व्यक्तिवृत्त

अझै जारी छ, राजवको ‘ड्युटी’

आफूलाई प्रयोगवादी भन्न रुचाउने राजवले नाममा पनि प्रयोग गर्दै आएका छन्। नौलो र भिन्न। जस्तैः इतर जिल्लावासी, कङ्गन खित्का, बेकारीमा उपन्यास, एक्काइसौं शताब्दीका भासहरू र बीसौं शताब्दीका ह्याङओभर, अर्तुल वर्तुल कर्तुल, भैंसी अङ्कल, उत्तर-उत्तर आधुनिक कवाड जिन्दगी, कै, सबले राम्रो भन्छन्…।

अझै जारी छ, राजवको ‘ड्युटी’

पन्ध्रौं-सोह्रौं शताब्दीतिर नै शेक्सपियरले भनेका थिए, ‘नाममा के छ त्यस्तो ? गुलाबलाई अरू नामले पुकारे पनि उसले दिने सुगन्ध भने उत्तिकै हुन्छ।’ आख्यान-शिल्पी राजव (जनार्दन पुडासैनी) का उपन्यास वा कथाकृतिका नाम हेर्दा त्यस्तै प्रश्न उठ्छ, ‘आखिर, नाममा के छ ?’

प्रकाशनको सँघारमा उभिएको उनको छैटौँ उपन्यासको नाम छ- ‘काफ्काको काम सकियो’। अचम्म छैन त पुस्तकको नाम ? अरू लेखकका भन्दा नितान्त पृथक। कौतूहल जगाउन उद्यत। आफूलाई प्रयोगवादी भन्न रुचाउने राजवले नाममा पनि प्रयोग गर्दै आएका छन्। नौलो र भिन्न। जस्तैः इतर जिल्लावासी, कङ्गन खित्का, बेकारीमा उपन्यास, एक्काइसौं शताब्दीका भासहरू र बीसौं शताब्दीका ह्याङओभर, अर्तुल वर्तुल कर्तुल, भैंसी अङ्कल, उत्तर-उत्तर आधुनिक कवाड जिन्दगी, कै, सबले राम्रो भन्छन्…।

नामले मात्र कौतूहल जगाउँदैनन्, लेखनमा पनि नयाँ-नयाँ ‘टुल्स’ प्रयोग गर्न बाजी नै मार्छन्। नेपाल छँदा लेखेका ‘भैंसी अङ्कल’ होस् वा अमेरिका परदेसिएपछि लेखेका ‘अन्तर’। प्लट र शैलीमा विविधता भित्र्याउन छाडेका छैनन् उनले।

अमेरिकाको प्रवासपछि उनको अनुभव-धरातल केही हदसम्म बदलियो। उता गएपछि डायस्पोरिक साहित्य लेखनमा सम्पूर्णजसो कथ्य र शिल्प खर्चन थाले। ‘काफ्काको काम सकियो’ पनि मूलतः अमेरिकी पृष्ठभूमिकै आख्यान हो। अमेरिका ‘भासिएपछि’ अमेरिकी समाज र जीवनचित्र उतार्न अग्रसरता लिएकै कारण उनी डायस्पोरिक साहित्य जन्माउने सर्जकमा दरिए। कारखानाले बिस्कुट र चाउचाउ उत्पादन गरेजस्तै धमाधम साहित्य उत्पादन गर्न थाले।

‘काफ्काको काम सकियो’। यो कस्तो औपन्यासिक कृति हो त ? उनी भन्छन्, ‘यो अमेरिका जान मरिमेट्ने दुई नेपाली युवाका कथा हो। ती युवाहरू अमेरिका जसरी पनि र जुनसुकै हालतमा पनि जान चाहन्छन्। अमेरिकी दूतावासले भिसा अस्वीकृत गरेपछि ती दुई पात्रको भेट काफ्कासँग हुन्छ। काफ्काले तिनीहरूलाई अमेरिका लैजान्छन् र उनीहरू अमेरिका पुग्छन्।’

सन् २००२ नोभेम्बर ३। हो, यही तारिखमा उनी उडेका थिए, अमेरिकातिर। तर, दुई दशकपछि आफैले जन्माएको पात्र ‘काफ्का’ को सहयोगमा भने होइन, बिल्कुलै। बकाइदाले डीभी (आप्रवासी राहदानी) पाएर।

दुई दशकअघि अमेरिका उड्दा न त उच्च अध्ययन गर्न गएका थिए, न त कुनै आकर्षक रोजगारीको स्वप्न बोकेर नै उनी। राम्रै कमाइ थियो नेपालमा छँदा पनि। राष्ट्रिय वाणिज्य बैंकको प्रबन्धकको जिम्मेवारीमा थिए। अमेरिका उड्ने भएपछि साथी-सर्कलले कुरा काट्न त के छाड्थे र ? भने पनि, ‘राजव अमेरिका भासियो, अब उसको साहित्य लेखन सकियो।’

भइदियो उल्टो। नेपालमा छँदा तीन कथा, एक व्यंग्य र दुई कविताकृति निकालेका उनले अमेरिका गएपछि भने बर्सेनिजस्तै पुस्तक ल्याए। नेपाली उखानलाई चरितार्थ गरे उनले, ‘भाग्यमानीको भैंसी बर्सौटे।’ भन्छन्, ‘अमेरिकाको बसाइ मेरो लागि उर्वर रह्यो। मैले १०-१५ वटै पुस्तक ल्याएँ।’ त्यसमा केही नेपाल छँदा नै लेखेका र अधिकांशचाहिँ अमेरिकामा लेखेका छन्।

उनी अमेरिका जाने समयसम्म नेपालमा निजी क्षेत्रका प्रकाशनगृहहरू सीमित संख्यामा थिए। अझ, व्यावसायिक रुपका त झन् सीमित। नेपाल प्रज्ञा-प्रतिष्ठान र साझा प्रकाशनको ढोका ढक्ढक्याउनुपर्थ्यो, प्रकाशनका निम्ति। रत्न पुस्तक भण्डारलगायतले फाट्टफुट्ट प्रकाशन गर्थे। पछिल्लो समय निजी प्रकाशनगृहहरूको बाढी नै आयो। भन्छन्, ‘‘साझा र एकेडेमीमा लाइनमा बस्नुपर्थ्यो। अमेरिका गएपछि भने त्यस्तो अवस्था रहेन। धेरै प्रकाशनगृहहरू खुले र प्रकाशनका लागि सहज हुँदै गयो।’’

केही दशकयता डायस्पोरिक साहित्य लेखनको भेल उर्लिएको उर्लिएकै छ। के राजवको लेखन त्यस्तो भेलभन्दा टाढा छन् त ? उनको दृष्टिकोण छ, ‘डायस्पोरिक साहित्य समालोचकहरूले भन्दै आएको कुरा हो। तर विश्वका जुनसुकै ठाउँमा रहेका नेपालीहरू भाषा, साहित्यको उत्थानमा लाग्नु धेरै राम्रो पक्ष हो। यद्यपि सबैका लेखनमा स्तरीयता भने देखिँदैनन्।

अमेरिकी भूमि टेक्दा उनीसँग नेपाली माटोका अनेक विषयवस्तु थिए। तिनै काँचा विषयवस्तुलाई आख्यानको भट्टामा पकाउन थाले, क्रमशः। बिस्तारै अमेरिकी समाजमा भिज्दै गएपछि त्यहींको समाजलाई केन्द्रविन्दुमा राखेर लेख्न थाले। भन्छन्, ‘‘अमेरिका गएपछि त्यहींको परिवेश धेरै भोगियो, बुझियो र लेखनमा त्यसलाई उतार्न थालेँ।’‘

अमेरिकी र नेपाली परिवेशका कोलाज देखिन्छन्, उनका पछिल्ला लेखनमा। हरेक लेखनमा प्रयोग पनि उत्तिकै। भन्छन्, ‘‘म लेखनमा प्रयोग गरिरहन रुचाउँछु। मेरो पछिल्लो उपन्यासमा पनि प्रयोग देख्न सकिन्छ। यो उपन्यासमा काठमाडौं छ, काँठ छ र तराईको परिवेश छ। नेपाली जीवनको झलकलाई प्रशस्तै स्थान दिएको छु। अमेरिकी झलक त आउने नै भयो।’’

केही दशकयता डायस्पोरिक साहित्य लेखनको भेल उर्लिएको उर्लिएकै छ। के राजवको लेखन त्यस्तो भेलभन्दा टाढा छन् त ? उनको दृष्टिकोण छ, ‘‘डायस्पोरिक साहित्य समालोचकहरूले भन्दै आएको कुरा हो। तर विश्वका जुनसुकै ठाउँमा रहेका नेपालीहरू भाषा, साहित्यको उत्थानमा लाग्नु धेरै राम्रो पक्ष हो। यद्यपि सबैका लेखनमा स्तरीयता भने देखिँदैनन्। उनीहरूका लेखनमा बाहिरको नेपाली समाज कसरी बाँचेको छ र यताको नेपाली समाज कसरी बाँचिरहेको छ भन्ने कुरा भने आएका छन्।’’

डायस्पोरिक साहित्य लेखनकै विषयमा उनी भन्छन्, ‘‘नेपालीले मात्र होइन, अमेरिकामा बस्ने बंगलादेशीहरूले पनि आफ्नो समाज लेखिरहेका छन्। झुप्पा लाहाडी अमेरिकामा बसेर अमेरिकी-बंगाली समाज, परिवेश र परिवारबारे लेखिरहेका छन्। अमेरिकामा गएका जति पनि चिनियाँ-अमेरिकी, भियतनामी-अमेरिकी, सिंगापुरे-अमेरिकी लेखकहरू छन्, उनीहरूले त्यहाँ गएपछि आफ्नो समाज कसरी धानिएको छ भन्नेबारे लेखिरहेका छन्। सबैले आ-आफ्ना समाज लेखिरहेका छन्।’’

डायस्पोरिक साहित्य लेखनको संख्यात्मक चुली अग्लिँदै गए पनि गुणवत्तामा देखिएको संकटबारे भने उनी सोचमग्न छन्। भन्छन्, ‘‘गुणस्तरका हिसाबले बिल्कुलै माथि उठ्न सकेको छैन। लेखाइ त छ। पुस्तकहरू छापिएको देख्दा धेरै नै लेखिइरहेका छन् जस्तो लाग्छ। तर स्तरीयताको हिसाबले निकै तल नै छन्। रहरमा लेख्नेहरू धेरै छन्। थोरैको लेखनमा मात्र गुणस्तरीयता देखिन्छ।’’

००
सन् २००२ मा नेपाल युद्धको भुमरीमा फसेको थियो, नराम्ररी नै। राज्य र विद्रोही माओवादीबीच बढ्दो युद्धाभ्यासका कारण ग्रामीण इलाकाका जनजीवन भय र त्रासदीको छहारीमुनि उभिन बाध्य थियो। सहरी इलाकामा बस्ने शिक्षित तप्कामा पनि नैराश्यता र बेचैनी-भाव बढ्दै थियो। अझ, लेखकीय भूमिकामा उभिएकाहरूमा टुट्दै गएको मानवीय मूल्यप्रति रचनात्मक चिन्ता हुनु स्वाभाविकै थियो। सबैको मुखबाट एउटै स्वरलहरी सुनिन्थ्यो, ‘‘अब नेपालमा बसेर भविष्य छैन।’’

रहरै-रहरमा डीभी भरेका राजवलाई पनि तत्कालीन राजनीतिक द्वन्द्वले कताकता निराशाको डिलसम्मै पुर्‍यायो। युद्धले जन्माएको निराशा र पीडाबारे उनले केही कथा पनि लेखे, त्यही समय। भन्छन्, ‘‘जुन पात्र जनयुद्धमा होमिनुपर्थ्यो, ती पात्र होमिएनन् र जो नहोमिनुपर्थ्यो, उनी चाहिँ होमिए। यिनै कथावस्तुमा मैले कथा पनि लेखेको थिएँ।’’ जुन कथा उनको ‘कङ्गन खित्का’ मा समेटिएको छ।

डीभी ‘उत्तीर्ण’ भएपछि चुपचाप अमेरिका उडेका उनलाई अमेरिका जाने तीव्र चाहना भने थिएन रे। भन्छन्, ‘‘ख्यालठट्टामै डीभी भरेँ, डीभी पर्‍यो र अमेरिका कस्तो रहेछ, हेरौं, बुझौं भनेर गएँ।’’ कस्तो अचम्म। मेरो सुझाव, ‘उनले यही कथावस्तुमा अर्को कथा वा उपन्यास लेख्न पनि सक्छन्’। भन्छन्, ‘‘म कुनै बेरोजगार मानिस थिइनँ। अमेरिका गएर नेपालमा पैसा पठाउनुपर्ने अवस्था पनि थिएन। एक हिसाबको एडभेञ्जर नै पनि थियो।’’

अमेरिकाको म्यासाचुसेटमा पुगेपछि त्यहाँको समाजलाई बुझ्न भने पाँच वर्षजति नै खर्चिनुपर्‍यो उनलाई। अमेरिकी समाजलाई बुझ्दै र लेखनमा दत्तचित्त हुँदै गएपछि भने उनले लेखनमा छलाङ नै मारे। भन्छन्, ‘‘मैले अमेरिकामा बस्ने नेपालीहरूको समाज हेरेँ, उनीहरूका संघर्षलाई हेरेँ, उनीहरूका निराशालाई नजिकैबाट नियालेँ। यिनै कुराहरूलाई मैले लेखनमा उभ्याएँ।’’

अमेरिकाको व्यस्त जीवनचर्याबीच कसरी लेखनले गति लियो त ? उनी भन्छन्, ‘‘अमेरिकामा दुई दिन बिदा हुन्थ्यो। बिदाको समयलाई मैले लेखनमा लगाएँ। अर्को चाहिँ, बिहान-बेलुकाको फुर्सदको समयलाई पनि मैले लेखनमा नै लगाएँ। रुटिनबद्ध रुपमा लेख्ने गरेको हुँदा मैले अमेरिकामा रहँदा धेरै लेख्न सकेँ।’’

‘‘म नलेखी बस्नै सक्तिनँ। नियमित रुपमा रुटिन बनाएर नै लेख्छु,’’ उनको स्वीकारोक्ति छ। नेपालमा छँदा सामाजिक कार्यहरूका साथै साथीभाइसँगको भेटघाट आदि-इत्यादिले लेखनमा धेरै हदसम्म बाधा पुर्‍याउँथ्यो। लेखकीय अवरोध थिए नै, बग्रेल्ती। अमेरिका गएपछि भने यी सबैबाट पूरै विच्छेद र उन्मुक्त। समयाभावको कुनै चिन्तै रहेन। भन्छन्, ‘‘नेपाल छँदा धेरै व्यस्तता थियो। राजनीतिक, साहित्यिक र सांस्कृतिक व्यस्तता थिए। अमेरिका गएपछि यी सबै व्यस्तताबाट टाढा हुन पाइयो र पूरै लेखनमा नै समर्पित हुन पाएँ। अमेरिका गएपछि नयाँ समाज, नयाँ भूगोल आयो र नयाँ अनुभूति पनि आयो। अध्ययनको दायरा पनि फराकिलो भयो। त्यसले मलाई लेखनमा उत्साहित तुल्यायो।’’

नेपालमा छँदा कथा, व्यंग्य, कविता र केही बालसाहित्य समेत लेखेका उनले उपन्यास-लेखनको श्रीगणेशचाहिँ अमेरिका गएपछि नै गरे। अमेरिका बसाइकै प्रतिफल हो- ६ थान उपन्यास, ४ वटा कथाकृति। भन्छन्, ‘‘अमेरिका गएपछि उपन्यास लेखनमा मलाई प्रशस्तै समय मिल्यो। यसलाई म ठुलो उपलब्धि मान्छु।’’

अमेरिकाको व्यस्त जीवनचर्याबीच कसरी लेखनले गति लियो त ? उनी भन्छन्, ‘‘अमेरिकामा दुई दिन बिदा हुन्थ्यो। बिदाको समयलाई मैले लेखनमा लगाएँ। अर्को चाहिँ, बिहान-बेलुकाको फुर्सदको समयलाई पनि मैले लेखनमा नै लगाएँ। रुटिनबद्ध रुपमा लेख्ने गरेको हुँदा मैले अमेरिकामा रहँदा धेरै लेख्न सकेँ।’’

हुन पनि, अमेरिकामा बस्दा लेखेका पुस्तकहरूको सूचि लामै छ उनको। सूचि पल्टाउँदा देखिन्छन्, प्रस्टै- एटलान्टिक स्ट्रिट, भूमिगत लीला दुई हजार बत्तीस, मोटेल अमेरिका, बेकारीमा उपन्यास, सोटिट, काफ्काको काम सकियो। यी सबै उपन्यास। कथाकृति पनि ल्याए- क्यापिटल हिल, कमरेड ड्राइभर र पाई। नेपाल छँदा ‘समय पीडा’, ‘इतर जिल्लावासी’ र ‘कङ्गन खित्का’ त निस्किसकेका थिए।

००
राजवको लेखन-यात्राले चार दशकीय अवधि सकुशल छिचोलिसकेको छ। २०२८ सालदेखि नै लेखनमा निरन्तर छन् उनी। लेखनारम्भको केही वर्षपछि प्रकाशनसमेत हुन थालेपछि आफूलाई साँच्चै लेखक भएजस्तो ठाने उनले।

२०३२ तिर बल्ल प्रकाशनमा आउँदा उनले दर्जनजति नै कथा लेखिसकेका थिए। झन्, त्यही आसपास वर्षहरूका प्रारम्भताका नारायण ढकालसँग र पछि ढकालमार्फत् नै विमल निभासँग चिनजान भएपछि साहित्यिक-संवाद र अन्तक्र्रियाले लेखनमा घनीभूत ढंगले लाग्ने पर्यावरण निर्माण हुँदै गयो।

तीनै जना एउटै विचारको ‘ड्याङ’ मा टुसाएका र यथोचित मलजल पाएर हुर्किएका थिए। त्यो थियो- ‘वाम-विचारको ड्याङ’। लेखनमा पनि त्यही विचारलाई नै पछ्याए सबैले। अझ, वामपन्थी साहित्यको उन्नयन गर्नुपर्छ भन्ने बुझेर ‘लहर’ साहित्यिक त्रैमासिक निकाले। त्यसको सम्पादक रहे- नारायण ढकाल। राजव भन्छन्, ‘हामीबीचको भेटघाट झाँगिदै गएपछि पत्रिका निकाल्ने योजना बनेको थियो।’

लेखनमा निखार ल्याउन उनले नेपाली र विदेशी स्रष्टाका रचना पनि गम्भीरतापूर्वक पढ्न थाले, त्यही अवधिमा। नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा, गुरुप्रसाद मैनाली, शंकर लामिछाने, दौलतविक्रम विष्ट, रमेश विकल उनको पठन-रुचिमा जोडिए भने विदेशीहरूमा लियो टल्सटाय, अन्तोन चेखव, हेमिङ्वे, दोस्तोभस्की, मोपाँसा, ओ हेनरी। आफ्नो लेखनलाई मौलिक, गतिशील र प्रखर तुल्याउन पठनमा पनि उत्तिकै घोटिनुपर्छ भन्ने बुझेका उनले विश्वका उम्दा साहित्य पढे, त्यही बेला।

००
अमेरिका गएपछि हरेक डेढ-दुई वर्षको अन्तरालमा उनी नेपाल आइरहन्थे। र, बस्थे- ३-४ महीनाजति नै। पछिल्लो समय भने विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका कारण उनी साढे तीन वर्षपछि मात्र आए, नेपाल।

जन्म-देश फर्किँदा केही नियमित रुटिन बनाउँछन् उनी। यस पटकको नेपाल बसाइ संक्षिप्तजस्तै भयो। त्यही भएर पहिलाको रुटिनलाई पूरै पछ्याउन पाएनन्। नेपाल आउँदा एक पटक मधेस भने पुगेकै हुन्छन्। जिल्ला- बारा, देहात- बञ्जरिया। उनी सानो छँदा हुर्केको र बढेको ठाउँ। देहातको त्यो भूमिलाई स्मृतिमा ताजै राख्न नामै किटेर कविता पनि लेखेका छन् उनले। भन्छन्, ‘‘मेरा हजुरबुबा त्यहीं ठाउँमा बस्नु हुन्थ्यो र उहाँको देहावसान पनि त्यहीं नै भयो। यस पटक चाहिँ म जान सकिनँ। नभए हरेक पटक नेपाल आउँदा म त्यो गाउँमा पुगेकै हुन्थेँ।’’

काँठ (डाँछी) मा त पुग्छन् नै। डाँछीसँग पनि उनको तन्मयता जोडिएको छ। यसबाहेक पोखरा, चितवन पनि पुग्न मन लाग्छ उनलाई।

मधेस, काठमाडौंको भित्री सहर, काँठ र पछिल्लो समय अमेरिका। राजवको आख्यानमा यी थलोहरू आइरहन्छन्, बारम्बार। २०११ सालमा काठमाडौंको भित्री सहर मरु टोलमा जन्मिएका उनले बाल्यकाल बाराको बञ्जरियामा बिताए। मरु टोलमा त पहिला आफ्नै घर थियो। पछि त्यो घर बेचियो र नजिकैको भीमसेनस्थानमा डेरामा बस्न थाले, सपरिवार नै। काठमाडौंको पूर्वी भेग डाँछीमा जग्गाजमिन भएको हुँदा ‘काँठमा छँदै छ नि, किन सहरमा चाहियो’ भनेर बेचेका रहेछन्, मरु टोलको घर। भन्छन्, ‘‘मेरो लेखनमा मधेसी समाज र जनजीवन प्रशस्तै आएका छन्। काँठको जनजीवन पनि आएका छन्। पछिल्लो उपन्यास ‘काफ्काको काम सकियो’ मा पनि मधेसको परिवेश आएको छ।’’
००
चार दशकअघि मित्रता गाँसिएको नारायण ढकाल र विमल निभालाई नभेट्ने त कुरै भएन, नेपाल आउँदाखेरी। शार्दूल भट्टराई, पुरुषोत्तम सुवेदी, किशोर पहाडीलाई पनि भेटेरै छाड्छन्। कहिले संकटा मन्दिर छिर्ने गल्लीमा चिया पिउँदै, कहिले कता। भन्छन्, ‘‘समकालीन मित्रहरूसँग आत्मीयता टुटेको छैन मेरो। नेपाल छँदाका जत्तिकै आत्मीयता र भेटघाट हुन्छन्। यो मेरो लागि सुखद् पक्ष हो। साथीहरूले पनि यो अमेरिका गयो, उतै पलायन भयो भन्ने दृष्टिले हेर्दैनन्। उस्तै छ आत्मीयता। यिनै कारणले मलाई नेपालले तानिरहन्छ। आखिर मानिसलाई तान्ने आफ्नो भूगोल र त्यसको आत्मीयताले त हो नि।’’

समकालीन मित्रहरूसँग भेट हुँदा उनले दुई अनुहारलाई भने सम्झिरहन्छन् बारम्बार- अग्निशिखा र गोविन्द वर्तमानलाई। दुःखद पक्ष, चालीसको दशकयता नेपाली साहित्य र पत्रकारितामा जमेका यी दुवै साधक अहिले यो भौतिक संसारमा छैनन्। भन्छन्, ‘मैले सम्झिरहने अग्निजीलाई हो। उहाँको देहावसान नहुँदासम्म नेपाल आउँदा भेट हुन्थ्यो। वर्तमानजीलाई पनि सम्झिरहन्छु। दुइटा साथीसँग भेट्न नसकिने भो अब।’

कसले सम्झिछन् अब यसरी ?

००
‘काफ्काको काम सकियो’ पछि उनी अर्को उपन्यासमै केन्द्रित छन्, यतिबेला। किन उपन्यासमै केन्द्रित ? भन्छन्, ‘‘मलाई उपन्यास लेख्नुपर्छ भन्ने कुराले धेरै प्रेरित गर्‍यो र अर्को उपन्यासको तयारीमा छु।’’

निश्चय नै, दुई युवालाई अमेरिका उडाउने ‘काफ्का’ को काम सकियो होला। तर आख्यानकर्मी राजवको ‘ड्युटी’ भने जारी नै छ अझै। अर्थात् अर्को आख्यान जन्माउने ‘ड्युटी’।

अमेरिकी बसाइ लेखनका निम्ति फलिफाप नै भएका राजवले नेपाल छँदा जति पुरस्कार र सम्मान पाए, त्यसयता ठप्पै छ। उनलाई पुरस्कारप्रति मोह पनि छैन खासै। तर, महाकवि देवकोटा र आधुनिक कवि गोपालप्रसाद रिमालको नामका सम्मान र मैनाली कथा पुरस्कार नै उनका निम्ति पर्याप्त छन्। अतः यी तीनै सम्मानित पुरस्कार र सम्मानले नेपाली साहित्यमा उनको उचाइको सहजै मापन गर्न सकिन्छ।

अरू के नै चाहियो र ?
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved