जनमत पार्टीका कार्यकर्ताद्वारा सात सरकारी गाडी तोडफोड, चिकित्सकमाथि समेत आक्रमण

जनमतका कार्यकर्ताले गरेको लाठी प्रहारमा प्रदेशसभा सदस्य यादवको हात पनि भाँचिएको छ।

नेपालभ्युज

जनमत पार्टीका कार्यकर्ताद्वारा सात सरकारी गाडी तोडफोड, चिकित्सकमाथि समेत आक्रमण

जनकपुरधाम। मधेश केन्द्रीय राजनीति गर्दै आएका डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले सात ओटा सरकारी गाडीमा तोडफोड गरेर क्षति पुर्‍याएका छन्।

किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताहरूले आज विहानैदेखि जनकपुरमा टायर बालेर प्रदर्शन गरेका थिए। मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार भएको राष्ट्रिय सभा चुनाव बिथोल्ने उद्देश्यले गरिएको प्रदर्शनको क्रममा जनमतका कार्यकर्ताले सरकारी गाडीहरूमा तोडफोड गरेर क्षति पुर्‍याएका हुन्।

जनकपुरधामको पिडारी चोकमा जनमतका कार्यकर्ताले लाठी र ढुङ्गामुढा प्रहार गरेर जनता समाजवादी पार्टीका प्रदेश सभासदस्य अशोक यादव सवार गाडीमा तोडफोड गरेका थिए। जनमतका कार्यकर्ताले गरेको लाठी प्रहारमा प्रदेशसभा सदस्य यादवको हात पनि भाँचिएको छ।

प्रदेश २–०३–०१ झ ००२०, प्रदेश २–०१ झ–००८० र ना १ झ १६७४ नम्बरको गाडी सहित सात ओटा गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए। डीएसपी रायले झडपका क्रममा जनमतका आठ जना कार्यकर्ता र चार जना सुरक्षाकर्मी घाइते भएको जनाए।

उनकाअनुसार सरकारी गाडी तोडफोडमा संलग्न रहेको आरोपमा ६ जना जनमतका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राउतका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाई र उममेयर रेणुका पौडेल सबार गाडीमा समेत तोडफोड गरेका थिए। आक्रमणमा नगर प्रमुख घाइते भएका छन्।

उनीहरूले महेन्द्रनरायण निधि समृति भवनमा राखिएको मतदान केन्द्र अगाडि ‘पहिला मल देऊ, त्यसपछि मत खसाल’ भन्दै प्रदर्शन गरेका थिए। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गर्दा प्रहरी र कार्यकर्ताबीच झडपसमेत भएको थियो। घाइते कार्यकर्ता तथा प्रहरीको उपचार प्रादेशिक अस्पताल जनकपुरधामसहित अन्य निजी स्वास्थ्य संस्थाहरूमा भइरहेको छ।

यसैगरी, जनमत पार्टीका कार्यकर्ताले चिकित्सकमाथि समेत आक्रमण गरेका छन्। बर्दिबास जाँदै गर्दा पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतीश साहमाथि जनमतका कार्यकर्ताले आक्रमण गरेका थिए। आक्रमणमा परी घाइते भएका मेसु साहको मुखमा ८ ओटा टाँका लागेको छ। प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदैगर्दा उनि माथि आक्रमण भएको हो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved