नेटवर्किङ व्यवसायमा ग्लोबल ओरिएन्सको ठगीधन्दा, ठाउँ-ठाउँमा बिक्री केन्द्र

व्यावसायिक दृष्टिकोणले अनुचित र असम्भव देखिने आकर्षक उपहार र कमिसनको प्रलोभनमा उपभोक्ता ठग्दै

सरकारले कानुनी व्यवस्था गरेरै घुमाउरो शैलीमा नेटवर्किङ व्यवसायलाई अनुमति दिएपछि विभिन्न आर्थिक प्रलोभनमा परी ‘ग्लोबल ओरिएन्स नेपाल’ नामक कम्पनीले उपभोक्ताहरू ठगिरहेको पाइएको हो।

नेटवर्किङ व्यवसायमा ग्लोबल ओरिएन्सको ठगीधन्दा, ठाउँ-ठाउँमा बिक्री केन्द्र

विराटनगर। नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यावसायमा संलग्न रही डाइरेक्ट सेलिङ कम्पनीको पहिचान बनाएको ग्लोबल ओरिएन्सले पछिल्लो समय उपभोक्ताहरू ठगिरहेको पाइएको छ।

सरकारले कानुनी व्यवस्था गरेरै घुमाउरो शैलीमा नेटवर्किङ व्यवसायलाई अनुमति दिएपछि विभिन्न आर्थिक प्रलोभनमा पारी ‘ग्लोबल ओरिएन्स नेपाल’ नामक कम्पनीले उपभोक्ताहरू ठगिरहेको पाइएको हो।

वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन, २०७४ र नियमावली २०७६ को आफूअनुकूल व्याख्या गर्दै नेटवर्किङ व्यावसायहरू फस्टाउन थालेपछि आम सर्वसाधारण यसको मारमा पर्दै गएका छन्। मानव शरीरलाई आवश्यक खाद्य पूरक तथा स्वास्थ्यवर्द्धक उत्पादनहरू बिक्री वितरण गर्दै आएको दाबीसहित बजारमा डाइरेक्ट सेलिङ कम्पनीको पहिचान बनाएको ओरिएन्सबाट पछिल्लो समय ठूलो संख्यामा उपभोक्ताहरू ठगिँदै गएको नेपालभ्यूजले फेला पारेको छ।

कम्पनीको वस्तु बिक्री गर्ने प्रयोजनका निम्ति व्यावसायिक दृष्टिकोणले अनुचित र असम्भव देखिने आकर्षक उपहार र कमिसनको प्रलोभन देखाई सदस्य बनाउने तथा महँगो वस्तु खरीद गर्न लगाउने कार्यबाट सर्वसाधारणहरू ठगिँदै गएका झापाको दमक बस्ने वर्ष २७ का रमेश श्रेष्ठ (नाम परिवर्तन) ले बताए।

बेरोजगार तथा आर्थिक रूपमा विपन्न व्यक्ति र विद्यार्थीहरूलाई कम्पनीले विभिन्न प्रलोभनमा पारेर गैह्रकानूनी मानिएको नेटवर्किङ व्यावसायमा सामेल गराउने गरेको उनले जानकारी दिए। ‘करोडौंको आम्दानी, वैैदेशिक भ्रमण र कार तथा घर खरीदलगायत सपनाहरू देखाएर कम्पनीले लक्षित समुदायलाई नेटवर्किङ व्यावसायमा सामेल गराउँदै आएको छ,” उनले भने, “म स्वयं ती महीनासम्म यस कम्पनीमा काम गरेर ठगिएको महशुस भएपछि छोडेको व्यक्ति हुँ। साथीको मार्फतबाट कम्पनीसँग जोडिएको थिए।”

युनिटीलगायत विभिन्न मल्टीनेशनल कम्पनीहरूले गैह्रकानूनी रूपमा पिरामिड शैलीमा सञ्जाल विस्तार गरी अर्बौं ठगेको गुनासोपछि सरकारले १ दशकअघि त्यस्ता कम्पनीलाई प्रतिबन्ध लगाएको थियो। तर, गएको असार १६ गतेदेखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्यस्तो व्यावसाय गरिरहेका कम्पनीहरूलाई अनुज्ञा–पत्र प्रदान गर्न थालेपछि सर्वसाधारण ठगीको शिकार बन्दै गएका छन्।

सर्वोच्च अदालतले २०६८ चैत्र १५ मा नेटवर्क मार्केटिङ व्यवसायमा बन्देज लगाउने सरकारी निर्णय कानुनसम्मत भएको फैसला सुनाएको थियो। त्यही फैसलामा सर्वोच्चले स्वच्छ प्रतिस्पर्धा र उपभोक्ताको हितमा प्रतिकूल प्रभाव नपर्ने गरी कानून बनाएर प्रत्यक्ष व्यवसाय सञ्चालनका लागि अनुमति दिनसक्ने भनेको थियो। त्यही फैसलाको अपव्याख्या गर्दै ऐन र नियमावली बनाई सरकारले २०७४ सालदेखि घुमाउरो शैलीमा नेटवर्किङ व्यवसायलाई वैधता प्रदान गरेको छ।

वस्तुको खुद्रा बिक्रीलाई निरुत्साहित गर्ने व्यापारिक कार्ययोजनासहित कुनै वस्तुलाई अप्रत्याशित लाभ हुने तथा चिकित्सा विज्ञानबाट निको नहुने भनी प्रमाणित भएको रोगसमेत निको पारिदिने अलौकिक वस्तु हो भनी विश्वासमा पारी ओरिएन्सले आफ्नो सञ्जाल विस्तार गरिरहेको कम्पनीका पूर्वकर्मचारीहरू बताउँछन्।

नयाँ कानुनमा पनि नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने भनिए पनि इजाजत लिएका र आवेदन दिएका प्रायः कम्पनीले पिरामिड शैलीमै सञ्जाल विस्तार गरेर व्यावसाय सञ्चालन गरिरहेका छन्। त्यसमध्ये पछिल्लो समय एकदमै चर्चामा आएको कम्पनी हो, ग्लोबल ओरिएन्स।

वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ ले पिरामिड शैलीमा आधारित व्यावसाय सञ्चालनमा प्रतिबन्ध लगाएको छ। ऐनको दफा ११ मा भनिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि कसैले पनि पिरामिडमा आधारित व्यवसाय सञ्चालन गर्न हुँदैन।’

ऐनमा पिरामिड शैलीमा आधारित व्यवसाय भन्नाले वस्तु खरीद गर्नुपूर्व अनिवार्य रूपमा कुनै किसिमको सदस्यता लिनुपर्ने, एक वस्तु खरीद गर्दा अन्य वस्तु समेत एकमुष्ठ प्याकेजमा खरीद गर्नुपर्ने र वस्तु खरीद गर्ने व्यक्तिले आफूमातहत अर्को प्रत्यक्ष बिक्रेता वा वितरक बनाउन नसकेको खण्डमा आफूले भुक्तानी गरेको रकम फिर्ता पाउने नसक्ने स्थितिको सञ्जालयुक्त कार्य भनेर व्याख्या गरिएको छ।

तर, साथीभाइको लहलहैमा र वास्तविक जानकारीको अभावमा पछिल्लो समय उपभोक्ताहरू ओरिएन्सको दलदलमा फस्दै गएका छन्। आयआर्जनको भरपर्दो श्रोत र विदेश घुम्ने सपना बोकेर कम्पनीमा लाखौं लगानी गरेका उपभोक्ताहरू हाल बिचल्लीमा परेका छन्।

“शुरुशुरुमा ओरिएन्स आयआर्जनको भरपर्दो श्रोत हो भनेर विश्वस्त बनाइयो। त्यसपछि काम गर्ने तरिकाबारे थप बुझ्नुपर्छ भन्दै विभिन्न सेमिनारमा सहभागी हुन लगाइयो,” झापाको बिर्तामोड बस्ने वर्ष २५ का अनिता विश्वकर्मा (नाम परिवर्तन) ले भनिन्, “सानैदेखि मसँग पढेको साथीले कम्पनीसँग जोडिदिएको हुनाले शंका गर्ने ठाउँ नै भएन। ४ वटा सेमिनारमा सहभागी पनि भएँ, चारपटक गरेर प्रतिसेमिनार २ हजार ५ सयका दरले कुल १० हजार पैसा पनि तिरें। तर, सेमिनार उपलब्धिमूलक भएन। ब्रेन वास गर्ने प्रयत्न गरियो। त्यसपछि आफू ठगिएको महशुस भएपछि २ महीनामै छोडें। अहिले पनि झापाको दोमुखास्थित होटल पालीघरमा हरेक हप्ताको शुक्रबार र शनिबार ओरिएन्सको तालिम हुन्छ।”

वस्तुको खुद्रा बिक्रीलाई निरुत्साहित गर्ने व्यापारिक कार्ययोजनासहित कुनै वस्तुलाई अप्रत्याशित लाभ हुने तथा चिकित्सा विज्ञानबाट निको नहुने भनी प्रमाणित भएको रोगसमेत निको पारिदिने अलौकिक वस्तु हो भनी विश्वासमा पारी ओरिएन्सले आफ्नो सञ्जाल विस्तार गरिरहेको कम्पनीका पूर्वकर्मचारीहरू बताउँछन्।

कर्मचारीहरूका अनुसार ओरिएन्समा जोडिएका उपभोक्ताहरूलाई खाद्य पूरक तथा दैनिक उपभोग्य घरेलु उत्पादनकोे रूपमा रहेको क्रिम, पाउडर, सेम्पु, ब्रश र टुथपेस्टलगायत वस्तुहरू स्टकमा खरीद गर्न लगाएर व्यावसाय शुरु गर्न लगाइन्छ।

लेभल वान, टु र थ्री गरी ३ वटा लेभलबाट व्यावसाय शुरु गर्न पाइन्छ। लेभल वानमा करिब १० हजार, लेभल टु मा ४० देखि ४५ हजार र लेभल थ्री मा करिब १ लाख बराबरको सामान खरीद गर्नुपर्छ। लेभल वानमा खरीद गरिएको सामानको प्वाइन्ट भ्याल्यु (पीभी) पाइँदैन। अन्यमा सामान अनुसारको प्वाइन्ट भ्यालु पाइन्छ। उक्त प्वाइन्ट भ्यालु नै कम्पनीबाट प्राप्त हुने आम्दानी हो। तर, ती उत्पादनहरू बजारको अन्य उत्पादनको तुलनामा केही महँगा हुन्छन्। उनीहरू भन्छन, “स्टकमा खरीद गरिएको सामानहरू पनि लामो समयसम्म प्रयोग गर्नुपर्ने भएकाले बिग्रने डर हुन्छ। शरीरलाई हानि पुर्‍याउन सक्ने किसिमको हुन्छ। विश्वास गर्नै सकिँदैन।”

ठाउँठाउँमा सेल्स काउन्टर

कम्पनीका एक पूर्वकर्मचारीका अनुसार ओरिएन्सका उत्पादनहरू जताततै खरीद गर्नै पाइँदैन। सम्बन्धित सेल्स काउन्टरमै गएर खरीद गर्नुपर्छ। नेपालमा ओरिएन्सका कूल १७ वटा सेल्स काउन्टरहरू छन्। प्रदेश १ मा ताप्लेजुङ्गको फुङलिङ, झापाको दमक तथा बिर्तामोड, मोरङको उर्लाबारी, सुनसरीको धरान र इलाममा ओरिएन्सको सेल्स काउन्टर छ।

मधेश प्रदेशमा उदयपुरको गाईघाट र धनुषाको जनकपुर तथा बाग्मती प्रदेशमा ललितपुरको कुमारीपाटी र चितवनमा ओरिएन्सको सेल्स काउण्टर छ। यस्तै गण्डकी प्रदेशमा पोखराको रामबजार, लुम्बिनी प्रदेशमा दाङको घोराही तथा रुपन्देहीको बुटबल, कर्णाली प्रदेशमा सुर्खेत तथा प्यूठान र सुदुरपश्चिम प्रदेशमा कैलालीको धनगढी तथा टीकापुरमा ओरिएन्सको सेल्स काउण्टर रहेका जनाइएको छ।

उपभोक्ता ठगिएको गुनासो प्राप्त भएपछि झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले कानून मिचेर कुनै व्यावसाय सञ्चालन गर्न नमिल्ने बताए। उनले ओरिएन्सद्वारा उपभोक्ता ठगिएको प्रमाणित भए प्रचलित कानूनबमोजिम कारबाही हुने जानकारी दिए। उनले भने, “घटनाबारे हामी बुझ्छौं। कानून उल्लंघनको अधिकार कसैलाई हुँदैन।”

सम्बन्धित विषयमा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्ला प्रशासनका कार्यालयको तर्फबाट नियमित बजार अनुगमन भइरहेको जिकिर गर्दै उजुरी प्राप्त भए सम्बन्धित कम्पनी उपर छानबिन गरिने बताए। उनले भने, “चिप्लाचिप्ला कुरा गरेर उपभोक्ता ठग्न पाइँदैन।”

प्रहरीले बेलाबखत करछली ल्याएका ओरिएन्सका सामानहरू बरामदसमेत गर्ने गरेको छ। गत वर्ष मात्रै झापा प्रहरीले ८७ लाख २६ हजार ५ सय २० रुपैयाँको ३ हजार ३ सय ५८ बट्टा समानहरूको बिल भएको र २ करोड ४२ लाख ४० हजार ७ सय ३० रुपैयाँको ९ हजार ९ सय ४३ बट्टाको बिल नभएको ओरिएन्सको उत्पादनहरू बरामद गरेको थियो।

तर, प्रहरी तथा सरोकारवाला निकायले चाल पाएर पनि नपाएझैं गरेकाले यो धन्दा मौलाउँदै गएको स्थानीय बताउँछन्। पूर्वमा यसको नेटवर्क विस्तार र उत्पादन बिक्रीका लागि कम्तिमा ५ हजार युवायुवती खटिएको उनीहरूको भनाई छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved