‘लङटर्म प्लान’मा छन् अलमुताइरी

धेरै खेलाडीबाट छानेर बलियो टिम बनाउन नै उनले प्रारम्भिक छनोटमा परेका ३४ खेलाडीलाई नै राष्ट्रिय टिममा मौका दिएका थिए। यी सबै खेलाडीलाई दुई टिममा बाँडेर दुवै खेलमा लागि अलग स्क्वाड बनाइएको थियो। जसमध्ये १२ खेलाडी दुवै स्क्वाडमा छन्।

‘लङटर्म प्लान’मा छन् अलमुताइरी
तस्वीर सौजन्य : एन्फा

काठमाडौं। दक्षिण एशियाको सबैभन्दा ठूलो प्रतियोगिता, साफ च्याम्पियनसिप फुटबलको करिब १८ वर्षको इतिहासमा नेपाली फुटबलले यसै वर्ष पहिलोपटक उपविजेता बन्दै इतिहास रचेको थियो।

गत वर्ष नेपाली टिमको प्रमुख प्रशिक्षक बनेर आएपछि नै अबदुल्ला अलमुताइरीले पुरानै शैलीबाट चलिरहको नेपाली टिममा सुधारको संकेत देखाएका थिए।

उनी प्रशिक्षक बनेपछिको शुरुआती खेलमा नै नेपालले अष्ट्रेलिया, इराक, जोर्डनजस्ता बलियो देशसँग विश्वकप छनोट र मैत्रीपूर्ण खेल खेलको थियो। तुलनात्मक रूपमा नेपालभन्दा निकै बलिया यी प्रतिद्वन्द्वीसँग नेपालले भलै जित निकाल्न सकेन। तर सम्मानजनक खेल देखाएको थियो।

यसपछि नै नेपाली फुटबल समर्थकले अलमुताइरी प्रति विश्वास देखाएका थिए। यसपछि साफमा उनले समर्थकको त्यो विश्वासलाई तोड्न दिएनन् र पहिलो पटक नेपाललाई साफको फाइनलसम्म पुर्‍याए।

तीन वर्षको लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकको रूपमा सम्झौता थप गरेपछि भने अलमुताइरी नेपाली फुटबलको ‘लङटर्म प्लान’मा लागेका छन्। जसको उपज हो मौरिसससँगको मैत्रीपूर्ण खेल। गत शनिबारको पहिलो मैत्रीपूर्ण खेलमा मौरिससलाई १-० ले पराजित गरेको नेपालले मंगलबार दोस्रो खेल खेल्दैछ।

अलमुताइरीले यसअघि नै नेपाली फुटबलको आगामी प्रतियोगिताको तयारीलाई मध्यनजर गर्दै क्यालेण्डर बनाइसकेका छन्। जसमा नेपालको लिग, राष्ट्रिय टिमको प्रशिक्षण, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र राष्ट्रिय टिमले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता समावेश गराइएको छ।

यस पटकको मौरिसससँगको दुई खेल पनि अलमुताइरीको ‘लङटर्म प्लान’ कै एउटा पाटो हो। विश्व फुटबल महासंघ (फिफा) को वार्षिक क्यालेण्डर अनुसार ‘इन्टरनेशनल म्याच डे’ मा पारेर यो दुई मैत्रीपूर्ण खेल नेपालले आयोजना गरेको हो।

अलमुताइरीले मौरिसससँगको यी खेल हार वा जितका लागि भन्दा पनि आसन्न ठूला प्रतियोगिताहरूको अभ्यासका लागि आफ्नो योजनामा पारेका थिए। उनी भन्छन्, “यी खेलमा म नयाँ रणनीतिको प्रयोग गर्दैछु। मेरो प्रमुख लक्ष्य भनेको एशिया कप छनोट र अर्को वर्षको विश्वकप छनोट हो। विश्वकपको दोस्रो चरणसम्म पुग्ने हाम्रो लक्ष्य छ।”

अलमुताइरी नेपालको प्रशिक्षक भएर आएदेखि नै युवा खेलाडीहरूलाई मौका दिइरहेका छन्। जसकारण धेरै खेलाडीहरूले राष्ट्रिय टिमबाट डेब्यू गर्ने मौका पाएका छन्, विशेषगरी नयाँ र युवा खेलाडीहरूले अन्तराष्ट्रिय खेलको अनुभव लिने अवसर पाएका छन्। र यसकै कारण नेपाली राष्ट्रिय टिमले युवा खेलाडीहरू पाउने सम्भावना बढेको छ।

मौरिसससँगको मैत्रीपूर्ण खेलमा अलमुताइरीको मुख्य दुई योजना थिए- पहिलो, धेरै खेलाडीहरूलाई अन्तर्राष्ट्रिय खेलमा मौका दिने र उनीहरूको प्रदर्शन हेरेर भविष्यको लागि बलियो नेपाली टिम बनाउने। उनको पहिलो योजना त पहिलो खेलमा केही हदसम्म पूरा भयो। आशा गरिएका खेलाडी विमल घर्ती मगरले राम्रो कमब्याक गर्दै आफू राष्ट्रिय टिमको भविष्यको भरपर्दा फरवार्ड हुने संकेत गरिसकेका छन्।

धेरै खेलाडीबाट छानेर बलियो टिम बनाउन नै उनले प्रारम्भिक छनोटमा परेका ३४ खेलाडीलाई नै राष्ट्रिय टिममा मौका दिएका थिए। यी सबै खेलाडीलाई दुई टिममा बाँडेर दुवै खेलमा लागि अलग स्क्वाड बनाइएको थियो। जसमध्ये १२ खेलाडी दुवै स्क्वाडमा छन्।

यसो गर्नुको अर्थ बढी खेलाडीले अन्तराष्ट्रिय म्याचमा खेल देखाउन सकून् धेरै खेलाडीबाट छानेर भविष्यका लागि बलियो टिम बनाउनु नै हो। पहिलो खेलबाट तीन खेलाडीले राष्ट्रिय टिममा कमब्याक गरे भने दुई खेलाडीले डेब्यू गरेका छन्। मंगलबारको खेलमा पनि यसले निरन्तरता पाउने पक्का छ।

मौरिसससँगको खेलमा उनको दोस्रो योजना भने नेपाली टिमले भविष्यका ठूला प्रतियोगितामा अपनाउन सक्ने नयाँ रणनीतिको प्रयोग गर्ने थियो। पहिलो खेलमा उनले सधैंजसो प्रयोग गर्ने ४-३-३ फर्मेसनलाई नै निरन्तरता दिए। तर नयाँ खेलाडीहरूलाई फरक पोजिसनमा खेलाउने प्रयास उनले गरेका थिए।

दोस्रो खेलमा पनि केही नयाँ रणनीतिको प्रयोग पक्कै अलमुताइरीले गर्नेछन्।

नेपाली टिमको तत्कालको तयारी भनेको एशियन कप छनोट हो, जुन प्रतियोगिता आउँदो जुनमा आयोजना हुँदैछ। अलमुताइरीका अनुसार एशिया कप छनोटमा नेपालको भेट ताजकिस्तान, किर्गिस्तान, उज्बेकिस्तान जस्ता शारीरिक रूपमा बलिया टिमसँग हुने सम्भावना प्रबल छ। एशिया कपको टाइसिट ड्र आउँदो फेब्रुअरी २४ मा हुनेछ।

उक्त प्रतियोगिताको तयारीका लागि नै मौरिसससँगको मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो। फिफा वरीयता क्रममा नेपालभन्दा मौरीसस तीन स्थान तल रहे पनि शारीरिक रूपमा मौरिससका खेलाडीहरू नेपाली खेलाडीभन्दा बलिया देखिन्छन्।

वरीयता क्रममा मौरिसस १७२ औं स्थानमा छ भने नेपाल १६९ औं स्थानमा छ। मौरिसस एक अफ्रिकी राष्ट्र हो र नेपालले अफ्रिकी देशविरुद्ध खेलको यो पहिलो अवसर पनि हो।

मौरिससको फुटबलको सबैभन्दा ठूलो उपलब्धि भनेको सन् १९७४ मा अफ्रिकन कप अफ नेसन्सको लागि छनोट हुनु हो। मौरिससको राष्ट्रिय टिमले अन्तराष्ट्रिय म्याच नखेलेको करिब दुई वर्ष भइसकेको थियो। कोभिडका कारण सन् २०२० यता उसले अन्तर्राष्ट्रिय म्याच खेलेको छैन।

एक त नेपालकै स्तरको टिम जुन वरीयतामा तीन स्थान तल छ र जुन टिमले सन् २०१९ को अक्टोबर यता अन्तर्राष्ट्रिय म्याचको अनुभव पनि लिएको छैन। उक्त टिमलाई होम म्याचमा लगातार दोस्रो पटक हराउनु नेपालका लागि ठूलो कुरा नहुन सक्छ।

तर हार या जितभन्दा पनि यो अलमुताइरीले भनेजस्तै भोलिका लागि बलियो नेपाली टिम निर्माणको प्रक्रिया मात्र हो।

मंगलबारको मैत्रीपूर्ण खेल पनि जितेमा फिफा वरीयतामा नेपालको स्थान सुधार हुन सक्छ। जसको आधारमा एशिया कपको छनोट खेलमा तुलनात्मक रूपमा नेपालले सजिलो प्रतिद्वन्द्वी पाउन सक्छ।
एशिया कपमा नेपाल तेस्रो चरणसम्म पुगेको छ।

तेस्रो चरणमा कुल २४ टिम छन्। २४ टिमलाई चार-चार टिमको ६ समूहमा विभाजन गरी राउण्ड रोबिन लिगका आधारमा छनोट खेल खेलाइनेछ। यसबाट हरेक समूहका विजेता र उत्कृष्ट पाँच उपविजेता एशिया कपमा लागि छनोट हुनेछन्। यी ११ टिम र आयोजक चीनसँगै कुल १२ टिमले सन् २०२३ को एसियन कपमा भिडन्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved