मासिक ६५ करोडको रक्सी पिउँछ पोखरा

मासिक ६५ करोडको रक्सी पिउँछ पोखरा

पोखरा। स्वरसम्राट नारायण गोपालले ‘आज भोलि हरेक साँझ मातिन थालेछ’ गाएझैं र शिव परियारले ‘पिउदिनँभन्दा भन्दै पिलायो साथीले’ गाएजसरी पिउनेहरूको संख्या बढ्दो छ। विश्व बजारको अर्थतन्त्र हेर्नी हो भने पनि उपभोग्यमा मदिरा पनि हिट लिस्टमा आउने गर्छ।

पोखराले पनि मस्त मदिरा पिउँछ। ताल भएकै कारण विश्व पर्यटनको बजारमा पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटन लालहित हुने गर्छन्। फेवातालको छेउमै बसेर ताल हेर्दै मदिराको चुस्की लगाउनको जमात पछिल्लो क्रम बढ्दो छ। पछिल्लो दुई वर्ष कोभिडले गर्दा होटेल रेस्टुरेन्टमा गएर पिउनेको संख्या कमी भएपनि पिउने दरमा भने कमी भएन्। ‘गुड फ्राइडे’ भन्दै युवापुस्तादेखि पाका उमेर समूह तालछेउमै पुगेर ब्राण्डअनुसारको मदिरा पिउने गरेको पाइन्छ।

मदिरा व्यवसायी महासंघ केन्द्रीय महासचिव तारा ढुंगानाका अनुसार पोखरामा विभिन्न ब्राण्डहरू गरेर मासिक ५० करोडदेखि ६५ करोडसम्म मदिरा भित्रिन्छ। ‘सबैभन्दा बढी बियर आयत हुन्छ। कुल आयत हुनेको संख्यामा ६० प्रतिशत त बियर मात्र आउँछ,’ त्यसपछि खुकुरी रम, भोड्का, हुस्की र स्वदेशी विदेशी वाइन हो।’ जाडो समयमा खुकुरी रम बढी बिक्री हुने र गर्मीमा भोड्का जिन खपत हुने उनी बताउँछन्। ‘बियर सदावहार जस्तै भयो। यो अरुभन्दा हाम्फूल कम हुन्छ,’ उनले भने, ‘विश्वलाई नै हेर्नी हो भने अन्य रक्सी भन्दा बियर ७५ प्रतिशत खानेको संख्या बढी छ।’

मदिरासँगै पोखराले चुरोट पनि उत्तिकै खपत गर्छ। ढुंगानाका अनुसार मदिरा खाने व्यक्तिहरूका लागि चुरोट सदावहार जस्तो हो। पोखरा चुरोट आयात गर्ने विभिन्न कम्पनी, डिलहरूसँग तथ्यांक बुझ्दा दैनिक करिब ५० लाखको कारोबार हुँदो रहेछ। बजारमा बढी बिक्री हुने ‘सूर्य’ चुरोटको मूल्यलाई आधार मान्दा दैनिक ५० लाखको चुरोट तान्नु भनेको २५ सय बण्डलको कारोबार गर्नु हो। २५ सय बण्डललाई प्याकेटमा हिसाब गर्दा लगभग २५ हजार हुन आउँछ।

इजिप्सीयन सभ्यताको विकासक्रमसँगै मदिराको विकास भएको कुरा पनि इतिहासहरूमा उल्लेख छ। मदिराको प्रयोगमा बृद्धी भएपछि सन् १९२०मा अमेरिकाले कानुन नै निर्माण गरेर बन्द गर्यो। कानुनले बर्जित गरेपछि अवैधानिक रुपमा मदिरा सेवन र बेचविखन ह्वात्तै बढ्यो। अन्ततः १९३३ मा उक्त कानुन फिर्ता लिइएको थियो।

सन् २०१६ को तथ्यांक अनुसार नेपाल एशियाको तेस्रो तल्लो मुलुक हो, जहाँ प्रति वर्ष प्रतिब्यक्ति ७.४ लिटर खपत हुन्छ। सबै भन्दा कम बंगलादेशमा ०.९ र भुटानमा १.९ लिटर प्रतिवर्ष प्रतिब्यक्ति खपत हुन्छ।

नयाँ जेनेरेशनको आगमन 

पछिल्लो समय मदिरामा नयाँ जेनेरेशन जवरजस्त रुपमा लागि परेको ढुंगानाको विश्लेषण छ। ‘मदिरा पिउने नयाँ युवापिँढीका लागि फेसन जस्तै बनेको छ। झण्डै ७५ प्रतिशत नयाँ पिँढी मदिरा पिउँछन्,’ उनले भने, ‘साथीहरू बीच एक्लै परिन्छ कि भन्ने पिरले पनि पिउन थाल्नेहरू छन्। प्ल्सटु पढ्दै गरेका विद्यार्थी पनि निर्धक्क मदिरा पिउँछन्। पछिल्ला वर्षहरूमा युवापुस्ता र विशेष गरी विद्यार्थीहरूमा रक्सी खाने संस्कृति बढ्दो छ।’

थोरै पिउनुलाई नराम्रो रूपमा लिन नसकेपनि यसको परिमाणमा वृद्घि हुँदै गयो भने पर्न सक्ने सामाजिक, आर्थिक अवस्थाहरू गम्भीर हुन युवापुस्ताले सोंच्नुपर्ने ढुंगाना सुझाउँछन्। मदिरामा कडाइ गर्ने भन्दै १० फागुन ०७३ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ नै बनाएको थियो । सरकारले २१ वर्षभन्दा मुनिकाले मदिरा किन्न नपाउने व्यवस्था गर्नुका साथै बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म फुटकर मदिरा खरिद–बिक्री गर्न नपाइने नियम बनाइदियो । तर, त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेन । मदिरा संस्कृति कम गर्न ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउन नहुने नियममा कडाइ गरेको छ । तर, पनि पिउनेहरूलाई नियमले कहाँ पो छुन्छ र ?

मदिराको असर

जर्नल ‘द ल्यानसेट’का अनुसार सन् २०१६ मा विश्वमा २८ लाख मानिसको मृत्यु अल्कोहल अर्थात मदिराकै कारण हुने गरेको छ। विशेषतः १५ देखि ४९ वर्ष उमेर समूहका मानिसको मृत्यु हुने गरेको छ।

उक्त अध्ययनले नेपालमा कलेजो सम्बन्धी रोग बाहेक मदिरा सेवनका कारण सन् २०१६ मा ६९४ जनाको क्यान्सरका कारण मृत्यु भएको देखाएको छ। तीमध्ये १८९ जनाको मुखको क्यान्सर, २११ जनाको घाँटीदेखि माथिल्लो भागको नलीको क्यान्सर, ११० जनाको खाना नलीको क्यान्सर, ८२ जनाको कलेजोको क्यान्सर, ४९ जनाको घाँटीको तल्लो भागको क्यान्सर, ३४ जनाको मलाशय तथा ठूलो आन्द्राको क्यान्सर र १८ जनाको स्तन क्यान्सरका कारण मृत्यु भएको उल्लेख छ।

रक्सी पिउने अधिकांश मानिसका लागि त्यसको तुलनामा चुराट पिउनु क्यान्सरको जोखिम अत्यधिक हुनसक्ने विशेषज्ञहरूको भनाई छ। यस जोखिमलाई कम गर्न चुरोट सेवन पूर्ण रुपमा छाड्नुपर्ने अध्ययनको निष्कर्ष छ।

डब्लुएचओका अनुसार बर्सेनि विश्वभरिमा ३३ लाख मान्छेको मृत्यु मदिरा सेवनका कारण लाग्ने रोगबाट हुने गरेको छ । यो संख्या विश्वभरि हुने समग्र मृत्युको पाँच दशमलव नौ प्रतिशत हो ।मदिराको हानिकारक उपयोग दुई सय रोगको कारक हो । नेपालमा पनि पछिल्लो समय ड्रिङ्स गर्नेहरूको संख्या बढ्दै गएका र शहरी क्षेत्रमा त फेसन जस्तै भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved