सफल हुँदैछन् अलमुताइरी

दुई खेलमा अलमुताइरीका मुख्य दुई योजना थिए। पहिलो, धेरै खेलाडीलाई अन्तराष्ट्रिय खेल खेल्ने अवसर दिई भविष्यको लागि बलियो टिम बनाउने र दोस्रो भविष्यका ठूला प्रतियोगितामा अपनाउन सक्ने नयाँ रणनीतिको प्रयोग।

सफल हुँदैछन् अलमुताइरी

काठमाडौं।मलाई मैत्रीपूर्ण खेलको जित वा हारको नतिजाले केही फरक पर्दैन, यो खेल विशेषगरी नयाँ खेलाडीलाई सिक्नको लागि हो, त्यसैले यसमा नयाँ खेलाडीलाई धेरै मौका दिन्छु।’

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अबदुल्ला अलमुताइरीले मोरिसससँगको खेल अगाडि दिएको प्रतिक्रिया हो यो। उनले भने जस्तै मोरिसससँगको पहिलो खेलमा शनिबार केही युवा खेलाडीहरूले अन्तराष्ट्रिय खेलको अनुभव पाए। पुरान खेलाडीहरूले पहिलोपटक अफ्रिकी राष्ट्रसँग खेल्ने अवसर पाए। र सबैभन्दा महत्वपूर्ण कुरा नेपाली फुटबलको भविष्यको फर्वार्डको रूपमा हेरिएको विमल घर्ती मगरको उत्कृष्ट कमब्याक भयो।

हुन पनि अलमुताइरीले यो खेल हार वा जितका लागि भन्दा पनि नेपालका आसन्न ठूला प्रतियोगिताहरूको अभ्यासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आयोजना गर्न लगाएका थिए। नेपालको वरीयतामा तीन स्थान तल रहेको मोरिसससँगको दुई मैत्रीपूर्ण खेलबाट नेपाली टिमले खासै ठूलो उपलब्धी हासिल हुने त थिएन। तर यी दुई खेलमा प्रशिक्षक अलमुताइरीका मुख्य दुई योजना थिए। पहिलो, धेरै खेलाडीहरूलाई अन्तराष्ट्रिय खेलमा खेल्ने अवसर दिएर उनीहरूको अनुभव बढाउने र खेलमा नयाँ र पुराना प्रतिभाको प्रदर्शन हेरेर भविष्यको लागि बलियो टिम बनाउने। नेपालको हालको तयारी एशिया कप छनोट हो, जुन प्रतियोगिता आउँदो जून महीनामा हुँदैछ।

उनको दोस्रो योजना चाहिँ यी दुई खेलमा नेपाली टिमले भविष्यका ठूला प्रतियोगितामा अपनाउन सक्ने नयाँ रणनीतिको प्रयोग गर्नु थियो। शनिबारको पहिलो खेलमा पहिलो योजनामा उनी धेरै हदसम्म सफल भए। धेरै खेलाडीलाई मौका दिन उनले म्याचका लागि पहिलो चरणमा छानिएका ३४ खेलाडी नै अन्तिम टिमसम्म राखेका थिए। राष्ट्रिय टिमको यति ठुलो स्काड बिरलै हुनेगर्छ।

उनले यी सबै ३४ खेलाडीलाई प्रयोग गरेर दुई खेलका लागि दुई छुट्टाछुट्टै टिम बनाएका थिए। जसको प्रमुख लक्ष्य थियो नेपाली टिममा सम्भावना भएका सबै खेलाडीको खेल अन्तराष्ट्रिय खेलमा उजागर होओस्। र यसबाट नेपाली फुटबलमा नयाँ प्रतीभाको खोजी गर्दै बलियो राष्ट्रिय टिम बनाउन सकियोस्।

विमलको उत्कृष्ट कमब्याक

अलमुताइरीको योजनाअनुसार नै शनिबारको खेलमा दुई नयाँ खेलाडीले डेब्यू गर्ने मौका पाए भने तीन खेलाडीले राष्ट्रिय टिममा कमब्याक गरे। जसमध्ये यो खेलमा नेपालका लागि खुशीको खबर बन्यो विमल घर्ती मगरको कमब्याक।
१४ वर्षको उमेरमा नै राष्ट्रिय टिममा डेब्यू गरेका उनलाई जुनियर टिममा देखाएको उत्कृष्ट प्रदर्शनको आधारमा नै नेपाली फुटबलका भविष्यका आशालाग्दा फर्वार्डका रूपमा हेरिएको थियो। तर पछिल्लो दुई वर्ष उनका लागि सम्झिनलायक थिएन।

दुई वर्ष कुरे पनि राष्ट्रिय टिममा उनको शानदार पुनरागमन भएको छ र नेपाली फुटबलले उनीबाट आशा गरेको स्टार स्ट्राइकर बन्ने छनक उनले देखाएका छन्। उनकै एक मात्र निर्णायक गोलमा नेपालले मोरिससलाई १-० ले पराजित गर्‍यो। जुनियर टिमदेखि टिममेट अञ्जन विष्टको उत्कृष्ट पासमा गोल गर्दै खेलको ५५ औँ मिनेटमा विमलले नेपाललाई अग्रता दिलाएका थिए। अन्त्यमा उनको त्यही एक गोल नै नेपाललाई खेल जित्न पर्याप्त बन्यो।

यो गोलपछि उनी यति खुशी थिए कि कुद्दै प्रशिक्षक अलमुताइरीलाई अँगालो हाले। अलमुताइरी पनि निकै उत्साहित थिए, मानौँ कि लामो समयदेखि उनी पनि यो क्षणको प्रतीक्षामा थिए। सायद अलमुताइरीलाई पनि आफूले बनाउन लागेको नेपाली टिममा एउटा राम्रो फर्वार्डको कमी विमलले पूरा गर्ने सोचिरहेका थिए। विमलको गोल सेलिब्रेसन हेर्दा लाग्थ्यो कि उनले कुनै ठूलै प्रतियोगिता जिते। तर त्योभन्दा पनि संकटमा पर्न लागेको करियर अब फेरि फर्कने विश्वासको खुशी थियो उनको, जुन सायद कुनै प्रतियोगिताको उपाधीभन्दा पनि ठूलो थियो उनका लागि।

यो खेलपछि नेपालका प्रशिक्षक अलमुताइरीले भने, “विमल यो टिमका अन्य खेलाडीजस्तै महत्वपूर्ण छन्, उनका लागि आजको यो गोलले निकै महत्व राख्छ। तर टिमलाई यतिले मात्र पुग्दैन, हामीले उनीबाट ठुलो अपेक्षा गरेका छौँ। उनले अझ राम्रो प्रदर्शन गर्नुपर्छ।”

पछिल्लोपटक २०७५ को भदौको साफ च्याम्पियनशिपमा बंगलादेशविरुद्धको खेलमा २-० को जितमा उनले अन्तिमपटक राष्ट्रिय टिममा गोल गरेका थिए। त्यसपछि उनले नेपालका लागि गरेको गोल यही थियो। २०७६ कार्तिकमा म्यानमारसँगको खेलपछि विमल राष्ट्रिय टिमबाट पहिलोपटक खेलिरहेका थिए। म्यानमारसँगको यो खेलको एक हप्तापछि राष्ट्रिय टिममा रहेको बेला ठमेलको नाइट क्लबमा भेटिएपछि उनीसँगै राष्ट्रिय टिमका चार खेलाडी एन्फाको अनुशासन कारबाहीमा परे। उनलाई तीन महीना राष्ट्रिय टिममा प्रतिवन्ध लगाइयो।

प्रतिवन्धपछि २०७७ मंसिरमा विश्वकप छनोटको प्रारम्भिक टिममा उनी फेरि परे। तर प्रशिक्षण दौरान घुडामा चोट लागेपछि दोहामा उनको शल्यक्रिया भयो। यसपछि यसै वर्ष मंसीरमा ए डिभिजन लिगका लागि मछिन्द्र क्लबसँग अनुवन्धित भएका उनले २५ गते हिमालयन शेर्पाविरुद्ध पहिलो गोल गरेको थिए। त्यसपछि अलमुताइरीको टिममा शनिबार उनी पहिलो रोजाइमा परे।

अब उनी मोरिसससँगको मंगलबार हुने दोस्रो खेलको टिममा पनि छन्। सायद दोस्रो खेलमा पनि अलमुताइरीले उनलाई मौका दिनेछन्। विमलसँगै अर्का स्टार मिडफिल्डर जगजित श्रेष्ठ र डिफेण्डर देवेन्द्र तामाङले टिममा पुनरागमन गरे।
त्यस्तै दुई युवा खेलाडी मिडफिल्डर आकाश बुढा मगर र डिफेण्डर सुदीप गुरुङले पनि शनिबार पहिलोपटक राष्ट्रिय टिमबाट खेल्ने मौका पाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved