्योे। टोलमा तरंग साँच्चै नै किरणको प्रोफेसरले भने झैं गरी फैलन थाल्यो। केहीले पाकेको खानेकुरा खाएर हिँडे अनि केहीले नखाइकनै।

किरण मन्चमा नै कुर्सीको अडेसामा राखिएको आमाको तस्वीरतिर गयो। फूल र अविर लगाएर श्रद्धाञ्जली चढाएको हुँदा तस्वीरको अनुहार छोपिएको थियो। उसले तस्वीरबाट फूल र अविर हातले पुछ्यो अनि एकटकले तस्वीरको आँखामा हेरिरह्यो। टेण्टवालाहरू टेण्ट खोल्न र कुर्सी बटुल्न थाले। किरणका साथीहरू पनि कोही पैसाको हिसाब मिलाउन त कोही खाना खानतिर व्यस्त भए।

किरणले आफ्नी आमाको तस्वीरमा हेरी नै रह्यो।

“अब हजुरलाई सुखी र खुशी राख्ने दायित्व मेरो हो…, तर हजुरले मेरो एउटा आग्रह मान्नु पर्छ है…।” आमासँग भएको सम्बन्धलाई किरणले झल्झली सम्झियो।

“के छोरा ?” आमाले जिज्ञासा राखेकी थिई।

“तपाईंको मृत्युपछि म तपाईंको सम्झनामा बाँचुन्जेल गरीब र असहाय आमाहरूको सेवा गरिरहन्छु। तर म धार्मिक अन्धविश्वासमा बसेर किरिया गर्दिनँ, श्राद्ध गर्दिनँ।” उसले भनेको थियो।

“तर समाज…,” उसकी आमाले पनि केही भन्न खोजेकी थिइन्।

“पारिजात शारीरिक असक्त थिइन् तर मरेपछि पनि उनले आफ्नो शवलाई हरियो कात्रोले ओढाउन भनिन्। अनि आफ्नो शिरमा कुनै ईश्वर हैन क्रान्ति नायक लेनिनको तस्वीर राखेर शवयात्रा गर्न भनिन्। आखिर आस्था नै रहेछ ठूलो। मलाई त यो भेदभावयुक्त समाज बनाउने कथित ईश्वर र धर्मग्रन्थको आडमा रम्ने चाहना छैन।”

उसले लामै कुरा गरेर सम्झाएको थियो आमालाई। उसको कुरा सुनेर आमाले कपाल सुम्सुम्याउँदै भनेकी थिइन्, “छोरा, बाँचुन्जेलको माया र रेखदेख पो धर्म हो। मरेपछि त कसले के पो देखेको छ र ! तिमी समाजसँग जुझ्ने आँट गर्छौ भने मेरो किरिया र श्राद्ध नगर्नू। बरु असहाय अरू आमाहरूको सेवा गर्नू।”

भाँडाकुँडा जोडसँग बजेको आवाज आयो। किरण कल्पनाको संसारबाट झल्याँस्स भयो। उसका आँखाबाट अघि नै आँसुका धारा बगिसकेका रहेछन्। दुवै हत्केलाले आँसु पुसेर ऊ साथीहरू बसिरहेको ठाउँतर्फ अघि सर्‍यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved