सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने नेकपा एसको निष्कर्ष

नेपालभ्युज

सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने नेकपा एसको निष्कर्ष

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारमा पार्टीको सहभागिताालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलवार बसेको पार्टी सचिवालय बैठकले यस्तो  निर्णय गरेको हो ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भुमिका खेल्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । पार्टी महाधिवेशनको कामलाई छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई बैठकले सचेत गराएको पनि प्रवक्ता खतिवडाले बताए ।

उनले भने, ‘आज विकसित भएका राजनीतिक घटनाक्रमहरु समसामयिक परिस्थितिमा विकसित भएका घटनाक्रमहरुलाई पार्टीले गहिरोपूर्वक अध्ययन तथा विश्लेषण गरेको छ । र, यो परिस्थितिमा धेरै नै जिम्मेवारीपूर्वक आफ्ना कदमहरुलाई अघि बढाउने भन्ने हामीले निष्कर्ष निकालेका छौं ।’

बैठकमा नेताहरुले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पार्टी भित्र कुनै समस्या नभएको निष्कर्ष पनि बैठकले निकालेको नेकपा एसले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved