अलमुताइरीको ‘सोसल मिडिया फ्याक्टर’

नेपाली टिमले सफलता हासिल गरेपछि सामाजिक सञ्जालमा समर्थकहरूलाई धन्यवाद दिन उनी भुल्दैनन्। कहिलेकाहीँ नेपालीलाई नै राष्ट्रियता सिकाउँछन् र कहिले राजीनामाको घुर्की पनि लगाउँछन्।

अलमुताइरीको ‘सोसल मिडिया फ्याक्टर’

काठमाडौं। पछिल्लो एक वर्षमा नेपाली फुटबल निकै चर्चामा छ। इतिहासमै पहिलोपटक साफ फुटबलको फाइनलमा पुगेको कारण पनि यो वर्ष नेपाली फुटबलका लागि उपलब्धिमूलक रह्यो।

यसै हप्ता अफ्रिकी राष्ट्र मौरिससविरुद्धका दुवै मैत्रीपूर्ण खेल जितेपछि नेपाली फुटबलको चर्चा फेरि चुलिएको छ। यसमा जति योगदान नेपाली राष्ट्रिय टिमका खेलाडीहरूको छ, त्यति नै योगदान प्रशिक्षक अब्दुल्ला अलमुताइरीको पनि छ।

एकपछि अर्को सफलताका कारण अहिले अलमुताइरी नेपाली फुटलब समर्थकमाझ नायक सावित भएका छन्। उनी चर्चित हुनुको एउटा कारण नेपाली टिमले गरेको उत्कृष्ट प्रदर्शन हो भने अर्को कारण सामाजिक सञ्जालमा उनको दरिलो उपस्थिति पनि हो।

नेपाली फुटबलमा अलमुताइरी पहिलो विदेशी प्रशिक्षक होइनन्। यसअघि आएका विदेशी प्रशिक्षकले पनि राम्रै नतिजा दिलाएका थिए। तर, समर्थकमाझ अलमुताइरी जति चर्चित छन्, त्यति उनीहरू थिएनन्।

आलमुताइरीले प्रविधिको लाभ लिएका छन्। उनले फुटबल समर्थकसँगको सम्बन्ध प्रगाढ बनाउन सोसल मिडियाको राम्रै प्रयोग गर्ने गरेका छन्। गत वर्ष नेपाली फुटबल टिमको प्रमुख प्रशिक्षक भएर नेपाल आउनुअघि उनले राष्ट्रिय टिममात्रै नभएर नेपाली फुटबलको फ्यान फलोइङबारे पनि राम्रै खोज गरेजस्तो देखिन्छ।

किनकी, उनी नेपाली समर्थकहरूलाई शुरुदेखि नै मोहित पार्न सफल छन्। ‘नेपालीहरू फुटबलको लागि पागल छन्, तर म त्योभन्दा अलि बढी पागल छु,’ उनले एक अन्तर्वातामा भनेका थिए।

नेपाली टिमले सफलता हासिल गरेपछि सामाजिक सञ्जालमा समर्थकहरूलाई धन्यवाद दिन उनी भुल्दैनन्। कहिलेकाहीँ नेपालीलाई नै राष्ट्रियता सिकाउँछन् र कहिले राजीनामाको घुर्की पनि लगाउँछन्।

राष्ट्रिय भावनाले ओतप्रोत हुने सन्देश दिने मात्र होइन राष्ट्रिय गान, राष्ट्रिय झण्डा, र जर्सीसँग जोडेर स्टाटस पनि राख्छन्। कहिले विवादमा तानिन्छन् भने कहिलेकाँही खेलाडीको वाहवाही बटुल्छन्।

अलमुताइरी विपक्षी टिमसँग माइन्ड गेम खेल्न पनि सामाजिक सञ्जालको पनि प्रयोग गर्छन। खेलका लागि मैदानमा मात्र होइन मैदान बाहिर पनि ट्याक्टिस लगाउन माहिर उनलाई एशियाका जोसे मौरिन्हो भन्दा फरक नपर्ला।

नेपालको प्रशिक्षक नियुक्त भएपछि एन्फाले सार्वजनिक गरेको पहिलो कार्यक्रममा नै उनले नेपाली जनताको तारिफ गर्दै नेपाली समर्थकलाई आगामी दिनमा खुशी पार्ने बताएका थिए। गत वर्ष चैतमा नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएलगत्तै उनले फेसबुक, इन्स्टाग्राम जस्ता आधिकारिक सोसल मिडिया अकाउन्ट सार्वजनिक गरेका थिए।

उनले भिडियोमार्फत् नै आफ्नो आधिकारिक अकाउन्टमा सबै समर्थकले जिज्ञाशा राख्न र त्यसको आफूले जवाफ दिने बताएका थिए। हुन पनि उनी सामाजिक सञ्जालमा पोष्ट मात्र गर्दैनन्। पोष्टमा आएका समर्थकका प्रतिक्रियालाई पढ्छन् पनि र यथाशक्य जवाफ पनि दिन्छन्।

नेपाली समर्थकको मन जित्न शुरु शुरुमा उनले नेपालीमा नै स्टाटस लेख्न थालेका थिए। त्यस्तै विभिन्न नेपाली चाडपर्व जस्तै नयाँ वर्ष होस् वा गुरुपुर्णिमा, दशैं होस या तिहार, शुभकामना दिन पनि भुल्दैनन्। जनै पुर्णिमामा हातमा डोरो बाँधेर फेसबुकमा हालेको फोटोले निकै धेरै माया पाएको थियो। त्यस्तै दशैंमा टीका लगाएको उनको फोटो सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो।

उनी पुरुष राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक भए पनि जुनियर टिमको सेलेक्सनदेखि महिला टिमको प्रशिक्षणसम्मका कुरा समाजिक सञ्जालमा गर्न छुटाउँदैनन्। त्यसैले त उनी नेपाली पुरुष टिमका लागि मात्र होइन कि नेपाली फुटबलको लागि नै बनेको भान नेपाली फुटबल समर्थकलाई परेको छ र उनीप्रतिको माया झन् गाढा बन्दैछ।

फुटबलमा मात्र होइन उनी राष्ट्रिय क्रिकेट टिमको सफलतामा पनि बधाई दिन भुल्दैनन्। भलिबल खेलाडीलाई पनि सम्झिन्छन्।

अलमुताइरी यता विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारलाई बधाई दिन पनि भ्याउँछन् भने उता कोभिडको बारेमा चेतनामूलक सन्देश पनि नेपालीमा नै पोष्ट गर्छन। शुरु शुरुमा उनको समाजिक सञ्जालको अकाउन्टमा थोरै मात्र कमेन्ट आउँथे। यसपछि उनले राष्ट्रिय टिमसँग जोडेर ‘वान टिम जय नेपाल’ भन्ने स्लोगन बनाए। यही स्लोगनकासाथ नेपाली टिमको अन्तर्राष्ट्रिय म्याच अगाडि राष्ट्रिय टिमको फोटो राख्न थालेपछि उनको उनीप्रति समर्थकको माया र विश्वास पनि बढ्दै गयो।

गत जेठमा विश्वकप छनोटअघिको प्रशिक्षण दौरान उनले ‘वान टिम जय नेपाल’ भन्ने स्लोगनसहित फोटो फेसबुकमा राख्न सबै समर्थकलाई आग्रह गरेका थिए। यसपछि सबै समर्थकको पोष्टलाई प्रशिक्षण दौरान खेलाडीलाई देखाएर समर्थकको माया र विश्वास कति छ भनेर प्रष्ट पार्ने स्टाटस राखेपछि उक्त पोष्टलाई समर्थकले निकै मन पराए।

यसपछि विस्तारै उनीप्रति समर्थकको माया र विश्वास बढ्दै गयो।

उनले गत जेठमा इराकसँगको मैत्रीपूर्ण खेल अगाडि पहिलोपटक खेलको नतिजा आफ्नो पक्षमा नआएमा यसको सबै जिम्मेवारी आफूले लिने तर खेलाडीलाई दोष नलागाउन समर्थकलाई सामाजिक सञ्जालमार्फत् आग्रह गरेका थिए।
उनको यो स्टाटसले फुटबलप्रेमीलाई निकै भावुक बनायो र उनलाई नेपाली फुटबलको नायक।

उनको यो भनाई पनि हालसम्म सबै खेल अगाडिको स्थायी भनाई जस्तै छ। जसले उनलाई समर्थककासामु झन् महान् मद्दत गर्‍यो।

सबैले उनलाई असीम माया र सम्मान देखाए। खेल ६–२ ले हारेपछि पनि उनले हारको सारा जिम्मेवारी आफ्नो मात्र रहेको स्टाटस लेखे। यसपछि उनीप्रतिको समर्थकको सहानुभूति झन् बढ्यो।

लगत्तै अर्को खेलमा चाइनिज ताइपेईलाई नेपालले २–० ले हराएपछि उनले समर्थकलाई धन्यवाद दिँदै फेरि स्टाटस लेखे, ‘मलाई सर वा बोस नभन्नुस् म प्रशिक्षक मात्र हुँ।’

पहिलो जितपछि उनको चर्चा झन् चुलिँदै गयो भने सामाजिक सञ्जालले समर्थकसँगको सामिप्यता बढ्दै गयो। सामाजिक सञ्जालमा आएका कमेन्ट पढेर जवाफ पनि दिने भएकाले समर्थकसँग उनको आत्मियता बढ्दै गयो, समर्थकले उनलाई धेरै नै सम्मान र स्थान दिए। जसले गर्दा समर्थकसँग निकै नजिक भए। समर्थकहरू नेपाली खेलाडीसँगै उनका पनि फ्यान भए।

उनी सामाजिक सञ्जालमा समर्थकसँग यति धेरै अन्तक्रिया गर्छन् कि सामाजिक सञ्जालमा समर्थकले दिएको नेपाली फुटबलको हरेक प्रतिक्रयाको स्पष्टीकरण दिन खोज्छन्।

उनी फेसबुक स्टाटसमा नै टिम फर्मेसनको बारेमा समर्थकलाई बझाउने प्रयास गर्थे। खेलको सबै टेक्निकल डाटा फेसबुकमार्फत् नै समर्थकलाई बाँड्थे। कुनै पनि राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकले यति हदसम्म सायद गर्दैनन्।

उनी बीचमा आफ्नो देश गएर नेपाल फर्किँदा नेपाल नै घर भन्दै घर फर्किँदा खुशी लागेको बताएका थिए।

एकाएक साफ च्याम्पियनशिपको तयारीमा रहेको बेला गत १० साउनमा उनको एउटा स्टाटस नेपाली फुटबलमा बम खसेसरह भयो। ‘प्रिय नेपाली समर्थकहरू, म एन्फाबाट राजीनामा दिन जाँदैछु। मैले वरिष्ठ उपाध्यक्षका कारण राजीनामा दिन लागेको हुँ। पछिल्लो तीन सातादेखि हरेक दिन उनले मसँग नाटक गरिरहेका छन्। मैले आशा गरेको छु अब तपाईं खुशी हुनुहुन्छ होला पकंजविक्रम नेम्वाङ।’

उपाध्यक्ष नेम्वाङका कारण आफूलाई काम गर्न असहज भएको उनको आसय थियो। सामाजिक सञ्जालमा समर्थकमाझ निकै सक्रिय र प्रख्यात भइसकेका अलमुताइरीको यो स्टाटसले समर्थकहरुलाई एन्फाप्रति निकै क्रुद्ध बनाएको थियो।
फेसबुकमा मात्र उनको यो स्टाटस करीब १७ सय शेयर भएको थियो। र करीब ३४ सय कमेन्टमध्ये अधिकांश उनको समर्थनमा थिए। यसले सामाजिक सञ्जालमा उनी कति चर्चित रहेछन् भन्ने प्रमाणित गरेको थियो।

यसपछि साफमा फाइनल पुगेपछि उनले पत्रकार सम्मेलनमा साफ फाइनल नै नेपालका लागि आफ्नो अन्तिम खेल रहेको बताए। यो स्टाटस भने उनले सामाजिक सञ्जालमा राखेनन्।

तर उनले समाजिक सञ्जालमा केही बोल्नै परेन। उनलाई नेपाली टिम नछाड्ने आग्रहको ओइरो लाग्यो।

यसपछि गत १० कार्तिकमा उनले स्टाटस लेखे,‘एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल संघसँगको छलफलपछि मैले तीन वर्षको लागि सम्झौता गरेको छु। म अबको दुई वर्षको भावी योजना चाँडै सार्वजनिक गर्दैछु। म नेपाली फुटबललाई राम्रो बनाउने बाचा गर्दछु। तर त्यसका लागि मलाई समय दिनुहोला।’

विवादका कारण नेपाली टिम छाड्ने बताए पनि अलमुताइरीले पुनः नेपाली टिमसँगको सम्झौता बढाउने स्टाटस राखेपछि उनी समर्थक माझ झन् प्यारा भए।

छुट्टीका दौरान नेपाल नरहेको बेला पनि उनी नेपाली टिम र दर्शकलाई सामाजिक सञ्जालमा सम्झिरहन्थे। नेपालको सुन्दर तस्वीर पोष्ट गर्दै स्टाटस राख्थे, ‘सबै नेपाली जनताले यो देखाऊँ कि हाम्रो देश कति सुन्दर छ।’

‘लङटर्म प्लान’मा छन् अलमुताइरी
सफल हुँदैछन् अलमुताइरी
अलमुताइरीका अबका चुनौती

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved