सन्दर्भः अन्तर्राष्ट्रिय महिला दिवस

१६ महिलाको अनुभवः अझै फेरिएको छैन पुरुषप्रधान समाजको चेत

नेपालभ्युज

१६ महिलाको अनुभवः अझै फेरिएको छैन पुरुषप्रधान समाजको चेत

काठमाडौं। आज ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस। समाजको पुरुषप्रधान चरित्र फेरिनुपर्छ र महिलाले पनि पुरुषसरह समान अधिकार पाउनुपर्छ भनेर भएका विभिन्न आन्दोलनहरूको परिणाम हो यो दिवस। यो दिवस मनाउन थालेको एक शताब्दी नाघ्दा पक्कै पनि समाजमा महिलाको हैसियत धेरै हदसम्म सुधार भएको छ। नेपाली समाजमा पनि धेरै परिवर्तन आइसकेको छ। महिलाले लगाउने लुगादेखि बच्चा जन्माउँदा हुने आमाको मृत्युसम्ममा यो परिवर्तनको प्रभाव पाइन्छ। शिक्षामा पहुँच बढ्दै जाँदा महिलाले श्रम बजारमा उल्लेखनीय उपस्थिति जनाउन थालेका छन्। यो परिवर्तित समाजमा आखिर कस्तो छ त नेपाली महिलाको जीवनचर्या ? नेपालभ्यूजका चार महिला रिपोर्टरहरू मनीषा अवस्थी, सुनीता साखकर्मी, भागिरथी पण्डित र समृद्धा केसीले जम्मा पारेका विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी, गृहणी र विद्यार्थी गरी १६ महिलाको अनुभव यहाँ प्रस्तुत छ।

मानिसले महिलालाई दुनियाँथरी भन्छ, भनिरहोस्

सुनीता चौधरी, प्रहरी जवान

म घरको कान्छी छोरी हो। ६ जना छोरापछि म जन्मेकी थिएँ। कमाउनुपर्छ। अरू भन्दा फरक हुनुपर्छ भनेर घरबाट प्रोत्साहन मिल्थ्यो। त्यसैले मैले घरमा विभेद भोग्न परेन। विद्यालयमा पनि म राम्रो पढ्ने विद्यार्थी थिएँ। खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिएँ। म केटा जसरी नै हुर्किएँ। म छोरी हुँ भन्ने महसूस नै हुँदैनथ्यो। अहिले बिहे गरेर पनि त्यस्तो कुनै महसूस भएको छैन। श्रीमान् पनि काम गर्नुहुन्छ। म पनि काम गर्छु। सर्वाेच्च अदालतमा ड्युटी छ। त्यहाँ पनि म केटाहरूसँग हाइ हेल्लो भनेर हिँडिरहेको हुन्छु। त्यहाँ पनि मलाई कसैले भनेको छैन। म जस्तो छु, त्यसरी नै हेरे मान्छेले।

प्रहरीको पेशामा रात दिन भन्ने हुन्न। रातीमा पनि हिँड्नुपर्ने हुन्छ। तर म त्यसरी राति हिँड्दा ‘राति हिँड्नु हुन्न है छोरी मान्छे, केटामान्छेसँग हाहाहुहु गरेर बोल्नु हुन्नँ’ भन्थे। छोरी मान्छे भएर सभ्य लुगा लाउनुपर्छ भन्थे। जसले पनि भन्छ। परिवार, इष्टमित्र साथीभाइ सबैले भन्छ।

जस्तो मान्छे छ, त्यही अनुसारको कुरा गर्नपर्छ। पुरानो सोच छ भने पुरानै अनुसार कुरा गर्नुपर्‍यो। कसैलाई ‘हैन ठिकै छ म लाउँदिन अबदेखि’ भन्दिन्छु। कसैलाई ‘लुगाले केही हुन्न, मानिसको सोचाइ ठिक हुनुपर्छ’ भन्छु। कसैलाई ‘तपाईंलाई के खाँचो’ भन्ने अवस्था पनि आयो। बुवा, आमाले मलाई स्वतन्त्रता दिएको देखेर काकाकाकीले भन्नुहुन्थ्यो– तिमीहरूले छोरीलाई बिगार्‍यौ।

पुरुष भन्दा महिला फरक छैनन् तर समाजमा महिलालाई पुरुषलाई भन्दा बढी गाह्रो छ। पुरुष खुलेआम हिँड्न सक्छ, महिलालाई रोकिहाल्छ समाजले।

हाम्रो समाज त्यति धेरै विकास भइसकेको छैन। खुला रूपमा प्रस्तुत भएको छैन। बिस्तारै बिस्तारै परिवर्तन गर्दै लाने हो। पहिले सानैबेला महिलाको बिहे गरिदिन्थ्यो। अहिले इच्छाले बिहे गर्न पाइरहेका छौँ। अझै काम गर्न पाइरहेका छौँ। हामीले पनि परिवारको इज्जत गरेको हो।

पहिले म उर्लाबारीमा थिएँ। त्यहाँ छँदा महिला हिंसाको केसहरू थुप्रै हेर्ने मौका पाएँ। सात वर्षको नाबालिकालाई ४० वर्षको पुरुषले बलात्कार गरेको घटना पनि हेर्नुपर्‍यो। यस्ता केसहरू देख्दा छोरी मान्छे भएर किन जन्मिन्छ होला भन्ने पनि भयो। आफूले जन्मदिएको छोराले आमालाई पिट्ने, रडले हान्ने गरेको देखेँ। श्रीमतीलाई शारीरिक सम्पर्क गर्न दिएन भनेर तातो डाडु पन्युले डाम्दिने, तातो पानी खन्याइदिने गरेको देखेँ। त्यतिखेर मलाई असाध्यै दुःख लाग्थ्यो। छोरी मान्छे हुनुमा गर्व होइन, धिक्कार लाग्थ्यो।

पुरुषले आफूलाई महान् ठान्छ किनकि उसँग धेरै स्वतन्त्रता हुन्छ। घरबाटै शुरू हुन्छ। तँ छोरी हो, तैलेँ भात पकाउनुपर्छ भन्ने। म पुरुष हुँ, म घुम्न पाउनुपर्छ भन्ने सोचाइ छ। त्यहाँबाट यो सोच आयो। पहिलेदेखि यस्तै चलिरहेको भएर परिवर्तन गर्न समय लाग्छ। पहिले भन्दा परिवर्तन पनि भएको छ। पुरै हुन समय लाग्छ।

मलाई त कहिले पुरुष भन्दा कम छु भन्ने लागेको छैन। प्रकृतिले महिनावारी हुने र बच्चा पाउने गुण दियो। त्यो बाहेक कहिले पनि कम छु भन्ने महसूस भएको छैन। मेरो श्रीमान्ले जति काम गरेको छ, त्यति नै गर्न सक्छु जस्तो लाग्छ। सर्वाेच्च अदालतमा मैले आँटिलो भएर गर्भवती भएको समयमा पनि काम गरेँ। म अरूजस्तो कमजोर हुन चाहँदिन। प्रकृतिले दिएको कुरालाई स्वीकार गर्नुपर्छ। त्यो बाहेक कुनै कुरामा पनि कम छैन।

महिला कमजोर छ भन्ने सोच्ने मानिसलाई हामी कोही कमजोर छैन भन्छु। हात्ती पनि कमजोर छैन, मुसा पनि कमजोर छैन। आफ्नो क्षेत्रमा सबै बलियो छौँ। मसँग भएको गुण अरूसँग छैन, अरूको गुण मसँग नहुन सक्छ। कसैसँग डराउने, हरेश खाने गर्नुहुँदैन। मानिसले दुनियाँथरी भन्छ, भनिरहोस्। सबैको मुखमा चकलेट हाल्न सकिँदैन।

आफ्नो कार्यालयमा पनि हेप्न खोज्छन्। त्यतिबेला जवाफ दिइहाल्ने हो। हेपिएर बस्नुहुँदैन ता कि मानिसले तपाईंसँग बोल्दा सोचेर बोल्न बाध्य होस्। यस्तो सोच महिला आफैमा आउनुपर्छ र यसमा परिवारको सहयोग हुनैपर्छ। आफ्नै परिवारले विश्वास गर्न सिक्नुपर्छ।

निर्णय प्रक्रियामा अहिले पनि महिला छैनन्

गीता सत्याल, ललितपुर महानगरपालिका उपप्रमुख

जुनसुकै पदमा भए पनि महिलाका कुरा त्यति सुनिँदैन। महिलाले के जानेका छन् र भन्ने पुरुषको अहं हुन्छ। पितृसत्तामक सोच लिएर अगाडि बढेको समाज भएको हुनाले महिलालाई हेय भावले नै हेर्ने गर्छन्।

नेतृत्व तहमा महिला सहभागिताले फड्को मारेको छ। त्यसको मुख्य कारण महिला आरक्षण हो। आरक्षण छुट्याएपछि हरेक क्षेत्रमा महिला सहभागिता बढेको छ। तर नेतृत्व तहमा महिला सहभागी भए पनि निर्णय लिने प्रक्रियामा पुरुष नै हावी हुन्छन्। निर्णय प्रक्रियामा अझै पनि महिला आउन सकेका छैनन्। संविधानले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने नभनेको भए महिला काहिँ कतै मात्र देखिन्थे।

आर्थिक रूपमा सबल नहुँदासम्म महिला अघि बढ्न सक्दैनन्। महिलालाई उपमेयर त बनाए तर आर्थिक अधिकार दिइएको छैन। जसका कारण आफू उपमेयर हुँदै गर्दा गरेका वाचा पुरा गर्न सकेका छैनन्। त्यसैले महिलालाई आर्थिक तोक लगाउने अधिकार हुनुपर्छ।

महिलाको करिअर अघि बढाउन हरेक कार्यालयमा मदर्स रुम हुनुपर्छ

सृजना राणा, अध्यक्ष, होटल संघ नेपाल

मेरो बाल्यकाल काठमाडौंको कमलपोखरीमै बित्यो। एक वर्षमै बुवा गुमाउनुपर्दा आमाकै लालनपालन हुर्किएँ। सानैदेखि महिलाका दुःख र संघर्ष बुझ्दै हुर्किएँ। होटल म्यानेजमेन्टको पढाई सकाएर जागिर खाँदै बिहे गरेँ।

‘होटल ब्याकग्राउण्डको म संयोगवश होटल व्यवसायकै परिवारमा जोडिन पाएँ। २४ वर्षको उमेरमा सन् १९९२ मा बिहे गरेकी थिएँ। पाँच वर्ष पछिमात्रै बच्चा जन्माएँ। बच्चासँगै सिँगो परिवार अघि बढाउन निकै चुनौती खेप्नुपर्‍यो। पारिवारिक रूपमा मलाई एकदमै सपोर्ट थियो। मेरो श्रीमान्ले जहिले पनि मेरो खुशीको सम्मान गर्नुभयो। तर आफ्ना बच्चाहरूलाई समय दिन नसक्दा निकै मन दुख्ने गर्थ्यो।

यति हुँदाहुँदै पनि मैले पारिवारिक रूपमा धेरै दुःख भोग्नुपरेन। परिवारमा आर्थिक समस्या भएन। मानसिक दबाब र कामका मामलामा मेरो आमा पुस्ताजस्तो दुःख नभए पनि बच्चाहरूलाई समय दिन नसक्दा निकै पटक मन चसक्क भएको छ। सबै चीज छ भन्दाभन्दै पनि चुनौती हजार हुँदा रहेछन्। आफ्नो करिअरमा जति खुशी भइन्छ त्यति नै कहिलेकाहीँ परिवारमा समय दिन नसक्दा दुखी पनि। मलाई त अहिले पनि बच्चाहरूले चाडपर्वमा खानेकुरा मीठो भएन भन्दा एकदम नराम्रो लाग्छ। मैले बनाउन समय नदिएको भएर यस्तो भएको हो जस्तो लाग्छ।

सानो छँदा मेरो बच्चाहरूले समय पाएनन् भनेर कहिलेकाहीँ ‘गिल्टी फिल’ हुन्छ। त्यतिबेला मैले समय दिन नसक्ने भए पछि मन ढुंगा बनाएर बच्चाहरूलाई बोर्डिङ स्कुलमा पठाएकी थिएँ। मैले घरपरिवारलाई क्वान्टिटी भन्दा क्वालिटी टाइम दिएँ। उनीहरूको छुट्टीमा समय दिएँ। अहिले त बच्चाहरू ठूला भए। प्रविधिले सहज पनि बनाएको छ। हामीले पारिवारिक वाट्सप गु्रप बनाएका छौं। त्यसमै कुराकानी गरिरहेका हुन्छौँ।

नेपाली महिलाका लागि श्रीमानको साथले धेरै ठूलो अर्थ राख्छ। मेरो लागि मेरो श्रीमान् जहिले पनि सपोर्टिभ रहनुभयो। हामीले अवसर पाउँदा गरेर देखाउनुपर्छ। मेले मेरो श्रीमान्को मन जित्न १० वर्ष लाग्यो। बिहे गरेका १० वर्ष मैले अरू होटलमै जागिर खाएँ। मैले गरेर देखाएपछि मात्रै अन्नपूर्ण होटल ग्रुपमा श्रीमानले ५०/५० कै हिस्सा दिनुभयो।

उहाँले के भन्नुभयो भने, ‘हामी दम्पत्ति हुँदा एकले अर्कोको खुबीको सम्मान गर्दै प्रोत्साहन पनि गर्नुपर्छ। यसले मात्रै हाम्रो फ्याम्लिी बिजनेसलाई अगाडि बढाउन सकिन्छ।’

परिवारको सपोर्ट हुँदा हुँदै पनि कहिलेकाहिँ समाजले घरलाई वेवास्ता गरेको भन्ने गरेको सुनिन्छ। त्यस्तो कुरालाई नै बेवास्ता गर्नुपर्छ। फेरी कोही चाहिँ एकदमै प्रशंसा गर्छन्। यी दुवै कुरालाई पचाउन सक्ने महिलाले मात्रै नेपाली समाजमा आफ्नो करिअर परिवार सँगै लैजान सक्छिन्।

हाम्रो पुस्ताले चाहिँ संयुक्त परिवारमा बसेर बच्चाहरू हुर्काउन सजिलो भयो। अहिलेको पुस्ता प्रायजस्तो एक्लो बस्ने भएकाले अधिकांश महिलाहरूले बच्चा पाएर करिअर नै समाप्त पार्नुपरेको अवस्था छ। त्यसकारण अब सरकारले नै नीतिगत रूपमै यो व्यवस्था गर्नुपर्छ।

अहिलेको महिलाले एकैपटक धेरै काम गर्नुपर्छ। बिहान उठ्नेबित्तिकै अफिस जानका लागि मात्रै तयार हुने अवस्था महिलाका लागि छैन। त्यसका कारण घर र अफिस गर्ने महिलाका लागि समय व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण छ।

महिलाहरूले करिअर र परिवारसँगै अगाडि बढाउने क्रममा सबैभन्दा अप्ठेरो समय नै बच्चा हुर्काउँदा नै हो। यही अप्ठेरोले कैयौं करिअर शुरू गरिरहेका महिलाहरू बिहे गरेर बच्चा पाउने बित्तिकै पछाडि फर्किन बाध्य छन्। उनीहरूले सबै सपना बिर्सँदै गृहणी बन्नुपर्ने बाध्यता छ। यसका लागि काम गर्ने आमाहरूका लागि एउटा ‘मदर्स रुम’को व्यवस्था हरेक कम्पनिहरूले गर्नुपर्छ ताकि त्यहाँ बच्चा राखेर उनीहरूले काम गर्न सकुन्।

महिलाले हरेक काम सहजै गर्न सक्छन्

प्रा.डा.किरण रेग्मी, स्त्री रोग विशेषज्ञ तथा पूर्व स्वास्थ्य सचिव

काठमाडौंकै एक शिक्षित परिवारमा फागुन २४ अर्थात् अन्तराष्ट्रिय महिला दिवसकै दिन जन्मिएँ। मेरा चार जना दिदी, दाजु हुनुहुन्छ। दिदीहरू सबैले स्नातक पढ्नै नपाई बुवाले बिहे गरिदिनुभयो।

म पनि कक्षा १२ मा पढ्दै गर्दा परिवारमा बिहेको कुरा चल्यो। बुवाले पनि मेरो पनि बिहे गरि दिने निर्णय गर्नुभयो तर मैले अठोट लिएकी थिएँ–ए म अहिले नै बिहे गर्दिनँ डाक्टरी पढ्छु अनि मात्र गर्छु।

त्यहि अनुसार मैले घरमा डाक्टरी पढ्नका लागि बाहिर जाने कुरा सुुनाएँ तर देश छोडेर भारत एक्लै पढ्न जाने भनेपछि मान्दै मान्नुभएन। बिहेको कुरा अघि बढाउनुभयो। त्यसो भए म खाना नै खान्नँ भनेर अडान लिएपछि आजित भएर ‘ल हुन्छ बिहे नगर्ने पढ्न जाने’ भनेर बुवा नै छोड्न इन्डिया जानुभयो।

इन्डियाको बिहार पढ्नका लागि जानु पर्ने भयो। त्यहाँसम्म बुवा छोड्न जानु भयो तर त्यहाँ पुगिसकेपछि मलाई एक्लै छोड्नै मान्नु भएन। एक्लै कसरी बस्छे भनेर बुवा निकै डराउनुभयो।

इन्डिया जानुअघि म कहिल्यै पनि काठमाडौं बाहिर गएको थिइनँ तर जे पनि गर्न सक्छु भन्ने हिम्मत थियो।

इन्डियाबाट पढाइ सकेर फर्किएपछि बिहे भयो। बच्चाबच्चि पनि जन्माएँ। त्यतिबेला दूरदराजमा गएर बिरामीहरूको सेवा पनि गरेँ।

यसरी म एक्लै इन्डिया गएर डाक्टरी पढेर आएपछि बुवालाई पनि हिम्मत मिलेछ र भाइलाई पनि पढ्नका लागि बाहिर पठाउँनु भयो। यसरी मैले गर्दा घरमा निकै ठूलो परिर्वतन आएको थियो।

घरपरिवार, छोरा, छोरी, श्रीमान् सहितलाई पढाउँदै, आफू पनि पढेँ र स्वास्थ्य मन्त्रालयको सचिव समेत बनेँ।

शुरुमा केही वाधा अड्चन आए पनि घरपरिवार सबैको सहयोगले नै म यो स्थानसम्म आइपुगेको हुँ। सामाजिक संरचना बाहेक मेरो घर–परिवारले छोरा र छोरीमा कहिल्यै विभेद गर्नुभएन।

त्यस्तै काममा पनि म महिला भएकै कारण यो गर्न सक्दिनँ र मलाई आरक्षण चाहिन्छ भन्ने सोचिनँ। महिलालाई मैले दुर्बलताको हतियार कहिल्यै बनाइनँ। बरु सबलताको हतियार बनाएर अगाडि बढेँ। काम गर्न र अगाडि बढ्नकै लागि महिला भन्ने शब्दले मलाई कहिले फरक नै परेन।

महिलाले हरेक काम निडर र लगनशील भएर काम गर्नुपर्छ। महिला हिम्मतिला छन्। महिला कोमल छन्। महिला सुन्दर छन्। महिलाले हरेक काम सहजै गर्न सक्छन्।

निर्णयात्मक भूमिकामा पुरुष नै हुनुपर्छ भन्ने सोच छ

नीमा ढकाल, उपप्रधानाध्यापक, पद्मकन्या विद्याश्रम मा. वि.

म शिक्षण पेशामा लागेको ३७ वर्ष भयो। त्यतिबेला धेरैजसो महिला शिक्षक बन्न रुचाउँथे। निश्चित समयमा काम हुने बाँकी समयमा घरमा पनि समय दिन मिल्ने भएकाले यो पेशा रोज्थे।

सम्मानजनक र सहज पेशाको रूपमा शिक्षकलाई लिन्थे तर हाम्रो समाज नै पुरुष प्रधान भएकाले शिक्षण पेशामा पनि पुरुष हावी हुन खोज्थे।  पुरुषले महिलालाई पछाडि पार्न खोज्थे। महिलाले आत्मविश्वास कमजोर बनाए पछि परिहाल्थे।

आफूलाई सक्षम बनाउन शिक्षण पेशामा आबद्ध भएपछि स्नातक तहमा भर्ना भएँ। त्यहि समयमा गर्भवती भएँ। छोरो जन्मियो। श्रीमानको साथले पढाई र शिक्षण पेशालार्ई निरन्तरता दिएँ।

पढाईसँगै छोराछोरी हुर्काउन गाह्रो परेको थियो। श्रीमान पनि जागिरे। हामीले मिलेर आधा आधा काम गथ्र्यौ। त्यो समयमा निकै सास्ति भोगियो। छोरो एक बर्ष भएपछि ‘डे केयर’मा राख्यौं। बिहान श्रीमान्ले पुराउनुहुन्थ्यो। स्कुलबाट फर्किदा म लिएर जान्थे।

शिक्षण पेशामा पनि पुरुषको वर्चस्व छ। निर्णयात्मक भूमिकामा पुरुष नै हुनुपर्छ भन्ने सोच छ। महिला शिक्षकलाई हतोत्साही गराउने प्रवृति पनि छ। छलफलमा बस्दा कैयौंपटक पुरुषवादी चिन्तन हावी हुन खोज्छ। यस्तो अवस्थामा महिलाले आत्मविश्वास देखाउन नसके पछाडि परिने रहेछ। महिला प्रस्तुत हुने तरिकाले उसको पदमा फरक पर्ने रहेछ। महिलाले आफूमा आत्मविश्वास जगाए गर्न सक्छन्। हरेक महिलाले म आफ्नै कारण अघि बढ्छु भन्ने सोच जगाउनुपर्छ।

नर्सहरूको बढुवा नै हुन गाह्रो छ

सरला केसी, स्टाफ नर्स, प्रदेश अस्पताल सुर्खेत

सानैबाट नर्स बन्ने ठुलो रहर थियो तर घरपरिवारले त्यो पेशामा लाग्न हुन्न भनिरहनुहुन्थ्यो। रातीमा ड्युटी गर्नुपर्छ। छोरी मान्छे के हुने हो भन्दै बुवाले नर्स पढाउनै मान्नुभएन तर पछि आमा र मेरो जिद्दीले गर्दा पढाउनैपर्‍यो।

सानैबाट निकै मेहनती भएकाले पनि होला नर्सिङको पढाइ सकिएपछि जागिरका लागि लोकसेवाको तयारी गरेँ। पहिलोपटकमै नाम निकालेँ। त्यसपछि बुवाआमा निकै खुशी हुनुभयो।

२१ औं शताब्दीसम्म आइपुग्दा पनि नेपालमा लैंगिकताका आधारमा विभेद गरेको पाइन्छ। कोही कोही त्यसमै अल्झिएर बस्छन् भने केहीले त्यसलाई वास्तै नगरी अगाडि बढ्छन्।

हरेक पेशामा विभेद भए जस्तै नर्सिङ पेशामा पनि यो लागू हुन्छ। अस्पतालमा आउने केहि बिरामीले महिला डाक्टर भए पनि नर्स होला भनेर सिस्टर भनेर बोलाउने अलि नटेरेको जस्तो व्यवहार देखाउने गर्छन्।

त्यस्तै नर्स भन्ने बित्तिकै रातीको ड्युटी गर्नुपर्ने के कस्तो हुन्छ, पुरुष डाक्टरसँग नजिक हुन्छ होला, उनीहरूले जे भन्यो त्यहि गर्नु पर्छ होला भन्ने सोच पनि कुनै बेला थियो तर अहिले केहि हदसम्म भए पनि त्यो सोचाइमा परिर्वतन आएको देखिन्छ।

हामी नर्सहरूको बढुवामा पनि निकै भेदभाव रहेको छ। हामीसँगैका अरू पोष्टका कर्मचारीहरूको बढुवा छिटो हुन्छ भने हाम्रो बढुवा दुर्गममा गएपछि मात्र हुन्छ।

नारीलाई सम्मान दिन र पाउनका लागि ठूलै पहल गर्नुभन्दा पनि घरबाटै छोराछोरीलाई समान व्यवहार गर्‍यौँ भने सही सुरुआत हुन्छ। त्यो व्यक्ति भोली गएर राज्यको कुनै अंगमा पुग्छ। उसैले यो विभेद तोड्छ।

केही न्यायाधीशले महिलालाई आलोकाँचो भनेर भेदभाव गर्छन्

सकुन भण्डारी, अधिवक्ता

मेरो बाल्यकाल पश्चिम नेपालको म्याग्दी जिल्ला घताङमा बित्यो। पाँच वर्षको हुँदा हाम्रो परिवार बेनी बजारमा झर्‍यो। मेरो शिक्षादीक्षा बेनी बजारबाटै भयो। मेरो हजुरबा जिम्वाल र बुवा वकिल हुनुहुन्थ्यो। बुवाले प्राइभेट डिफेन्स वकिलको रूपमा काम गर्नुभयो।

मेरो पढाइमा बुवाले कहीँ पनि कमी राख्नुभएन। बोर्डिङ स्कुलबाटै पढाइ पुरा गरेँ। घरमा कुनै खालको विभेदको सामना गर्नुपरेन। बुवा वकिल भएको कारणले छोराछोरी दुवैलाई समान व्यवहार गर्नुभयो।

कानूनमा स्नातकोत्तर गरेर वकालत पेशा गर्छु भनेर विभिन्न ठाउँमा इन्टर्न गर्दा समाजमा महिलाप्रति कसरी विभेद हुन्छ भन्ने थाहा पाएँ। त्यसपछि काम पनि गरेँ। त्यतिखेर मलाई थाहा भयो ‘महिलाले गर्न सक्दैन है, बोल्न सक्दैन’ भनेर फर्ममा पनि छलफल भइराख्थ्यो। कुनै पनि काम बिगारेर आइसकेपछि ‘तपाईंले यति बोलिदिनुभएन, यति बोलिदिएको भए त्यो काम बन्छ, अब यो काम पेन्डिङ हुने भयो’ भन्ने जस्तो शब्द सुनिन्छ। जसले गर्दा आफ्नै सहकर्मीले हेर्ने दृष्टिकोण पनि फरक देखेँ।

हामी महिला वकिलले न्यायाधीशसमक्ष बहस गर्दा भर्खरै पास आउट भएका वा लाइसेन्स लिएका महिलाहरूलाई राम्रोसँग बहस पनि गर्न नदिने, रोक्ने, विभिन्न प्रश्नहरू सोध्ने गर्थे। सबै न्यायाधीश त्यस्ता त होइनन्। केही न्यायाधीशले महिला वकिललाई बेवास्ता गरेको, आलोकाँचो आयो भन्ने खालको व्यवहार गरेको पनि भोगेँ। कतिपय न्यायाधीशले प्रोत्साहन पनि गर्छन्। कतिपयले ‘हैन छोडिदिनुस् विद्वानजी भैहाल्यो, कुरा बुझेँ’ भन्नुहुन्छ। सबै न्यायाधीशले भेदभाव गर्नुहुन्छ भन्ने होइन तर केहीमा त्यो व्यवहार देखिन्छ।

मैले आफ्नै नाममा ल फर्मलाई कम्पनी कार्यालय अन्तर्गत दर्ता गरेर खोलेकी छु। मेरो पेशामा .भविश्यमा म जस्ता महिलालाई काम दिन सकुँ भनेर काम गरिरहेको छु। महिलालाई प्रोत्साहन गर्ने र सशक्तिकरण गर्न प्रयास गर्छु। मेरो स्टाफमा पनि प्राथमिकता महिलालाई नै दिन्छु।

महिला वकिललाई अलिकति गलत नजरले हेरिन्छ। महिलाले गर्न सक्दैनन् है भन्ने धारणालाई चिरेर महिलालाई नै सशक्तिकरण गर्न यो पेशा शुरू गरेको हुँ। हाल तीन जना महिला स्टाफ नै हुनुहुन्छ। काम विभाजन गरेर केसमा पठाउने गरेकी छु।

महिला सक्दैनन्, महिलाले गर्न हुँदैन, महिलाले कसैको सपोर्ट नपाइकन केही गर्न सक्दैन भन्ने धारणा पहिलेदेखि नै समाजमा जरा गाडेर बसेको छ। त्यसैले व्यवहारमा पनि देखिने हुन्छ। समाजले हेर्ने दृष्टिकोण र सोचाइको उपज नै यो विभेद हो।

म परिवारसम्बन्धी मुद्दा नै बढी हेर्छु। महिलाको अंश लगायतको विषयमा मुद्दा हेर्ने गर्छु। धेरै पीडित त महिला नै देखिन्छन्। तर अहिले महिलाले पनि चलाखी गरेको, केही गलत काम गरेको अवस्था छ। कतिपय अवस्थामा केही समयको लागि विवाह गर्ने त्यहाँबाट लाभ लिने र अंश अनुमान लगाएर डिभोर्स फाइल गर्ने पनि छन्।

कतिपय पुरुषहरू यस्ता पनि हुनुहुन्छ। सम्बन्ध विच्छेद गर्न केही पुरुषहरू हाम्रै सामु रूने पनि गर्छन्। सबै पुरुष गलत हुन्छन् भन्ने होइन।

मेरो जिन्दगी त भान्सामै बित्यो अब आउने छोरीहरूले यसरी जिन्दगी खेर नफालुन्

पार्वती थपलिया, गृहणी

छोरा र छोरीमा पहिले निकै भेदभाव हुन्थ्यो। ५० वर्ष पहिले काभ्रेमा छोरी मान्छे पनि पढ्छन् भन्ने थाहा नै थिएन। उनै बाबुआमा। एउटै कोख। एउटै खाना। एउटै स्कुल। तर बुवा आमाले मसँगैका दाजुहरूलाई स्कुल पठाउँदा मलाई ‘छोरी मान्छे बिग्रिन्छन् स्कुल पढ्नहुँदैन’ भनेर पठाउनुभएन।

मलाई मात्र होइन हाम्रो गाउँमै छोरी मान्छे स्कुल जान हुँदैन भन्ने गरिन्थ्यो। अहिले अस्पताल वा अन्त कतै जाँदा म भन्दा पनि बढी उमेरका महिला डाक्टर वा सरकारी कर्मचारी भएको देख्छु। उहाँहरूले त त्यो बेलामा पनि पढ्न पाउनुभएन। आखिर छोरीलाई पनि पढाइदोरहेछ तर हाम्रो समाजमा किन पढ्न पठाइएन भनेर सोच्छु।

दाजुहरू झोला बोकेर स्कुल जाँदा म घरकै काम गर्थेँ। मलाई निकै पढ्ने रहर थियो। आमाले पनि यो छोरी पढेपछि स्वस्थानी पढ्न सजिलो हुन्थ्यो होला भनेर पढ्न पठाउने मन त गर्नु भएको थियो तर बुवाले दिनु भएन।

छोरी नपढ्ने समाजमा हुर्किएँ तर मैले मेरा छोरा र छोरीलाई भेदभाव गरिनँ। दुवै जनालाई सँगै पढ्न पठाएँ। छोरालाई जे दिएँ, छोरीलाई पनि त्यहि नै दिएँ।

अहिलेका छोरी, बुहारी पढेलेखेका छन्। कसैसँग दुईचार पैसा माग्नु पर्दैन। मैले त निकै दुःख पाएँ। आफ्नो गुजाराका लागि पनि श्रीमान् र घरपरिवारसँग माग्नुपर्थ्यो। भने जस्तो खाना नपाइने, लगाउन नपाइने। घरकै काम गर्दागर्दै उमेर सकिँदै गयो।

हाम्रो जमाना जस्तो छैन अहिले। छोरी मान्छे धेरै माथि पुगिसकेका छन्। मेरो जिन्दगी त भान्सामै बित्यो अब आउने छोरीहरूले यसरी जिन्दगी खेर नफालुन्। आफ्नो खुट्टामा उभिउन् तर बुढा बाबु आमालाई कहिले दुःख नदिउन्।

करिअरमा सफल हुन महिलाहरूले मनोरञ्जन र पारिवारिक माहोल त्याग्नुपर्छ

मीना श्रेष्ठ, सहसचिव, खानेपानी मन्त्रालय

मध्यपुर ठिमी नगरपालिकामा जन्मे। काठमाडौं उपत्यकामै हुर्किएँ। यतै पढेँ। बिहे भने काठमाडौं महानगरपालिकाको बसन्तपुरमा भयो। २०५३ सालमै म निजामति सेवामा प्रवेश गरेकी थिएँ। मैले बिहे गर्दा स्थायी जागिरे नै भइसकेकी थिएँ। त्यसपछि मास्टर्स पढ्न चाहिँ बच्चा भइसकेपछि मात्रै बाहिर गएर पढेँ। श्रीमानले मेरो करिअरमा धेरै नै सहयोग गर्नुभएको छ। उहाँकै सहयोगले नै हो मैले बच्चा भएपछि बाहिर बसेर पढ्न पाएको।

अहिले बिहानै उठेर घरायसी काम सकेर मात्रै कार्यालय जाने गर्छु। बेलुका पनि घरायसी काम सकेर मात्रै सुत्ने गर्छु। छुट्टीको दिनमा पनि मैले पारिवारिक काममा मात्रै ध्यान दिने गर्छु। घर बाहिर मनोरञ्जनमा घुम्ने मुभी हेर्न लगायतको काम केही गर्दिनँ। म समय व्यवस्थापनमा विशेष ध्यान दिन्छु।

श्रीमानले मानसिक रूपमा सपोर्ट गर्नुहुन्छ। तर सामाजिक संस्कारअनुसार उहाँहरूले घरायसी काममा भने त्यति सहयोग गर्नुहुन्न। त्यसमाथि घरको काम अरूले गरेको मन पर्दैन।

करिअरमा सफल हुन महिलाहरूले मनोरञ्जन र पारिवारिक माहोल त्याग्नुपर्छ। माइती घर, आफन्तजन, दिदीबिहनीलाई दिने समय घटाउँदै लगे मात्रै करिअरमा सफल हुनु सम्भव छ। कसैले समय दिन्न भनेर चित्त दुखाइरहेका पनि हुन्छन्। यी कुराहरूमा चाहिँ विशेष ख्याल गर्नुपर्छ।

समय अनुसार महिला पनि फेरिनुपर्छ

डा. मनिषा रावल, निर्देशक, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल

मेरो जन्म मध्यमवर्गीय शिक्षित परिवारमा भएको हो। आमा बुवा दुवैजना शिक्षित भएकाले होला छोरा–छोरीमा कुनै पनि अवस्थामा मतभेद गर्नु हँुदैन भन्नुहुन्थ्यो। मैले पनि कहिल्यै विभेदको महसूस गरिनँ।

सानैबाट स्वावलम्बी हुनुपर्छ। त्यसका लागि धेरै पढ्नुपर्छ भन्ने माहोलमै हुर्किए। भौतीक सुखसुविधा नपाएपनि शिकक्षाबाट बन्चित कहिले हुनु परेन।

बिस्तारै चिकित्सक भएपछि पनि म महिला हो भन्ने सोचिनँ। शुरुमा त म एक चिकित्सक हो त्यसपछि मात्र एक महिला हो भन्ने सोचेँ।

जनस्वास्थ्य कार्यालयको प्रमुखदेखि लिएर केन्द्रीय अस्पतालको दुई पटकसम्म निर्देशकको कुर्सीमा बस्दा कहिल्यै पनि महिलाको दृष्टिबाट निर्णय लिएको छैन्। मैले लिएका निर्णयहरू कहिल्यै पनि महिलामैत्री छैनन्।

मेरो मानसिकतामा कहिले पनि महिला र पुरुषको हक अधिकार, मतभिन्नता भन्ने सोच हावी हुनै दिइनँ। तर हाम्रो समाजमा अझै पनि पितृसत्तात्मक सोच नै हावी छ। यसमा कुनै दुई मत नै छैन। हामी महिलाले आफ्नो हक र अधिकारको कुरा गरिरहदा आफ्नो कर्तव्यलाई छाती मै राखेर अलि बढि पो मागिरहेका छौं कि भन्ने आभाष पनि कहिलेकाहिँ हुन्छ। समय अनुसार महिलाले पनि आफूलाई केहि परिर्वतन गर्नुपर्छ। सबै पुरुष गलत छैनन् र सबै महिला सहि छैनन् यो कुरा सबैले बुझ्नु पर्छ। कानूनले ल्याएको नितीले महिलालाई नै बढि सशक्त बनाइरहेको छ।

घर र जागिरको जिम्मेवारी समान हिसाबले बहन गर्न निकै कठिन हुने रहेछ

बबिता खड्का, शिक्षक, जय बागेश्वरी मा. वि.

चार वर्षअघि बाल विकास सहजकर्ता (इसिडि) शिक्षकमा नियुक्त हुँदा एक महिनाको सुत्केरी थिएँ। छोरो सानो भए पनि परिवारले साथ दिएकाले पढाउन शुरु गरेँ।

महिला घरमा नै सिमित हुनुपर्छ भन्ने समाजमा मैले भने घर बाहिर निस्कने अवसर पाएँ।

शुरुमा बालबालिकालाई पढाउन गाह्रो भयो। त्यसबेला शिक्षकबाटै असहयोग भयो। आफूलाई बानी परेपछि पढाउन सहज लाग्न थाल्यो।  महिलाहरू माथिल्लो तहमा पुग्न सक्दैनन् भन्ने मानसिकता शिक्षकमा पनि देखिन्छ।

घर र जागिरको जिम्मेवारी समान हिसाबले बहन गर्न निकै कठिन हुने रहेछ। साना छोराछोरी र आमाबुवालाई बिहानको खाना खुवाएर स्कुल जान चटारो हुन्छ। दिनभरी स्कुलका केटाकेटीलाई खेलाउँदा थकित भएर घर पुगेर काम गर्न निकै कठिन हुन्छ।

व्यवहारमा अझै विभेद छ

ज्ञानु घिमिरे, सफाइ कर्मचारी टेकु अस्पताल

मैले सानैबाट छोरी र छोरामा हुने विभेद भोगकी छु। तर अस्पतालमा काम गर्दै गर्दा त्यति धेरै विभेद भोग्नु परेको छैन। अलि बढि गह्रुंगो उचाल्नु पर्दा भने पुरुष साथीहरूलाई अगाडि पठाइन्छ। तर पुरुष साथीहरूले भन्दा पनि बढि काम हामीले नै गर्नुपर्छ। जति भने पनि अलिअलि विभेद भने देखिन्छ नै।

मुखले जति नै छोरा र छोरी समान हुन् भने पनि व्यवहारमा अझै धेरै पक्षपात देखिन्छ। महिला एक्लै बसेर केहि काम गरेर दैनिकी चलाइरहेकी छिन् भने पनि गलत नजरले हेर्ने विभिन्न किसीमका कुरा काट्ने जस्ता हे पाहा व्यवहार अझै कायमै छ।

पहिले भन्दा अहिले केहि सुधार आएको छ अझै सुधार हुदै जाओस्। महिलाहरू धेरै अगाडि पुगेर हामीलाई प्रेरणा मिलोस्।

१० वर्षदेखि एउटै तलब र पदमा कार्यरत छौं

उषा देवकोटा, नर्स, टेकु अस्पताल

म नर्सिङ पेशामा लागेकै २७ वर्ष भइसक्यो त्यो बेला र अहिलेको परिस्थिति धेरै फेरिएको छ। त्यतिबेला नर्स पढ्ने भन्ने बित्तिकै नाक खुम्चाइन्थ्यो।

पढाइ सकियो। जागिर खाएँ। पहिले जिब्रो टोक्ने मान्छेहरूलाई नै कुनै दिन अस्पताल आउँदा उपचार गरेपछि अहो नर्सिङ त पढ्नु पर्ने रैछ, राम्रै विषय पढेकी रैछौं नानी भन्नुभयो।

मैले उपचार गरेका आफन्तले नै गाउँमा गएर फलानाकी छोरीले त यसरी उपचार गरेर निको पारी भनेर भन्नुभयो। त्यसैले पनि काम गर्ने थप उर्जा मिल्यो।

हाम्रो समाजले हरेक कुरामा महिला र पुरुषका लागि फरक–फरक सीमा कोरिदिएको छ। पुरुषले गर्ने काम महिलालाई ‘तिमी यो गर्न सक्दैनौ नगर यो त पुरुषले गर्ने काम हो’ भनेर महिलालाई कमजोर तुल्याइन्छ। जस्तो नर्सिङ पेशाका लागि पनि प्रायः महिलालाई नै राखिन्छ किनभने उनीहरू सानो कुराहरूमा पनि संवेदनशील भएर काम गर्छन्। त्यहि ठाउँमा पुरुषले त्यसरी लगनशील भएर काम गरेको अलि कम नै देखेको छु।

हरेक पेशामा पदउन्नती हुन्छ तर सुगममा काम गर्ने नर्सको कहिल्यै पनि बढुवा हुँदैन। दुर्गममा काम गर्न जाऔं भने पनि त्यसका लागि कोटा निकै कम हुन्छ।

बढुवाको विषयमा चाहि नर्स महिला बढि भएरै यस्तो भएको होला भन्ने लाग्छ। १० वर्ष देखि एकै किसीमको तलब र एउटै स्थानमा बसेर काम गरिरहेका छौं जहाँ हामी सन्तुष्ट छैनौँ।

शिक्षकहरू किशोरीको समस्या बुझ्न खोज्दैनन्

अनुराधा तिवारी, स्कुल नर्स

स्कुलको नर्स भएकाले मेरो सँगत किशोरीहरूसँग बढी हुन्छ। छात्राहरूविद्यार्थी बिरामी हुँदा शिक्षकसँग समन्वय गर्न असहज हुन्छ। महिनावारीको समयमा किशोरीहरूलाई सहन नसक्ने गरी पेट दुख्दा पनि शिक्षकले यति हुँदा नि किन कक्षा छोड्ने भन्नुहुन्छ। उहाँहरूलाई बुझाउन असहज हुन्छ।

शिक्षकले कक्षा छोड्ने अनुमति नदिँदा असह्य पिडा हुँदा पनि विद्यार्थीले आराम गर्न पाएका छैनन्। त्यहि पेट दुखेको त हो कक्षामा बस्न सकिहाल्छन् नी भन्नुहुन्छ। किशोरीहरूको समस्या शिक्षकलाई बुझाउन अलि कठिन हुन्छ। अभिभावकलाई बुझाउन पनि समस्या हुन्छ।

सामुदायिक विद्यालयमा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका पढ्ने भएकाले उहाँहरू बालबालिकाको समस्यालाई बेवास्ता गर्नुहुन्छ।

पहिला शिक्षकहरूलाई यस्ता विषय बुझाउन निकै कठिन भयो। अहिले यस्ता समस्या बुझ्न थाल्नु भएको छ । धेरै अवस्थामा सहयोग गरे पनि कहिलेकाहिँ बैठकमा शिक्षकहरूले हेप्ने प्रवृत्ति देखाउनुहुन्छ।

छोरी भएकैले रोजेको विषय पढ्न पाइनँ

सन्तोषी क्षेत्री, विद्यार्थी, लुम्बिनी एकेडेमी

छोरी भएकै कारण ६ वर्षकी पुग्दा पनि स्कुल जान पाइनँ। घरमा दाई हुँदा पनि छोरी भएकाले एक वर्ष भाई हेरेर बस्नुपर्‍यो। दाई स्कुल जाँँदा मलाई पनि निकै रहर लाग्थ्यो तर भाई हेरेर बस्नुपथ्र्याे। सात वर्षको भएपछि मात्र नियमित स्कुल जान थाले। त्यतिबेला दाई बोर्डिङ स्कुलमा पढ्नुहुन्थ्यो म भने सरकारीमा।

केटीहरूलाई पढ्न सहज थिएन। नौ र दश कक्षामा पढ्दा साथीहरूले केटा साथीको नाम जोडेर जिस्काउँथे। त्यसैले एक्लै स्कुल जान आउन डर लाग्थ्यो। साथीहरूले स्कुलमा मात्र नभई घरमा पनि केटासँग नाम जोडेर जिस्काउँदा परिवारको गालिगलौज सहनुपर्‍यो।

१६ वर्षमा एसएलसी पास भए। मलाई नर्सिङ पढ्न मन थियो। पढ्ने वातावरण मिलेन। त्यसपछि कर्मस पढे। कक्षा १२ मा पढ्दा स्कुलले भम्रण लगेको थियो। त्यसबेला पनि छोरी भएकै कारण मलाई भम्रण जान रोक लगाइयो। अहिले स्नातक पढ्दा पनि आफ्नो रोजाईको विषय पढ्न पाएकी छैन। मलाई बीबीए पढ्ने मन थियो तर बीबीएस पढिरहेकी छु।

मानिसको खुसी उसले पाएको स्वतन्त्रताका आधारमा तय हुन्छ

रामदेवी कासुला, गृहणी

महिलालाई अगाडि बढ्न साथ चाहिन्छ। हौसला चाहिन्छ। प्रेरणा दिने मान्छे चाहिन्छ। राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भनिदिने मान्छे चाहिन्छ। त्यस्तो मानिस भयो भने महिलालाई अगाडि बढ्न सजिलो हुन्छ। तर त्यस्तो हौसला दिने मान्छे कमै हुन्छन्। समाजमा त यो काम छोराले गर्ने, यो काम छोरीले गर्ने भनेर छुट्याइएको हुन्छ। मेरो घरमा पनि भान्छा छोरी, बुहारी, आमाको भागमा पर्थ्यो। घर बाहिरको काम बुवा र दाइले गर्नुहुन्थ्यो।

म दाइभन्दा कम छु भन्ने मलाई कहिल्यै लागेन। तर समाजले ‘तँ कमजोर छस्’ भनेर प्रत्येक पाइलामा देखाउँथ्यो। महिला कमजोर हुन्छन् भनेर सुनाइरहन्थ्यो। त्यही भएर अरूको अगाडि बोल्न सकिँदैनथ्यो। हाँस्दा पनि आवाज ननिकाली हाँस्नुपर्ने, ठूलाको अगाडि आफूलाई लागेको कुरा भन्न नहुने अवस्था थियो। परिवारले केही नभने पनि समाजले भन्थ्यो। मानिसको व्यवहार, बोलीले सँधै म कमजोर भएको आभास गराउँथ्यो। हामी छोरीले घरबाहिरको काम गर्न सक्दैनन्, बोल्न सक्दैनन् भनेर देखाउँथ्यो।

मानिसको खुशी उसले पाएको स्वतन्त्रताका आधारमा तय हुन्छ जस्तो लाग्छ। हाम्रो समाजमा जति स्वतन्त्रता पुरुषले पाएका छन्, त्यति महिलाले पाएका छैनन्। पहिलेदेखि नै पुरुष भन्दा महिला कमजोर हुन्छन् भन्ने सोचाइ समाजमा छ। तैपनि मैले संघर्ष गरेँ। कलेजमा होम साइन्स पढेँ। प्लस टु पास गरेपछि आफ्नो हातमा सीप भयो। आफ्नो लागि आफैले कमाउन सकेँ। पछि कम्प्युटर सिकेँ। कम्प्युटरमा राम्रो जानकारी भएपछि सिकाउन पनि थालेँ। त्यसबाट आम्दानी हुन थाल्यो। आर्थिक रूपमा बलियो भएपछि ममा अर्कै खालको आत्मविश्वास आयो।

बिहे भएपछि फेरि जिन्दगी बन्धनमा बाँधिदो रहेछ। रहनसहन नै फेरियो। जिम्मेवारी बढ्यो। जिन्दगीका हरेक निर्णयमा अनुमति लिनुपर्ने भयो। खानपानदेखि सबै कुरामा मन्जुरी लिएर मात्रै काम गर्नुपर्ने भयो। काम छोडेर घरमा बस्दा परिवारले त केही भन्दैनथ्या, तर आफैलाई केही गर्न पाएको भए हुन्थ्यो भन्ने लागिरहन्थ्यो।

अहिले मेरो छोरा र छोरी हुर्काउनको लागि घरमै बसेको छु। दुवै हुर्किएपछि फेरि काम गर्न शुरू गर्छु।

पहिले पढेको मान्छे झन् बिग्रियो हेर भन्थ्यो। पढेकाको बुद्धि हुँदैन भन्थ्यो। अहिले त्यस्तो भन्दैन। सोच, व्यवहार देखि लिएर काममा पनि परिवर्तन भइसकेको छ। व्यवहार र शिक्षा भनेको पहिले देखि नै सही दियो भने पछि यस्तो गर्छ भन्नुपर्दैन। पहिले सानोमा जुन व्यवहार हामीले भोग्यौँ, त्यो अब मेरो छोराछोरीले भोग्न दिन्नँ। छोराछोरी दुबैलाई बराबर शिक्षा दिन्छु। समान शिक्षा भयो भने विभेदको अन्त्य हुन्छ होला। व्यवहार समान हुन्छ होला।

पहिलेको कुरामा अहिले परिवर्तन भएको छ। अजी, आमादेखि हाम्रो पालामा भन्दा अहिले आउँदासम्म परिवर्तन भएको छ। तर पनि परिवर्तन हुन धेरै कुरा बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved