हिउँदे ओलम्पिकलाई स्वागत गर्न सिँगारिएको बेइजिङ (फोटो फिचर)

यतिबेला बेइजिङ चिसोले कठ्याङ्ग्रिइरहेकाले फूलको सजावटबाट चोक सिँगार्न सम्भव छैन। त्यही भएर पनि प्राकृतिक फूलको सट्टामा विभिन्न तत्त्वहरू राखिएको छ। यी फोटोहरू हेर्दा लाग्छ, जाडोमा पनि न्यानो माया दिँदै बेइजिङ ओलम्पिकको स्वागतमा गर्माएको छ।

हिउँदे ओलम्पिकलाई स्वागत गर्न सिँगारिएको बेइजिङ (फोटो फिचर)

बेइजिङ। यतिबेला बेइजिङ मध्य जाडोमा छ। दसदिन अगाडि परेको हिउँ अझै बिलाइसकेको छैन। बाटो सफा गरेर छेउछाउतिर थुपारिएका हिउँका थुप्राहरू बाँकी नै छन्। जाडोले कठ्याङ्ग्रिए पनि हिउँदे ओलम्पिकलाई स्वागत गर्नका लागि यतिबेला बेइजिङ अदम्यसँग तातिएको छ।

हिउँदे ओलम्पिक २०२२ सुरु हुन अब एक साता पनि छैन। आगामी फेब्रुअरी ४ तारिख बेइजिङको उत्तर पश्चिममा पर्ने यान्चिङ जिल्ला र बेइजिङ नजिकैको हपेइ प्रान्तको चाङच्याखौ क्षेत्रले संयुक्त रूपमा हिउँदे ओलम्पिक २०२२ को आयोजना गर्दैछन्। यान्चिङ जिल्ला बेइजिङको सबैभन्दा जाडो हुने क्षेत्र हो र त्यहाँ निकै बाक्लो हिउँ पर्ने गर्छ।

शहरी क्षेत्रभन्दा यान्चिङ जिल्ला निकै टाढा भए पनि बेइजिङ सहर हिउँदे ओलम्पिकलाई स्वागत गर्नका लागि सिँगारिएर बसेको छ। बेइजिङको केन्द्र भाग थिआनआनमन स्क्वायरको बीचमा राखिएको एउटा आकर्षक सजावटको फोटो खिच्नेहरूको भीड लाग्ने गर्छ। थिआनआनमन स्क्वायरको फराकिलो चोकको बीचमा राखिएको त्यो भव्य सजावटले चीन र ओलम्पिकलाई एकैचोटि बोकेको छ।

रातो धागोबाट बनाइने कलात्मक गाँठोलाई चिनियाँहरूले भाग्यशाली गाँठो भन्छन् र यसलाई शुभ सङ्केतका रूपमा जताततै सजाउने गर्छन्। चिनियाँहरूका घर, कार्यालय, पसल, गाडी, रेस्टुरेन्ट सबैतिर रातो धागोको कलात्मक गाँठो झुन्ड्याएको देख्न सकिन्छ। चिनियाँ भाषामा यसलाई ‘चुङ क्वो च्ये’ भनिन्छ। ‘चुङ क्वो’ भनेको चीन हो भने ‘च्ये’ भनेको गाँठो।

थिआनआनमन स्क्वायरको बीचमा राखिएको पनि यही चिनियाँ भाग्यशाली गाँठो हो। फोटोमा रातो धागोबाट बनाइने कलात्मक गाँठो र पुछारमा पहेँलो रङको फुर्का देखिन्छ। त्यही कलात्मक धागोको गाँठोको बीचमा सेतो पृष्ठभूमिमा हिउँदे ओलम्पिक २०२२ को प्रतीक चिह्न पनि राखिएको छ। अङ्ग्रेजीमा ‘बेइजिङ २२’ का मुनि ओलम्पिकका पाँच वटा रिङहरू रहेका छन्। यी सबैको माथि हिउँमा चिप्लेटी खेलेको दर्साउने आकृति छ। वास्तवमा यो आकृति चिनियाँ एउटा अक्षर हो जसको उच्चारण ‘तोङ’ हुन्छ। चिनियाँ भाषामा ‘तोङ’ को अर्थ हिउँद हो।

चिनियाँ संस्कृति (भाग्यशाली धागोको गाँठो)का बीचमा हिउँदे ओलम्पिक २०२२ को प्रतीक चिह्नलाई एकीकृत गरेर ठड्याइएको यो कलाको वरिपरि हिउँका आकृति देखिने राता कुनैकुना भएका चित्रहरू रहेका छन्। यो कलाले यतिबेला चीन र ओलम्पिक दुवै अन्योन्याश्रित रहेको सन्देश दिइएको छ।

थिआनआनमन स्क्वायर मात्र होइन बेइजिङका चोकचोकमा हिउँदे ओलम्पिक २०२२ को भावना बोकेका विभिन्न कलाकृतिहरू बनाइएका छन्। थिआनआनमन स्क्वायरदेखि पूर्वमा रहेको तोङतान र पश्चिममा रहेको सीतान दुवै चोकमा हिउँदे ओलम्पिकलाई स्वागत गर्नका लागि अद्भूत कलाकृतिहरू बनाइएको छ।

यी सबै कलाकृतिमा हिउँदे ओलम्पिक २०२२ को मस्कट, प्रतीक चिह्न, नारा र भावना समेटिएका छन्। हिउँदे ओलम्पिक २०२२ को मस्कट हेलमेट लगाएको पान्डा हो भने नारा ‘टुगेद फर सेयर्ड फ्युचर’ अर्थात् ‘सँगसँगै भविष्य साझेदारी गरौँ’ रहेको छ।

बेइजिङका चोकहरूमा बनाइएका कलाहरूमा मस्कटले हिउँमा चिप्लेटी खेलिरहेको, खेलाडीले स्किइङ गरेको, बालबालिकाहरू हिउँ खेल्दै रमाइरहेको आदि भावलाई समेटिएको छ।

बेइजिङ हिउँदे ओलम्पिक २०२२ वातावरण मैत्री रहेको कुरालाई पनि विभिन्न आकृतिले प्रस्ट पारेका छन्। चित्र र सजावटमा रहेका रङ, चित्र, सौन्दर्य र सन्देशले कार्वजन उत्सर्जन र जलवायु परिवर्तनका मुद्दामा चीन गम्भीर र जिम्मेवार छ भन्ने कुरालाई बुझिने ढङ्गबाट देखाइएको छ।

चीनमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय ठूला समारोह तथा अक्टोबर १ तारिख पर्ने चीनको राष्ट्रिय दिवसका अवसरमा पनि यी चोकहरू चिटिक्क पारेर सजाइएका हुन्थे। ठूला अन्तर्राष्ट्रिय समारोहहरू चीनले प्राय सेप्टेम्बरतिर आयोजना गर्दछ। यो समयमा बेइजिङमा न गर्मी न जाडो अर्थात् ठिक्कको मौसम हुने गर्छ। त्यसैगरी फूलहरू पनि फुलेर ढकमक्क हुनाले फूलबाटै सजावट गरिन्छ।

यतिबेला बेइजिङ चिसोले कठ्याङ्ग्रिइरहेकाले फूलको सजावटबाट चोक सिँगार्न सम्भव छैन। त्यही भएर पनि प्राकृतिक फूलको सट्टामा विभिन्न तत्त्वहरू भेला गरिएको छ।

यी फोटोहरू हेर्दा लाग्छ, जाडोमा पनि न्यानो माया दिँदै बेइजिङ ओलम्पिकको स्वागतमा गर्माएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved