सकिएकै हो त ‘मेस्सी-रोनाल्डो युग’ ?

सकिएकै हो त ‘मेस्सी-रोनाल्डो युग’ ?

काठमाडौं। दुई–चार वर्ष अगाडीसम्म यस्तो समय थियो कि अन्य धेरै समकालीन खेलाडीले गोल गर्दा मात्र तिनका नाममा समाचारका हेडलाइन बन्थे। तर रोनाल्डो र मेस्सी दुई यस्ता खेलाडी थिए जसले एक खेलमा गोल गरेनन् भने पनि हेडलाइन बन्ने गर्थ्यो। उनीहरूको चर्चा र आकर्षण यति थियो।

तर अब समय फेरियो। हाल विश्व सञ्चार माध्यममा यी दुई खेलाडीको फुटबल करिअर सकिन लागेको हेडलाइन बन्न लागेका छन्। फ्रान्सका पूर्व स्टार स्ट्राइकर निकोलस एनेल्का ले आरएमसी स्पोर्टसलाई बताएअनुसार उनीहरूको करिअर अब सकियो।

मेस्सी र रोनाल्डोले यो उमेरमा आएर पीएसजी र म्यान्चेष्टर युनाइटेडमासँग अनुबन्धित हुनु भनेको बौधिक कदम होइन। अब उनीहरूले यो टप लेभलको लिग खेल्न सक्दैनन्। ३४, ३५ वर्षको उमेरमा युरोपियन फुटबलमा लडिरहन उमेरले दिँदैन। यो समयमा उनीहरूले कि त विश्वकका कम प्रतिस्पर्धात्मक लिग खेल्नुपर्थ्यो, नभए सन्यास लिनुपर्थ्यो।

रोनाल्डो हाल ३७ वर्षका भए र मेस्सी ३४

अर्जेन्टाइन फरवार्ड मेस्सी यसै सिजन स्पानिस क्लब बार्सिलोनाको २१ वर्षे लामो बसाइलाई बिट मार्दै फ्रेन्च क्लब पीएसजी गएका थिए। उता रोनाल्डो पनि इटालिएन साइड युभेन्टसबाट यसै सिजन १२ वर्षपछि आफ्नो पुरानै क्लब म्यान्चेष्टर युनाइटेड फर्किएका थिए।

तर कनैबेला फुटबल खेलमार्फत नै विश्व हल्लाएका यी दुई यो सिजन खराब फर्ममा कारण आलोचित बन्दै आएका छन्। यो सिजन पनि मेस्सी र रोनाल्डोको टिम युरोपियन च्याम्पियनस् लिगको अन्तिम १६ बाट नै बाहिरियो। यी दुवै खेलाडी च्याम्पियनस् लिगको सेमिफाइनलसम्म पनि नपुग्दै बाहिरिएको यो लगातार तेस्रो वर्ष हो। पछिल्ला दुई सिजनमा त यी दुवैको खेल अन्तिम १६ (प्रि–क्वाटरफाइनल) बाट नै सकियो।

रोनाल्डो र मेस्सी च्याम्पियनस् लिगमा सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो र दोस्रो स्थानमा रहेका खेलाडी हुन्। यी दुई खेलाडी उत्कर्षमा रहेको बेला च्याम्पियनस् लिगको प्रमुख आकर्षणको केन्द्र भनेको नै क्लबभन्दा पनि रोनाल्डो र मेस्सीको व्यक्तिगत प्रदर्शन थियो। यी दुईको नामले मात्र पनि फुटबल बिक्ने गर्थ्यो।

स्पेनको रियल मड्रिड र बार्सिलोनाबीचको एल क्लासिको म्याचमा भनेको नै यी दुईको भिडन्तले बढी महत्व राख्थ्यो। तर समय परिवर्तिनशील छ। यो कसैका लागि रोकिँदैन। चाहे त्यो व्यक्ति रोनाल्डो र मेस्सीजति नै महान् किन नहोस्।

मेस्सी महिमा

विशेषगरी च्याम्पियनस् लिगको उपाधि जित्नकै लागि भनेर पीएसजीले मेस्सीलाई यसै सिजन टिममा भित्र्याएको थियो। तर नेपालीमा एउटा उखान छ- ‘धेरै बिरालो भेला भए भने मुसा मार्दैनन्’ पीएसजीको हालत पनि त्यस्तै छ।

मेस्सी, एम्बाप्पे र नेइमारजस्ता तीन स्टार खेलाडीको आक्रामक लाइन अप सायदै कुनै टिमको हुन सक्ला। तर विश्व भरको स्टार खेलाडी थुपारेको पीएसजीको उपलब्धि शून्य भयो। यसै पनि कम प्रतिस्पर्धात्मक मानिने फ्रेन्च लिगको उपाधि पीएसजीले यसैपनि जितिरहेको थियो। एम्बाप्पे र नेमारसँगको खतरनाक संयोजनका लागि पीएसजीका कतारी मालिकले मेस्सीलाई टिममा भित्राएका थिए। यसको प्रमुख उद्देश्य पहिलो पटक च्याम्पियनस् लिगको उपाधि उचाल्नु थियो।

बार्सिलोनामा रहँदा धेरै पटक गेम चेन्जरको भूमिका निभाएका मेस्सीले पहिलो सिजन पीएसजीमा त्यति प्रभावशाली खेल देखाउन सकिरहेका छैनन्। एकल प्रदर्शनमा हारेको खेलबाट जित खोस्ने उनको शैलीको खेल पीएसजीका समर्थकले यो सिजन उनी बाट देख्न पाएनन्।

गत हप्ता रियल मड्रिडसँग पराजित हुँदै पीएसजी च्याम्पियनस् लिगबाट बाहिरिएलगत्तै मेस्सीको खेलको धेरै नै आलोचना भयो। यसपछि पीएसजीका घरेलु समर्थकले फ्रेन्च लिगको खेल चलिरहँदा नै मेस्सीको विरोधमा (बुइङ) हुटिङ गरे। मेस्सीजस्तो खेलाडीमाथि समर्थकको यस्तो आचरण पहिले विरलै देखिन्थ्यो।

पहिलो पटक मेस्सी पेरिस आउँदा उनको एक झल्को हेर्न घण्टौं कुरेका र उनको नामको जर्सी किन्न घण्टौं लाइनमा बसेका समर्थक नै हाल उनको आलोचक बनेका छन्। मेस्सी विश्वकै सर्वाधिक महान् खेलाडीको सूचीमा शीर्ष स्थानमा आउने नाउँ हो। उनी कीर्तिमानी सात पटकका बालोन डीओर उपाधि विजेता हुन्। बार्सिलोनाबाट मात्र ३५ उपाधि जितेका उनी चार पटकका च्याम्पियनस् लिग च्याम्पियन हुन्।

उनले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए भने विश्वकप फाइनलसम्म पुर्‍याएका थिए। उनको नाउमा रेकर्डका खात छन्। तर ती पुराना रेकर्डले मैदानमा काम गर्दैन।

रोनाल्डो रेकर्ड

मेस्सी जस्तै गत चार सिजन उपाधिबिहिन बनेको रेड डेभिल्स म्यान्यूले पनि उपाधिका लागि नै उमेर ढल्के पनि गोल मेसिन मानिने रोनाल्डालाई १२ वर्ष पछि टिममा पुनरागमन गराएको थियो। तर च्याम्पियनस् लिगबाट बाहिरिएसँगै रोनाल्डोले यो पाँचौ सिजन पनि युनाइटेडलाई उपाधि दिलाउन सकेनन्। उल्टै उनी नै पछिल्लो १२ वर्षमा पहिलो पटक यो सिजन क्लब उपाधि बिहिन हुँदैछन्। यसअघि क्लबबाट कुनैपनि उपाधि नजितेका पछिल्लो पटक सन् २००९–१० सिजनमा रियल मड्रिडमा रहँदा हो।

रोनाल्डोको नाउमा च्याम्पियनस् लिगमा सवार्धिक गोलकर्ताको रेकर्ड छ। उनले १८३ खेलमा १४० गोल गरेका छन्, जुन दोस्रो स्थानमा रहेका मेस्सी भन्दा १५ गोलले बढि हो। उनी विश्व फुटबल कै सर्वाधिक आधिकारिक गोलकर्ता खेलाडी हुन्। यदि कुनै खेलाडीको फुटबल करिअर १८ वर्षमा सुरु भएर लगातार १५ वर्षसम्म प्रति सिजन ५० गोल गरेमा कुल ७५० गोल हुन्छ। रोनाल्डोको करिअरमा गोल संख्या ८०७ छ।

उनी विश्व फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक हुन्। उनले पाँच बालान डि योर र चार पटक युरोपयिन गोल्डेन बुटको उपाधि जितेका छन्। देश र क्लबका तर्फबाट उनको नाउमा ३२ प्रमुख उपाधि छ। जसमा युरो कप र पाँच पटकको युरोपियन च्याम्पियनस लिगको उपाधि पनि सामेल छ। उनको नाउमा यस्ता असंख्य रेकर्ड छन्।

तर यो उनको पुराना रेकर्डहरूले यो सिजनको उनको प्रदर्शनमा कुनै अर्थ राख्दैन। यी त सब इतिहास हुन। वर्तमान फुटबलमा टिक्न हरेक सिजन मैदानमा उत्कृष्ठ खेल देखाउनै पर्छ। कुनैपनि खेलाडीको हिजोको रेकर्डले आजको खेल जिताउन सक्दैन।

वास्तविकता

निकोलस एनेल्का भन्छन्,‘यस्तो अवस्थाको सिर्जना तब हुन्छ, जब खेलाडीहरू धेरै वर्ष खेल्न चाहान्छन्। मेस्सी र रोनाल्डोको करिअर अब सक्किसक्यो र मलाई लाग्छ उनीहरू दुवैले पछिल्लो १५ वर्षमा आफूले जति सफलता पाए त्यसमा नै खुशी हुनुपर्छ। उनीहरू त्यो समय सबैभन्दा माथि थिए र अब उनीहरूको सुस्त हुने समय आएको छ, जुन सामान्य हो।’

एउटा सर्वव्यापी सत्य यो छ कि यो संसार नाशवान छ, हरेक चिजको अन्त्य सुनिश्चित छ। चाहे त्यो चिज सानो होस कि ठूलो होस राम्रो होस कि नराम्रो। मेस्सी र रोनाल्डोको करिअर पनि त्यस्तै हो। उनीहरूको लोभलाग्दो करिअर पनि अब उतरार्द्धमा छ। जुनसुकै बेला अस्ताउन सक्छ।

पछिल्लो एक दशक भन्दा बढीको समय विश्व फुटबलमा मेस्सी र रोनाल्डोको मात्र एकछत्र राज थियो। सन् २००८ देखि २०१७ सम्मको १० वर्षे अवधिमा वर्षको सबैभन्दा उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने सबैभन्दा ठूलो अवार्ड, बालान डी ओर यी दुईबाहेक अरू कसैले जित्ने आँट गर्न सकेका थिएनन्।

सन् २०१८ मा मात्र एक पटक लुका मोड्रिडले जितेका यो अवार्ड जितेका थिए। फेरि मेस्सीले दुई वर्ष लगातार बालोन डीओर जिते। २००८ देखि २०२२ सम्ममा १२ पटक बालान डीओर उपाधि यी दुईमा मात्र बाँडियो।

तर हरेक चिजको एक दिन अन्त्य हुन्छ। मेस्सी र रोनाल्डोको सफल करिअर पनि अब उतारार्द्धमा छ।

यो जेनेरेसनले धन्य मान्नुपर्छ कि एकै पटक यी दुई महान् खेलाडीको खेललाई प्रत्यक्ष हेर्न पाए। यस्ता खेलाडी फेरि पनि नजन्मेलान् भन्न सकिन्न। तर एकै पटक खेल्ने, एउटै पुस्ताको खेलाडीको रूपमा सायदै जन्मलान्।

सायद अब मेस्सी–रोनाल्डो युग अन्त्यको नजिक छ। यो कुरालाई स्वयं रोनाल्डो र मेस्सीले पनि स्विकार्नुपर्छ। र यो पनि स्विकार्नुपर्छ कि उनीहरूले खेल्न छाडेपछि फुटबल रोकिँदैन। अरू कोही स्टार आउनेछन् जसले उनीहरूको बागडोर समाल्नेछन्।

तर यी दुईको संन्यासपछि विश्व फुटबल कै एक स्वर्णिम युगको अन्त्य हुनेछ। उनीहरूसँगै सायद फुटबल हेर्नबाट धेरै फुटबल समर्थकले सन्यास लिनेछन्। यी दुइले खेल्न छाडेपछि धेरै फुटबलप्रेमीलाई उनीहरूको जिबनका सायद फुटबलको अर्थ पनि सकिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved